मध्यम वर्गको मर्म

  • संग्रहका कथामा मध्यम वर्गीय समाजले भोग्न परेका मसिना पीडा र समस्या उतारिएको छ ।

- गिरीश पोखरेल

अनमोलमणिको भर्खरै प्रकाशित कथासंग्रह १९ नम्बरका नौवटा कथा पढेपछि लाग्यो, यी कथाहरू नेपाली समाजका सग्ला चित्र हुन् । लेखकले आफ्नै वरिपरिका मसिना वस्तुलाई सरल ढंगमा कथाका पात्रमार्फत बुनेर पाठकमाझ ल्याएका छन् । हरेक कथामा हामी बाँचेको समाज र हाम्रै वरिपरिका पात्रहरू छन् ।

पत्रकारका रूपमा परिचित अनमोलमणिका अनुभूतिजन्य निबन्ध र कथा चोटिला हुन्छन् । उनका केही गीत पनि सुनेको छु र उनी सितोरियो कराँतेका खेलाडी पनि हुन् । धेरै विधामा एकैसाथ लागेकाले होला, उनका कथा उनले भोगेका अनुभवजस्ता पनि लाग्छन् । संग्रहका कथामा मध्यम वर्गीय समाजले भोग्न परेका मसिना पीडा र समस्या उतारिएको छ ।

 शीर्षकथा ‘१९ नम्बर’ देशको शिक्षा पद्धति र भाषिक औपनिवेशिकताको मानसिकताबाट प्रभावित सुदूर गाउँको विद्यार्थीको कथा हो । नेपाली समाजमा अहिले पनि ‘१९ नम्बर’को पात्र रोहितकुमार ठकुरीजस्ता धेरै विद्यार्थी छन्, जो आफ्नो इच्छाले होइन, अभिभावकको रोजाइको विषय पढ्न बाध्य छन् । कथाले अंग्रेजी मोह र कमजोर सिकाइलाई मात्रै प्रहार गरेको छैन, विद्यालय–विश्वविद्यालयको पढाइ अवैज्ञानिक छ भन्ने पनि देखाएको छ । अन्य विषयमा उत्कृष्ट हुँदाहुँदै पनि पटक–पटक अंग्रेजीमा फेल भएपछि देशमा कति रोहितले आत्महत्या गरेर जीवन सकाए होलान् ? विगतमा एसएलसी फेल हुनेले गरेको आत्महत्या कथाले सम्झाउँछ । अभिभावकले सन्तानको पढाइ र इच्छा बुझ्नु आवश्यक रहेको सन्देश कथाले दिन्छ । कथामा रोहितको प्रश्न छ, ‘अंग्रेजी जान्नेहरू सपना पनि अंग्रेजीमै देख्छन् हो सर ?’

रोहितले जीवनमा सोधेको अन्तिम प्रश्नजस्तै कति विद्यार्थीले शिक्षकलाई प्रश्न सोधिरहेका होलान् ?

‘जूनमा आमा’ कथा छोराको नजरबाट हेरिएको दिवंगत आमाको कथा हो । जसमा महिला हिंसाका अनेक रूप देख्न सकिन्छ । ‘नूरप्रताप किन अमेरिका गए ?’ भन्ने कथा नेपाली समाजको विदेश मोहको सग्लो चित्र हो । आफू बाँच्न पनि अरूलाई सोध्नुपर्ने अवस्थाप्रति यस कथाले प्रहार गरेको छ ।

‘अँध्यारो’ यस्तो प्रतीकात्मक कथा हो, जसले नेपालको लोडसेडिङलाई व्यंग्य गरेको छ । साथै, सञ्चार र मनोरञ्जनका साधनले मानवीय समवेदना र सम्बन्धमा पारेको प्रभावलाई पनि नाटकीय ढंगमा प्रस्तुत गरेको छ । स्मार्ट फोन र इन्टरनेटको नकारात्मक प्रभाव कथामा चित्रित छ । उज्यालो राम्रो मात्रै होइन, त्यसलाई सही तरिकाले उपयोग गर्न नसक्दा सम्बन्धहरूमै समस्या आउँछ भन्ने परिकल्पना कथामा छ । नयाँ शैलीको ‘एउटा अर्को गुलाब’ कथाले माओवादी द्वन्द्वलाई सम्झाउँछ ।

