आवरण कथा» ‘आफ्नै घर सम्झी आएँ’

  • विदेशका प्रतिष्ठित शैक्षिक संस्थाको अध्ययनपछि स्वदेशको आफ्नै व्यवसायमा जमेकाहरू

- सुरेशराज न्यौपाने

सरकारी तथ्यांकलाई पत्याउने हो भने गत वर्ष मात्र करिब ४० हजार नेपाली भारतबाहेकका मुलुकमा अध्ययनका लागि गए । रोजगारीका लागि जानेहरुको संख्या त झनै कहालीलाग्दो छ । दैनिक १ हजार ५ सयको हाराहारीमा नेपाली कामको खोजीमा बाह्य श्रम बजारमा पुग्छन् । अमेरिका, बेलायत र अस्ट्रेलियालगायत विकसित मुलुकमा अध्ययनका लागि जानेमध्ये अधिकांशको लक्ष्य विदेशी शैक्षिक उपाधिका अतिरिक्त त्यहीँ स्थायी बसोवास (पीआर) हुन्छ । 

दृश्यको अर्को पाटो पनि छ । विदेशमा स्थायी बसोवासको सम्भावना भएका र आर्थिक रुपमा सबल रहेकाहरु स्वदेशमै केही गर्ने आकांक्षाका साथ फर्कने पनि उल्लेख्य छन् । त्यसरी फर्कनेहरुले विदेशी प्रतिष्ठित कलेज र विश्वविद्यालयको शैक्षिक उपाधि र कामको अनुभव पनि सँगै लिएर आएका छन् । तिनैमध्येमा पर्छन्, शिवानी न्यौपाने, शिरीष मुरारका, अमोद राजभण्डारी, तैजश कक्षपति र दिलीप अग्रवाल । उनीहरु यस्ता प्रतिनिधि पात्र हुन्, जोसँग पश्चिमा शिक्षा प्रणालीले दिने ज्ञान र अनुभव छ । बाहिरी विश्वको व्यावसायिक वातावरणबाट दीक्षित छन् । र, त्यही अनुभव र सीपलाई स्वदेशमा लागू गर्न कस्सिएका छन् । साथै, उनीहरु यस्ता पात्र हुन्, जसको आफ्नै उद्यम छ । केही हदसम्म व्यावसायिक क्षेत्रमा पारिवारिक विरासत छ । स्वदेशको उद्यम–व्यवसायमै अवसर र सम्भावना छन् भन्ने सन्देशका निम्ति यी र यस्ता पात्र अर्थपूर्ण छन् । द्वन्द्वको समाप्ति, नयाँ संविधान जारी, राजनीतिमा विकास र समृद्धिका मुद्दा हाबी हुनु र अर्थतन्त्रले गति लिन थाल्नुले यसरी स्वदेश फर्कन चाहने र स्वदेशलाई नै कर्मथलो बनाउन खोज्नेहरुका लागि अवसर अनि अनुकूलताको संकेत गरेका छन् । यस पृष्ठभूमिमा व्यावहारिक दृष्टान्त बनेका छन्, यी प्रतिनिधि पात्र :

उद्यमी बुबा हरि न्यौपाने र अमेरिकी सञ्चार उद्यमी ओप्रा विन्फ्रे शिवानी न्यौपानेका रोलमोडल हुन् । विन्फ्रेले समाजसेवा, मिडिया र व्यवसाय सबै क्षेत्रमा कमाएको मान–सम्मानबाट उनी निकै प्रभावित छिन् । भन्छिन्, “मेरो पनि विन्फ्रेले जस्तै व्यवसायमा सफलता हासिल गर्दै समाजलाई केही गरूँ भन्ने नै छ ।”

