आवरण आलेख» पैसा मात्र कुम्ल्याउने कुलत

  • जसरी भए पनि सम्पत्ति थुपार्ने चाहनाका कारण वर्तमान नेपाली समाजले मानवीयता गुमाउँदैछ ।

- रामेश्वर खनाल

मुनाको बोली, लाग्दछ गोली ! 

सम्झन्छ मनले, 

क्या मीठोसँग सम्झाई भन्थिन्– के गर्नु धनले ?

गलामा लाग्यो, मुटुमा घुस्यो, 

अमृत–वचन, 

साग र सिस्नु खाएको बेस,

आनन्दी मनले !

महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुना–मदनको रचना यस्तो समयमा गरेका थिए, जतिबेला नेपाली समाज परिश्रमको बलबुतामा आफ्नो जीविकोपार्जन सोच्थ्यो । यसको अर्थ त्यो समयमा धनी वा समृद्ध बन्ने चाह नभएको होइन, थियो । तर, कर्ममा विश्वास गर्ने त्यो समाजसँग रातारात धनाढ्य वर्गमा परिवर्तित हुने अस्वाभाविक सपना थिएन । किनभने, आचरण र संस्कारको उच्च महत्त्व थियो, जे गरेर भए पनि धन आर्जन गर्नु सामाजिक मान्यताको खिलाफ थियो । 

अहिले भने परिदृश्य ठीक उल्टो छ । जसरी पनि धन कमाउनु परेको छ, रातारात धनी हुनु परेको छ । र, यसरी एकाएक धनाढ्यमा कायाकल्प हुनका लागि अवैध आम्दानी सबैभन्दा सरल माध्यम हुन पुगेको छ । जस्तो : १९ भदौमा उत्तरी भन्सार नाकादेखि १ सय ३५ किलोमिटर यात्रा गरेर काठमाडौँको मध्य बजारमा लुकाइराखेको अवस्थामा ८८ किलो सुन समातियो । यो सुन गाडीमै थियो । अर्थात्, यसको गन्तव्य अन्यत्र कतै थियो । करिब आठ महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन अवैध रूपमा भित्र्याइँदै गर्दा समातिएको थियो । 

नेपाल आयल निगमको जग्गा खरिदमा करोडौँ (अर्बौं ?) घोटाला भएको अनुमानको खबर दुई महिनादेखि निरन्तर सर्वत्र प्रसारित छ । एउटै मुखबाट कहिले ‘घोटाला भएको छ, छोडिन्न, कारबाही हुन्छ’ त कहिले ‘खरिद नियमसंगत रहेछ, कारबाही गर्ने आधार भेटिएन’ भन्ने अभिव्यक्ति आउँछ । 

केही महिनाअघिको प्रसंग हो, नेपाली राज्यको प्रतिनिधि बनेर विदेशी मुलुकमा सार्वभौम नेपाली नागरिकको हित रक्षा गर्ने राजदूतको पद लिलामीको विषय बन्यो । अन्तत: जसले बढी रकम कबोल्यो, उसैले पद प्राप्त गर्‍यो । 

नागरिकको सेवा गर्नुपर्ने, मुलुकको शिर ठाडो पार्नुपर्ने जिम्मेवारी भएका यस्ता पदहरू खरिद गर्न आतुर एउटा जमात तयार छ यहाँ । खरिददार तयार भएपछि बजारमा विक्रेता स्वाभाविक रूपमा विकसित हुन्छ । यस्तो बजारमा कतिपय अवस्थामा विक्रेता प्रकट हुन चाहँदैन भने कतिपय अवस्थामा क्रेता । त्यसैले यो प्रकृतिको बजारमा सर्वत्र सशक्त मध्यस्थकर्ता वा दलालको विकास हुन्छ । 

सार्वजनिक निर्माण तथा खरिदको ठेक्का हात पार्न र हात नपारे ठेक्का तुहाउन अर्का प्रकारका दलाल ‘कमिसन एजेन्ट’हरूको बेजोड दौडधूपले सरकारी खर्चको प्रभावकारी उपयोग हुन सकेको छैन । भ्रष्टाचार संस्थागत भएको छ । र, पुँजी निर्माणबाट रोजगारी सिर्जना तथा गरिबी निवारणमा जुन हदसम्मको सफलता मिल्न सक्थ्यो, त्यसबाट मुलुक वञ्चित भइरहेको छ । 

