आइफोनसँगै नयाँ एप्पल वाच पनि

- नेपाल संवाददाता

आइफोन एट, एट प्लस र टेनसँगै एप्पल वाच सिरिज ३ पनि लन्च भएको छ । स्मार्टवाचहरुमा एप्पल वाच सबैभन्दा रुचाइएको थियो । नयाँ फिचर र क्षमता सहित आएको एप्पल वाच ३ प्रयोगकर्ताले झनै रुचाउने अनुमान गरिएको छ । 

एप्पल वाच सिरिज ३ बाट प्रयोगकर्ताले कल गर्ने, म्यासेज गर्ने र गीतसंगीत सुन्न सक्छन् । एप्पल म्युजिकबाट स्ट्रिमिङ गरेर यसमा चार करोडभन्दा बढी गीत सुन्न सकिन्छ । यसमा ब्लुटुथ र वाइफाइ पनि हुनेछ । त्यस्तै उचाइ नाप्नका लागि अल्टीमिटर पनि राखिएको छ । सबैभन्दा राम्रो कुरा त एप्पल वाच सिरिज ३ मा सिरी पनि चलाउन सकिन्छ ।

सिरी भनेको एप्पलको आर्टिफिसियल इन्टेलिजेन्स फिचर हो । 

यससँगै एप्पल वाच ओएसमा पनि अपडेट ल्याउँदैछ । नयाँ अपडेटमा व्यायामको एप पनि राखिने भएको छ । यसले प्रयोगकर्ताको मुटुको धड्कन पनि नाप्नेछ । यसको मूल्य ३ सय ९९ डलर तोकिएको छ । 

प्रकाशित: आश्विन २, २०७४