किताबको ओइरो

  • असोजमा आम्दानी, चैतमा पुरस्कार

- राजकुमार बानियाँ

आठ दिनको अन्तरालमा तीनवटा किताब विमोचन भयो प्रकाशक फाइनप्रिन्टको । १३ भदौमा हरिबहादुर थापाको रजगज, १८ भदौमा यज्ञशको भुइँया र २० भदौमा मदनकृष्ण श्रेष्ठको महको म । अर्को प्रकाशक बुकहिलले पनि लगभग एकै समय तीनवटा पुस्तक ल्याएको छ, कुमार नगरकोटीको दोचा, तीर्थ गुरुङको पाठशाला र अश्विनी कोइरालाको प्रेमालय । 

यी दुवै प्रकाशकलाई माथ खुवाइदिएको छ, सांग्रिला बुक्सले । उसले एकसाथ बजारलाई आधा दर्जन पुस्तक दिएको छ । कृष्ण गौतमको रानीवन, कमल रिजालको दृष्टिभ्रम, मिलन बगालेको देशदृष्टि, ध्रुवसत्य परियारको कैरन, नुमेष घर्ती मगरको बिर्सिएको सत्य र चेतनाथ आचार्यको चीन चिहाउँदा । 

यतिबेला साना–ठूला व्यावसायिक प्रकाशनगृहका झन्डै दुई दर्जन किताब दसैँ छोप्ने ध्याउन्नमा छन् । आफ्नै प्रकाशनगृहका पुस्तक  जुधाउनुमा लेखक र प्रकाशकका केही रहर र केही बाध्यता छन् ।

एकाघरका लेखकहरूबीच नै ‘भिडन्त’ हुने र ‘ब्रिदिङ स्पेस’ नै नपाउने गरी पुस्तकहरू आउनुचाहिँ असोजको सुरुआतमै दसैँको चटारो परेकाले पनि हो । बाढी, पहिरो र डुबानका कारण रोकिएका वा ढिला भएका किताब पनि एकैचोटि आउँदा पाठक अलमलिने स्थिति पनि छ । कुन किन्ने, कुन नकिन्ने ? 

बर्खा सकिने र चाडबाड सुरु हुने बेला हरेक व्यवसायको चहलपहल बढ्छ । त्यसको प्रभाव पुस्तक व्यवसायलाई पर्ने नै भयो । दोब्बर तलब आउने, बोनस पाउने, लामो छुट्टी हुने र टीकाटालोका लागि गाउँघर फर्कंदा दुई–चारवटा किताब बोक्ने मनोविज्ञान बुझेका ठूला प्रकाशकको दाउ दसैँको ढडियामा ठूलै माछा पार्ने हुन्छ । प्रकाशकले त्यस्ता पाण्डुलिपि दसैँका लागि भनेर साँचेका हुन्छन् । स्टार लेखक र सेलिब्रिटीको पुस्तक आउँदा दसैँ गजब हुने, नाम नचलेका लेखकको पुस्तक आउँदा दसैँ पनि झुर हुने अनुभव छ, फाइनप्रिन्टका नीरज भारीको ।

दसैँमा विशेष पुस्तक दिनेमा फाइनप्रिन्ट अगाडि छ । उसले पोहोर दसैँमा सुबिन भट्टराईको उपन्यास मनसुन ल्याएको थियो भने त्यसअघिका दसैँमा खुसी, साया र प्रयोगशाला । तिनीहरूले बिक्रीमा राम्रै रेकर्ड राखे पनि । दसैँ भ्याउने प्रकाशकहरूको काइदा वर्षौं पुरानो हो । कुनै बेला किताब पसलसमेत चलाएका सांग्रिला बुक्सका मणि शर्मा ६ वर्षअघिको दसैँमा आनी छोइङको आत्मकथा फूलको आँखामा फूलपातीसम्म पर्खेको अनुभव सुनाउँछन् । बहुप्रतीक्षित पुस्तक भएकाले पसल बन्द नगरेको उनलाई सम्झना छ । 