चेलीबेटी बेचबिखन, मानव तस्करीजस्ता मानवीय अपराधका व्यवसायमा संलग्नहरूको जालो यति विघ्न बढेको छ कि नेपाल यी मामिलामा एउटा प्रमुख अन्तर्राष्ट्रिय केन्द्रजस्तै बन्न गएको छ । यी विषयका समाचारले राष्ट्रकै शिर निहुरिन्छ, निहुरिरहेको छ । यही कारण हुन सक्छ, औपचारिक भेटघाट र वक्तव्यमा आपसी मित्रताका बारेमा जे–जस्ता लच्छेदार बेहोरा उल्लेख गरे पनि, यथार्थमा दुवै ठूला छिमेकी मुलुकले नेपाली शासन संयन्त्रको क्षमता र कतिपय अवस्थामा नियतमै शंका गर्छन् ।

वैदेशिक रोजगारको आकर्षण देखाएर वा अमुक मुलुकको प्रवेशाज्ञा दिलाइदिने आश्वासन दिएर पैसा असुल्ने अनि बिचल्लीमा पार्ने उद्यमको सिकार असंख्य युवकयुवती भएका छन् । विगतमा नेटवर्क व्यवसायबाट ठगी गरेकाहरू बेलाबेलामा अर्कै रूप फेरेर सक्रिय हुन खोजिरहेका छन् ।

प्राकृतिक स्रोतको जथाभावी दोहन वा उपयोग गरेर छिटो, अरूभन्दा ज्यादै चाँडो पैसावाल हुने चाहनाले राम्रो खेती हुने जग्गाको जथाभावी चक्लाबन्दी, ढुंगा, गिट्टी, बालुवाको उत्खनन, जंगल फँडानी, मूल्यवान जडीबुटीको नश्ल नै नष्ट हुने गरी भइरहेका दोहनकारी क्रियाकलापको बढोत्तरीले पर्यावरणीय प्रणाली खलबलिएको छ । सीमित व्यक्तिले अकूत सम्पत्ति थुपारेका छन् तर प्रत्येक वर्ष हजारौँ परिवार मानव सिर्जित प्राकृतिक विपत्तिले पर्यावरणीय–शरणार्थी बन्न पुगेका छन् । खेती प्रणालीमा नकारात्मक असर परेको छ । 

भ्रष्टाचार, वित्तीय ठगी, दलाल साम्यवाद (समाजलाई भलो गरेको आवरण भूमिकामा राज्यशक्तिको दुरुपयोग गर्ने प्रवृत्ति)ले यस्तरी गाँजेको छ कि असल स्वदेशी व्यवसायीहरू वास्तविक क्षेत्रमा ठूलो रकम लगानी गर्ने जोखिम मोल्न चाहँदैनन्, विदेशी लगानीकर्ताको त कुरै छोडौँ । जलविद्युत् विकास, खानी उत्खननजस्ता वास्तविक क्षेत्रमा ठूलो लगानी गर्ने वाचा गरेका विदेशी लगानीकर्ताहरू आयोजना ओगटेर बसेका छन् । कतिपय वास्तविक लगानीकर्ता जलविद्युत् विकासको लाइसेन्स ओगटेर बसेका स्वदेशी दलालको चपेटामा परेका छन् । 

यसैबीच शक्ति केन्द्रलाई प्रभावमा पारेर कर सहुलियत लिन सक्ने, प्राकृतिक स्रोत उपयोग वा आयोजना विकासको नि:शुल्क प्रत्याभूति पाउन सक्ने, गलत क्रियाकलापको संरक्षण पाउन सक्ने वा सरकारी ठेक्कामा पटक–पटक म्याद थप्न र ‘भेरिएसन अर्डर’ (विभिन्न कारण देखाएर ठेक्कामा कबोलेको भन्दा बढी रकम माग दाबी गर्ने) र त्यस अनुरूप भुक्तानी लिन सक्ने विदेशी लगानीकर्ता भने ‘नेपालमा हावामा पनि नोट उडेको छ, समात्न जान्नु पर्छ’ भनेर खुलेआम भन्छन् । 

