दसैँ बम्पर

- वाटरगेट उपाध्याय

कुनै बेला आजजस्तै थियो कांग्रेस । कसैको कुरा कसैसँग मरिगए नमिल्ने । बीपीको कुरा मातृकासँग नमिल्ने । गणेशमानको कुरा गिरिजाप्रसादसँग नमिल्ने । शैलजा आचार्यको कुरा शेरबहादुर देउवासँग नमिल्ने । शैलजाको एउटै रट हुन्थ्यो, ‘स्मल इज ब्युटिफुल ।’ उता शेरबहादुर भने ‘स्मल’ भन्ने शब्दै नरुचाउने । र, भन्थे– ‘बिग इज बेस्ट ।’ जस्तो कि शैलजा जहिले पनि साना र घरेलु खपतका जलविद्युत् आयोजनाको पक्षमा हुन्थिन् । शेरबहादुर ठूला र निर्यातमूलक जलविद्युत् आयोजना जिन्दावाद भन्थे । 

‘ठूलो’ मन पराउने यिनै देउवाले दसैँ नजिकिँदै गर्दा बम्पर उपहारका रुपमा मन्त्रिपरिषद् विस्तार गरेर त्यसलाई भीमकाय बनाए । दुई दशकअघि प्रधानमन्त्री हुँदाको आफ्नो रेकर्ड आफैँले तोडे । ०५२ मा अर्धशतक अर्थात् ४९ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर खुबै हिट भएका उनले अहिले ५४ सदस्यीय बनाए । अब शेरबहादुरलाई जम्बो शब्द प्यारो नहुने कुरै भएन । उनले त कतिसम्म गरे भने पञ्चायतकालमा ‘जम्बो जेट काण्ड’ मच्चाएका दीपक बोहरालाई पनि आफ्नो जम्बो मन्त्रिपरिषद्मा ठाउँ दिए । बुझे–बुझेजस्तो लाग्ने तर बुझ्नै नसकिने अमृत कलाजस्तो छ, शेरबहादुर दाइको जम्बो प्रेम । अब, जय शम्भो होइन जय जम्बो !

प्रकाशित: आश्विन १, २०७४