गायकबाट नायक तर चलेनन्

  • स्थापित गायकको असफल फिल्मी यात्रा

- गोकर्ण गौतम

नेपालमै बनेको पहिलो नेपाली फिल्म हो, आमा (विसं ०२२) । माइतीघर (विसं ०२३)चाहिँ निजी लगानीमा बनेको पहिलो फिल्म । आमाको मुख्य अभिनेता थिए, शिवशंकर मानन्धर । माइतीघरको सीपी लोहनी । यी अभिनेतामा एउटा समानता छ, दुवै नायक बन्नुअघि गायक थिए । स्थापनाको सुरुआतबाटै रेडियो नेपालमा जागिर खाएका शिवशंकर गीत मात्र गाउँदैनथे, कम्पोज पनि गर्थे । उनले १ हजार २ सयभन्दा बढी गीतमा संगीत दिएका छन् । सीपीका ‘कर्नालीले बगाई लग्यो...’, ‘हे सुन आज...’ जस्ता दर्जनौँ गीत लोकप्रिय छन् । माइतीघरको चर्चित गीत ‘काला कुर्तैले...’ उनैले गाएका हुन् । 

र, शिवशंकर र सीपीमा अर्को समानता पनि छ, उनीहरू अभिनयमा सफल भएनन् । आमापछि न शिवशंकरलाई अर्को फिल्ममा देख्न पाइयो, न माइतीघरपछि सीपीलाई । शिवशंकर कम्पोजमै व्यस्त भए भने सीपीले माइतीघरकै हिरोइन माला सिन्हासँग घरजम गरे । र, फिल्मबाट टाढा भए । यसरी नेपाली फिल्म निर्माणको शैशवकालबाटै गायक हिरो हुन सक्छ भन्ने नजिर बस्यो साथै सफल गायक नायक हुँदा सफल हुँदैनन् भन्ने छनक मिल्यो, ‘ बिहानीले दिनको संकेत गर्छ’ भनेझैँ । गहिरिएर नियाल्दा, नेपाली फिल्मले आधा शताब्दी पार गरिसक्दासमेत त्यही विडम्बनाले निरन्तरता पाएको देखिन्छ । मतलब, बेलामौकामा चलेका गायक फिल्ममा मुख्य भूमिकामा देखा पर्छन् तर स्थापित हुन सकेका छैनन् । 

उदितनारायण झादेखि रामकृष्ण ढकाल, यम बराल, धीरज राई, यश कुमार हुँदै बाबु बोगटी र कोसिस क्षत्रीसम्म यही नियतिको सिकार भए । अपवाद त भुवन केसी मात्र हुन् । बाटोमुनिको फूलबाट फिल्ममा फड्को मारेका यश कुमार भन्छन्, “क्षमता र चाहना छ भने गायकले फिल्म खेल्नु नराम्रो होइन । सफलता/असफलता त दर्शकले कसरी लिन्छन् भन्नेमा निर्भर गर्छ ।” यश कुमारकै भनाइलाई सापटी लिँदा हाम्रा अधिकांश गायकलाई नायकका रूपमा दर्शकले स्वीकार गरेनन् ।

उदितनारायण सप्तरीबाट काठमाडौँ आउनुको एउटै उद्देश्य थियो, गायक बन्नु । फाट्टफुट्ट गीत गाउने अवसर पाए, धेरथोर चर्चा कमाए पनि । त्यही बेला कुसुमे रुमालमा अभिनय गर्ने संयोग जुर्‍यो । डेब्यु फिल्म नै ‘ब्लकबस्टर’ भयो । यस हिसाबले उनको अभिनययात्राले शिखर चुम्नुपर्ने थियो । तर, त्यस्तो भएन । कुसुमे रुमालको लोकप्रियताबाट हौसिएका उदितले आफ्नै दोहोरो भूमिका रहेको पिरतीमा लगानी पनि गरे । उनी त्यही समयमा हिन्दी पाश्र्व गायनमा संघर्ष गर्दै थिए, मुम्बई पुगेर । उन्नीस–बीस, बडे दिलवालालगायतका केही फिल्ममा गाउने मौका पाए पनि ‘मार्क’ भएका थिएनन् । तर, आमिर खान अभिनीत कयामत से कयामत तकको ‘पापा कहेते हैं..’ गीतले उनलाई रातारात स्टार बनायो । तर, त्यसको केही समयअगाडि नेपालमा प्रदर्शित पिरती फ्लप भयो । अनि, यहीँ रोकियो, उनको अभिनय करिअर । त्यसयता उनले ३३ भाषाका २५ सयभन्दा बढी गीत गाए तापनि एउटै फिल्ममा अभिनय गरेनन् । 

