[अनुभूति] पात्र र पाठक

  • आयो त केवल समय समाप्तिको सूचना । अन्तिम घन्टी लाग्दा कक्षाकोठाबाट विद्यार्थी भागेझैं जीवनबाट हात खडा गरेर भाग्नुपर्ने जनाउ दियो समयले उनलाई ।

- रामलाल जोशी

‘साहित्यमा केही गरूँ भन्ने चाहना अधूरै थियो । त्यो गर्ने लालसा थियो । आँट थियो । अरू चाहिने संसाधनहरूको पनि जोहो गरेको थिएँ । तर, यहाँ मेरो समय समाप्त भइसकेको रहेछ ।’

प्रसिद्ध लेखक जगदीश घिमिरेलाई नियतिले जब उनको समय समाप्त भइसकेको जनाउ दियो, तब एउटा कालजयी कृतिको सिर्जना भयो– अन्तर्मनको यात्रा । बहुमूल्य समय संसाधनहरूको जोहो गर्नमै बित्यो । सोचेका थिए होलान्– फुर्सदका दिनमा धोको पुर्‍याएर सिर्जना फुराउँला । तर, न संसाधनहरूले जीवन परिपूर्ण नै रह्यो, न ती आफ्नै लागि उपयोगी हुन सके । न तिनीहरूले जीवनलाई अजरअमर नै बनाउन सके, न त फुर्सदको समय नै आयो कहिल्यै । आयो त केवल समय समाप्तिको सूचना । अन्तिम घन्टी लाग्दा कक्षाकोठाबाट विद्यार्थी भागेझैँ जीवनबाट हात खडा गरेर भाग्नुपर्ने जनाउ दियो समयले उनलाई ।

जहाँ आफ्नो समय सकिएको घन्टी हृदयले सुन्छ, जहाँ कहिल्यै नचाहेको कुरा सुन्न विवश हुन्छ मान्छे, त्यहाँ केको धैर्य ? कस्तो स्थिरता ? कसरी धीर साधना हुन सक्छ र ? त्यसबेलाको मानसिक छटपटी, अस्थिरता, पीडा र जीवनप्रतिको बाँकी अनन्त सम्मोहनले कति आघात दिँदो हो कल्पना नै कहालीलाग्दो छ भने त्यसबेला कसरी तपोसमाधि हुन सक्छ ? परन्तु जगदीश घिमिरेले तिनै दिनहरूमा अन्तर्मनको यात्रा रचना गरे । समय समाप्तिको सूचना पहिल्यै पाएको भए अनमोल रत्नहरू आउने थिए कि ?

बाँचेकाहरूले पनि अनुभूति गर्नुपर्ने तीतो यथार्थ होइन र यो ? 

अनि, किन आफूलाई अजम्बरी बज्रस्वाँठ बनाएर डुक्रिरहन्छ मान्छे ? ‘मर्नेहरूले मात्रै पो मनन गर्ने कुरा हो त्यो, बाँच्नेहरूले कहाँ हो र ?’ भनेर बाँच्नुको भ्रम पालिरहन्छ मान्छे ।

लाग्छ, मैले पनि आफ्ना जीवनका बहुमूल्य दिनहरू बालुवामा पानी खन्याएर बिताइदिएको छु । ०५७ सालमा हत्केलामा आकाश गजलसंग्रह प्रकाशित भएदेखि ०७० सम्मका मेरा जीवनका स्वर्णिम १३ वर्ष कता गए ? ती ऊर्जामय दिनको हिसाब खोजी गर्दा परिणतिमा के नै गर्न सकेँ र मैले ? जुन बेलाको जीवनमा प्रशस्त लालित्य थियो, शक्ति थियो र सौन्दर्य थियो । खोइ, कुन सुन्दर सिर्जना दिन सकेँ र मैले ती दिनहरूमा ? ख्यालख्यालमै खेर गएछन् जीवनका अनमोल दिनहरू । लाग्छ, ती दिनहरूको क्षतिपूर्ति सम्भव छैन अब ।

पछिल्लो समयमा ऐना प्रकाशनपछिका केही अनुभूतिहरूले जीवन, सिर्जना र समयको महत्त्व राम्रैसँग बुझाइदिएका छन् । लाग्छ, एउटै ऐना मात्र पनि रचना नगरेको हुँदो हुँ त, कुन आकाशमा कागले चारा खोज्न उडेझैँ उडिरहेको हुँदो हुँ ? कुन कुवामा भ्यागुतो हुँदो हुँ ? देशभित्र–बाहिरका मेरा प्रियजनहरूको न्यानो उच्छवास मसम्म कसरी आइपुग्दो हो ? कसरी म उनीहरूको मनमा अटाउन सक्दो हुँ र ?