स्वाभाविक चाहना, अवैधानिक बाटो

सम्पन्न हुने चाहना मानवीय स्वभाव हो । सम्पन्नताका सूचक व्यक्ति र समाजपिच्छे फरक हुन सक्छन् । कसैलाई मानवीय क्षमताका विविध विधामा उच्च दखल हासिल गरेर प्राप्त हुने सन्तुष्टि र सम्पन्नता उपयुक्त लाग्छ । कसैलाई मिहिनेत गरेर प्राप्त भौतिक वा आध्यात्मिक सम्पन्नताले सुख दिन्छ । कसैलाई ज्ञानको प्राप्तिले सम्पन्नताको अनुभूति दिलाउँछ । कसैलाई जसरी हुन्छ, पैसा थुपारेर पाइने सम्पन्नताको लत लाग्छ । 

जसरी भए पनि सम्पत्ति थुपार्ने चाहनाका कारण वर्तमान नेपाली समाजले मानवीयता गुमाउँदैछ । आपराधिक प्रवृत्ति सर्वत्र बढ्दो छ । परिणामत: आममानिसको जीविका कष्टकर बन्दै गएको छ । यो विश्लेषण समाजका प्रत्येक तप्कामा छ । आश्चर्य लाग्छ, आममानिसबीच भ्रष्टाचारी र दुराचारी भनेर चिनिएको व्यक्तिले पनि सभा/समारोहमा यस विषयमा साँच्चिकै–मनैभित्रको कुरा पोखेजस्तो गरी गम्भीर चिन्ता व्यक्त गर्छ ।

के अहिले देखिएको सामाजिक चरित्र हाम्रो पुख्र्यौली चरित्र हो ? एकचोटि पछाडि फर्केर हेरौँ । के हामी मात्र यो दुर्गतिपथमा हो ? अलिकति चर्चा बाहिरी जगत्को पनि गरौँ । 

शताब्दीयौँदेखि नेपाली समाज दु:ख पर्दा र सुख पाउँदा पनि भगवान्को कृपा भनेर बसेको हो । ‘दु:ख पर्दा भगवान्ले परीक्षा लिए, सुख हुँदा भगवान्ले दया गरे’– यस्तो भनाइ ग्रामीण समाजमा अझै प्रचलित छ, भलै वैश्यवाद, दलाल साम्यवादले गाँजेको आधुनिक सहरी समाजमा यस्ता वाक्य उच्चारण गरिँदैनन् । नेपाली गाउँहरूको संरचना परस्पर सहयोगी र स्वावलम्बी हो । कोही अलि बढी धनी र कोही कम अवश्य हुन्थे तर हुनेले नहुनेलाई सहयोग गर्ने सामाजिक संस्कार थियो । पहिरो, खडेरीजस्ता प्राकृतिक विपत्तिका कारण सामुदायिक भरथेगले नपुग्ने गरी उठीबास लाग्ने अवस्था आए मानिसहरू बसाइ सर्थे । नेपालीहरू जीवनवृत्तिको खोजीमा आसाम, हालको बंगलादेश, म्यानमार, थाइल्यान्डदेखि फिजीसम्म बसाइ सरेका तीन सय वर्ष पुराना इतिहास छन् । कुनै उपाय नलागे दासत्व स्वीकार्थे तर धन जोर्ने सजिलो र गलत बाटो खोज्दैनथे । नेपालका विभिन्न भागमा विकसित कमैया, कमारा, कम्लरी, हलिया, हरुवा यसैका उपज थिए । 

महाकवि देवकोटाले मुनामदन खण्डकाव्यमा लेखेको ‘...साग र सिस्नु खाएको वेश, आनन्दी मनले’ वाक्यांशले त्यसबेला र त्यसअघिको नेपाली समाजको मानसिकताको प्रतिनिधित्व गर्छ । मदनको कथाले धन आर्जनका निमित्त कठोर यात्रा र श्रम गर्ने नेपाली चरित्रको विम्ब बोकेको छ । 