बरू कुसुमे रुमालमा अभिनय गरेका अर्का गायक भुवन केसीचाहिँ नेपाली फिल्मवृत्तमा सदाबहार नायकका रूपमा स्थापित भए । त्यसअघि भुवन जुनीमा हिरो बनिसकेका थिए । तर, खेल्नुअगाडि नै ‘जागे जागे सारा रात...’, ‘मायालु तिमी...’जस्ता गीत गाएर उनले लोकप्रियता हासिल गरिसकेका थिए । रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका भुवनको सपना गायकै बन्ने थियो । तर, जुनीले उनको जीवनको लय परिवर्तन गरिदियो । भुवन अभिनीत सपना, करोडपति, सम्झना, लाहुरे, दक्षिणाजस्ता दर्जनौँ फिल्म बक्स अफिसमा अब्बल साबित भए । यतिबेला फिल्म निर्माण र निर्देशनमा सक्रिय छन् उनी । अर्को रोचक कुरा, हिरोका रूपमा हिट भएपछि उनको गायन ओरालो लाग्यो । 

सम्झनामा भुवनसँगै काम गरेका मुरलीधर पनि गायक नै हुन् । उनको ‘उडायो सपना सबै हुरीले...’ गीत आज पनि उत्तिकै लोकप्रिय छ । भुवनपछि अभिनयमा सफलता हासिल गर्ने गायक हुन्, मुरलीधर । साइनो, पृथ्वी, कन्यादानलगायतका फिल्मबाट खलनायकको छवि बन्यो उनको । पछिल्लोपटक भैरवमा देखिएका उनले केही हिन्दी फिल्ममा पनि अभिनय गरेका छन् । अझ भोजपुरी र मैथिली फिल्ममा त उनको योगदान उच्च मानिन्छ । तैपनि, मूलधारका हिन्दी फिल्ममा छाउने उनको प्रयासचाहिँ असफल भयो । फिल्ममा लागेपछि गीतबाट व्यापक ख्याति कमाउन पनि सकेनन् । गायनबाट शिखर चुमिरहेका बेला हिरो बनेका थिए, रामकृष्ण ढकाल, आशीर्वादबाट । उनकै जीवनकथामा आधारित यस फिल्मको व्यापार सन्तोषजनक थियो । तर, उनको अभिनय यात्रा भने त्यहीँ पूर्णविराम लाग्यो ।

त्यो बेला रामकृष्ण र यम बरालबीच व्यक्तिगत रूपमै टक्कर थियो । यम पनि के कम ! आफू पनि हिरो भए, मालतीबाट । विडम्बना † गायनमा जस्तै अभिनयमा पनि रामकृष्णलाई उछिन्न सकेनन् । त्यसयता यमको गायनकलाले समेत रफ्तार लिन सकेको छैन । ‘नेपाली माइकल ज्याक्सन’का रूपमा चिनिने पपस्टार धीरज राईले लक्ष्यमार्फत फिल्ममा ‘ इन्ट्री’ मारे । जति बेला उनका ‘तिम्रा नयन...’, ‘ तिमी रुँदा...’जस्ता गीतले धमाका मच्चाइरहेको थियो । फिल्ममा चम्कने धीरजको लक्ष्य पूरा भएन । उनको हिरोगिरी त्यही फिल्ममा सीमित भयो । खास गरी कलाकारले आफ्नो क्षमता र लोकप्रियताको दायरा ख्याल नगर्दाको परिणाम हो यो । “गायकका रूपमा कमाएको ‘फ्यान फलोइङ’ले फिल्मको व्यापारमा फाइदा पुग्छ भन्ने लोभ हुन्छ– निर्माता/निर्देशकमा । जबकि, प्रिय गायकको फिल्मप्रति दर्शकको अपेक्षा दोब्बर हुन्छ,” निर्देशक तथा पटकथाकार कुमार भट्टराई भन्छन्, “तर, फिल्म त्यही स्तरको बन्दैन । दर्शक निराश हुन्छन्, नायक बनेको गायकचाहिँ फ्लप ।” 