अध्ययनको पृष्ठभूमि, रुचि र सक्रियता हेर्दा त्यस किसिमको सफलता र मान हासिल गर्नु शिवानीका लागि कठिन पनि छैन । अमेरिकाको न्युयोर्कस्थित एतिका कलेजबाट अंग्रेजी र राजनीतिशास्त्रमा स्नातक पूरा गरेपछि नेपाल फर्किन्, उनी । लेखन र पत्रकारिताप्रति उनको चासो र रुचि सानैदेखि थियो । अवसरको खोजीको क्रममा काठमाडौँ फर्किएर करिब एक वर्षजति टीभी पत्रकारिता गरिन् । पत्रकारितामा रस बसेका कारण उनी अध्ययनका लागि अमेरिका पुगिन् । पत्रकारिताका विद्यार्थीका लागि विश्वचर्चित कोलम्बिया स्कुल अफ जर्नालिज्ममा ६ वर्षअघि पढ्ने अवसर पाएसँगै उनको एउटा सपना साकार भयो । डिजिटल मिडिया फेलोसिप नामको उक्त अध्ययनवृत्ति पाउनु आफँैमा एउटा सौभाग्य थियो । एक वर्षको अध्ययनपछि अर्को एक वर्ष अमेरिकामै काम गरिन् । कोलम्बियाको अध्ययन र त्यसपछिको फेलोसिपले अमेरिकामै आकर्षक अवसरका ढोका अवश्य खुले । तर, यता घरबाट बुबाआमाबाट निरन्तर दबाब आइरह्यो, स्वदेश फर्किनका लागि । भन्छिन्, “म आफैँ ढुक्क थिइनँ । के–कस्तो हुने हो भन्ने थियो । घरको आग्रहले मलाई स्वदेश फर्किने निर्णय लिन सहज बनायो ।”

अमेरिकाबाट फर्केको पहिलो एक वर्ष त उनलाई यहाँको वातावरणमा घुलमिल हुन निकै हम्मे पर्‍यो । अमेरिकाको जस्तो स्वतन्त्रता थिएन । सामाजिक, सांस्कृतिक, परम्परा सबै किसिमले सकसपूर्ण रह्यो । त्यहीबीचमा उनले ‘क्रसिङ स्याडोज’ उपन्यास लेखेर आफ्नो रचनात्मक क्षमता देखाइन् । बिस्तारै उनलाई पनि नेपालमै अवसर छन् भन्ने लाग्न थाल्यो । विदेशको अनुभव र शिक्षा त नेपालका लागि पो बढी महत्त्वपूर्ण रहेछ भन्ने सोच उनमा पलायो । भन्छिन्, “विदेशको विकास र प्रविधिसँग अभ्यस्त भइसकेकाहरूलाई त नेपाल आउँदा केही पनि नभएजस्तो लाग्ने रहेछ । त्यसले नै जे गरे पनि सम्भावनाको बाटो खोल्ने रहेछ । यहाँ त जे गरे पनि नयाँ ।”

आज उनी निर्देशक रहेको अम्बे ग्रुपको सिमेन्ट, स्टिल, चाउचाउ उत्पादन गर्ने दर्जनौँ उद्योग छन् । ती अन्तर्गत तीन हजारभन्दा बढीले रोजगारी पाएका छन् । शिवानी आफँैले भने अम्बे ग्रुप अन्तर्गतको स्मार्ट फुड हेर्छिन्, जसले यमयम र एबीसी नुडल्स उत्पादन गर्छ । उनको प्रत्यक्ष मातहतमा करिब सात सय कर्मचारी छन् । यसबाहेक बुबा हरि न्यौपानेलाई छायाँसरी पछ्याइरहन्छिन् । “उहाँको कार्यशैली र सीप सिक्न प्रयासरत छु । थोरै मात्र सिकेँ भने मेरा लागि ठूलो उपलब्धि हुने ठानेकी छु,” शिवानी भन्छिन् ।

अमेरिकामा हासिल गरेको शिक्षाले भिन्न कोणबाट सोच्ने क्षमता विकास गर्ने शिवानीको अनुभव छ । भन्छिन्, “क्रिटिकल थिंकिङको सीप बसाल्छ । अरूभन्दा अलि फरक कसरी सोच्ने भन्ने सिकाउँछ ।” त्यही फरक सोचलाई आफ्नो व्यापार र व्यवसायमा लागू गर्न प्रयासरत छिन् उनी । तर, अमेरिका र नेपालको व्यावसायिक वातावरणमा आकाश–पातालको अन्तर छ । त्यसमाथि नेपालीहरूमा अरूको ठाडो नक्कल गर्ने प्रवृत्तिसँग पनि उनी जानकार छिन् । भन्छिन्, “एउटाले सिमेन्ट कारोबार सुरु गर्‍यो भने त्यही नक्कल गर्ने, अर्कोले छडमा राम्रो गरेको छ भने त्यतैतिर लाग्ने । यो सोचबाट बाहिर कसरी आउने भन्ने नै अहिलेका उद्यमीको प्रमुख चुनौती हो । हाम्रो पुस्ताले च्यालेन्ज गरेनौँ भने कसले गर्छ ?” 