चाँडो धनी हुने चाहनाले होइन कि प्रतिशोधको भावनाले वा कतिपय अवस्थामा पौरख (एड्भेन्चर) देखाउन डकैती, बटुवाहरूलाई लुट्ने घटनाहरू यदाकदा हुन्थे । तराईमा डाँकाहरूको गाउँ भनेर अझै पनि कतिपय ठाउँको पहिचान छ । 

राजतान्त्रिक/एकतान्त्रिक शासन पद्धतिमा शासकहरूको रोबका अगाडि तिनकै संरक्षणमा रहेकाहरूबाहेक अरूले राज्यकोष वा अधिकारको दुरुपयोग गरेर सरकारी प्रणालीबाट अकूत सम्पत्ति जोर्न सक्ने सम्भावना थिएन । शासकहरूचाहिँ शासनमा आफ्नो पकड बनाइ राख्न खास सहयोगीहरूलाई चाँडो धनी हुने वातावरण निर्माण गरी दिन्थे । गलत काम गरेको थाहा पाए पनि आँखा चिम्ली दिन्थे । ऐन–मौकामा तिनै व्यक्तिलाई ठूलो सजाय दिएर उठ्न नसक्ने गरी धराशयी बनाइ दिन्थे र एक तीरले दुई निसाना साँध्थे । एकातिर दुर्जनलाई कारबाही गरेको भनेर रैतीबीच लोकप्रियता बढ्थ्यो, अर्कोतिर बाँकी सरकारी संयन्त्र त्राहिमाम हुन्थ्यो । 

आजका विकसित कहलिएका सबै महादेशका मुलुकमा चाँडो धनी बन्न चाहना राख्ने वर्ग, हामीकहाँ अहिले जस्तो देखिरहेका छौँ, त्यसभन्दा कम छैन । बरू, कतिपय क्षेत्रमा उनीहरूले प्रयोग गर्ने विधि हाम्रा लागि अलौकिक नै लाग्छ । ‘एटीएम ह्याकिङ’, ‘क्रेडिट कार्ड फिसिङ’जस्ता काम नेपालीले गरेको थाहा छैन । बैंककै कर्मचारीले आफूलाई प्राप्त अधिकार र सूचनाको दुरुपयोग गरेर रकमसहित चम्पत भएका केही घटना छन् । तर, ‘हाइटेक फ्रड’मा माहिर मानिएका नाइजेरिएन वा रुसी उस्तादहरूसँग तुलना गर्न सकिने नेपालीहरू छैनन् । नेपालमा सर्वत्र ‘माफिया’ शब्दको प्रयोग हुन्छ । इटालियन माफियाको तरिका, प्रविधि र परिमाणका तुलनामा नेपालमा हुने कुकृत्यका पात्रहरूलाई ‘माफिया’ भन्नु यो नामकै अवमूल्यन हो । 

जालझेलबाट मात्र सम्भव

क्यालिफोर्नियाको ‘गोल्डरस’का बेला सुन खोस्रेर रातारात भाग्य बनाउने सपना लिएर संसारभरिबाट त्यहाँ पुगेका ‘फोर्टी–नाइनर्स’हरू हुन् वा दक्षिण अफ्रिकामा हीरा खोतल्न निस्केका युरोपेली हुन्, दुवैले आदिवासीबाट सस्तोमा जग्गा हत्याए, कतिपय आदिवासीलाई बलपूर्वक विस्थापित गरे । संसारभरि रातारात धनी हुन चाहने वर्गले रैथाने, आदिवासीहरूको सम्पत्ति जालझेल गरेरै हत्याएका छन्, लूट मच्चाएका छन् । 

विश्वमा ठूला आर्थिक मन्दी रातारात धनी हुन खोज्नेहरूको जालझेलले भएको छ । चाहे त्यो सन् १९२९ मा प्रारम्भ भएको महामन्दी होस् वा सन् १९९७ को दक्षिण पूर्वी एसियाली मुलुकको वित्तीय संकट वा सन् २००८ को विश्वव्यापी वित्तीय संकट । आधुनिक वित्तीय क्षेत्रको विकास हुनुअघि आर्थिक मन्दीको खासै इतिहास भेटिँदैन । त्यो कालखण्डमा बेलाबेलामा आर्थिक विपत्ति आउँथ्यो तर ती युद्ध वा प्राकृतिक प्रकोप वा महामारीका कारण हुन्थे । 

