नोटबुक

- गुरुङ सुशान्त

चौकीमा जारीखत

प्रेमका अगाडि कसैको केही नचल्दो रहेछ । कथा एक चिनारु तामाङ समुदायका युवकको हो । प्रेमको ज्वारभाटा उर्लिएपछि उसले आफ्नै उमेरकी युवतीलाई भगायो । तर, युवती एक बच्चीकी आमा थिई । पतिको भन्दा नयाँ ठिटोको प्रेमले जितेपछि उसले कठिन चुनौती उठाएकी थिई । 

सूर्यविनायक चौकीमा लागेको रमितेको भीड दुई भागमा विभक्त थियो । एक, रानीकोटको पक्षमा, अर्को गुन्डुको । रानीकोट युवतीको प्रेमीको घर हो भने गुन्डु पतिको । चौकीभित्रै दोहोरो हानाहान चलेपछि युवती, उनका भाइ र प्रेमीलाई खोरभित्रै थुनियो । तर, युवतीचाहिँ सुरक्षाको कारण देखाउँदै आफैँ भित्र गएकी थिई । रात परिसकेकाले सबै लाखापाखा लागे । तर, घटनाले ठूलै झडपको आह्वान गरेको आभास हुँदै थियो । 

भोलिपल्ट दुई तामाङ गाउँ सोहोरिएर चौकीमा थुप्रियो । पल्सरमा हुँइकिएका युवाहरु भिडन्तको मुडमा पुगिसकेका थिए । महिलाहरु एकआपसमा तथानाम गालीगलौजमा उत्रिए । गुन्डुका मानिसहरु १०–१५ लाख रूपियाँ जारीखत नबुझी नमान्ने अडानमा देखिए । सबै आवेग–आक्रोशमा तान्डोन्मुख थिए । प्रहरीचाहिँ दुवै पक्षलाई तपाईंहरु ‘मिलेर आउनूस्’ भनिरहेका थिए । 

मैले युवती र उसको प्रेमीलाई बोलाएर सोधेँ, ‘तिमीहरु एकअर्कासँग छुट्टिएर बस्नै नसक्ने हो ? बिहे गर्न तयार छौ दुवै ?’ उनीहरुको कुरा सुन्दा पूर्ण तयारीका साथ भागेजस्तो लाग्दैनथ्यो । तापनि, उनीहरु यहाँबाट भागेर हेटौँडामा केही दिन बसेका थिए । ठिटो केही समयअघि मात्र सैनिक तालिमबाट भागेको थियो । उसको अस्थिर स्वभावसँग म पहिल्यै परिचित थिएँ । उनीहरु बिहे गर्न राजी देखिएपछि युवतीलाई पतिसँग सम्बन्धविच्छेद गर्न सल्लाह दिएँ ।

चौकीका प्रहरी अधिकारी दिक्क मान्दै बोले, “छिटो टुंग्याउनूस् । जारी तिर्ने रकममा सहमति गर्नूस् र मिलापत्र गरेर जानूस् ।” म त एकछिन ट्वाँ परेँ । तर, चुप बसिनँ । सोधेँ, “सर, जारीखत तिर्ने व्यवस्था अहिलेको कानुनमा छ ?” तिनले जवाफ फर्काए, “कतिपय अवस्थामा कानुनमा नभए पनि जातीय/सांस्कृतिक मान्यता नै मान्नुपर्छ । हामीले आँखा चिम्लिदिनुपर्छ ।” मलाई असैह्य भो । तापनि, संयमित भएर बोलेँ, “सहमति त जुट्ला । तर, हामी तपाईंकै रोहबरमा जारीखत रकम उल्लेख गरेर मिलापत्र गर्छौं, हुन्छ ?” उनी तर्किहाले, “कागजमा रकमको कुरा राख्न मिल्दैन । झगडाको मिलापत्र मात्र हुन्छ ।” थप बोल्न मनै भएन । प्रहरीकै सामु कोही यस्तो पनि भन्दैथ्यो, ‘जार काट्न पनि मिल्छ ।’ 

लामो रस्साकसीपछि १ लाख ७५ हजार रूपियाँ जारीखत बुझाइयो । कुरा मिलाइयो । तर, अझै मन बुझेको छैन । लागिरहन्छ– जातीय मान्यता बुझेको प्रहरी–प्रशासनले गाई मारेको अभियोग लागेकाको घटनामा पनि आँखा चिम्लिदिन्छ ?

