‘नयाँ शक्ति माओवादी बन्न सक्दैन’

  • माओवादी रूपान्तरित भएर नयाँ शक्तिको अभियानमा आउन सक्छ । तर, नयाँ शक्ति पछाडि फर्केर माओवादीचाहिँ बन्न सक्दैन ।

- सीताराम बराल

दुई चरणमा भएको स्थानीय चुनावमा नयाँ शक्ति नेपालको खराब प्रदर्शनपछि संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई छिमेकी भारतको नेपाल–नीतिविरूद्ध पहिलेभन्दा मुखर रुपमा प्रस्तुत हुन थालेका छन् । नेपाल–भारत सम्बन्ध, स्थानीय तह निर्वाचन परिणाम र आगामी चुनावमा नयाँ शक्ति नेपालको तयारी, माओवादी केन्द्रसँगको सम्बन्धलगायतका विषयमा संयोजक भट्टराईसँग नेपालको कुराकानी : 

भारतविरोधी राष्ट्रवादको नारा लगाएपछि चुनाव जितिन्छ भन्ने निष्कर्षमा पुग्नुभएको हो ? 

नेपाली राजनीतिमा तीन आयाम छन् । एक, राष्ट्रियताको आयाम । दुई, लोकतन्त्रको आयाम । तीन, विकास र समृद्धिको आयाम । संविधानसभाबाट गणतन्त्रको स्थापना भएपछि अब हामीसँग राष्ट्रियता र विकास–समृद्धिको आयाम बाँकी छ । भारतसँगको सम्बन्ध नेपालको विकास र समृद्धिसँग अन्योन्याश्रित ढंगले जोडिएको छ ।

सुगौली सन्धियता भारतसँग हाम्रो अत्यधिक परनिर्भरता छ, त्यो अन्त्य नभएसम्म हाम्रो विकास र समृद्धि सम्भव छैन भन्ने कुरा ०४२ मा पीएचडी थेसिस प्रस्तुत गरेदेखि नै भन्दै आएको छु । अहिले विकास र समृद्धिको युगको जुन राजनीति गर्दैछु, भारतसँगको परनिर्भर सम्बन्धलाई व्यवस्थापन नगरेसम्म नेपाल समृद्ध हुँदैन भन्ने मेरो सुरुदेखिको जुन निष्कर्ष हो, त्यसैको प्रयोगस्वरूप मैले यो कुरा गरिरहेको छु । मैले यो नयाँ कुरा गरेको होइन । 

भारतविरोधी मानसिकता ‘क्यास’ गर्न सकिन्छ नि, होइन ? 

क्यास गर्ने कुरा गर्दै नगर्नूस् न † यस्तो षड्यन्त्रमूलक राजनीति म कहिल्यै पनि गर्दिनँ । म रूपान्तरणमुखी राजनीति गर्ने मान्छे हुँ । यस्तो मान्छेले वस्तुगत धरातल बदल्नका निम्ति कहाँ कस्तो अन्तरविरोध छ, त्यसलाई हल गर्ने कोसिस गर्छ । 

भारतीय पुँजीको नेपालमा जुन प्रभुत्व छ, त्यो अन्तरविरोध हल नगरेसम्म नेपालको समृद्धि सम्भव हुँदैन भन्ने निष्कर्षका आधारमा मैले त्यसलाई हल गर्नुपर्छ भनेको हुँ । यसको अर्थ भारतसँग युद्ध गर्नुपर्छ भनेको होइन । त्यो अहिले सम्भव छैन । मेरो स्पष्ट धारणा छ, भारत र चीनका बीचमा नेपाल एउटा गतिशील पुल बन्नुपर्छ । त्यसका निम्ति जहाँनिर व्यवधान आउँछ, हटाउँदै अघि बढ्नुपर्छ । 

दोक्लम प्रकरणपछि पनि चीन–भारतबीच नेपालले पुलको काम गर्न सक्छ भन्ने विश्वासमा हुनुहुन्छ ? 