जब वास्तविक क्षेत्रको वृद्धिदरभन्दा वित्तीय क्षेत्रको वृद्धिदर उत्पातै बढी हुन थाल्छ, तब अर्थतन्त्रमा रातारात धनी हुन चाहनेहरूको बोलवाला बढ्यो भनेर बुझे हुन्छ । जब वित्तीय प्रणालीले सम्पत्तिको बजारमा उच्च जोखिमयुक्त लगानी, ‘क्यासिनो फाइन्यान्सिङ’, गर्छ, तब बजार परालको आगोजस्तो एकछिन चर्कै बल्छ, त्यसपछि सारा खरानी हुन्छ । 

नेपालमा रातारात धनी हुन चाहने वर्गको बोलवाला बढ्यो, तिनको हथकण्डाले सर्वसाधारण मारमा परे भनेर क्षेत्रगत उदाहरणलाई प्रमाण देखाएर पुष्टि गरिरहनु आवश्यक छैन । यो त वित्तीय क्षेत्रको अवस्थाले स्वत: पुष्टि गर्छ । गएको दुई दशकमा वास्तविक क्षेत्रको वृद्धिदरभन्दा उच्च वृद्धिदर वित्तीय क्षेत्रको छ । स्वाभाविक रूपमा रातारात अकूत सम्पत्ति जोर्नेहरू बलिया हुँदै गएका छन् । 

हो, विश्वका अरू मुलुकको वर्तमान र विगतका विभिन्न कालखण्डमा सजिलै र चाँडो धनी हुने व्यवसाय र विधिको तुलनामा हाम्रो सापेक्षिक रूपमै पनि सानोजस्तो देखिन्छ । तर, राज्यका संस्थाहरू थप कमजोर बन्दै गए, समाज सहनशील बन्दै गयो र ‘यस्तै त हो’ भन्ने प्रवृत्ति बढ्दै गयो भने नाइजेरिया वा रुसका उस्तादहरूलाई माथ गर्ने नेपाली उस्तादहरू प्रकट हुनेछन् । हाम्रो अहिलेको यात्रा त्यही दिशामा अघि बढेको छ । 

यसकारण चिन्ता

केही मानिस वा खास वर्गको रातारात धनी हुने कृत्याकृत्यले बाँकी समाजलाई नकारात्मक असर नपर्ने, राज्य कमजोर नहुने र अर्थतन्त्र धराशयी नहुने हो भने चिन्ता गर्नुपर्ने थिएन । नेपाल र विश्वभरका यस्ता क्रियाकलापको परिणाम र प्रभावको विश्लेषण गर्दा मूलत: चारवटा निष्कर्ष निकाल्न सकिन्छ : 

पहिलो, रातारात धनी हुन चाहनेहरू प्राय: आफैँ सकिएका छन्, सकिन्छन् । रुसी साहित्यकार लियो टोल्स्टोयले लघुकथा ‘हाउ मच ल्यान्ड डज म्यान निड ?’ अर्थात् ‘मान्छेलाई कति जमिन चाहिन्छ ?’मा रातारात धेरै सम्पत्ति जोड्ने चाहना राख्ने मान्छेको अन्त्य कसरी हुन्छ भन्ने मार्मिक वर्णन गरेका छन् । कथाको पात्र पाखोम धेरै जमिन जोड्ने लोभमा आफू सकिन्छ । उसले आश्रित परिवारलाई मात्र बिचल्लीमा पार्छ । तर, आजका धेरैजसो यस्ता प्रवृत्तिका व्यक्ति वा वर्गले आफू मात्र सकिने होइन, हजारौँ–लाखौँ विपन्न, सीमान्तकृत परिवारलाई संकटमा धकेल्छन् । नेटवर्क व्यवसाय सञ्चालन गरेर अलप भएका वा जेल परेका हुन् वा सहकारी डुबाएर फरार रहेका हुन्, आफू त डुबे, लाखौँ निर्दोषलाई पनि डुबाए । 

