राजपालाई झड्का

  • टिकट वितरणमा जात, नाता र पैसा हाबी भएपछि प्रभावशाली स्थानीय नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग

- बाबुराम विश्वकर्मा

प्रदेश–२ को स्थानीय चुनावको मुखमै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई २५ भदौमा आफ्नै प्रभाव क्षेत्र सर्लाहीमा ठूलै झड्का लाग्यो । राजपाका तीन केन्द्रीय सदस्यसहित सयौँ स्थानीय नेता–कार्यकर्ताले पार्टी परित्याग गरे । सर्लाहीको गढैयामा आयोजित नेकपा माओवादी केन्द्रको चुनावी सभामा केन्द्रीय सदस्यत्रय शिवपूजन राय यादव, रामबाबु दास र रामएकवाल रायसहित राजपाका सर्लाही उपाध्यक्ष महेन्द्रप्रसाद यादव, क्षेत्रीय सभापतिहरू अनिलकुमार सिंह, अनितादेवी यादव र विश्वमोहन सिंहलगायत राजपा छाडेर माओवादी प्रवेश गरे । 

राजपा परित्याग गर्नेमध्येका शिवपूजन सर्लाहीमा पकड भएका नेता मानिन्छन् । ०६४ को संविधानसभा चुनावमा उनले मधेसी जनअधिकार फोरमबाट क्षेत्र–६ बाट जितेका थिए । त्यतिबेला उनीसँग तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (हाल : राजपा अध्यक्ष) महन्थ ठाकुर र कांग्रेसका अमरेश सिंहले पराजय भोग्नुपरेको थियो । तर, तिनै शिवपूजनलाई अध्यक्ष ठाकुरले आफ्नो गृह जिल्लामा जोगाउन सकेनन् । राजपाका महासचिव केशव झा भन्छन्, “सर्लाहीमा हामीलाई क्षति भएकै हो । तर, त्यसले चुनावमा खासै असर पर्दैन ।”

चुनावका बेला दलबदल अस्वाभाविक होइन । तर, प्रदेश–२ लाई नै जीवनमरणको लडाइँ बनाएको र त्यहीँ मात्र सीमित भएको राजपाले त्यहीँ नै धेरै नेता–कार्यकर्ता गुमाउनुचाहिँ उसका लागि पक्कै सुखद होइन । जस्तो : सर्लाहीको कविलासी नगरपालिका निवासी राजपा महासचिव जंगीलाल यादवले २० भदौमै महासचिव पद त्याग गरे । राजपाले टिकट वितरणमा आफन्तलाई काखा र योग्यलाई पाखा लगाएकामा जंगीलाल जंगिएका थिए । उनी ०७० को संविधानसभा चुनावमा सर्लाही–५ बाट निर्वाचित भएका थिए । नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झा भन्छन्, “टिकट वितरणमा योग्यलाई बेवास्ता, जात र पैसालाई प्राथमिकता दिएकाले राजपाका राम्रा नेताहरूले पार्टी त्यागेका हुन् । यसबाट अहिलेको चुनावमा राजपालाई क्षति हुन्छ नै, संसद्को चुनावमा पनि नोक्सान पुग्छ ।” 

रोचक के छ भने आफ्ना नेता–कार्यकर्ता धमाधम पार्टी छाडेर अन्यत्र जाँदा पनि राजपा अध्यक्ष महन्थ ठाकुर २९ भदौसम्म सर्लाही झरेका छैनन् । उनको अनुपस्थितिमा सर्लाहीको चुनावी कमान्ड राजपाका अध्यक्षमण्डलका अध्यक्ष महेन्द्र राय यादवले सम्हालेका छन् । जंगीलाल र शिवपूजनलगायतले पार्टी छाडेपछि सर्लाहीमा राजपाको चुनावी अभियान रक्षात्मक बनेको छ । 