माओवादी द्वन्द्वको प्रभाव कसरी फरक–फरक तरिकाले व्यक्तिमा पर्‍यो भन्ने राम्रो उदाहरण हो यो । यही विषयमा लेखिएको अर्को कथा हो, ‘कन्टेनरमा रातो डायरी’ । ठूलो सपना बोकेर युद्धमा हिँडेको तर सत्तामुखी नेतृत्वका कारण सपनाहरू तुहिएर आक्रोशित बनेको छापामारको कथा हो यो । यस्ता पात्र हामीले दिनदिनै भेटिरहेका छौँ । जो दुनियाँ बदल्न हिँडेका थिए, आज उनीहरू नै बदलिएका छन् । युद्ध मोर्चामा अघि रहेकाहरू श्रम गर्न तेस्रो मुलुक हिँडिरहेका छन् र बिचौलिया दलालहरू युद्धको व्याज खाइरहेका छन् । क्रान्तिका विरोधीहरू घोर क्रान्तिकारी र क्रान्तिमा लागेकाहरू पाखा लागेको अवस्थामा छन् । कथामा रातो डायरी सिद्धान्तहरूको प्रतीक बनाइएको छ, जसलाई मिल्क्याएर एउटा छापामार मलेसिया जाँदैछ । अर्को कथा ‘स्खलन’मा माओवादी द्वन्द्वका केही बेइमान चरित्रलाई देखाइएको छ । माओवादी द्वन्द्वलाई हेर्ने यो एउटा आँखा हुन सक्छ । तर, यसैलाई सम्पूर्ण दृष्टिकोण मान्नचाहिँ सकिन्न । किनभने, यसलाई ठीक–बेठीकको तहमा विश्लेषण गर्न देशको सामाजिक–आर्थिक अवस्थासहितको विश्लेषण जरुरी छ ।

मान्छे सानातिना भ्रममा बाँचेको छ भन्ने सन्देश बोकेको भए पनि ‘इल्युजन’ अरू कथाको तुलनामा कमजोर कथा हो । कथा आन्दोलन र राजनीतिक प्रताडनाले चेपुवामा परेको एउटा बेरोजगार पात्रको मनोदशामा घुमेको छ । त्यो पात्र जो विसं ०४६ पछि हरेक आन्दोलनमा अग्रपंक्तिमा सहभागी छ । तर, त्यसको फल पाएको छैन । अमूर्त शैलीको यस कथामा देशको अवस्थाको चित्र देख्न सकिन्छ । 

अन्तिम कथा ‘अस्तु’ विकसित देशमा बसोवास गरेका नेपालीको संस्कृति, समवेदना र आफ्नोपन भरिएको कथा हो । विदेशमा मृत्यु हुने तर नेपालमा शव पठाउन लाग्ने खर्च/झन्झट धेरै छ । यस कथाले आफ्नो संस्कृति र विदेश दुवै छोड्न नसक्ने, मूल देशमा रहेका आफन्तको प्रेममा भक्कानिने नेपालीको समवेदनालाई टपक्क टिपेको छ ।

संग्रह पढेपछि लाग्छ, अनमोलमणिका प्रत्येक कथा पढ्दा घटनाका दृश्य र पात्रहरू अगाडि आउँछन् । उनी कथा भन्ने भन्दा देखाउने शैलीमा अभ्यस्त छन्, जुन विदेशी लेखकका कथामा पाइन्छ । लेखकका रूपमा यो उनको सफलता हो । त्यस हिसाबले कथा पढ्न मन पराउनेका लागि १९ नम्बर राम्रो छनोट हुन सक्छ । 

१९ नम्बर

लेखक : अनमोलमणि

प्रकाशक : सांग्रिला बुक्स

पृष्ठ : १६२

मूल्य : २७५ रुपियाँ

प्रकाशित: भाद्र २८, २०७४