प्रिय लेखक जगदीश घिमिरेले जस्तै मैले पनि सोचेको थिएँ, पहिले अध्ययन पूरा गरूँ । गहिरो अध्ययनपश्चात् जीवन–जगत् बुझूँ । जागिरबाट कृति छाप्नका लागि पैसाको जोहो गरूँ अनि फुर्सदका दिनमा लेखेर छपाउँला । विश्वविद्यालयको पढाइ पनि सकियो । १० वर्षको पत्रकारिताका दिनहरूमा सेतीकालीको जिन्दगीलाई थोरबहुत बुझ्ने र प्रत्यक्ष अवलोकन गर्ने काम पनि सकियो । १० वर्ष अध्यापनमा बित्यो । कोरा साहित्यिक गतिविधिमा रातदिन बिताएको पनि वर्षौं भयो । तर, सोचेको जस्तो दिन कहिल्यै आएन । जीवनका स्वर्णिम दिनहरू फुर्सद नआईकन गए । यौवनकालको बहुमूल्य समय बालुवामा पानी हाल्ने बेफुर्सदीमै बिलाएर गयो । न साधना गरेर सुन्दर साहित्यिक सिर्जना गर्ने फुर्सदका दिनहरू नै आए, न साँझबिहानको गाँस कटाएर लेखेका टुटेफुटे रचनाहरू प्रकाशित गर्ने आँट नै आयो । आयो त, केवल घनघोर विपत्ति र व्यस्तताको पराकाष्ठा ।

३१ साउन ०७० मा एक मात्र बहिनी रेखाको अकल्पनीय मृत्युको चोट जति पीडादायी थियो, त्यति नै मानसिक विक्षिप्तताको पनि । गर्भैमा टुहुरी भएकी र आफँैले लालनपालन, शिक्षादीक्षा गरेकी २८ वर्षीया विवाहित बहिनीको लास गोदावरीमा सेलाएर आउँदाको पीडाले झन्डै मानसिक विक्षिप्तताको अवस्थामा पुगेको थिएँ म । त्यही पीडा छटपटी, अधैर्य र मानसिक विक्षिप्तताकै अवस्थामा मैले भित्री आगो समनका लागि कथालेखनको आरम्भ गरेँ । ती दिनहरू मेरा लागि जति विपत्तिमय र पीडादायी थिए, त्यत्तिकै व्यस्त–विवशताका पनि ।

भदौ ०७० देखि असोज ०७२ सम्मको दुई वर्ष मेरो जीवनका सबैभन्दा पीडादायी र व्यस्त दिनहरू थिए । त्यति ठूलो पीडा, विवशता र व्यस्तता मेरो जीवनकै पहिलो अनुभव थियो । बहिनीको मृत्युको चोट आलो छँदै थियो । यसै बेला मोटरसाइकल दुर्घटनामा भाँचिएको हात झुन्ड्याएर काम गर्नुको पीडा थपिएको थियो । साँझ–बिहान हातमुख जोड्नका लागि १० वर्षदेखि गरिरहेको अध्यापन कार्यलाई धानिरहनुको बाध्यता छँदै थियो । २० वर्षदेखि भाडामा बसेर थाकेको जीवनलाई आफ्नै छानाभित्र सुस्ताउन दिने रहरले थालेको घर निर्माणको अभिभारा आफ्नै काँधमा थियो त्यसै बेला । व्यस्तताले कहाँ अवकाश दिन्थ्यो र ? सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्ष थिएँ म । संस्थाले थालेको तीनतले भवनलाई घरदैलोबाट चन्दा–सहयोग उठाएर सम्पन्न गर्नुपर्ने चुनौतीको सामना त्यतिबेला नै गरिरहेको थिएँ । साथै, छोरी कञ्चन जन्मेको करिब १० वर्षपछि २७ पुस ०७१ मा जन्मेको छोरा पृथ्वीको स्याहार, सम्भार र रेखदेख गर्नुपर्ने बाध्यताले म पूर्णत: धाईआमाको जिम्मेवारीमा थिएँ । बाबाको बात्सल्यको बन्धनमा बाँधिनु छँदै थियो । मेरा जीवनका यिनै सर्वाधिक पीडादायी र व्यस्त दिनहरूमा मैले ऐनाका १९ ओटा कथाको रचना गरेको हुँ ।