एकाबिहानै भनाभन

बिहानै पत्रिका पढेर सिद्धपोखरीको उत्तरी ढोकाछेउ सतलमा हावा खाँदै थिएँ । दुई पुरूष आए, एउटाले भन्यो, ‘यहाँ रैछ ल ।’ केही अश्लील शब्द हुत्याउँदै अर्कोले एक जोडीलाई हकार्न थाल्यो, ‘के हो, बिहानबिहानै यसरी बस्न लाज लाग्दैन ? घर कहाँ हो तिमीहरुको ?’ त्यो जोडी मसिनो आवाजमा गफ गर्दै थियो । तर, तिनले कुनै उच्छृंखल क्रियाकलाप गरेका थिएनन् । निर्दोषलाई थर्काएको देखेपछि मलाई खपिनसक्नु भयो । भनेँ, “तपाईंहरु को हो ? अनाहकमा किन तर्साएको ?” तिनीहरुले आफू प्रहरी भएको दाबी गरे । मैले शंकायुक्त प्रश्न गरेपछि परिचयपत्र देखाउँदै तिनले मलाई पनि थर्काए, “तपाईंचाहिँ को नि ?” आफूलाई आमजनता भन्दै मैले तिनीहरुलाई प्रतिप्रश्न गरेँ, “यहाँ बस्न पाउने/नपाउने या कुन समयमा बस्न हुने कसरी थाहा पाउने ? कुनै सूचनाबोर्ड छ ? जनतालाई सूचनाको हक छैन ?”

उनीहरुसँग जवाफ थिएन । मैले ओशो–लाइनबाट प्रेमबारे हल्का गफ दिएँ । एक प्रहरीले कड्किएर भने, “यहाँ हुने अश्लील गतिविधि रोक्नुपर्छ । सैनिक स्कुलबाट पनि उजुरी आउँछ ।” म पनि जोसिएर बोलेँ, “हरेक उच्छृंखल गतिविधि रोक्नुहुन्छ ?” अर्का प्रहरीले आत्मविश्वासका साथ भने, “एकदम !” त्यतिबेलै सैनिक महाविद्यालयको कर्मचारी आवासतिर फर्किएर निर्धक्कले पिसाब फेरिरहेका दुई अधबैँसेलाई औँल्याउँदै भनेँ, “ल, रोक्नूस् तिनलाई ।” उनीहरु अवाक् भए र मलाई आँखा तर्दै बाटो लागे । 

देश बिगार्ने खलासी ?

साँझको बेला भक्तपुर जाने बसमा यात्रारत थिएँ । राधेराधेनजिकैबाट एक पुरूष गाडीमा उक्लिए । उनीसँगै रक्सीको हल्का गन्ध पनि उक्लियो । सल्लाघारी पुगेपछि तिनी सहचालकलाई बिनाकारण तथानाम गाली गर्न थाले । आमाचकारी शब्दसहित सहचालकको टिसर्ट समातेपछि बसको वातावरण केही असहज भयो । तिनको दादागिरी देखेपछि मलाई उकुसमुकुस भइसकेको थियो । सैनिक महाविद्यालयनेर पुगेपछि मैले भनेँ, “के भो दाइ ? यो तपाईंको निजी गाडी हो, रक्सी खाएर हल्ला गर्न ?” त्यसपछि तिनी अलिक हच्किए । तर, ती मतिरै फर्किएर बर्बराउन थाले, “देश बिगारेकै खलासी–ड्राइभरले हो । यिनीहरुलाई ठीक ठाउँमा राख्नुपर्छ । हामीलाई जाबो खलासीले हेप्ने ?”

बागबजारबाट भक्तपुर आउँदासम्म त्यस गाडीका चालक–सहचालकको मिजास रुखोजस्तो लागेको थिएन । अनि, म अलि रिसाएर बोलेँ, “तपाईंले चाहिँ खलासीलाई हेप्न पाइन्छ ?” तिनले तुरुन्तै जवाफ फर्काए, “तपाईं नै महान् हो । अहिले खलासीलाई काँधमा राख्नूस् । यसले पछि टाउकोमा टेक्छ तपाईंको । देश बिगारेकै खलासीले हो ।” लय नमिलेको दोहोरी खेल्न मज्जा लागेन । र, भनेँ, “तपाईं हल्ला गर्न छोड्ने कि बस रोकेर झारिदिउँm ?” तिनी अझै बोल्न खोज्दैथे, म फेरि कराएँ, “पुलिसलाई फोन गरिदिउँm ?” ती चुप लागे । म अलि पर ओर्लिएँ ।

मोडमा पुगेपछि मनमनै भनेँ– ठीक भन्यौ दाइ, देश बिगार्ने चालक–सहचालक नै हुन् । तर, तिनले काठमाडौँ–भक्तपुरको बस चलाउँदैनन् । ती संसद्, पार्टी, सरकार, बजार, ठेकेदार, माफिया, गुन्डा साराका सारा चलाउँछन् । तिनलाई बेलैमा चिन्न सक्नुपर्छ । त्यसका लागि पहिले तिमी आफैँ होसमा रहनुपर्छ । 

प्रकाशित: आश्विन १, २०७४