एक प्याक कि एक नम्बर ?

- सूर्जे नेवा:

सबै दलका नेताहरु मधेसतिरै छन् । तर, मधेसमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको खटाइ अलि बेग्लै छ । अरुलाई सिर्फ पार्टीका उम्मेदवार जिताउनु छ, प्रचण्डलाई भने एक नम्बरकै पार्टी बनाएरै छाड्नु छ । त्यसका लागि उनको पहिरन फेरिएको छ । एकाबिहानै ट्रयाकसुटले तन र स्पोर्ट सुजले पाउ ढाकेर तराईको तातोमा खलखल पसिना बगाएको बगायै छन् । लौ है प्रचण्डज्यू, तपाईंले सोचेको जस्तो पार्टी एक नम्बरको बन्ला/नबन्ला तर तपाईंले बगाएको पसिना त्यसै खेर जाँदैन । यो ग्यारेन्टी नै भयो । तरतरी पसिना बगाएर गरेको ‘मर्निङ वाक’ले ६ दशक काटेको तपाईंको शरीर ‘सिक्स प्याक’को नभए पनि ‘एक प्याक’को त अवश्य हुनेछ । अनि, ‘फ्यामिली प्याक’को भुँडीमा नाचेर दिक्क मानी अन्तै लागेकी रेखा थापादेखि हालै पाँच दशक टेक्न लाग्दा नवाँै कक्षामा भर्ना भएकी करिश्मा मानन्धरसमेत तपाईंको सौन्दर्यमा मोहित भएर तपार्इंकै पार्टी प्रवेशको प्रबल सम्भावना छ । लौ है कमरेड, फूलमाला तयार गर्न लगाइहाल्ने हो कि ? 

प्रकाशित: आश्विन २, २०७४