[झटारो] यो जुनीलाई स्वस्थकर बनाऔँ

  • आँट र शक्ति हुनेले नियम, कानुन, आचारसंहिता इत्यादिलाई ह्याकुलाले मिच्ने हाम्रो परम्परै हो ।

- लक्ष्मण गाम्नागे

भ्रष्टाचार, दण्डहीनता र मनपरीतन्त्रले सीमा नाघ्यो भनेर हाम्रा केही साथीहरू खुब चिच्याइरहेका छन् । भ्रष्टाचारविरुद्ध चिच्याउनु, खोलामा गीत गाउनु र अँध्यारोमा तीर हान्नु एकै हो भन्ने उनीहरूलाई थाहा छ तैपनि चिच्याउन छाड्दैनन् । कहिले उनीहरू चूडा सरतिर तीर हान्छन्, कहिले गोपाल सरको खेदो गर्छन्, कहिले खनियाँ सरमाथि खनिन्छन् त कहिले डोलिन्द्र सरविरुद्ध डङ्का पिट्छन् भने कहिले देउवा दाइलाई दाह्रा किट्छन् । 

कुइनाले पहरो भत्काउन खोज्दा आफ्नै कुइनो घाइते हुन्छ भन्ने पनि उनीहरूलाई थाहा छ । रोएर, कराएर, टाउको फुटाएर, अनशन बसेर त के, मरे पनि कतैबाट सुनुवाइ हुने होइन । छोराको हत्यारामाथि कारबाहीको माग राखेर अनशन बस्दाबस्दै मरेका नन्दप्रसाद अधिकारीको लाश तीन वर्षदेखि अस्पतालमै लडिरहेको छ । उनकी पत्नी अहिले पनि अनशन बसिरहेकी छन् र कुनै दिन उनको गति पनि नन्दप्रसादकै हुन बेर छैन । अनशन बस्दाबस्दा डा गोविन्द केसीको ज्यान सुकुटीजस्तो भइसक्यो । यसपालि त झन् उनी अनशनमा बेहोस भइरहेकै बेला सरकारले एउटा अपार्टमेन्टलाई अस्पताल बनाउन सम्बन्धन दियो । पछि सम्बन्धन खारेज भयो, त्यो बेग्लै कुरा । डा केसीलाई पनि थाहा छ, अनशनसँग डराएर सम्बन्धन खारेज भएको होइन, देउवाजीलाई खारेज गरौँ–गरौँ लागेर खारेज भएको हो ।   

अस्ति चुडा सरलाई अख्तियारले पक्राउ गर्दा खुच्चिङ भन्दै उफ्रिने साथीहरू अहिले हिस्रिक्क परेर उनको पुन:बहाली हुने दिन गन्दै छन् । गोपाल सरलाई परार साल ठूलै घोटाला काण्डमा जेलै पठाउलाझैँ गरेका मित्रहरू उनलाई बाह्र हातका टाँगाले पनि नछोएपछि थुचुक्क भएका थिए । अहिले फेरि जग्गा खरिदमा घोटाला गरेको भनेर घाँटी सुकाउँदैछन् । संसद्को समितिले पनि कारबाहीको सिफारिस गर्‍यो भन्ने सुनिँदैछ । त्यसले केही खालो सार्नेवाला छैन । ठूलै उल्कापात भयो भने उनको जागिर जाला, सात पुस्तालाई पुग्ने गरी जम्मा गरेको धन कहीँ जाँदैन । 

प्रधानमन्त्री देउवाजीले जम्बो मन्त्रिपरिषद् बनाए, पेसेवर भ्रष्टाचारीलाई मन्त्री बनाए, निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनेर पनि साथीहरू चिच्याउँदैछन् । जति चिच्याए पनि देउवाजीका कानमा बतास लाग्ने भए पो ! अझै मन्त्री थप्छु, के नाप्छौ पो भन्दैछन् ।   

आँट र शक्ति हुनेले नियम, कानुन, आचारसंहिता इत्यादिलाई ह्याकुलाले मिच्ने हाम्रो परम्परै हो । मिचेपछि मिच्यो, मिच्यो । खाएपछि खायो, खायो । जसले हान्यो, उसले जान्यो । जसको पावर, उसकै अग्लो टावर । मुख्य कुरा सर्म हो । सर्म नहुनेलाई न डर हुन्छ, न कुनै नियम–कानुन पालना गर्न कर हुन्छ । निश्चिन्त रहौँ, स्यालले पैँचो लगेको मासु, आयल निगमले किनेको जग्गा, प्रधानमन्त्रीको जम्बो मन्त्रिपरिषद्, भ्रष्टाचारीले निलेको राजस्व, सर्पको पेटमा पुगेको भ्यागुतो, यी कुनै पनि फिर्ता हुँदैनन् ।

‘कर्म गर फलको आशा नगर’ भनेर गीतामा भनिएको छ । हामी पनि त्यसै गरौँ । फलको आशा नभए पनि आत्तिन, चिच्याउन, ‘लौन खाए, सके, गुहार गुहार’ भन्न नछाडौँ । योग–विज्ञानका अनुसार चिच्याउनु, रुनु, रिसाउनु, मुर्मुरिनु एक लाभदायक उपचार पद्धति हो । यसले हाम्रो शरीर र मनलाई स्वच्छ र हलुका बनाउँछ । त्यसैले भ्रष्टाचार, व्यभिचार, अत्याचार र अराजकताविरुद्ध जोडजोडले चिच्याउँदै, कराउँदै, दाह्रा किट्दै यो एक बारको जुनीलाई स्वस्थकर बनाऔँ, दीर्घ जीवन बाँचौँ ।

प्रकाशित: आश्विन १, २०७४