निद्रालु मेयर

- लाल कुमाल

काठमाडौँका मेयरले ‘सरी’ भनेछन् । मेयरले ‘सरी’ भन्दा पनि धेरै जना ‘वरी’ भए । ‘वरी’ पनि किन नहुनू ? एक सय दिन त्यत्तिकै खेर गए ।

चुनावका बेला ‘रेल रेल’ भनेर चिच्चाएका मेयरले खालि महानगरको कोषमा मात्र ‘र्‍याल’ काढे । आफ्नो भत्ता आफैँ बढाउने हर्कत गरे । महँगा स्मार्ट फोन खरिद गर्ने निर्णय लिए । 

कुचो लिएर सडकमा त निस्किए, न धूलो हट्यो, न हिलो । बरु, फोहोर बढ्यो । फोहोरको त संग्रहालय पो होलाजस्तो छ । जाम उस्तै छ, भद्रगोल त्यस्तै छ ।

स्मार्ट सिटी, मेट्रो रेल, स्काई रेल, ग्रिन एन्ड क्लिन, नो मास्क सिटी, फ्रि वाइफाई आदि इत्यादि त १ सय १ अंग्रेजी नारा विद्यासुन्दर शाक्यले बक्यौता नै राखेका छन् ।

तीन महिनामै विश्वको उम्दा सहर बनाउने सपना देख्दा निद्रामै थिए सायद । कि पाँच वर्ष नै सुतेर कुम्भकर्णको निद्रालाई पनि ‘फ्लप’ खुवाइदिने हो मेयरसाब ?

प्रकाशित: आश्विन ३, २०७४