कतिसम्म भने निमा रुम्बाले जीवन्त अभिनयमार्फत सबैको मन जिते पनि फिल्मलाई निरन्तरता दिन सकेनन् । पपगीतमार्फत युवा पिँढीको ढुकढुकी बनेका निमा नेपालको पहिलो डिजिटल फिल्म कागबेनीको प्रमुख चरित्रका रूपमा देखिएका थिए । रंगमञ्चमा खारिएका सौगात मल्ल र दिया मास्के हुँदा पनि निमा छायाँमा परेनन् । तर, एक दशक बित्नै लाग्यो, उनको अर्को फिल्म प्रदर्शन भएको छैन । यसबीचमा भिसा गर्लमा ‘केमियो रोल’मा देखा परेका थिए । भलै, अहिलेकै लागि निमाका फ्यानलाई खुसीको खबर छ, उनी फिल्ममा ‘कमब्याक’ गर्दैछन् । उनलाई फेरि फिल्म खेलाउने अरू कोही नभएर उनीजस्तै गायकबाट नायक बनेका यश कुमार हुन् । यश कुमारले नै निर्देशन र निर्माण गर्ने छिरिङको शीर्ष भूमिकामा देखिन लागेका हुन्, निमा । मुहूर्त भइसकेको यही फिल्मका लागि निमा असोज पहिलो साता अमेरिकाबाट नेपाल आउँदैछन् । स्वयं यश कुमार पनि छिरिङको महत्त्वपूर्ण पात्रमध्ये एक हुन् । भलै उनको अभिनय करिअर पनि सुखद हुन सकेको छैन । 

‘मैले छोएको पानी चल्दैन...’, ‘म आफ्नै आँगनमा...’ जस्ता छुवाछूतविरुद्धका गीतबाट चर्चा बटुलेपछि यश कुमारले जातीय छुवाछूतविरोधी फिल्म लेखे । नाम राखियो, बाटोमुनिको फूल । मुख्य चरित्र गायकको थियो । यश कुमार आफैँ पनि दलित समुदायका हुन् । निर्देशक सुरज सुब्बाले उक्त चरित्रका लागि यश कुमारलाई नै प्रस्ताव राखे । सुरुमा उनी अकमक्किए, पछि राजी भए । गीतभन्दा अभिनयसँगको नाता पुरानो थियो । यश कुमार भन्छन्, “गायकका रूपमा चाहिँ एक्कासि चिनिए पनि गीत गाउनुभन्दा पहिल्यै म नाटक खेल्थँे । त्यसैले फिल्ममा अभिनय गर्न अप्ठ्यारो लागेन ।” चलेको गायकले फिल्म खेल्दा सबैको ध्यान तानिनु स्वाभाविक भइहाल्यो । त्यसपछि वीर खेले । फिल्म आए/गएको पत्तै भएन । आफ्नै लगानीमा बाटोमुनिको फूल २ बनाए, खेले पनि । यो फिल्म बक्स अफिसमा पूरापूर चिप्लियो । तैपनि, फिल्मी चस्काले छोडेको छैन ।

 यश कुमारसँगै फिल्ममा पाइला राखेका अर्का गायक बाबु बोगटीको हालत पनि त्यस्तै छ ।

‘सान्नानी...’, ‘तुलसी आँगनमा रोपौँला...’ जस्ता हिट गीतका यी गायक स्टारर आई एम इन लभ, न बिर्सें तिमीलाई न पाए तिमीलाई र बाटोमुनिको फूल २ ले न पैसा कमाए, न प्रशंसा । पछिल्लो चलचित्र देश खोज्दै जाँदाले सकारात्मक समीक्षात्मक प्रतिक्रिया बटुले पनि निर्मातालाई खुसी बनाउन सकेन । हिट फिल्म मात्र होइन, हिट गीत पनि दिन नसकेको अवस्था छ । यतिबेला उनी अमेरिकामा छन् ।

इन्डियन आइडलको तेस्रो संस्करण विजेता प्रशान्त तामाङले गोर्खा पल्टनबाट फिल्ममा डेब्यु गरे, ०६७ मा । तर, संगीतमा जस्तै फिल्ममा पनि प्रगति देखिन्न । परदेशीले पैसा कमाए पनि निशानी, अँगालो यो मायाको, किन मायामाजस्ता फिल्म सुपरफ्लप भए । हास्य शैलीका गीत गाउने प्रकाश ओझाले त्रास र दाइको ससुरालीमा अभिनय गरे । दुवै फिल्म असफल मात्र भएनन्, यतिबेला बलात्कार काण्डमा जेल सजाय भोगिरहेका छन् । रकस्टार रविन तामाङ मुखौटा, छड्के, वान वे र जय पर्शुराममा खलनायकका रूपमा देखा परे । फरक हुलिया र लोभलाग्दो क्रेजका कारण रविन फिल्ममा जम्ने विश्वास गरिएको थियो । तर, उनको उपस्थिति ‘सो–अप’मै अल्झियो । अर्का प्रसिद्ध गायक राजेशपायल राईको सिमलापछि अर्को फिल्म रिलिज भएन । राई इज किङ र दर्शन नमस्ते फिल्म खेल्ने भनिएको थियो । तर, हल्लामै सीमित भयो । 

