सुन भारी कि नुन ?

- छुल्याहा गुरु

ल्हासामा सुन छ, कान मेरो बुच्चै । यस्तो उखान सुन्दा सुनले बनेको ल्हासाको कल्पना गर्ने दिन गए । अब हाम्रै काठमाडौँ ल्हासाभन्दा कम छैन । उता त प्रशोधन गर्नुपर्ने सुन पाइन्छ होला, यता भने चिटिक्क परेका सुनका बिस्कुट दिनहुँजसो भेटिन थालेका छन् । त्यो पनि पहिले किलोमा भेटिन्थे, अब क्विन्टलमै !

एउटा गाडीमा खुसुक्क लुकाएर ल्याएको भारीभरकम सुन पक्रनाले प्रहरीको वाहवाही भइरहेको छ । तर, अफसोच ! यसपटक पनि सुन र भरिया (चालक) अर्थात् नुन खाएकाहरु मात्र जालमा परेछन् । हरेक पटकजस्तै सुनको मुख्य मालिकको ‘सस्पेन्स’ नखुल्नाले यसपटकचाहिँ यसको अनुसन्धान नै भएछ । खासमा जालमा परेको सुन जतिसुकै भारी भए पनि भरियालाई मालिकले नुन खुवाएर लगाएको गुन गह्रुँगो हुने रहेछ । त्यसैले मालिक पक्राउ नपरेको रहेछ । 

 

प्रकाशित: भाद्र २८, २०७४