फुर्सदका दिनमा सिर्जेका रचनाहरूको स्नेह त्यति कहाँ थियो र मलाई ! जति माया अति व्यस्त दिनहरूमा रचना गरेका सिर्जनाहरूको थियो । जुन दिनहरूमा मलाई पानी पिउनेसम्मको फुर्सद थिएन, ती दिनहरूमा रचेका कथाहरूको माया मलाई कसरी कम हुन सक्थ्यो र ? प्रसव पीडापछि पुत्रप्राप्तिको हाराहारीको हर्षका साथ म आफ्ना कथा बोकेर काठमाडौँ छिरेको थिएँ, छाप्नका लागि । 

किन छिरेँ त म काठमाडौँ ? के धनगढीमा छापाखाना थिएन र ? 

थियो नि † किन नहुनू ? नाम चलेका राम्रा प्रकाशक संस्थाबाट आकर्षक डिजाइनमा आफ्नो किताब निकाल्ने रहर मलाई पनि थियो । राष्ट्रिय पत्रपत्रिकाहरूमा आफ्नो किताबको चर्चा भइदेओस् भन्ने कामना कसको पो हुँदैन र ? 

तर, प्रकाशन अवधिभरिको काठमाडौँको कथा अर्कै छ । 

पाण्डुलिपि बोकेर प्रकाशनका लागि भौँतारिएको देखेपछि एक जना शुभचिन्तकले भेट्टाइदिएका कवि सम्पादकको सुझाव थियो, “तपार्इं पश्चिमबाट आएको मान्छे, तपार्इंको किताब सम्पादन गर्नुपर्छ होला । पाण्डुलिपिका साथमा २० हजार छोडेर जानूस्, म सम्पादन गरिदिन्छु । फागुनदेखि तयारी गर्नुभो भने भदौसम्म विमोचन हुन सक्छ, हतार नगर्नूस् ।” आफ्नो किताब बरू कर्णालीमा बगाइदिने तर एक अक्षर पनि सम्पादन गर्न नदिने रूखो जबाफ दिएर फर्केपछि तिनको दृष्टिमा म असाध्यै अभिमानी मान्छे भएको थिएँ । काठमाडौँको कुनै प्रकाशकको नाम मात्रै भए पनि राखेर छाप्छु भनेर डुलिरहँदा ‘१ लाख ७० हजार बुझाएर जानूस् । १० दिनपछि पाँच सय प्रति किताब लगेर जानूस्’ भन्ने गतिलो उपाय बताएका एक जना प्रकाशकको विचार सुनेपछि मलाई काठमाडौँका सहयोगी हातहरूप्रति करुणा जागेर आयो । प्रकाशक खोजिदिने एक जना बिचौलिया भाइले म:म सेन्टरमा एक प्लेट भैँसी खाएर डकार्दै भनेको कुरा अहिले पनि सम्झिन्छु । तिनले एउटा पुरानो र प्रतिष्ठित प्रकाशकको लोगो राखेर किताब छाप्ने अनुमति आफूले लिइसकेको र त्यसबापत लेखकले प्रतिहजार १० हजार रुपियाँका दरले लोगोको रोयल्टी तिर्नुपर्ने सर्तका साथ १० हजार अग्रिम भुक्तानी मागेपछि म आफूलाई लेखेर अपराध गरेको अभागी लेखक सम्झन बाध्य भएको थिएँ । अन्तमा किताब बिक्री–बितरण गरिदिने सर्तमा आफ्नै लगानीमा ब्रदर बुक्सको नाम राखेर छाप्ने निष्कर्षमा पुगेँ । मित्र शिवराज योगी र सुभासचन्द्र भण्डारीको सहयोगले गाँस कटाएर गोजीमा राखेको १ लाख ३० हजार छापाखानामा बुझाई ऐना आफँै छाप्ने धृष्टता गरेको थिएँ, राजधानीले दिएको चुनौतीलाई स्वीकार गरेर । 

