नोटबुक

  • समुद्रलाई बार लगाएर जोगाइराखिएको नेदरल्यान्ड्सको आम्स्टर्डम सहरमा पुग्दा मनुष्य पौरखमा गौरव गर्न मन लाग्यो ।

- रामबहादुर रावल

समुद्रमुनिको सहरमा

हिमाली जिल्लामा जन्मे–हुर्केकाले समुद्रको स्पर्श एउटा सपनाजस्तै थियो । नेदरल्यान्ड्सको आम्स्टर्डम पुगेपछि त्यो सपना पूरा भयो । पृथ्वीको वल्लो छेउबाट पल्लो छेउमा पुगेर बेग्लै भूआकृतिसँग त साक्षात्कार भयो नै, समुद्री छालसँग जिस्किएर बस्दा अर्कै आनन्द पनि । समुद्रको छाल उचालिएर हामीलाई छोप्न आउँथ्यो । निकै बेरसम्म हाम्रो लुकामारी चल्यो । हावाको झोक्काले ल्याउने बालुवासँग पनि डर लागेन, लडीबुडी नै खेल्यौँ । 

समुद्री सतहभन्दा करिब सात मिटरमुनि रहेको सहर । समुद्रलाई बार लगाएर जोगाइराखिएको यो सहरमा पुग्दा मनुष्य पौरखमा गौरव गर्न मन लाग्यो । अत्याधुनिकता चरमोत्कर्षमा पुगेर पनि इतिहासलाई जिउँदोजाग्दो रुपमा राखिएको छ, मौलिक वास्तुकलाको अनुपम नमुनाका साथ । हरेक टोलमा बग्ने नदी/नहरहरु, नदीकिनारमा दायाँबायाँ सडक, सडकमा पनि साइकललाई छुट्टै लेन छन् । यहाँजस्तो साइकलयात्रीलाई हेप्नेहरुको त्यहाँ कुनै स्थान छैन । चिल्ला बाटामा सानसँग साइकल चढ्नु नै त्यहाँको मज्जा रहेछ ।

यौनबजार त्यहाँको अर्को आकर्षण हो । सुन्दरीहरु आफ्नो खुसीले यौवन बेच्छन् । औसत ५० युरोमा शरीर बेच्न तयार हुने ती सुन्दरीको यौवन त्यहाँको अर्थतन्त्रका प्रमुख आधारमध्ये रहेछ ।

नेदरल्यान्ड्सको अर्थतन्त्रमा वार्षिक साढे दुई अर्ब युरो अर्थात् तीन खर्ब रुपियाँ बराबरको योगदान रहेछ । हुन त दृश्यपान र स्पर्श सुखका निम्ति १० देखि २० युरोको मेनु पनि नभएको होइन । यौनपारखीहरु बियर र कफीको चुस्कीसँगै प्रत्यक्ष यौनक्रीडा अवलोकन गर्न त्यहाँ पुग्दा रहेछन् । संसारभरिका पर्यटकको पहिलो रोजाइ नै नखरावाली युवती रहेछन् । अझ लालबत्ती बजारका आसपासमा रहेका यौनजन्य खेलौना, पुरुष र स्त्रीका गर्भनिरोधक सामग्रीका पसलहरु, ती पसलमा स्त्री–पुरुषको उत्तिकै संख्याको भीड, समलिंगी जोडीहरुका निष्फिक्री आलिंगनहरुले हाम्रो बन्द समाजको आँखालाई पचाउनै गाह्रो पर्ने । तैपनि, नेपालका कतिपय बहालवाला मन्त्रीदेखि सुरक्षा निकायका उपल्ला अधिकारीहरुले समेत त्यहाँका लालबत्ती चहार्दै लालझन्डा गाडेको प्रसंग स्थानीय नेपाली सहजकर्ताहरुले विनोदप्रिय शैलीमा सुनाए । 

स्खलित विकास सपना 

नेपाललाई स्वीट्जरल्यान्ड बनाउने नारा दिनेहरु हाम्रो राजनीतिका हरेक पुस्तामा देखिए, देखिन छाडेका छैनन् । स्वीट्जरल्यान्ड बनाउने सपनाले नै तानेर होला, यहाँ संविधान बनाउन नेता र विकासे बिचौलियाहरुको एक हुल जेनेभा पुगेकै हो । त्यसअघि विद्रोही माओवादी नेतालाई नक्कली पासपोर्ट बनाइदिएर, जहाज चढाएर शान्तिवार्ता नै स्वीट्जरल्यान्डमा गर्ने तयारी ‘एयरपोर्ट टाइम’मा पुगेर रद्द भएको थियो । अन्तत: दिल्लीमा पुगेर शान्ति वार्ता अवतरण भयो । संविधान बनाउने क्रममा त हाम्रा नेता/सभासदहरु चन्द्रमामा मात्र पुग्न भ्याएनन् भनेर तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नै टिप्पणी गरिसके । 