दसैँले प्रकाशक, लेखक, बिक्रेता र पाठक चारैथरीलाई उत्साहित बनाउँदो रहेछ । प्रकाशकहरूले दसैँलाई किन महापर्व मान्छन् भने लेखकहरूलाई तलब नभए पनि लेखकस्व, पेस्की वा अग्रीम भुक्तानी दिनुपर्ने हुन्छ । 

त्यसैले उनीहरूको एक मात्र ध्याउन्न नयाँ किताब दिएपछि पुरानो बक्यौता उठाउने हुन्छ । बजारमा ‘रोटेसन’ हुन्छ, नयाँ पुस्तक जाने, पुरानो बक्यौता उठाउने । “राम्रो किताब निकाल्दा प्रकाशकको बार्गेनिङ पावर बढ्छ । रिप्रिन्टका लागि पहिले नै नगद दिनूस् भन्न पनि पाइन्छ,” प्रकाशन क्षेत्रमा ११ वर्ष बिताएका भारी भन्छन्, “नयाँ पुस्तक राम्रो भयो भने त्यसको शुभलाभ अन्य प्रकाशकलाई पनि हुन्छ ।” 

प्रकाशकहरूको अनुभवमा साहित्यिक पुस्तक चलायमान हुने एक्लो सिजन हो भदौ–असोज । चैतदेखि जेठसम्म स्कुलका पाठ्यपुस्तकको सिजन हो भने असार र साउनमा कलेजका पाठ्यपुस्तकको । त्यतिबेला काठमाडौँबाहिरका पुस्तक पसलेले आख्यान वा गैरआख्यान पुस्तकका पोकै खोल्दैनन् । पसल पाठ्यपुस्तकले ढाक्ने र साहित्यिक पुस्तक ‘डिस्प्ले’ पनि नहुने भएपछि प्रकाशकहरू अलि सुस्ताउँछन् । स्कुल–कलेजको सिजन सकिएर पसल खाली भएपछि मात्र बिक्रेताले साहित्यिक किताब खोज्न थाल्छन् ।

अनौपचारिक अध्ययन अनुसार साहित्यिक किताबको वार्षिक बजार १५ करोड रुपियाँ हाराहारी छ । त्यसमा राजधानीको हिस्सा ६० प्रतिशत छ भने राजधानीबाहिरको ४० प्रतिशत । काठमाडौँपछि सबैभन्दा धेरै साहित्यिक पुस्तक बिक्री हुने स्थान बुटवल हो भने त्यसपछि पोखरा । मधेस आन्दोलनलगत्तै विराटनगरलाई बुटवलले विस्थापित गरेर चौथो स्थानमा धकेलिदिएको छ । दोस्रो र तेस्रो सहरबीचको दूरी भने खासै छैन । सम्पूर्ण साहित्यिक पुस्तक बजारको १५–२० प्रतिशतमा प्रकाशक फाइनप्रिन्टको एकलौटी छ ।

यसपालि दसैँको मुखमा भएका पुस्तक मेलामा पाठक उत्साही देखिएनन् । पुरस्कारप्राप्त किताब किन्ने पनि पातलै देखिन्छन् । मदन पुरस्कार र पद्मश्री साहित्य पुरस्कार पनि लगातार अनपेक्षित पुस्तकले पाइरहेका छन् । यस वर्ष दुवै पुरस्कार कविताले पाएकाले आख्यानका पाठकको जोश/जाँगर हराएर गएको छ । रुचिबाहिरको किताब पाठकले किन्दैनन् पनि । “किन्ने जति थिए, मनोनयनको सूचीमा पर्नासाथ किनेर पढिहाले,” शर्मा भन्छन्, “उपन्यासले मदन पुरस्कार पाएपछि जति बिक्री हुन्थ्यो, त्यो अनुपातमा कविताको बिक्री देखिँदैन ।”

खसी किन्ने कि किताब ?