६ वटा प्रदेशमा ३१ वैशाख र १४ असार गरी दुई चरणमा स्थानीय तहको चुनाव सम्पन्न भइसकेको छ । तर, राजपाले आफ्ना माग सम्बोधन गराउन संविधान संशोधन नभई कुनै पनि चुनावमा भाग नलिने र चुनाव हुन नदिने अडान लिएको हुँदा प्रदेश–२ को मात्र चुनाव दसैँको मुखमा पुगेको हो । ज्ञातव्य रहोस्, राजपाले यसअघिका कुनै पनि चुनावमा भाग लिएको थिएन । 

प्रदेश–२ का १ सय ३६ मध्ये १ सय ३० स्थानीय निकायमा राजपाको एकल उम्मेदवारी परेको छ । विगतका चरणमा सहभागी नभएकाले यो चुनावमा राम्रो जित हासिल गर्नैपर्ने दबाबमा छ, राजपा । तर, चुनावी स्थिति भने उसका लागि प्रतिकूल बन्दै गएको छ । किनभने, राजपा अध्यक्ष महन्थकै गृह जिल्ला सर्लाहीमा मात्र होइन, प्रदेशका आठवटै जिल्लामा राजपा परित्याग गर्ने केन्द्रीय नेताहरूकै संख्या झन्डै एक दर्जन पुगिसकेको छ । 

जस्तो : पर्सामै, वीरगन्ज महानगरपालिकाको मेयरको टिकटका आकांक्षी पार्टी महासचिव विमल श्रीवास्तव चुनावकै मुखमा प्रतिस्पर्धी दलमा प्रवेश गरेका छन् । पार्टीले मेयरमा राजेशमान सिंहलाई अघि सारेपछि विमल राजपा परित्याग गरी विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट मेयरको उम्मेदवार भएका छन् । उनी वीरगन्ज नगरपञ्चायतका पूर्वप्रधानपञ्च र ०४८ पछि नगरपालिकाका मेयर रहिसकेका व्यक्ति हुन् । 

राजपाबाट पर्साकै पोखरिया नगरपालिकाबाट टिकटको दाबी गरेका जिल्ला नेता जगानन्द चौहान टिकट नपाएपछि नेकपा माओवादी केन्द्रबाट मेयरको उम्मेदवार भएका छन् । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका उपप्राध्यापक विनोद गुप्ता भन्छन्, “अवसरवादी र महत्त्वाकांक्षीहरू धेरै भएकाले राजपाले टुटफुट धेरै सहनुपरेको छ । टिकट वितरणमा पनि त्रुटि नै त्रुटि देखियो, त्यसको असर नतिजामा पर्छ ।”

मध्य तराईको धार्मिक सहर जनकपुरमा पनि राजपाको टिकट वितरण त्रुटिरहित रहेन । त्यसैले उसले त्यहाँ पनि चुनावको मुखमै एक जना केन्द्रीय सदस्य गुमाएको छ । चुनावी अभियान र टिकट वितरणमा असन्तुष्ट पार्टी केन्द्रीय सदस्य आभास लाभले २० भदौमा राजपा परित्याग गरे । उनले जनकपुर उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । जिल्लाबाट मेयरमा लाभको नाम सिफारिस गरे पनि केन्द्रीय नेतृत्वले अस्वीकार गरेपछि उनी रुष्ट भएका हुन् । 

यसअघि जनकपुरकै प्रतिनिधित्व गर्ने पार्टी केन्द्रीय कोषाध्यक्ष अनिता यादवले राजपा परित्याग गरी नेकपा एमाले प्रवेश गरिसकेकी छन् । ०७० को चुनावमा धनुषा–५ बाट तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी उनी झीनो मतान्तरले पराजित भएकी थिइन् । 

महोत्तरीमा पनि राजपा केन्द्रीय सदस्य बजेन्द्र मिश्र टिकट नपाएको झोँकमा पार्टी परित्याग गरी २१ भदौमै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा प्रवेश गरे । फोरमले मिश्रलाई पिपरा गाउँपालिका प्रमुखमा उम्मेदवार बनाएको छ । 