उनको मुख्य ध्याउन्न आफ्ना उत्पादनहरूको बजार विस्तारमा हुन्छ । बिहान १०/११ बजेदेखि सुरु हुने उनको व्यावसायिक दैनिकी साँझ ७/८ बजेसम्म चल्छ । फुर्सद मिलाएर भए पनि उनी निश्चित समय उद्यम र व्यवसायसम्बन्धी पुस्तकसँग बिताउँछिन् । उनका शब्दमा नेपालमा अहिलेसम्म हुनुपर्ने कुनै काम नहुनु नै पहिलो अवसर हो । केही नयाँ पाइला चाल्नासाथ निकै हल्लाखल्ला हुन्छ यहाँ । तसर्थ, ‘विदेश जाने होइन ?’ भन्नेहरूलाई पनि ठाडो जवाफ फर्काउँछिन् उनी, ‘यहीँ यत्तिका अवसर छ, किन जानु विदेश ? मूर्ख छु र ?’

***

पाककलामा अमेरिकाकै एक नम्बर कलेज मानिने अमेरिकाको न्युयोर्कस्थित द कलनरी इन्स्टिच्युट अफ अमेरिका (सीआईए)मा भर्ना पाउनु नै चानचुने कुरा थिएन । कलेजमा आवेदन दिनका लागि योग्य हुन पनि कम्तीमा ६ महिना होटल र रेस्टुराँको अनुभव हुनुपर्छ । सानैदेखि रेस्टुराँ व्यवसायको वातावरणमा हुर्केका तैजश कक्षपतिलाई जसरी पनि भर्ना हुनु थियो । त्यसका लागि उनले प्लस टू पूरा गरेपछि काठमाडौँकै होटल र्‍याडिसनमा ६ महिना प्रशिक्षार्थीका रूपमा काम गरे । अध्ययन आवेदन स्वीकृत भयो र लागे न्युयोर्कतर्फ । चार वर्षको अध्ययनपछि अमेरिकाकै फ्लोरिडास्थित फोर सिजन होटलमा करिब डेढ वर्ष कुकका रूपमा काम गरे ।

अध्ययनकै क्रममा पनि राम्रा अवसर पाएका थिए उनले । तर, उनलाई जसरी पनि नेपाल फर्कनु थियो । किनभने, बुबा गोपालसुन्दर कक्षपति र ठूलोबुबा श्यामसुन्दर कक्षपतिले करिब चार दशकदेखि चलाएका रेस्टुराँलगायतका व्यवसायमा जम्नु थियो । तैजश भन्छन्, “त्यहीँ काम गरिरहेको भए अहिले राम्रो होटलको सेफ बन्न सक्थेँ तर यत्तिको सन्तुष्ट हुन्नथेँ । किनभने, नेपाल फर्केर केही गर्ने सोच थियो ।”

अमेरिकामा उनले क्याटरिङ कम्पनी, रेस्टुराँ, होटल सबै ठाउँमा काम गरे, जसले उनलाई होटल र रेस्टुराँ व्यवसाय सञ्चालनका भित्री तौरतरिकाबारे जानकारी दियो । त्यही अनुभव आफ्ना लागि सबैभन्दा महत्त्वपूर्ण रहेको तैजश बताउँछन् । भन्छन्, “यो व्यवसायमा निकै चनाखो हुनुपर्छ । हरेक दिन नयाँनयाँ प्रयोग गर्नुपर्छ । अमेरिकामा हासिल गरेको अनुभव र शिक्षाले त्यो सिकाएको छ ।”

काठमाडौँ ओर्लनासाथ उनले विराटनगरस्थित नाङ्लो इष्टको जिम्मा पाए । हुन त त्यो रेस्टुराँ त्यति चलेन । करिब डेढ वर्ष उनले विराटनगरमै बिताए । त्यसपछि जमाना अनुसारको नयाँ रेस्टुराँ र चेन सुरु गर्ने योजना बुने । अनि, सुरु भयो नाङ्लो एक्सप्रेस । एक्सप्रेस विशेष गरी युवाहरूलाई लक्षित रहेको उनी बताउँछन् । भन्छन्, “समय अनुसार नयाँ प्रयोग पनि गर्नुपर्छ भन्ने मेरो सोच हो । कुनैमा सफल भइन्छ, कुनैमा भइँदैन, त्यो बेग्लै कुरा हो ।” 