कवि माधव घिमिरेले अनन्य स्नेहका साथ विमोचन गरिदिए, ऐना । जब पाठकका हातमा किताब पुगेको खुसीले पुलकित मात्रै भइनँ, थाम्नै नसकिने प्रतिक्रियाहरूले पुरिन थालेँ म । पाठकीय हस्तक्षेपको विजय त्यतिबेला भयो, जब नेपाली साहित्य क्षेत्रका दुई ठूला पुरस्कार गुठीले श्रेष्ठ पुस्तकको सूचीमा मनोनयन गरे र अन्तत: ०७२ को मदन पुरस्कार ऐनालाई दिने घोषणा भयो । संसारभरिका नेपाली पाठकको हृदयको ताली सुनिरहेथेँ म । मनको खुसी पढिरहेथेँ म । कत्रो स्नेह † कत्रो ममता । एउटा ऐना मात्रैले धानी नसक्नुको स्नेह र माया पाइरहँदा बल्ल आत्मानुभूति गरेँ, सिर्जनाको शक्ति र लेखकप्रतिको ममता ।

ऐना यात्राको क्रममा प्रकाशक भूपेन्द्र खड्काको साथमा इटहरी पुग्दा प्रिय कवि मनु मन्जिलले आकाशमा उडाइरहेथे । खस्ने डरैडरले उडिरहेथेँ म । विराटनगरका कृष्णराज कोइराला, ७६, का आँसु ऐनाका अक्षरमा खसिरहेको जब देखेँ, पानीपानी भएर बग्न थालेको थिएँ म । इलाममा पुग्दा नौ कक्षामा पढ्ने भाइ अनुष नेपालले जब ऐनाका कथामाथिको व्याख्यात्मक प्रतिक्रिया दिएको सुन्न पाएँ, मैले किताब छाप्दा छापाखानालाई खल्तीबाट खनखनी तिरेको पैसाको पीडालाई भुलिदिएको थिएँ । चितवन र पोखरामा भएका कार्यक्रमको व्यानरमा सुन्दर र गोरो आफ्नै फोटो देखेपछि दुवै ठाउँमा एउटै प्रश्न गरेको थिएँ, ‘अँध्यारो सुदूरपश्चिमको कालो पक्षलाई उजागर गरेर कालै कभरको किताब लेख्ने एउटा कालो वर्णको लेखकलाई किन गोरो बनाएर टाँसेको ?’ समालोचक एकनारायण पौडेल र र्‍यान्डम रिडर्स सोसाइटी पोखराका अध्यक्ष उपेन्द्र पौडेलको एउटै उत्तर सुनेपछि म आश्चर्य चकित भएको थिएँ, ‘तपार्इंको हेर्ने ऐनामा तपार्इं कालो देखिनुहोला तर हामीले हेरेको ऐनामा तपार्इं उज्यालो देखिनुभएको छ ।’

अब रबरको बेलुनझैँ म प्याट्ट नफुटँुला र ? मलाई लाग्छ, सोह्र शृंगारमा सजिएकी कुनै सुन्दर युवतीले मेरैअगाडि भन्न नसके पनि फोन, म्यासेज बक्स या मेसेन्जरमा ‘तिम्रो ऐनामा मेरो अनुहार सुन्दर देखिएन, आफ्ना कमजोरीहरू हटाएर अब लेख्दाचाहिँ कम्तीमा पनि मेरो अनुहार सुन्दर देखिने किताब लेख्नु है π’ भनिदिएको भए म कति मिहिनेत गर्दाे हुँ ! लेख्न बस्दा सजग हुँदै तर्तरी पसिना काढेर कतिपटक केरमेट गरेर लेख्दो हुँ । 

त्यस्तो अवसर नै कहाँ पाएको छु र मैले ? 

प्रकाशित: भाद्र २८, २०७४