हाम्रा प्रमुख नीति निर्माता, प्रशासकहरुमा देखिएको विदेशमोह हेर्ने हो भने संसारको जुनकुनै भूभागमा भएका विकासका नमुना नेपालमा ठडिनुपर्ने हो । एउटै कार्यक्रममा दर्जनौँ मन्त्री र सचिव जान तयार हुन्छन् । आर्थिक वर्षको अन्त्यतिर त एकपटक सिंहदरबार पूरै सुनसान हुन्छ र उच्चपदस्थहरु जहाज चढेर समुद्रपार गर्छन् । प्रत्यक्षदर्शी/सहजकर्ता दाबी गर्ने नेपालीहरुका भनाइमा युरोप भ्रमणमा जाने प्राय: नीति निर्माता त्यहाँको बियर र विलासलाई अन्तिम गन्तव्य ठान्छन् । यो कुरा नपत्याउनु पनि कसरी ? किनभने, वास्तविक रुपमा विकासको गुह्य थाहा पाएर फर्किन्थे भने नेपालमा त्यसको अभ्यास पक्कै गर्दा हुन् । अत्युक्ति नै सही, भन्न मन लाग्छ– कतै हाम्रो विकासको सपना युरोपका लालबत्ती क्षेत्रमै स्खलित हुँदै आएको त छैन ?

युरोप र नेपाल

युरोपको हरेक भूमिसँग कठोर र निर्मम इतिहास छ । मानव इतिहासका कठोरतम युद्ध र नरसंहार पटक–पटक युरोपले बेहोरेको छ । ती युद्ध विभीषिका हेरी हामीले त के नै बेहोर्‍यौँ भन्न सकिन्छ । तैपनि, त्यहाँको विकास, संस्कार, सभ्यता र राज्यले आफ्ना नागरिकलाई प्रत्याभूत गरेको सामाजिक सुरक्षाका व्यवस्था हेर्दा हामीले हीनताबोध गर्ने र आफ्नो सरकारलाई सराप्नेबाहेक अर्को ठाउँ छैन ।

नेपालीकै बीचमा तुलना गर्दा पनि देखिने भिन्नता के हो भने नेपालमा उद्यममा हात हाल्नु नै जोखिमपूर्ण मानिन्छ । तर, जर्मनी, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स, स्वीट्जरल्यान्ड, लक्जम्बर्ग जहाँजहाँ पुगियो, प्राय: सहरमा नेपालीले गरेका उद्यम लोभलाग्दो रहेको पाइयो । व्यक्तिगत रुपमा स्थापित हुन उनीहरुले जेजस्तो संघर्ष गरे पनि उद्यममा हात हालिसकेपछि प्राय: नेपालीले तारे होटल, महँगा रेस्टुराँ र स्टोर चलाएका छन् । उनीहरुको वृद्धि र समृद्धि हेर्दै लोभलाग्दो छ । तर, मनमा उठिरहने एउटा प्रश्न, नेपालमै चाहिँ किन गर्न सक्दैनन् तिनले ? एनआरएन राजनीतिसँगै चिनिएका धनाढ्य उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्तहरुको कुरा छाडौँ । तीबाहेक पनि कैयौँ नेपाली उद्यममा जमेको पाइयो । अन्तर्राष्ट्रिय संस्थाका उच्च र प्रतिष्ठाजनक ओहोदामा पुगेका नेपाली भेटिए ।

लक्जम्बर्गको केन्द्र भागमै रेस्टुराँ र डेपार्टमेन्टल स्टोर सञ्चालन गरिरहेका गुल्मीका हरिबहादुर खत्रीले यही प्रश्न गरे, तिनै नेपाली विदेशमा उद्यम–व्यवसायबाटै यति सहजै प्रगति गर्ने, विदेशीलाई रोजगारी दिने तर नेपालमा किन त्यो सम्भव नहुने ? प्रश्न यहीँका नीति निर्माताहरुलाई । 

प्रकाशित: भाद्र ३०, २०७४