नेपाल फर्केपछि उनका सामु बुबा र ठूलो बुबाले कायम राखेको प्रतिष्ठा र ब्रान्डलाई यथावत् राख्नु त्यत्तिकै चुनौतीपूर्ण थियो । विशेष गरी काठमाडौँमा नाङ्लो रेस्टुराँ र बेकरीको बेग्लै प्रतिष्ठा रहेको उनलाई राम्ररी थाहा थियो । अमेरिकाबाट फर्केपछि उनलाई यहाँको वातावरण र व्यवसायमा भिज्न खासै गाह्रो भएन । यहाँका समस्या र सम्भावनाहरूसँग उनी परिचित थिए । तैजश भन्छन्, “आउँदा यहाँको यथार्थ पूरै दिमागमा लिएर फर्केको थिएँ । तर, त्यहाँ रहँदा पनि न्युयोर्कमा भएको कुरा नेपालको बजारमा के नयाँ हुन सक्छ भन्नेमा मेरो चासो रह्यो ।”

अमेरिकाको पढाइले रेस्टुराँ, होटल सञ्चालनदेखि खानेकुरा बनाउनेजस्ता प्राविधिक कुराले आफूलाई दक्ष बनाएको र व्यवसायका अन्य पाटाहरू परिवारबाटै सिकेको उनी बताउँछन् । एउटा कफी बनाउँदा पनि सूत्र र विधि अनुसरण नगरिए अपेक्षा अनुरूपको स्वाद पस्कन नसकिने उनको बुझाइ छ । दरबारमार्गको नाङ्लो बन्द भएपछि कक्षपति परिवार ठूलो तनावबाट गुज्रियो । नयाँ ठाउँ भेट्नै गाह्रो भयो । तैजश आफैँ खटे । उनले कमलादी रोजे । नाङ्लो क्याफे एन्ड पब खोले । साथीभाइले भन्थे, ‘कहाँ दरबारमार्ग, कहाँ कमलादी ?’ तर, उनमा आत्मविश्वास थियो । ‘नयाँ जमाना, नयाँ ठाउँ,’ उनी भन्थे । 

अचेल उनको दैनिकी कमलादीको नाङ्लो क्याफे एन्ड पब र एक्सप्रेसको व्यवस्थापन तथा कारोबार हेर्नमा बित्छ । त्यहाँको भान्सादेखि सजावट सबैमा चासो राख्छन् उनी । तर, उनी रोकिएका छैनन् । केही नयाँ गर्ने हुटुहुटी अझै छ उनमा । रेस्टुराँ र अन्य तयारी खाजाको व्यवसायमा प्रचुर सम्भावना देखेका छन् उनले । तिनै क्षेत्रमा केही नयाँ गर्ने सोच छ उनमा । भन्छन्, “अहिले नै धेरै कुरा नखोलौँ । नाङ्लोको पाउरोटीको बेग्लै ब्रान्ड भएजस्तै अन्य खानेकुरा पनि बजारमा ल्याउने सोच छ ।”

***

विश्वव्यापी वित्तीय संकट चरमोत्कर्षमा थियो । लेहमन ब्रदर्सजस्ता ठूला कम्पनी बन्द हुँदै थिए । बाराक ओबामा ह्वाइट हाउसतिर पाइला सार्दै थिए । त्यही समयमा सिमलाबाट स्कुले पढाइ पूरा गरेर बोस्टनको टफ्ट्स कलेज पुगेका थिए, अमोद राजभण्डारी । अर्थशास्त्र र सञ्चार विषय लिएर स्नातक पूरा गरे । पढाइ सकिएपछि उनी आफँै अन्योलपूर्ण प्रश्नले घेरिएका थिए, कता जाने, के गर्ने ?

