[सर्वेक्षण] गैरपाठ्यपुस्तकमा झुकाव

  • औपचारिक पाठ्यक्रम र पाठ्यपुस्तक मात्रै पढाउने परिपाटीबाट बाहिर निस्कने जमर्को

- बाबुराम विश्वकर्मा

स्कुल जाँदा पाठ्यपुस्तकको भारी । घर फर्कंदा गृहकार्यको बोझ । पाठ्यक्रमइतरका सामग्रीहरूप्रति न शिक्षक–विद्यालयको रुचि, न विद्यार्थी र अभिभावकलाई फुर्सद । यस पृष्ठभूमिमा हुर्किएको निजी शिक्षा बिस्तारै घोकन्ते प्रणालीबाहिर निस्कन खोजेको स्पष्ट संकेत देखिएका छन् । विद्यालय उमेर समूहका बालबालिकामध्ये ५७ प्रतिशतमा पाठ्यक्रम र पाठ्यपुस्तकबाहिरका पाठ्यसामग्रीमा झुकाव रहेको पाइएको छ । नेपाल–फ्याक्ट्स रिसर्च एन्ड एनालाइटिक्सलको ‘विद्यार्थीको गैरपाठ्यपुस्तक पढ्ने बानी’सम्बन्धी सर्वेक्षणले यो तथ्य उजागर गरेको हो ।

 

वैशाख ०७४ मा सम्पन्न ताजा सर्वेक्षणले विद्यार्थीहरू औपचारिक पाठ्यपुस्तकको घेराबाट बाहिर निस्कन खोजेको देखाएको छ । धेरै शिक्षकलाई अहिले पनि पाठ्यक्रम र पाठ्यपुस्तक नै शैक्षिक सत्रभित्र सक्न भ्याइनभ्याइ हुन्छ । तैपनि, ८४ प्रतिशत शिक्षकहरूले आफ्ना छात्रछात्रालाई गैरपाठ्यपुस्तक पढ्न प्रोत्साहित गरेको पाइएको छ । १६ प्रतिशत शिक्षक भने अझै समयको अभाव देखाउँदै विद्यार्थीलाई पाठ्यपुस्तककै अध्ययनमा केन्द्रित रहन बाध्य पारेका छन् ।

 

सहभागीमध्ये ४३ प्रतिशत बालबालिकाले पाठ्यपुस्तकभन्दा बाहिरका पाठ्यसामग्री अध्ययन गर्न पाएका छैनन् । गैरपाठ्यपुस्तकको भूमिका र महत्त्व पनि पाठ्यपुस्तकसरह नै हुने भए तापनि गैरपाठ्यपुस्तकको पठनमा सरोकारवालाको रूचिबारे तथ्यपूर्ण अध्ययनको अभाव छ । यस्तो रूचि थाहा पाउन गरिएको सर्वेक्षणमा संलग्न अनुसन्धान संस्था फ्याक्ट्स एन्ड एनालाइटिक्सका व्यवस्थापक मनीष झा भन्छन्, “बालबालिकालाई तीन सय चकलेट दिनुभन्दा महत्त्वपूर्ण पुस्तक दिनु लाभकारी हुन्छ । निजी स्कुलका अभिभावकले केही मात्रामा यो कुरा बुझेको पाइयो भने सरकारी विद्यालयका अभिभावकलाई बुझाउन जरुरी देखियो ।”

 

सर्वेक्षणका क्रममा विद्यार्थीलाई सोधिएको थियो, ‘पाठ्यक्रमबाहिरका पुस्तक पढ्न तपाईंहरूलाई प्रोत्साहित गरिएको छ कि छैन  ?’ जवाफमा ८३ प्रतिशत विद्यार्थीले आफूलाई पाठ्यक्रम र पाठ्यपुस्तकबाहिरका पुस्तक पढ्न प्रेरित गरिएको बताएका थिए भने १७ प्रतिशतले आफूलाई कसैले पनि पाठ्यपुस्तकभन्दा बाहिरका पुस्तक पढ्न प्रोत्साहित नगरेको जवाफ दिएका थिए । विद्यालयका शिक्षकहरूमध्ये ८४ प्रतिशत शिक्षकले पाठ्यपुस्तकइतरका सामग्री पढ्न सल्लाह दिने गरेको बताए । बाँकी १६ प्रतिशतले पाठ्यपुस्तक नै पढाउन नभ्याइने भएकाले त्यसैमा केन्द्रित हुन विद्यार्थीलाई सल्लाह दिने गरेको जवाफ दिए । 