त्यसो त साहित्यिक पुस्तकको ‘अफ सिजन’ हुन्न, बरू ‘लो सिजन’ हुन्छ । यसको अनुपात 

हेर्दा कस्तो छ भने सामान्यत: सय प्रतिका दरमा बिक्री भइरहेको हुन्छ भने दसैँमा तीन–चार सय प्रतिसम्म पुग्छ । गैरआख्यानको तुलनामा आख्यान बढी बिक्ने भए पनि प्रकाशकहरू आत्मकथा या संस्मरणमै जोड दिन्छन् । त्यसैले त खुसी, चिना हराएको मान्छेपछि फाइनप्रिन्टले महको म छान्यो । 

“राम्रा किताबका लागि त खास सिजन हुन्न । तर, बढी बिक्री हुने दसैँअघि नै हो,” बुक हिलका भूपेन्द्र खड्का भन्छन्, “आख्यानमा उपन्यास सधैँ अगाडि छ बिक्रीमा । संस्मरण र आत्मकथाको बजार पनि राम्रै छ ।” 

दसैँमा बजार चलायमान हुँदा किताबको बिक्री स्वाभाविक रूपमा बढ्ने भए पनि यसको औपचारिक सर्वेक्षण कसैले गरेको छैन । नयाँ लेखक, मिडिया, युवा जोश र चहलपहलमा उभिए पनि प्रकाशनगृहहरूले अझै कर्पोरेट ढाँचा पाइसकेका छैनन् । त्यसैले उनीहरूलाई सोध्ने चलन छ– किताब त छाप्छौ, अरू काम के गर्छौ ? “कसैले किताब बढी निकाल्छ तर थोरै संख्यामा,” फाइनप्रिन्टका भारी बजारको स्थिति सुनाउँछन्, “हामीसँग किताब कम हुन्छ तर छापिन्छ धेरै ।” 

हालसालै आधा दर्जन पुस्तक पाठकलाई दिएका प्रकाशक मणि शर्मा भने दसैँमा खासै किताब नबिक्ने प्रतिक्रिया दिन्छन् । उनको भनाइमा, दसैँमा ‘सपिङ कल्चर’ भए पनि खर्च गर्नुपर्ने ठाउँ दर्जनौँ हुन्छन् । लुगा किन्नैपर्‍यो, खसी किन्नैपर्‍यो, दक्षिणा दिनैपर्‍यो, पाकेटखर्च र यातायात भाडा पनि चाहियो । अहिले आएका भरमार किताब बजारले थेग्न सक्ने स्थिति देखिँदैन । एउटा पाठकले कति किताब किन्छ र ? 

पहिले–पहिले एउटा प्रकाशकले एउटा मात्र पुस्तक निकाल्थ्यो । लेखकहरूको ताकेता र पुरानो उठाउनुपर्ने बाध्यताका कारण अहिले एउटैले धेरै निकाल्छन् । धेरै पुस्तक निकाल्ने मामिलामा सांग्रिला आफैँ ‘बदनाम’ छ । उसले गत वर्ष २५ पुस्तक निकालेको थियो भने यस वर्ष ५० वटा पुग्ने स्थिति छ । 

धेरैजसो प्रकाशक दसैँमा नयाँ किताब निकाल्दैमा पैसा नउठ्ने गुनासो गर्छन् । उनीहरूको आफ्नै समस्या चर्को छ, यता प्रेस र लेखकले ख्याउख्याउ पारेको पार्‍यै छन्, उता पुस्तक बिक्रेता मोबाइल बन्द गरेर बसेका छन् । “दसैँको गतिलो बहानामा प्रकाशक पैसा लिन खोज्छन्, बिक्रेता पनि त्यही बहानामा नदिन खोज्छन्,”  शर्मा भन्छन्, “अहिले आएका किताबको उठ्तीपुठ्ती तिहारपछि मात्र हुन्छ ।”  