अध्ययनकै क्रममा ब्लुमबर्ग न्युजमा प्रशिक्षार्थीका रूपमा काम गर्ने मौका पनि जुरेको थियो । उनको अध्ययनदेखि कामसम्मको अवधि पश्चिमा जगत्को आर्थिक मन्दीका तहतह केलाउनमै बित्यो । मन्दीबाट मुक्ति पाउन कुन मुलुकले के उपाय लगाउँदै छन् र कुन कम्पनी कसरी उकासिँदै छन् भनेर उनले मजैले नियाले । उनी आफैँ पनि व्यापारिक परिवारमा हुर्केकाले ती दृश्य उनका लागि रोचक पनि थिए ।

उनी स्वदेश फर्केर पारिवारिक व्यवसायमै नयाँनयाँ प्रयोग गर्न चाहन्थे । त्यही चाहना बोकेर उनी फर्किए । केही समय अलमलमा पनि परे उनी, फरक काम के गर्न सकिन्छ भनेर । अनौठो संयोग मान्नुपर्छ । उनी फर्कंदा घरजग्गा व्यवसाय मन्दीबाट गुज्रिरहेको थियो । अमेरिकाको मन्दीबाट फेरि अर्को मन्दीमा उनी आइपुगे । बुबा राजीव राजभण्डारीको सुझाव अनुसार उनले एस डेभलपमेन्ट बैंकबाट करिअर सुरु गरे । हरेक शुक्रबारचाहिँ उनी मर्कन्टायलको कार्यालय पुग्थे । दुई वर्षको बैंकिङ अनुभवले उनलाई नेपालको आर्थिक र सामाजिक पाटाहरू बुझ्न निकै सघायो । सम्भावनाको पहिचान गरे । त्यो अनुभव लिएर मास्टर्स गर्न बेलायतको अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको सइड बिजनेस कलेज पुगे ।

सइडको एकवर्षे एमबीएका दौरान विभिन्न पृष्ठभूमि भएका सहपाठीहरूसँग संगत भयो । त्यसले उनलाई उद्योग–व्यवसायका विभिन्न पाटाहरूबारे बुझ्न मद्दत गर्‍यो । अमोद भन्छन्, “एक वर्षमा मेरो ध्यान नेपालको अनुभवलाई कसरी तिखार्ने भन्नेमै केन्द्रित भयो ।” बेलायत अध्ययन गर्दा युरोप पनि वित्तीय संकटबाट गुज्रिरहेको थियो । त्यसलाई पनि रोचक संयोग मान्छन् उनी । भन्छन्, “ती संकटहरू मेरा लागि आर्थिक र वित्तीय क्षेत्रका उतारचढाव बुझ्ने अवसर भए ।”

हाल उनी मर्कन्टायल ट्रेडर्स अफिस अन्तर्गत क्योसेरा फोटोकपी मेसिनदेखि विदेशी मुद्रा गन्ने र परीक्षण गर्ने जापानी मेसिनको कारोबार हेर्छन् । उनले यसलाई विदेशमा हासिल गरेको ज्ञान र सीपलाई व्यवहारमा परीक्षण गर्ने उपयुक्त प्रयोगशाला ठानेका छन् । बजार विस्तारका लागि चाहिने रणनीति र योजना बनाउन तल्लीन हुनु उनको दैनिकीको प्रमुख पाटो हो । यसबाहेक पनि तीन वर्षअघि बैंकर सुमन जोशीसँग मिलेर खोलेका टीएनए कम्पनीका साझेदारसमेत हुन्, जसको मुख्य उद्देश्य नवउद्यमीहरूलाई पुँजी उपलब्ध गराउनु हो । सुरुका दिनमा बैंकमा काम गर्दा नै ससाना उद्यमीहरूलाई ऋण लिन कति गाह्रो छ भन्ने थाहा पाएका उनलाई यो कम्पनी सञ्चालन गर्न सहज भएको छ । उद्यमशीलताले अन्य मुलुकमा जसरी गति लिन नसक्नुको प्रमुख कारणमा पुँजी अभाव हो भन्ने निष्कर्षका साथ कम्पनी खोलेको उनी बताउँछन् । भन्छन्, “बैंकहरूमा जाँदा निकै झन्झट हुन्छ । त्यसमा सहयोगी बन्न र पुँजी अभावपूर्तिका लागि हामीले प्राइभेट इक्विटी सुरु गरेका हौँ ।” 