मुलुकका १२ जिल्लाका १२ सहरमा केन्द्रित यो अध्ययन झापाको बिर्तामोड, मोरङको विराटनगर, धनुषाको जनकपुर, चितवनको भरतपुर, पर्साको वीरगन्ज, ललितपुर, काठमाडाँै, भक्तपुर, रुपन्देहीको बुटवल, कास्कीको पोखरा, बाँकेको नेपालगन्ज र कैलालीको धनगढीमा गरिएकाले सहरका निजी विद्यालयको अध्यापन प्रवृत्ति यसले बताउँछ । 

 

शैक्षिक उपलब्धि मापनमा निजी र सरकारी विद्यालयको राष्ट्रिय नतिजामा गहिरो खाडल छ । जस्तो : सरकारी विद्यालयका बालबालिकाको औसत सिकाइ उपलब्धि ४० प्रतिशतको हाराहारीमा छ भने निजी विद्यालयको सिकाइ उपलब्धि ७० प्रतिशतभन्दा बढी छ । सिकाइ नतिजामा यत्रो अन्तर हुनुमा बालबालिकाको सिकाइ–पढाइको मुख्य भूमिका छ । यो सर्वेक्षणले ७० प्रतिशतभन्दा बढी सिकाइ नतिजा हासिल गरेका निजी विद्यालयका बालबालिकाहरू गैरपाठ्यपुस्तकको अध्ययनमा पनि सक्रिय रहेको देखाउँछ भने ४० प्रतिशत सिकाइ उपलब्धिमा चित्त बुझाउँदै आएका सरकारी विद्यालयका विद्यार्थीलाई कोर्सकै पढाइ सक्न धौधौ भएको देखाउँछ ।

 

हुन पनि पाठ्यक्रम समयमै सिध्याउनुपर्ने चाप र परीक्षामुखी पढाइले गर्दा शिक्षकहरूमाथि समय र नतिजा प्रकाशनको दबाब हुन्छ । त्यसो त छात्रछात्राहरू पनि घोकन्ते पढाइ र गृहकार्यको बोझबाट मुक्त हुन सकेका छैनन् । तैपनि, गैरपाठ्यसामग्रीप्रति बहुसंख्यक शिक्षक र छात्रछात्राको लगाव देखिनुचाहिँ सुखद पक्ष ठान्छन्, अनुसन्धान टोलीकै सदस्य अमोद भट्टराई । भन्छन्, “अधिकांश शिक्षक, विद्यार्थी र अभिभावकहरूले देशमा विकसित हुँदै गरेको गैरपाठ्यपुस्तक पठन संस्कृतिलाई बढावा नै दिएको पाइएको छ ।”

आजको युगमा  छोराछोरीको पढाइ–लेखाइमा लगानी गर्न नचाहने अभिभावक कमै हुन्छन्् । फरक यत्ति हो, अभिभावकको त्यस्तो लगानी तिनको आम्दानीमा निर्भर हुन्छ । हुनेले धेरै लगानी गर्छन् भने नहुनेले कम । यो सर्वेक्षणले शिक्षाको महत्त्व बुझेका र आर्थिक हैसियत माथि हुने अभिभावकले बढी नै लगानी गर्ने गरेको देखाउँछ । सर्वेक्षणमा सहभागी ६ सय ७७ अभिभावकमध्ये ६३ प्रतिशतले आफूहरूले छोराछोरीका लागि गैरपाठ्यपुस्तक खरिद गर्ने गरेको धारणा राखेका छन् । यीमध्ये पनि ४२ प्रतिशतले त वार्षिक १ देखि ३ हजार रुपियाँसम्मको गैरपाठ्यपुस्तक किन्ने गरेका छन् । छोराछोरीका लागि गैरपाठ्यपुस्तक किन्न वार्षिक तीनदेखि पाँच हजार रुपियाँ लगानी गर्ने १६ प्रतिशत अभिभावक छन् भने चार प्रतिशतले पाँच हजारभन्दा बढी र दुई प्रतिशतले सात हजार रुपियाँभन्दा बढी लगानी गर्ने गरेको पाइएको छ । 