आन्तरिक गुटबन्दी, किचलो अनि टिकट वितरणमा जथाभावी गरिएकाले प्रदेश–२ मा मात्रै सीमित हुँदा पनि राजपाको चुनावी अभियानले गति लिन सकेको छैन । तेस्रो चरणको निर्वाचनलाई नजिकबाट नियालिरहेका त्रिभुवन विश्वविद्यालयमा अंग्रेजीका उप–प्राध्यापक विपिन देव ढिलो गरी चुनावमा उत्रेको, मधेस मुद्दामा अस्पष्ट रहेको र शीर्ष नेताहरूबीचको जँुगाको लडाइँले राजपा चुनावी रणनीतिमा कमजोर साबित भएको बताउँछन् । भन्छन्, “राजपाले कांग्रेस, एमाले र माओवादीविरुद्ध प्रतिशोधको राजनीति गरेको छ, त्यसले मात्र चुनावमा सफलता हासिल हुँदैन ।” 

प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका मुख्य नेताहरूको बास नै प्रदेश–२ मा सरेको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल मधेसमै अड्डा जमाएर बसेका छन् । तीनै जना भदौको अन्तिम साता आठ जिल्लाका चुनावी सभाहरूमा सक्रिय रहे । 

तर, राजपा अध्यक्ष महन्थ ठाकुर चुनावी सभाहरूमा सहभागी छैनन् । राजपाका शीर्ष नेताहरू हृदयेश त्रिपाठी र सर्वेन्द्रनाथ शुक्ल, जो प्रदेश–५ बाट प्रतिनिधित्व गर्छन्, ले प्रदेश–२ को चुनावलाई खासै प्राथमिकता दिएका छैनन् । जनकपुरको रामसागर रामस्वरूप बहुमुखी क्याम्पसका प्राध्यापक सुरेन्द्र लाभ भन्छन्, “यो कोर मधेस भएकाले सबै दलले यसलाई ग्राउन्ड जिरो बनाएका छन् । त्यसैले प्रतिस्पर्धा चर्को छ । तर, सिद्धान्तमा नअड्ने र आफूले भनेको मात्रै हुनुपर्छ भन्ने मनोविज्ञानले ग्रस्त भएका कारण राजपाले मधेसलाई चित्त बुझाउन सकिरहेको छैन ।” 

सप्तरीमा नातावाद हाबी

प्रदेश–२ को पूर्वी जिल्ला सप्तरीमा पनि राजपाको चुनावी किचलो चुलिएको छ । कंकालिनी हनुमाननगर नगरपालिकामा पार्टी केन्द्रीय उपाध्यक्ष नवलकिशोर साहले आफ्ना कान्छा छोरा शैलेश साहलाई टिकट दिएपछि टिकटका आकांक्षीहरू भड्किएका छन् । त्यस्तै, राजपाका अर्का केन्द्रीय उपाध्यक्ष शेखर सिंहले तिलाठी गाउँपालिकाको अध्यक्षमा आफ्ना माइला छोरा सतिश सिंहलाई अघि सारेका छन् । त्यसै गरी छिन्नमस्ता गाउँपालिका प्रमुखमा राजपा नेता रामनारायण यादवले आफ्नी पत्नी विमलादेवी यादवलाई टिकट दिलाएका छन् । 

यी त केही नमुना मात्र हुन् । सप्तरीमा टिकट वितरणमा नातावाद र पैसाको खेल भएको राजपाका केन्द्रीय सचिव गजेन्द्र मण्डलले आरोप लगाएका छन् । टिकट वितरणमै नातावाद हाबी भएको भन्दै केन्द्रीय सदस्य भीमराज यादवले पार्टी त्यागेका छन् । उनले राजविराज नगरपालिकाको मेयरमा दाबी गरेका थिए । तर, पार्टीले उनको साटो ठेक्कापट्टामा सक्रिय शम्भु यादवलाई टिकट दियो । त्यसपछि भीमराज संघीय समाजवादी फोरमबाट मेयरको उम्मेदवार बनेका छन् । राजविराज निवासी वरिष्ठ अधिवक्ता हिम्मतसिंह भन्छन्, “राजपाले यो चुनावमा जात, नाता र पैसा मात्र हेरेको छ ।”

 

 

प्रकाशित: आश्विन १, २०७४