दोस्रो, रातारात धनी हुन चाहनेहरूले आदिवासी, रैथानेहरूलाई विस्थापित गर्छन् र पर्यावरणमा फर्काउन नसकिने किसिमले क्षति पुर्‍याउँछन् । चाहे त्यो क्यालिफोर्नियामा फोर्टिनाइनर्सले होस् वा नेपालका खोलामा विद्युत् प्रवाह गरेर माछाका वंश मास्ने र माझीलाई विस्थापित गर्ने कुपात्रहरूले होस् । जथाभावी ढुंगा, गिट्टी र बालुवा खोस्रनेले सीमान्त कृषकको जीवन संकटमा पारेका छन् । जथाभाबी घडेरीका लागि जग्गा चक्लाबन्दी गर्नेले किसानलाई विस्थापित गरेका छन् । सरकारले जमिन अधिग्रहण वा खरिद गर्दैछ भनेर पूर्वजानकारी पाउने हैसियत बनाएकाहरूले सूचना सार्वजनिक हुनुअघि सस्तोमा आदिवासी रैथानेको जग्गा हडप्छन् र पछि महँगोमा बेच्छन् । 

तेस्रो, राज्य बलियो भयो, सार्वजनिक संस्थाहरू सशक्त भए, न्याय प्रणालीले यथार्थमा न्याय दिन थाल्यो भने रातारात धनी हुन खोज्नेहरूको अभीष्ट पुरा हुँदैन । त्यसैले, यिनीहरूले उच्च राजनीतिक वृत्तमा साँठगाँठ गर्छन् र निरन्तर बनाइरहन्छन् । राज्यका मुख्य सार्वजनिक संस्थाहरूमा आफूलाई सजिलो हुने मान्छे ‘फिट’ गर्छन्, इमानदार, निष्ठावान्लाई बदनाम गराउँछन्, छोड्न बाध्य बनाउँछन् । त्यसले पनि नपुगे, मिल्काउँछन्, सफाया गर्छन् । 

चौथो, सामान्यत: कानुनी धन्दा गरे पनि जब वित्तीय प्रणालीको प्रयोग गरेर रातारात धनी हुने उद्यम व्यापक हुन्छ, त्यसले बेलाबेलामा आममानिसको निक्षेप डुब्छ वा सम्पत्ति क्षय हुन्छ वा पूरै विलय हुन्छ । वित्तीय संकट, धितोपत्रको बजारमा उच्च मूल्य गिरावट वा ‘क्र्यास’जस्ता घटनाले प्रत्यक्ष/परोक्ष रूपमा प्रत्येक व्यक्तिलाई छुन्छ । 

किन मक्कियो समाज ?

तीन दशकअघिसम्म पनि नेपाली समाजमा विद्यमान शताब्दीयौँअघिदेखि विकसित सामाजिक संस्कार र व्यक्तिगत चरित्र पछिल्लो कालखण्डमा किन मक्किँदै गयो ? कस्ता प्रवृत्तिको विकास भएकाले हामी अहिलेको चिन्ताजनक अवस्थामा छौँ ? यी प्रश्नहरूको उत्तर वा विश्लेषण व्यक्तिपिच्छे फरक हुन सक्लान् तर उत्तर नखोजी समाधान वा सुधार सम्भव छैन । उत्तरसँगै समाधान पनि देखिन सक्छ । त्यसका कारण र उत्तर : 

१‍. विसं ०४६ अघि नेपालको मूल राजनीति राज्यसत्ताको विरुद्ध थियो । सामान्यतया राज्यसत्ताविरुद्धको संघर्ष कठोर अनुशासन र इमानदारीबिना सम्भव हुँदैन । जनताको मन जित्न यो अत्यावश्यक हुन्छ । जनताको साथ नभए राजनीतिक आन्दोलनको आवरण त रहन सक्छ तर धेरै गतिविधि अनुशासन र इमानको अभावमा आतंककारी बन्न पुग्छन् । त्यस बेलाको राजनीतिक संघर्षमा लागेकाहरूमध्ये कतिपयले आफ्नो सम्पत्ति गुमाए । उच्च शिक्षा हासिल गर्ने, उद्यम, पेसा या व्यवसाय गर्ने उमेर गुमाए । 