 

गैरपाठ्यपुस्तक छनोटमा भाषिक विविधता पनि देखिएको छ । जस्तो : ४७ प्रतिशत अभिभावकले नेपाली र अंग्रेजी दुवै भाषाका पुस्तक खरिद गर्छन् भने २८ प्रतिशतले अंग्रेजी र २३ प्रतिशतले नेपाली भाषाका गैरपाठ्यपुस्तक किन्छन् । दुई प्रतिशत अभिभावकले मात्र अन्य मातृभाषाका सामग्रीमा लगानी गरिरहेको पाइयो ।

 

सर्वेक्षणले बालबालिकाको पुस्तक छनोटमा पनि विविधता देखाएको छ । बालबालिकाको पहिलो रोजाइमा कथाका पुस्तकहरू पर्ने गरेका छन् । सर्वेक्षणमा सहभागीमध्ये ५५ प्रतिशत विद्यार्थीले कथाका पुस्तक किन्ने गरेको देखिन्छ । त्यसपछि बालबालिकाकै विषयवस्तुमा आधारित अन्य पुस्तकहरू रोज्ने गरेको पाइयो । २८ प्रतिशत विद्यार्थीले बाल–पुस्तक र २८ प्रतिशतले जीवनीसम्बन्धी पुस्तक खरिद गर्ने गरेको अध्ययनले देखाएको छ । २६ प्रतिशतले निबन्ध, २४ ले तथ्य–तथ्यांक, २० प्रतिशतले चित्रकथा, १८ प्रतिशतले सचित्र पुस्तक, १२ प्रतिशतले नियात्रा, नौ प्रतिशतले हास्य र चार प्रतिशतले संस्मरणसम्बन्धी पुस्तकमा रुचि देखाएको पाइन्छ । सर्वेक्षणमा संलग्न हेमकृष्ण श्रेष्ठ भन्छन्, “कथाहरूले बालबालिकाको मन छुँदो रहेछ । त्यसैले बहुसंख्यकको रोजाइ नै कथा हुने गरेका छन् ।”

 

शिक्षामा स्मार्ट लर्निङ, ई–लर्निङ, ई–पुस्तकालय, ई–बुक आदि प्रविधिमा आधारित अवधारणा पनि चर्चामा नभएका होइनन् । तर, विद्यार्थीहरू भने अझै पनि पुस्तकै किनेर पढ्न रुचाउँदा रहेछन् । उत्तरदाता विद्यार्थीमध्ये ७४ प्रतिशतले पुस्तकमै पढ्दा आनन्द आउने जवाफ दिएका छन् । केहीले मात्र विद्यालयको पुस्तकालय र आफ्ना साथीहरूबाट पनि पुस्तक लिएर पढ्ने गरेका छन् । यसले भने हाम्रो विद्यालय प्रणाली परम्परागत ढाँचामै रमाएको प्रस्ट हुन्छ ।

 

विद्यालय समय छात्रछात्राका लागि नियमित पठनपाठन, गृहकार्य, कक्षाकार्य अनि प्रोजेक्टवर्क आदिमै बित्छ । गृहकार्यले बढी थलिने निजी विद्यालयकै बालबालिका हुन्छन् । विद्यालयको नियमित कार्यतालिकामा बालबालिकाले गैरपाठ्यपुस्तक पढ्न भ्याएका हुँदैनन् । त्यसैले गैरपाठ्यपुस्तक पढ्नका लागि बालबालिकाले लामो बिदालाई सदुपयोग गरेका छन् । सर्वेक्षण अनुसार पुस्तक प्रदर्शनी, छुटका पुस्तक, साथीभाइको सिफारिस, पुस्तक समीक्षा र लेखकका नाम आदिका आधारमा विद्यार्थी र अभिभावकले पुस्तक खरिद गर्छन् ।

 