‘र्‍याप सेन्सेसन’ मानिएका आशिष राना उर्फ लाउरेलाई ताण्डवमा मुख्य भूमिकामा अभिनय गराउनुका पछाडि निर्माता मोहन डोटेलको एउटै उद्देश्य थियो, उनका फ्यानलाई हलसम्म तान्ने । तर, नम्रता श्रेष्ठ अपोजिटमा हँुदा पनि ताण्डवले सुरुआती दिनबाटै दर्शक बटुल्न सकेन । संगीतकार/गायक चेतन सापकोटा किसान र भाग सानी भागमा नकारात्मक भूमिकामा देखिए । त्यसपछि अरू फिल्ममा अभिनय गर्ने मौका मिलेन । संगीतबाट समेत ओझेल परिसकेको अवस्था छ । आधुनिक गायनमा नाम कमाएका सत्यराज आचार्य बुबा भक्तराज आचार्यको बायोपिक आचार्यबाट फिल्मी दुनियाँमा पदार्पण गरे । कर्कश उनको दोस्रो फिल्म थियो । तेस्रो फिल्मका रूपमा साढे सातमा उनलाई देख्न सकिनेछ । मोक्षमा स्पाइनल कर्ड इन्जुरीबाट पीडित गायकको भूमिकाबाट कोसिस क्षत्रीले चौतर्फी स्याबासी कमाए । चलचित्र समीक्षक समाजले उत्कृष्ट अभिनेताको अवार्ड पनि दियो । तर, तीन वर्ष लाग्यो– उनको दोस्रो फिल्म पर्व रिलिज हुन । यो फिल्मको व्यापार नाजुक रह्यो । तैपनि, उनी फिल्मबाट गुमनाम नहुने बताउँछन् । ‘दैव...’, ‘ किन माया यो..’ जस्ता श्रुतिमधुर गीतका सर्जक कोसिस भन्छन्, “अहिले पनि पहिलो प्राथमिकता संगीत नै हो तर फरक कथा र शैलीका फिल्म खेल्ने मेरो प्रयास जारी छ ।” 

गायकबाट नायक हुने भीडमा नरेन लिम्बू पनि थपिएका छन्, लाउरेबाट । सृष्टि श्रेष्ठसँग रोमान्स गरेको यो फिल्म सुटिङ सुरु हुनुअगावै प्रतीक्षित बनेको थियो/छ । पप गायनमा ख्याति कमाएका नरेनले अभिनय गरेको फिल्म जो पर्‍यो । खासमा निर्माता र निर्देशकको मनोविज्ञान पनि यही हो, ‘ ब्रान्ड’ बनिसकेको गायकलाई फिल्म खेलाउँदा प्रचार–प्रसारमा सघाउ पुग्छ । अनि, उनीहरूका फ्यान सिनेमा घरमा ओइरिन्छन् पनि । तर, फ्यानले गीत, फिल्म, गायन वा अभिनयको भेद छुट्याउन नसक्ने कुरै भएन । त्यसो नहुँदो हो त, रविन र लाउरे अभिनीत फिल्म उनीहरूका गीत रुचाउने ‘हार्डकोर फ्यान’ले मात्र हेरिदिएको भए पनि निर्माताको गोजी भरिन्थ्यो । गायनको ख्यातिबाट लोभिएर फिल्म खेल्ने र फिल्ममेकरले खेलाउने प्रवृत्ति नै प्रत्युत्पादक भइरहेको निर्देशक/पटकथाकार भट्टराईको बुझाइ छ । भन्छन्, “प्रचार–प्रसारको अस्त्र र दर्शक तान्ने मसलाका रूपमा फिल्म खेलाइन्जेल गायकबाट नायक बन्नेहरू उँभो लाग्दैनन् । बरू, उनीहरूको गायिकी छविसमेत धुमिलिने भय हुन्छ ।”

विडम्बना ! यस्तै भइरहेको छ । 

प्रकाशित: भाद्र २८, २०७४