अतिरिक्त सिजन

चैत–वैशाख साहित्यिक पुस्तकका लागि सुक्खा सिजन हो । र पनि, प्रकाशकहरूको हस्याङफस्याङ हेर्नलायकको हुन्छ । यसलाई मदन पुरस्कारका निम्ति भएको दौडधूप भने हुन्छ । नयाँ–पुराना लेखकहरूले प्रकाशककहाँ दसैँपछि थुप्रिएका पाण्डुलिपि थन्क्याइरहन दिँदैनन् । लेखकहरूको तारन्तारको फोन, एसएमएस, धम्की र घुर्की प्रकाशकले झेल्न सक्दैनन् अनि किताब मुद्रण गर्न नभ्याए वर्षान्त अर्थात् चैतको मिति राखी तीन कपी डमी बनाएर भए पनि मदन पुरस्कार गुठीमा दर्ता नगरी धर पाउँदैनन् ।

यसको पछिल्लो उदाहरण हो, हरिमाया भेटवालको उपन्यास कल्ली । १५ वैशाखभित्र बुझाएको पुस्तक एकैचोटि असार–साउनमा आएर छापिन्छ र विमोचन हुन्छ । यसले स्वयं लेखकलाई घाटा हुन्छ । कतै चर्चा, मूल्यांकन र समीक्षा नभएको पुस्तकलाई पुरस्कार दिन दाताहरू हच्किनु स्वाभाविकै हो । 

चैतभित्र पुस्तक प्रकाशन नहुने अवस्थामा कतिपय लेखकले आकस्मिक डेरा सर्ने स्थिति पनि आउँछ । यसका भुक्तभोगी छन्, स्वयं मणि शर्मा । नयनराज पाण्डेको उपन्यास लू आएको वर्ष उनले अमर न्यौपानेको उपन्यास सेतो धरती छाप्ने सबै तयारी गरिसकेका थिए । एकै प्रकाशनगृहका दुई उपन्यासको टक्कर हुने देखेर सेतो धरतीलाई उनले अर्को वर्षका लागि साँच्न खोजे । तर, चैतमा ननिकाल्ने स्थिति भएपछि अमर फाइनप्रिन्टतिर गए र ०६८ को मदन पुरस्कार पनि पाए । 

चैते पुस्तकका लागि लेखकहरू किन मरिहत्ते गर्छन् भने मदन पुरस्कारसँग जोडिएर आउने कुरा धेरै हुन्छन् । एकातिर दुई लाख रुपियाँको थैली आउँछ, अर्कातिर पुस्तकको बिक्री पनि ज्यादा हुन्छ । त्यसमाथि सामाजिक प्रतिष्ठा पनि । “मदन पुरस्कारले एक ठाउँमा ल्याइदिन्छ  । तर, त्यसपछिको सफलताचाहिँ मेरिटका आधारमा प्राप्त हुन्छ,” फाइनप्रिन्टका भारी भन्छन्, “मदन पुरस्कार नपाए पनि मनोनयनसम्ममा परोस् भन्ने आशा हुन्छ नै ।”

वर्षान्तमा किताब छापेर हतारहतार गुठीमा बुझाउने चलन अहिले मात्रै चलेको भने होइन । लेखक श्यामल ०३९ को अन्तिम दिन लगन, ब्रह्मटोलको एक प्रेसमा पुग्दा धमाधम माधवी छापिँदै रहेछ । उनले पछि मात्र चाल पाए, त्यस्तो हतार त मदन पुरस्कारकै लागि पो गरिएको रहेछ । 

“यस्तै पुरस्कारको अपेक्षासाथ लेखक र प्रकाशकले चैतमा प्रेसलाई हतारो लगाउँछन् । यहीँनिर तिनको गुणवत्तामा ह्रास आउन सक्ने सम्भावना हुन्छ,” श्यामलको टिप्पणी छ, “पुरस्कार दिने र लिनेबीच कतै केही गोप्य सम्झौता भएको हो कि भन्ने सन्देहले ठाउँ पाउँछ अनि आशा, अपेक्षा, दबाब र धम्कीका प्रसंग उठ्छन् । यहीँनिर लबिङको लहरो तन्किन्छ ।” 

प्रकाशित: आश्विन २, २०७४