बादशाहो: न नयाँपन, न कलात्मक

  • जनरा एक्सन–थ्रिलर भए पनि फिल्ममा दर्शकलाई करेन्ट लगाउने कुनै ‘ट्वीस्ट’ छैन ।

- गोकर्ण गौतम

इन्दिरा गान्धीले सन् १९७५ मा संकटकाल घोषणा गरिन् । नागरिकका अधिकार खोसिए । एक खालको तानाशाही र बर्बर समय थियो त्यो । जुन यतिबेला बलिउडका फिल्मकर्मीका लागि गतिलो खुराक बनेको छ । संकटकाल र त्यसले उत्पन्न गरेका विविध पक्षलाई उतारिएका दर्जनौँ फिल्म बनेका छन् । ‘पिरियडिक ड्रामा’मा नाम कमाएका मिलन लुथरिया पनि किन पछि पर्थे र ? राजखजनामाथि तत्कालीन सरकारको गिद्धेनजरलाई केन्द्रमा राखेर फिल्म बनाएका छन्, बादशाहो । राजस्थान र दिल्लीको द्वन्द्वलाई सतहमा ल्याउने प्रयास छ उनको । तर, यति गम्भीर विषयलाई बजारु शैलीमा प्रस्तुत गरिएकाले सम्प्रेषणीय भएको छैन । जबकि, फिल्ममा अजय देवगन, इमरान हासमी, इलियाना डिक्रुजदेखि विद्युत् जाम्मवालजस्ता गिनेचुनेका कलाकारको डफ्फा छ । कथालाई जीवन्त ढंगमा पस्कनेभन्दा बजारको माग अनुसार मसला हालिएकाले फिल्म हेरिसकेपछि मन कटक्क खान्छ । 

संकटकालका दौरान राजस्थानकी महारानी गीताञ्जली (इलियाना)को करोडौँ मूल्यका हीरा, सुन, चाँदीजस्ता खजानामाथि केन्द्रीय सरकारको आँखा लाग्छ । ती बहुमूल्य रत्न दिल्लीसम्म ल्याउने जिम्मा दिइन्छ, मेजर सहर (विद्युत्)लाई । तर, गीताञ्जलीले बाटोबाटै गायब पारिदिने प्रपञ्च रच्छिन् । यो योजनालाई मूर्त रूप दिन उनले आफ्नो बफादार भवानी सिंह (अजय)लाई रोज्छिन् । भवानीले एउटा टिम नै बनाएर ‘ग्रान्ड डिजाइन’ रच्छन् तर कडा सुरक्षा घेराबीच ओसार्न लागिएको खजाना आफ्नो वशमा पार्न भवानीको समूह सफल होला त ? फिल्मको केन्द्रीय द्वन्द्व यही हो ।

सुरक्षाकर्मी र कथित चोरहरूको बीच बाटोमा हुने रस्साकसी बलिउडका लागि नौलो होइन । ’८० को दशकदेखि नै यस्ता कथामा फिल्म बन्न थालेको हो । कथा बासी भए तापनि प्रस्तुतिले चमक भर्ने प्रशस्त सम्भावना थियो । तर, सिर्जनशील भनेर चिनिएका निर्देशक लुथरियाले ’८० कै दशकको बिकाउ फर्मुलालाई अवलम्बन गरेका छन् । सोही कारण फिल्म हेरिरहँदा फिटिक्कै ताजापन महसुस हुन्न । भवानीले लुट्ने ग्याङ बनाउने शैलीदेखि प्रहरीको रबैयासम्म पुरातन शैलीकै छ । मरुभूमिमा खिचिएका केही एक्सन दृश्यले सान्त्वना दिन्छ । 

जनरा एक्सन–थ्रिलर भए पनि फिल्ममा दर्शकलाई करेन्ट लगाउने कुनै ‘ट्वीस्ट’ छैन ।

क्लाइमेक्सतिरको ‘ट्वीस्ट’ त आक्कलझुक्कल यस्ता फिल्म हेर्नेले समेत पहिल्यै भेउ पाइसक्छन् । खासमा दृश्यपिच्छे द्वन्द्व र तनावलाई आत्मसात् नगर्दा फिल्म फितलो भएको हो । निर्देशकको ध्यान कथालाई सशक्त बनाउने दृश्यभन्दा सन्नी लियोनीको आइटम डान्स, बोल्ड सिन र फाइटजस्ता मसलामा अधिक छ । सोही कारण फिल्मले बारम्बार ‘ट्रयाक’ छोडेको छ । बल्फमास्टर, वन्स अपन टाइम इन मुम्बई, द डर्टी पिक्चरजस्ता बुलन्द फिल्म लेखेका रजत अरोराले संकटकालको बहुआयामिक असर र त्यसको कलात्मक प्रस्तुतिलाई यसपटक नजरअन्दाज गरेका छन् । संवादचाहिँ गहकिला छन् । हरेक पात्रको मिनेट–मिनेटमा ‘पञ्चलाइन’ छ । कलाकारको वेशभूषा, बोल्ने शैली र लोकेसनमार्फत संकटकालकै कालखण्डमा लाने प्रयास गरिएको छ । त्यस्तै, महारानीको मनोविज्ञान र महत्त्वाकांक्षालाई मननयोग्य ढंगले पोखिएको छ । 

अजय ‘मास्टर माइन्ड’का रूपमा देखापरेका छन् । खासमा फ्यानले उनलाई हेर्न चाहने पनि यस्तै भूमिकामा हो । अजय र इलियानाको रोमान्स पर्दामा जबर्जस्त लाग्छ । भूमिका अनुरूप इलियाना सुन्दर लाग्छिन् । तर, अभिनयमा सोही अनुपातको दम छैन । ‘सिरियल किसर’को छविलाई इमरानले यस फिल्मबाट अझ गहिरो बनाएका छन् । ज्यानको निकै माया भएको डाँकुको भूमिकामा उनी फिट छन् । एक्सन भूमिकामा विद्युुत् सदाझैँ अब्बल छन् । त्यस्तै, इशा गुप्ता र सञ्जय मिश्राको उपस्थितिले पनि फिल्म रोचक भएको छ । ‘रस्के कमर...’ श्रुतिमधुर छ । सुनिता राडियाले राजस्थानका ‘आउटडोर सिन’ पनि निकै आकर्षक तवरमा कैद गरेकी छन् । निर्देशकलाई धाप मार्नुपर्ने एउटै कारणचाहिँ उनले छिपेको एउटा पाटोलाई पर्दामा उधिन्ने प्रयास गरे । 

अजय र इमरानका फ्यानबाहेकले बादशाहो हेर्दा निराश हुनुपर्छ । किनभने, फिल्ममा नवीनता र कलात्मक करिब शून्य छ ।

 

प्रकाशित: भाद्र ३०, २०७४