नेपालको समृद्धि र विकासका लागि भारत र चीन दुवैबीच सन्तुलित सम्बन्ध राखेर अघि बढ्नुपर्छ । किनभने, नेपाल समृद्ध नभएसम्म भारतको प्रभुत्वबाट मुक्त हुन गाह्रो हुन्छ । नेपाल चीन–भारतबीचका गतिशील पुल बन्नुपर्ने अवधारणा ०६७ मा तत्कालीन एमाओवादीको पालुङटारमा भएको विस्तारित बैठकदेखि नै राख्दै आएको छु । भारतीय पक्षले नेपालमा लगानी वृद्धि गर्ने र नेपालमा ठूला पूर्वाधार निर्माणमा सघाउ पुर्‍याएको छैन । नेपालको आर्थिक परनिर्भरता घटाउने, आयात–निर्यातबीचको असन्तुलन घटाउनेतर्फ उसको सहयोग छैन । 

भारतले नेपालको हित सोच्दो रहेनछ भन्न खोज्नुभएको ?

मैले यो कुरा भारतकै हितका निम्ति भनिरहेको छु । किनभने, भारतको हितका निम्ति पनि फौजी र राजनीतिक ढंगले सूक्ष्म व्यवस्थापन गरेर आफ्नो सुरक्षा कायम राख्ने जुन भारतीय सोच छ, त्यो त्रुटिपूर्ण छ । भारतले आफ्नो सुरक्षा स्वार्थ पूरा गर्ने हो भने नेपाल समृद्धि हुनु जरुरी छ । यो कुरा मैले भारतीयहरूलाई पनि भनेको छु । 

के भन्छन् त उनीहरू ?

उनीहरूको मत विभाजित छ । प्रबुद्ध भारतीय जनमतले ‘तपार्इंको कुरा ठीक हो’ भन्छ । तर, कर्मचारीतन्त्र र सुरक्षा संयन्त्रका मानिसहरू चाहिँ बदलिएको सुरक्षा अवधारणा बुझ्न सकिरहेका छैनन् । त्यसले गर्दा नेपालले त दु:ख पाइरहेको छ नै, त्यसको घाटा भारतलाई पनि परेको छ । 

भारतलाई हेर्ने दृष्टिकोणमा एमाले र तपाईंबीच समानता/विभिन्नता के छ ?

मेरो दृष्टिकोण कसैसँग मिल्छ/मिल्दैन, त्यो मैले भन्ने कुरा होइन । जहाँसम्म मेरो आफ्नो कुरा हो, नेपालको जुन भूराजनीतिक अवस्था छ, त्यसको वस्तुनिष्ठ व्याख्या गरी राष्ट्रिय हित हुने गरी नीति बनाउनुपर्छ भन्ने मान्यता राख्छु । यसरी हेर्दा सुगौली सन्धिदेखि भारतसँग जुन परनिर्भरता थियो, त्यसलाई कम गर्ने प्रयत्न मबाट हुँदै आएका छन् । 

प्रसंग फेरौँ, सामाजिक सञ्जालमा तपाईं प्रचण्डमाथि प्रहार गरिरहनु हुन्छ, किन हो ? 

नीतिगत रूपमा उहाँले हामीमाथि भ्रम छर्नुहुन्छ । त्यसलाई आफ्ना तर्फबाट स्पष्ट पार्नु मेरो कर्तव्य र अधिकार दुवै हो । हामीविरुद्धका भ्रम निवारण गर्न र हामी नयाँ वैकल्पिक चिन्तन हौँ भन्ने सन्देश सामाजिक सञ्जालमार्फत प्रेषित गर्न खोजेको मात्र हुँ । 

प्रचण्डसँग भेटघाट हुँदा यस्ता विषयमा पनि कुराकानी हुन्छ ?