यसबाहेक टीएनए कम्पनी अन्तर्गत नै ‘इन्टरप्राइज बिजनेस एक्सिलिरेटर’ परियोजना पनि उनले चलाइरहेका छन्, जसले नवउद्यमीहरूलाई १२ हप्ते तालिममार्फत निखार्ने गर्छ । यी दुवै कम्पनीको प्रमुख उद्देश्य नेपालमै उद्यमशीलता विकास गर्ने र नयाँ उद्यमीहरूलाई प्रेरित गर्नु हो । त्यसबाहेक उनकै अग्रसरतामा मोबाइल पेमेन्टका लागि इन्भेस्टमेन्ट बैंकसँग मिलेर एम नेपाल भन्ने कम्पनी पनि खोलिएको छ । मर्कन्टायल ग्रुपकै इन्डेक्स फर्निचरको जिम्मा पनि उनकै काँधमा छ । अमोदको परिपक्वता र क्षमता देखेरै होला, मर्कन्टायलले उनलाई ‘चिफ इन्भेस्टमेन्ट अफिसर’को जिम्मेवारी पनि दिएको छ । साथै, मर्कन्टायलका लागि लगानीका क्षेत्र पहिचान गर्ने र आवश्यक रणनीति बनाउने काम पनि उनकै हो । 

विदेशको अध्ययनले के सिकायो त ? अमोद भन्छन्, “सोच र विचारमै परिवर्तन ल्याएको छ । व्यावहारिक ज्ञान दियो । हिसाबका जटिल सूत्रहरूलाई कसरी व्यवहारमा लागू गर्ने भन्ने सिकियो, जुन नेपाल र भारतमा हुँदैन ।”

***

बेलायतको कार्डिफ विश्वविद्यालयबाट एमबीए सकेपछि शिरीष मुरारकाका सामु बहुराष्ट्रिय कम्पनी मार्क र स्पेन्सरमा राम्रो जागिरको अवसर थियो । तर, नेपाल फर्कने चाह र घरपरिवारको आग्रहका कारण ती आकर्षक अवसरलाई सहजै लत्याएर ११ वर्षअघि फर्किए उनी । 

अमेरिका र नेपालको वातावरण फरक हुनु स्वाभाविक थियो । यहाँको कर प्रणाली, कानुन र प्रशासनिक प्रक्रिया बुझ्न उनलाई निकै गाह्रो भयो । काम गर्दा गल्ती–कमजोरी पनि नभएका होइनन् । तर, उनी हतोत्साहित भएनन् । मुरारका समूहका उद्योग र व्यवसायको सूची लामै थियो । आउनासाथ सुरुमा बुबाको व्यापारलाई सघाए । काका पशुपति मुरारकाको सिमेन्ट व्यवसायमा मिसिए । यसैबीच मुरारका समूहले मोबाइल बजारमा हात हाल्यो र त्यसको जिम्मा पाए शिरीषले । भारतीय मोबाइल ब्रान्ड कार्बनलाई नेपालमा स्थापित गराउन शिरीषकै प्रमुख भूमिका रह्यो ।

कार्बनको सफलतापछि उनको कम्पनीले अर्को मोबाइल ब्रान्ड माइक्रोम्याक्सको पनि जिम्मा पायो । माइक्रोम्याक्स नेपाली बजारमा स्थापित मात्र भएन, बिक्रीका हिसाबले दोस्रो ठूलो ब्रान्ड बन्यो । कामबाटै स्थापित भएर परिवारको विश्वास जितेपछि यी युवा व्यवसायी आज पुरानो र प्रतिष्ठित मुरारका समूहका मुख्य रणनीतिकारमा दरिएका छन् । अब शिरीष आफ्नै ब्रान्डमा टीभी ल्याउने तयारीमा छन् । भन्छन्, “जोखिम त छ तर आत्मविश्वास पनि छ ।” आफूमा रहेको जोखिम लिने आत्मविश्वास र दृढताका पछाडि बेलायतको शिक्षाको ठूलो हात रहेको उनको भनाइ छ ।

कार्डिफको पढाइ बिलकुलै भिन्न थियो । नेपाल र भारतमा जस्तो घोकन्ते विद्यालाई त्यहाँ कुनै स्थान थिएन । पहिलो परीक्षामा भारतबाट आएका उत्कृष्ट विद्यार्थीहरूसमेत फेल भएपछि नै शिरीषले भेउ पाइसकेका थिए, बेलायती शिक्षा पद्धतिको । शिरीष सम्झन्छन्, “किताबीभन्दा व्यावहारिक ज्ञान महत्त्वपूर्ण रहेछ भन्ने त्यहीँ गएर बुझेँ ।”