०४६ पछि राजनीतिक संघर्षका बेला गरेको योगदानको मुआब्जा खोज्ने प्रवृत्ति विकास भयो । गुमेको उमेर र अवसरको पुर्ताल गर्न चाँडो सम्पत्ति जोर्ने लहर नै चल्यो, जुन अहिले थप संस्थागत बन्दै छ । यो प्रवृत्ति राजनीतिक विचारधारा निरपेक्ष रह्यो अर्थात् सबै दलका नेता–कार्यकर्ताले अपनाउने शैली एकै प्रकारको भयो । कर्मचारी सरुवाका लागि दौडधूप गरेर रकम उठाउने होस् वा सार्वजनिक पदमा नियुक्ति दिलाएर वा ठेक्का मिलाई दिएर होस् । राजनीतिक सम्पर्क वा दबाबको प्रयोग गरेर कसैलाई थुनाइदिएर होस् वा थुनामा रहेकालाई छुटाइदिएर होस् । संस्थागत बन्ने क्रममा पछिल्लो समयमा व्यावसायिक सहयोगी बनेर कम्पनीहरूमा नि:शुल्क सेयर खोज्ने, राजनीतिक सम्पर्क प्रयोग गरेर बढी नाफा हुने व्यवसायमा अनुमतिपत्र हासिल गर्ने प्रवृत्ति विकास हुँदैछ । 

राजनीतिक दलहरूले द्वन्द्वकालीन र आन्दोलनकालीन समयमा विकास गरेको दलीय संरचना र कार्यपद्धतिमा आमूल परिवर्तन नगरी यो प्रवृत्तिमा सुधार सम्भव छैन । 

२. नेपालको लोकतान्त्रिक आन्दोलन र लोकतन्त्र संस्थागत गर्न नेपाली कांग्रेसका श्रद्धेय नेता तथा पूर्वप्रधानमन्त्री दिवंगत गिरिजाप्रसाद कोइरालाको योगदान अतुलनीय छ । पार्टीको गतिविधि सञ्चालन गर्न वित्तीय स्रोत जुटाउने उहाँको विशिष्ट मोडेल थियो । प्रत्यक्ष/अप्रत्यक्ष रूपमा संलग्न केही पात्र यस मोडेलका दुईवटा विशेषता बताउँछन् । पहिलो, पार्टी गतिविधि सञ्चालनका लागि पार्टीको कोषभन्दा नेताको कोष ठूलो बनाउने । दोस्रो, कसैप्रति उत्तरदायी हुनु नपर्ने र लेखा परीक्षण गर्नु नपर्ने अपारदर्शी कोष संकलन विधि । 

यो मोडेलले नेतालाई पार्टीभन्दा शक्तिशाली बनाउँछ । र, बहुसंख्यक पार्टी पंक्तिको भक्ति संस्थाप्रति भन्दा नेताप्रति बढी हुन्छ । तर, यो मोडेलले भ्रष्टाचार र दुराचार न्यूनीकरण गर्न कदापि सक्दैन । यही मोडेल नेपालका ठूला–साना सबै दलका सर्वोच्च नेताले अनुकरण गरे । कसरी सिकाइयो/सिके, अहिलेसम्म प्रकट भएको छैन । त्यसैले धेरै पार्टीमा तिनीहरूको खातामा ऋण देखिन्छ । पार्टी यथार्थमा गरिब देखिन्छ तर उसका गतिविधिचाहिँ खर्चिला छन् । करोडौँ खर्च गरेर र्‍याली निकालिन्छ । चुनावमा नेताले पार्टीको उम्मेदवारलाई खर्च बाँड्छन् । जबकि, पार्टीले दिने थोरै हुन्छ । 

नेपालका ठूला नीतिगत भ्रष्टाचार, सरकारी ठेक्कापट्टामा कमिसनखोरको बिगबिगी, आर्थिक अपराधी भनेर कहलिएकालाई राजनीतिक संरक्षण, सुनको तस्करी, राज्यकोषलाई भार पारेर भेरिएसन अर्डर वा महँगोमा वस्तु खरिद आदि यही मोडेलको राजनीतिक वित्तको परिणाम हो । राजनीतिक दलहरूको वित्त संकलन प्रणालीमा आमूल सुधार नगरी भ्रष्टाचार र गलत आर्थिक गतिविधिको नियन्त्रण सम्भव छैन । रातारात धनी हुने, अकूत सम्पत्ति जम्मा गर्ने प्रवृत्ति भएकाहरूले राजनीतिक वित्तको यो मोडेल भत्कन दिँदैनन् । किनभने, यही मोडेलमा उनीहरूको संरक्षण र भरणपोषण हुन्छ । र, यसैका कारण राजनीतिक दलहरूमा रहेका असल मान्छे पाखा लगाइन्छन्, जिम्मेवारीविहीन बनाइन्छन् ।

