वर्षालाई सुक्खा

- नेपाल संवाददाता

अधिकांश कलाकार म्युजिक भिडियोबाट फिल्ममा फड्को मार्छन् । वर्षा सिवाकोटीको हकमा भने ठ्याक्कै उल्टो । नाई नभन्नु ल ४ बाट फिल्मी नगरीमा पाइला राखेपछि वर्षा म्युजिक भिडियोतिर मोडिएकी थिइन् । भलै त्यसबीचमा उनले फिल्ममा काम नै नगरेकी भने होइन । सुब्बा साब, पशुपतिप्रसाद, लप्पन–छप्पन, कारखानालगायतका फिल्ममा देखा परिन् । तर, पशुपतिप्रसादबाहेक सबै असफल । यसरी फ्लप हिरोइनको ‘ट्याग’ लागेकै बेला उनले मेरो पैसा खोइ ? नामक फिल्ममा अनुबन्ध भएर अन्तिम पलमा धोका दिएको खबर बाहिरियो । त्यसअगाडि पनि उनले एक सर्ट फिल्मलाई यस्तै व्यवहार गरेकी थिइन् । यसले स्वाभाविक रुपमा उनको साख धुमिल्याउने भइहाल्यो । सायद यही कारण हुनुपर्छ, करिअरको सुरुआतमै वर्षालाई फिल्मको सुक्खा लागेको छ । र, अहिलेचाहिँ म्युजिक भिडियोमै रमाउनु उनका लागि बाध्यता बनेको छ । 

 

प्रकाशित: आश्विन २, २०७४