टोयोटाजस्ता ठूला कम्पनीमा काम गर्ने उपल्लो तहका अधिकारीहरूले त्यहाँ कक्षा लिन्थे । एमबीएमा हरेक दिन एउटा घटना अध्ययन/विश्लेषण गर्नुपथ्र्यो । त्यसले बजारको रणनीति, उपभोक्ताको रुचि कसरी बुझ्ने भन्ने सिके उनले । कार्डिफमा बिताएका दिनहरूले नै यहाँ व्यापार–व्यवसाय सम्हाल्न सहज भएको उनको ठम्याइ छ, “एक्लै बस्ने, आफ्नो निर्णय आफँै लिने र अप्ठ्यारा परिस्थितिहरूको सामना पनि एक्लै गर्नुपथ्र्यो । जसले स्वतन्त्र ढंगले विवेकसम्मत निर्णय लिने क्षमता विकास गरेको महसुस हुन्छ ।”

उनका लागि विशेष सहुलियत के थियो भने स्वदेश फर्केपछि यहाँको व्यावसायिक वातावरणमा घुलमिल गराउन हजुरबुबा, बुबा र काकाहरूको अनुभव र विरासतमा उनले काम गर्न पाए । तैपनि, सुरुका दिन संघर्षमय नै रहे । तैपनि, नेपालमा जस्तो अवसर अन्यत्र छैन भन्नेमा उनी प्रस्ट थिए । नेपाली उपभोक्तामा खर्च गर्न सक्ने क्षमता बढ्दै गएको आँकडाले उनलाई विशेष उत्साहित बनाएको छ । उनलाई थाहा छ, आजका उपभोक्ता आकर्षक कार अवश्य चढ्न चाहन्छन् । मोबाइल बोक्न चाहन्छन् । बढीभन्दा बढी खर्च गर्न चाहन्छन् । नेपाली समाजमा आइरहेको यो परिवर्तनलाई उनले आफ्नो व्यवसाय विस्तारको अवसरका रूपमा लिएका छन् । भन्छन्, “मिहिन अध्ययन र योजना बनाएर अघि बढ्ने हो भने जुनसुकै क्षेत्रमा पनि उत्तिकै सम्भावना छ ।” 

***

उच्च शिक्षाका लागि अमेरिका पुगेको पहिलो वर्ष दिलीप अग्रवालले कम्ती दु:ख बेहोर्नुपरेन † खान–बस्नकै लागि पैसा जुटाउन हम्मे । जेनतेन एक वर्ष बितेपछि उनले बोस्टननजिकको बेट्स कलेजमा छात्रवृत्ति पाए । त्यसले निकै ठूलो राहत दियो । छात्रवृत्ति नपाएको भए अध्ययनबिनै स्वदेश फर्किनुको विकल्प थिएन, उनीसामु । बुबा प्रा विश्वनाथ अग्रवालले पहिल्यै भनेका थिए, ‘अमेरिका त जानू तर त्यहाँ बस्ने र पढ्ने खर्च आफैँ जुटाउनू ।’

त्यतिबेला बेट्स कलेज अमेरिकाका राम्रा कलेजको सूचीमा १७औँ नम्बरमा पथ्र्यो । अहिले पनि उत्कृष्ट २५ मा छ । त्यसताका अमेरिकी सेयर बजार अर्थात् वालस्ट्रिटको निकै चमकधमक थियो । उनकै साथीहरू पनि रातारात धनी भएका थिए । कलेजताका नै वालस्ट्रिट गएर काम गर्ने रहर पनि नजागेको होइन । त्यसका लागि उनले अर्थशास्त्रका केही कोर्स पनि लिए । पछि उनमा न्युरो साइन्टिस्ट बन्ने भूत सवार भयो र पढाइलाई त्यतैतिर मोडे । तर, मुख्य लक्ष्य त बुबाको पदचाप पछ्याउनु थियो । बुबा विश्वनाथ अमेरिकाबाटै बायो–केमेस्ट्रीमा स्नातकोत्तर र विद्यावारिधि थिए । र, नेपालमा कहलिएका प्राध्यापक पनि । वैज्ञानिक अनुसन्धानमा यति दत्तचित्त कि अमेरिकाबाट फर्केपछि आफ्नै घरमा प्रयोगशाला निर्माण गरेका थिए । दिलीप सम्झन्छन्, “उहाँले हरेस खानुभएन । आफैँले निजी प्रयोगशाला खोल्नुभयो, नेपालमै केही गर्नुपर्छ भनेर । त्यो नै मेरा लागि प्रेरणा थियो ।” 