३. उच्च शिक्षा अध्ययन गरेर सरकारका विभिन्न निकाय र सेवामा प्रवेश गरेकाहरूमा पञ्चायतको समयदेखि नै अधिकारको प्रयोग गर्दा मुआब्जा (रेन्ट)को सिर्जना गर्ने वा भेट्टाए रकम मास्ने प्रवृत्ति थियो । उच्चशिक्षा हासिल गरेर मुलुकलाई निगाह गरिदिएजस्तो ठाँट देखाउने वर्ग कर्मचारीतन्त्रमा हाबी हुँदै गयो । सम्पूर्ण छात्रवृत्तिमा अध्ययन गरेर प्राविधिक सीप हासिल गरेको यस वर्गमा पैसा जसरी भए पनि कमाउनु पर्छ भन्ने तत्त्व प्रभावशाली भयो । यसले गर्दा कर्मचारीतन्त्रमा असल चरित्रले हुर्कने अवसर नै पाएन । 

पछिल्लो लोकतान्त्रिक कालखण्डमा यो तप्का झन् सशक्त र यदाकदा राजनीतिक नेतृत्वलाई पनि झुक्याउन, छक्याउन सक्ने भएको छ । धेरैजसो आमनागरिकलाई प्रत्यक्ष नकारात्मक असर पर्ने र आर्थिक क्षति हुने गतिविधिहरू कर्मचारीतन्त्रकै साँठगाँठमा हुन्छ । राजनीतिक नेतृत्व इमानदार र विधिको शासन नभएसम्म कर्मचारीतन्त्र सुधार्न गाह्रो छ । 

४‍. ०४६ को आर्थिक उदारीकरणपछि त्यसअघिको नीतिगत पक्षपोषण र राजकीय सम्बन्धले हुर्केका सीमित व्यावसायिक घरानासँग प्रतिस्पर्धा गर्दै नयाँ व्यवसायीहरूको उदय भयो । यिनीहरू आफू मात्र नयाँ थिएनन्, नयाँ व्यावसायिक क्षेत्र विकासको नेतृत्व पनि यिनैले गरे । कतिपय असल व्यवसायीका बीच चाँडो धनी बन्ने होडमा केही गलत चरित्रको प्रादुर्भाव भयो । जुन स्वाभाविक थियो । तर, यसलाई सबल सार्वजनिक संस्था र शून्य मोलाहिजाको नियमनले नियन्त्रण गर्न सक्थ्यो । तर, ०५२ देखि नै सुरु भएको राजनीतिक अस्थिरता, द्वन्द्व र संक्रमणले गर्दा भएका सार्वजनिक संस्था पनि झन्झन् कमजोर बन्दै गए । बजारका नयाँ चुनौती र आर्थिक अपराधका नयाँ विधि नियन्त्रण गर्न बन्नुपर्ने कतिपय नियमनकारी निकाय बन्न सकेनन् । 

पछिल्ला दिनहरूमा सार्वजनिक संस्थाहरूलाई कमजोर बनाउने, आर्थिक लाभ सिर्जना गर्ने र त्यही धनको प्रयोग गरेर सार्वजनिक संस्था कब्जा गर्ने, आफ्नो बसमा राखिराख्ने एउटा चक्रव्यूह बनेको छ । यो चक्रव्यूह भेदन नगरी आर्थिक गतिविधिहरूमा देखिएको अराजकता नियन्त्रण हुन सक्दैन । त्यतिन्जेलसम्म मुनामदन रचनाको कालखण्ड सम्झिने मात्रै हो, त्यो सामाजिक मान्यता फर्काउन सकिँदैन । 

प्रकाशित: आश्विन २, २०७४