सबै अभिभावकले गैरपाठ्यपुस्तकमा लगानी गर्छन् भन्नेचाहिँ छैन । सर्वेक्षणमा सामेल गैरपाठ्यपुस्तक किन्दै नकिन्ने अभिभावकको संख्या ३३ प्रतिशत छ । सर्वेक्षणमा संलग्न कश्यपप्रसाद मरहठ्ठा भन्छन्, “कमजोर आर्थिक स्थिति, शिक्षा र चेतना आदिको कमी यसको प्रमुख कारण हो । त्यसैले कतिपयले गैरपाठ्यपुस्तक खरिदमा शून्य लगानी गरेका छन् ।” 

 

पाठ्यपुस्तकइतरका सामग्रीमा अभिभावकको लगानी र विद्यार्थीको झुकाव कम हुनुको कारण अरू नभएर सरकारी विद्यालयको मौजुदा शैक्षिक वातावरण नै हो । किनभने, सरकारी विद्यालय अहिले पनि सरकारी पाठ्यक्रम र पाठ्यपुस्तकको पढाइभन्दा बाहिर आउन सकेको छैन । सरकारी विद्यालयमा न समयमा पाठ्यपुस्तक पुगेको छ, न त समयमा पढाइ नै सकिन्छ । पाठ्यपुस्तककै बोझले थिचिएका सरकारी विद्यालयमा गैरपाठ्यपुस्तकको चर्चा नहुनु अनौठो होइन । शिक्षाविद विद्यानाथ कोइराला भन्छन्, “बाग्लुङको एउटा स्कुलका शिक्षकले पुस्तकालयको चाबी जनैमा बाँधेर राखेका रहेछन् । पुस्तकालयमा कोही पनि नजाने भएकाले कहिल्यै पनि खोल्दा रहेनछन् ।”

 

स्कुले बालबालिकाको समग्र पठन बानीबारे सरकारी पक्षबाट अध्ययन भएको छैन । त्यसमा पनि विद्यार्थीले गैरपाठ्यपुस्तकप्रति कत्तिको रुचि राख्छन् ? के कति मात्रामा पढ्छन् र त्यसबाट उनीहरूको सिकाइ उपलब्धिमा के कस्तो असर परेको छ भन्नेबारे सार्वजनिक छलफल निकै कम हुन्छ । यो सर्वेक्षणले पाठ्यपुस्तकबाहिरका पुस्तक पढ्ने बालबालिकाको ज्ञानको दायरा र त्यसले सिकाइ उपलब्धिमा ल्याएको सुधारको तथ्य उजागर गरेको छ । श्रेष्ठ भन्छन्, “कोर्सबुक मात्रै पढेका र बाहिरी पुस्तक पनि पढेको विद्यार्थीको ज्ञानको दायरामा फराकिलो अन्तर छ । त्यसैले हरेक विद्यार्थीलाई कोर्सबाहिरका पुस्तक पनि पढ्न प्रेरित गर्न जरुरी छ ।” 

सरकारीको बेहाल

देशको शिक्षामा ८५ प्रतिशत सरकारी र १५ प्रतिशत निजी विद्यालयको हिस्सा छ । गैरपाठ्यपुस्तक पढ्ने बानीमा निजी विद्यालयको स्थिति सकारात्मक देखिए पनि सरकारी विद्यालयको स्थितिचाहिँ निराशाजनक छ । शिक्षा मन्त्रालयले तय गरेको वार्षिक २ सय २० दिन विद्यालय खोल्नुपर्ने अनि १ सय ८० दिन पढाइ हुनुपर्ने सरकारी मापदण्ड लागू भएको छैन । अधिकांश सरकारी विद्यालयलाई पाठ्यक्रम विकास केन्द्रले तय गरेको राष्ट्रिय पाठ्यक्रम र पाठ्यपुस्तक नै समयमा सक्न कठिन भएको छ । त्यसैले सरकारी विद्यालयका बालबालिका, शिक्षक र अभिभावकहरूले चाहिँ गैरपाठ्यपुस्तक पठनमा केन्द्रित हुन पाएका छैनन् । 