नेपालमा सुविधासम्पन्न प्रयोगशाला खोल्ने र अध्ययन अनुसन्धानलाई अगाडि बढाउने बुबाको सपना साकार पार्न दिलीप अमेरिका पुगेका थिए । अमेरिकामा अध्ययनको फाइदा के भने नेपालमा जस्तो कुनै एउटा विषयमा सीमित हुनुपर्दैन । बायोकेमेस्ट्रीसँगै गणित, अर्थशास्त्र, मनोविज्ञान र स्नायुविज्ञान पनि पढे उनले । तर, अमेरिकामा रहँदाको एउटा घटनाले उनको पूरै करिअरलाई अन्यत्रै मोडिदियो । त्यसताका दिलीपका दाइ मनोजले अमेरिकाबाटै कम्प्युटर इन्जिनियरिङ पढेका थिए । इमेल र त्यसको प्रविधिबारे अध्ययन गरेर एउटा प्रणाली नै निर्माण गरेका मनोजसँग दिलीपको छलफल भयो । दिलीपले तत्कालै यो प्रविधि नेपालमा आवश्यक छ भन्दै सिक्न थाले । छात्रावासको कोठामा त्यो सिस्टम आफैँ बनाए ।

गर्मीको छुट्टीमा नेपाल आउँदा त्यही कम्प्युटर र मोडमसहितको सिस्टम बोकेर आए, जडान गरे । परीक्षण गर्दा काम पनि गर्‍यो । काकाका छोराहरूलाई सञ्चालनको जिम्मा दिएर उनी अमेरिकै हान्निए । पढाइ सकिएपछि उनी आफ्नै उद्यम सम्झी स्वदेश फर्के र त्यसको पूरै जिम्मा लिए । वल्र्ड लिंक नामकरण पनि उनैले गरे, जुन अहिले नेपाली इन्टरनेट सेवा प्रदायक कम्पनीहरूमा स्थापित नाम बनेको छ । उनी भन्छन्, “नेपाल फर्कने भनेको एक किसिमको जोखिम नै हो । तर, त्यो जोखिम लिन सक्ने सफल हुन्छ । मैले त्यही जोखिम लिएँ । र, आज त्यहाँ पाउनेभन्दा निकै ठूलो सफलता पाएको छु ।”

अमेरिकाबाट फर्केपछि अरूले जस्तो समस्याबारे खासै चासो राखेनन् उनले । उनको प्रस्ट धारणा छ, धेरै सोच्यो भने केही गर्न सकिँदैन । आफूमा विश्वास छ भने सीधै काममा हाम फाल्नुपर्छ । र, युवावस्थामा नै त्यो जोखिम उठाउनुपर्छ । भन्छन्, “हद भयो भने तीन–चार वर्ष त खेर जाने हो ।”

सुरुसुरुमा दिलीप बिहानैदेखि राती १२ बजेसम्म काममा खट्थे । नजिकका साथी भन्ने थिएनन् । स्कुलका दौँतरीहरू सबै विदेशमा थिए । असफलै भएमा स्नातकोत्तर गर्न विदेश जाने ढोका खुलै थियो । तर, उनले त्यो ढोकातिर चियाउनु परेन । आज उनी र उनको कम्पनीलाई कुनै परिचयको खाँचो पर्दैन । वल्र्डलिंकका इन्टरनेट ग्राहक मात्र सवा लाख नाघिसकेका छन् । अहिले सबै गरेर १ हजार ८ सय कर्मचारी प्रत्यक्ष रोजगारीमा छन् । वार्षिक कारोबार मात्र दुई अर्ब रुपियाँभन्दा माथि छ । यदि कसैसँग सीप र इच्छाशक्ति छ भने आजको दिनमा नेपालमा जुन काम थाले पनि सफल हुन सकिने उनको निष्कर्ष छ । भन्छन्, “अहिलेभन्दा मैले काम थालेको समय निकै जोखिमपूर्ण थियो । त्यत्रो द्वन्द्व बेहोर्‍यो मुलुकले । अहिले द्वन्द्व छैन । अर्थतन्त्रले गति लिएको छ । निकै सम्भावना छ ।” 

प्रकाशित: भाद्र २७, २०७४