भेटघाटमा म उहाँलाई भन्ने गर्छु, ‘जे कुरा हो, त्यही कुरा भन्ने गर्नूस् । किन हामीविरुद्ध भ्रम फैलाउनु हुन्छ ?’ उहाँसँग किन यसो भन्ने गर्छु भने, मेरो सम्बन्ध राम्रो छ उहाँसँग । कुराकानी सौहार्दपूर्ण रूपमा नै हुन्छ । तर, विचारमा अन्तर छ । उहाँ माओवादको साइनबोर्ड झुन्ड्याएर गैरमाओवादी आचरण गरिरहनु भएको छ । 

त्यही भएर हो त प्रचण्डले पनि माओवादीमा फर्कन लागेका नेता–कार्यकर्तालाई ‘बाबुरामजीलाई धेरै कमजोर नपार्नूस्’ भन्नुभएको ?

मैले नसुनेको कुरा, ‘रे–रे’का कुरामा टिप्पणी गर्नु उपयुक्त ठान्दिनँ । राजनीतिमा विचारको बहस भइरहन्छ । त्यो बहस हामीबीच छ । व्यक्तिगत रूपमा हामीबीच सौहार्दपूर्ण सम्बन्ध पनि छँदैछ । 

व्यक्तिगत सम्बन्धले पनि राजनीतिमा प्रभाव पार्छ, प्रचण्ड नेतृत्वको माओवादीमा फर्कने सम्भावना कत्तिको छ ? 

पटक–पटक मैले भन्दै आएको कुरा फेरि दोहोर्‍याउँछु, बगेको खोला फर्कंदैन, जसरी पुतली बनिसकेको लार्भा फेरि पुतली बन्न सक्दैन । त्यसैले, बरू माओवादी रूपान्तरित भएर नयाँ शक्तिको अभियानमा आउन सक्छ । तर, नयाँ शक्ति पछाडि फर्केर माओवादीचाहिँ बन्न सक्दैन । 

राजनीतिमा पुतलीबाट लार्भामा परिवर्तन हुने कुरा सम्भव रहेछ भन्ने कुरा नयाँ शक्तिबाट माओवादी केन्द्रमा फर्कनेहरूको ताँतीले देखाउन्न र ? 

साथीहरूले वैकल्पिक राजनीतिको मर्म बुझ्न सक्नुभएन र हाम्रो नयाँ अभियानबाट थाकेर पछाडि फर्कनुभयो । तर, मूल पंक्ति अहिले पनि यथावत् छ । बरू, नयाँ शक्तिमा माओवादी अनुहार बढी देखिँदा कैयौँलाई के भ्रम परेको थियो भने कतै यो माओवादीकै अर्काे टुक्रा हो कि † तर, माओवादी पृष्ठभूमिका ती साथीहरू माओवादीमै फर्किएपछि यो सही अर्थमा नै वैकल्पिक धार रहेछ भनेर जनतालाई बुझाउन सकिने परिस्थिति पैदा भएको छ । 

रामेश्वर खनालदेखि रामचन्द्र झासँगको पारपाचुकेले प्रचण्डले भनेझैँ तपाईंसँग मानिसहरू टिक्न सक्दैनन् भन्ने देखाउँछ । होइन र ? 

मान्छेहरू आएको पनि त देख्नुपर्‍यो नि ! सय जना मान्छे थपिएका छन्, चार जना मान्छे निस्किएका छन् भने मिडियाले निस्कनेको मात्र चर्चा गर्छ । किनभने, मिडियाको सिद्धान्त भनेकै ‘कुकुरले मान्छे टोक्दा समाचार बन्दैन तर मान्छेले कुकुरलाई टोक्यो भने त्यो समाचार बन्छ’ भन्ने हो । नयाँ शक्ति छाडेको मात्र देखिनु त्यही हो । 

त्यति निराश हुनुहुन्न त्यसो भए ? 

नयाँ युगको अगुवाइ गरिरहेका छौँ हामी । यत्रो महान् ऐतिहासिक कामको सुरुआत गरेकामा मलाई गर्व छ । यस्तो कामले केही समय लिन्छ । बाटो कष्टसाध्य भए पनि एउटा विन्दुमा पुगेपछि त्यो स्थापित हुन्छ । त्यसलाई धेरै मान्छेले ग्रहण गर्छन् भन्नेमा म ढुक्क छु । 

संघीय समाजवादी फोरमसँगचाहिँ किन एकता हुन नसकेको ? 