काठमाडाँैको बाफलस्थित ज्ञानोदय उच्च मावि देशको राम्रो विद्यालयमा पर्छ । तर, त्यही विद्यालयमा पनि गैरपाठ्यपुस्तक पढ्न विद्यार्थीलाई प्रेरित गर्न नसकिएको पूर्वप्रधानाध्यापक धनञ्जय शर्मा स्वीकार्छन् । भन्छन्, “शिक्षकले महिनामा एउटा पुस्तक पढ्नैपर्ने नियम पास गर्दा पनि लागू भएन । शिक्षकले नै नपढेपछि विद्यार्थीले पढ्ने कुरै भएन ।” 

ज्ञानोदयले शिक्षक र विद्यार्थीमा पठन संस्कृतिको विकास होस् भनेर पुस्तकालय पिरियड नै राखेको छ । तैपनि, पठन संस्कृति बढ्न सकेको छैन । कोर्ससँग सम्बन्धित पढाइ नै राम्रोसँग नभएको, शिक्षकले कोर्सबाहिरको पढाइलाई ज्ञान र सिकाइको स्रोत नै नमानेको अनि गरिब अभिभावकले छोराछोरीका लागि पुस्तक खरिदमा लगानी नै नगरेकाले सरकारी विद्यालयमा गैरपाठ्यपुस्तकको पठन उपेक्षित भएको हो । 

गैरपाठ्यपुस्तक पठनमा सरकारी विद्यालयको अवस्था बुझ्न अर्को एउटा दृष्टान्त हेरौँ । ललितपुरको कुपण्डोलस्थित प्रगति शिक्षा सदन पनि सहरको स्तरीय सरकारी विद्यालयमै पर्छ । तर, त्यहाँ पनि बालबालिकालाई कोर्सबाहिरका पुस्तक पढ्न प्रेरित गर्न नसकिएको प्रधानाध्यापक सूर्य घिमिरेको अनुभव छ । भन्छन्, “कोर्स सक्न र धेरै अंक ल्याउने दबाबले पाठ्यपुस्तककै वरिपरि घुमेको छ हाम्रो पढाइ । गैरपाठ्यपुस्तक पनि पढ्नुपर्छ भन्ने चेतना अझै शिक्षक, अभिभावक र विद्यार्थीमा आएको छैन ।” 

प्रगति शिक्षा सदनले बालबालिकाको पठन संस्कृति बढाउन एउटा अनौठो तरिका अपनाएको रहेछ । ‘ड्रप इभ्रिथिङ एन्ड रिड (डियर)’ नाम दिइएको त्यो तरिका अनुसार स्कुलमा कुनै बेला आकस्मिक घन्टी बज्छ, शिक्षक–विद्यार्थी सबै काम छाडेर पढ्न थाल्छन् । यसैलाई ‘डियर’ भनिएको छ । तर, डियरले पनि कमाल गर्नचाहिँ सकेको छैन । घिमिरे भन्छन्, “यसले पाठ्यसामग्रीको पठन बढाएको छ, गैरपाठ्यसामग्रीको पठनमा चाहिँ योगदान गर्न सकेको छैन ।” 

यसरी गरियो सर्वेक्षण

मुलुकका १२ जिल्लाका १२ सहरकेन्द्रित यो सर्वेक्षण झापाको बिर्तामोड, मोरङको विराटनगर, धनुषाको जनकपुर, चितवनको भरतपुर, पर्साको बीरगन्ज, ललितपुर, काठमाडाँै, भक्तपुर, रुपन्देहीको बुटबल, कास्कीको पोखरा, बाँकेको नेपालगन्ज र कैलालीको धनगढीका शिक्षक, विद्यार्थी र अभिभावकबीच गरिएको थियो । सर्वेक्षणमा सरकारी र निजी दुवै विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक उत्तरदाता समेटिएका छन् । ६ देखि १६ वर्ष उमेर समूहका १० कक्षासम्मका ६ सय २२ विद्यार्थी, १७ वर्षदेखि माथिका ६ सय ३५ गैरअभिभावक, ६ सय ७७ अभिभावक अनि ६ सय २५ शिक्षक गरी जम्मा २ हजार ५ सय ९९ जना उत्तरदाता समेटिएको छ । यी चार समूहमध्ये प्रत्येकलाई १६–१६ वटा प्रश्न सोधिएको थियो । ती प्रश्नमा प्राप्त जवाफलाई प्रशोधन गरेर नतिजा निकालिइएको हो ।

 

प्रकाशित: भाद्र २६, २०७४