इन्स्टाग्राम अकाउन्ट पनि ह्याक

- नेपाल संवाददाता

इन्स्टाग्रामका ६० लाख प्रयोगकर्ताका अकाउन्ट ह्याक भयो । १२ भदौमा गायिका सेलेना गोमेजको इन्स्टाग्राम ह्याक भएपछि यो कुरा बाहिर आएको हो । सेलेना गोमेजको जस्तै गरी अन्य कैयौँ 

सेलिब्रिटीका इन्स्टाग्राम ह्याक भएको अनुमान गरिएको छ । 

इन्स्टाग्राममा पासवर्ड परिवर्तन गर्ने प्रक्रियामा रहेको सानो त्रुटिको फाइदा ह्याकरहरुले उठाएका हुन् । उनीहरुले सेलिब्रिटीका व्यक्तिगत फोन नम्बर, इमेल आदि जस्ता गोप्य सूचनासहितको यस्तो डाटाबेस बनाएका थिए । जुन १० डलर तिरेर जोसुकैले पनि प्राप्त गर्न सक्थे । र, इन्स्टाग्रामबाट पासवर्ड परिवर्तन गर्ने नक्कली लिंक पठाएर यही गोप्य सूचनाका आधारमा ह्याकरहरुले भेरिफाइड अकाउन्ट पनि ह्याक गर्न सफल भएका थिए । 

सेलेना गोमेजको अकाउन्ट ह्याक भएको थाहा पाएलगत्तै इन्स्टाग्रामले अकाउन्ट सेक्युरिटीलाई अझै चुस्त पारेको छ । अहिले इन्स्टाग्रामले सबै प्रयोगकर्तालाई शंकास्पद गतिविधिबारे रिपोर्ट गर्न अनुरोध गरेको छ । साथै, सबैलाई टू फ्याक्टर सेक्युरिटी अपनाउन पनि अनुरोध गरेको छ । टू फ्याक्टर सेक्युरिटीमा प्रयोगकर्ताले इन्स्टाग्राम एपमा खोल्नुअघि एउटा कोड हाल्नुपर्छ, जुन त्यो अकाउन्ट सम्बन्धित मोबाइल नम्बरमा आउँछ । हरेक पटक लगइन गर्दा फरक–फरक कोड आउने हुनाले यो ह्याक हुने सम्भावना कम छ ।

 

प्रकाशित: भाद्र २६, २०७४