मतभिन्नतालाई निष्कर्षमा पुर्‍याउन सकेनौँ । तर, एकताको सम्भावनाको अन्त्य भएको छैन । अहिले पनि उहाँहरूसँग कुराकानी हुन्छ । एकताका लागि अरू पक्षसँग पनि कुराकानी भइरहेको छ । 

आगामी चुनावहरूमा तपाईंको पार्टीको कस्तो परिणाम आउला ?

तेस्रो चरणको स्थानीय तहको चुनावको परिणाम हाम्रा लागि त्यति अनुकूल हुनेछैन । प्रदेश र प्रतिनिधिसभाको चुनावमा भने राष्ट्रिय पार्टीको दर्जामा पुग्छौँ । त्यो चुनावमा वैकल्पिक राजनीतिक धारलाई स्थापित गर्न सक्यौँ भने पाँच वर्षपछिको चुनावमा जनताले वैकल्पिक शक्तिलाई ग्रहण गर्छन् भन्ने लाग्छ ।

प्रतिकूल परिणाम आयो भने तपाईंको राजनीतिक भविष्य के होला ? 

जीवनमा कतिपय दुर्घटना हुन सक्छन् । तैपनि, म सधैँ जीवनलाई आशावादी ढंगले हेर्छु । जसरी कुनै प्राणी आफूलाई आँधीहुरीबाट बचाउँदै अघि बढ्छ, नयाँ शक्ति पनि त्यस्तै आँधीहुरीबाट आफूलाई बचाउँदै चार–पाँच वर्षभित्र प्रमुख शक्तिका रूपमा उदय हुन्छ भन्नेमा म विश्वस्त छु । 

फेरि प्रसंग बदलौँ, तपाईंहरूको नारा आर्थिक पारदर्शिताको भए पनि नयाँ शक्तिको आर्थिक स्रोत अपारदर्शी रहेको आरोप छ नि ? 

पूरै पारदर्शी छ । म भएँ, हिसिलाजी हुनुभयो– हामी दुवै संसद् सदस्य थियौँ । आम्दानीका सबै लिखतहरू प्रत्येक वर्ष बुझाएका छौँ । कुनै कुरा लुकेको छैन । प्रत्येक कार्यक्रममा पार्टीको आम्दानी र खर्च तत्काल जारी गर्ने विधि निश्चित गरेका छौँ । नियमित खर्चको अभिलेख पनि निर्वाचन आयोगलाई बुझाएका छौँ । 

व्यक्तिगत खर्च कसरी चलाइरहनु भएको छ ?

हाम्रो सोख–सयल केही छैन । ठूलो खर्च पनि केही छैन । पैत्रिक सम्पत्ति र उहाँ (हिसिला यमी)ले गरेको कमाइको केही रकम बैंकमा थियो, हामीले केही लगानी पनि गरेका थियौँ । त्यसबाट केही नियमित आम्दानी हुन्छ । त्यसैबाटै सामान्य खर्च चलिरहेको छ । 

दुईमध्ये एक जनाले मात्र राजनीति गरे हुन्न ?

हामी दुवैको आ–आफ्नो राजनीतिक पृष्ठभूमि छ । हाम्रो भेटघाट/चिनजान राजनीतिक कर्मकै बीचमा भएको हो । विवाह भएपछि लोग्नेको पछि लाग्ने जुन सामाजिक परम्परा छ, हिसिलाजीको सन्दर्भमा त्यो लागू हुँदैन । उहाँ आफैँ राजनीतिक परिवारबाट आउनुभएको हो । आफ्नै राजनीतिक जीवन छ उहाँको । राजनीति गर्ने उहाँको अधिकारको कुरा हो, जिम्मेवारीको कुरा पनि हो । 

 

प्रकाशित: भाद्र २७, २०७४