[पुस्तक अंश] मेरो बोनस जीवन

- चीजकुमार श्रेष्ठ

चिनामा लेखिएको जीवन बाँचेर त्यसमा नलेखिएको बोनसको जीवन बिताएको एक वर्ष भयो । १३ जेठ ०७४ मा मैले ७४ वर्ष टेकेँ । म साधारणतया मृत्युबारे धेरै नसोच्ने र यो त हामी जन्मँदै जीवनसँगै आउने कुरा हो भनी हल्का रूपमा लिने मान्छे हुँ । तर, ०७२ सालभर म भित्रभित्र यति पिरोलिएँ कि बाँचेर पनि मरेँ । हुन त यो पूरै जीवन नै नाफाको हो । एक किसिमको बोनस । किनभने, यसमा न हाम्रो कुनै लगानी छ, न हाम्रो योजना अन्तर्गत हाम्रो जन्म भएको हो । कसको कहाँ कुन ठाउँमा जन्म हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । ईश्वर र भाग्यलाई मान्नेहरूले यसमा भाग्यको खेल देख्छन् भने कर्मवादीहरूले आफ्नो जन्मलाई आफूले पाएको कर्म ठान्छन् । 

कोही मानिसहरू हुन्छन्, अमेरिकाजस्तो धनी ठाउँमा नजन्मिएर नेपालजस्तो गरिब देशमा जन्मिएकामा दु:खी हुने । कोही फेरि मुगु वा दार्चुलामा नजन्मिएर काठमाडाँैमा जन्मिएकामा खुसी हुने । कोही मुगु वा दार्चुलाजस्तो शुद्ध हावापानी र हिमालनजिक जन्मिन पाएकामा खुसी हुने पनि होलान् । यो मानिसको आ–आफ्नो सोच र अनुभवमा भर पर्ने कुरा हो । मलाई मेरो जन्म र जीवनप्रति कुनै गुनासो छैन । मैले जेजस्तो जीवन पाएँ, जेजस्ता संयोगका डोरीहरू समाउँदै जीवन नामक यो पहाडको करिब–करिब शिखरतिर पुगिरहेको छु । यो यात्रामा कहीँकतै कसैलाई केही सहयोग गर्न सकेको रहेछु भने म त्यसैमा सन्तुष्ट हुनेछु । 

चिनामा हरेक वर्षको वर्षफल लेखिँदै जाँदा ७२ मा पूर्णविराम लागेको छ । चिनामा मेरो आयु तोकिएको थाहा पाएदेखि नै मैले त्यसलाई आफ्नो यात्राको अन्तिम बिसौनी मानेको हुँ । यसैले जब म ७२ वर्षमा पुगँे, भित्रभित्रै पिल्सिन थालेँ । एक त चिनामा लेखिएको कुरा, दोस्रो हृदयाघातका कारण बिग्रिएको मुटु । त्यसमाथि घुँडा र ढाडले दिएको पीडा । टुपाक साकुरको एउटा भनाइ सम्झिन्छु, ‘डेथ इज नट द ग्रेटेस्ट लस्ट इन लाइफ, लस्ट इज लाइफ डाइङ इन्साइड अस ह्वाइल वी आर अलाइभ’ (मृत्यु जीवनको सबभन्दा ठूलो क्षति होइन, सबभन्दा ठूलो क्षति त जिउँदै भित्रभित्र मर्नु पो हो) । यस्तै भयो मेरो ०७२ साल । 

शारीरिक पीडाभन्दा पनि यो एक वर्ष म मानसिक पीडामै छटपटिएँ । जालो लागेको आँखाले स्वच्छ दृश्यलाई धमिलो देखेजस्तो मेरा लागि यो एक वर्ष संसार धमिलो–धमिलो रह्यो । भित्री मनमा कतै यो नै मेरो अन्तिम वर्ष हो भन्ने लेखिएको थियो । म किन पिरोलिएँ ? एक्लै रोएँ पनि किन ? थाहा छ, जन्मेपछि मृत्यु अवश्यंभावी छ । लेखनाथ पौड्यालले भनेका छन्, ...टारेर टर्दैन त्यो । 

तैपनि, हामी मृत्युदेखि डराउँछाँै, यसको सम्झना मात्रैले पनि त्रस्त हुन्छौँ । यही पिरोलिने क्रममा म ज्योतिषी ब्रह्मदत्त भट्टराईकहाँ पुगेँ । बन्दीपुरकै ज्योतिषी भट्टराईलाई ठीक ५० वर्षअघि चिना देखाएको थिएँ । यस वर्ष फेरि काठमाडौँमा भेटेर उही चिना देखाएँ । उनले ठोकेरै भनिदिए, तपाईंले आफ्नो ८४ पूजा गर्नुहुन्छ, ढुक्कै बस्नूस् । ७२ वर्ष पार पनि भइसकेको र ज्योतिषीले पनि त्यसो भनेपछि अहिले मेरो मनको बोझ हल्का भएको छ । न त मैले पहिलेजस्तो आफ्नो आयु तोकेको छु । बरू मैले यो बोनसको जीवनका लागि केही योजना र लक्ष्यहरू निर्धारण गरेको छु ।

नयाँ वर्ष ०७४ को अवसरमा केही अठोट लिएको छु । जीवनशैली बदल्छु । सादा, सरल र सदाचारी जीवन बाँच्छु । आफ्नो स्वास्थ्यमा बढी ध्यान दिन्छु । सक्दो बढी समय आफ्नो परिवारलाई दिन्छु । बन्दीपुरमा बढी समय बिताउँछु । त्यहाँका पिछडिएका वर्गका केटाकेटीले राम्रो शिक्षा प्राप्त गर्ने वातावरण मिलाउने प्रसाय गर्छु । सकारात्मक सोच अँगाल्छु । मित्र वा शत्रु कसैप्रति कुनै रिसराग राख्दिनँ । अब मृत्युबारे सोचेर पहिलेजस्तो आत्तिन्नँ । यो पनि जीवनकै एउटा भाग हो भनेर बाँकी समय खुसीखुसी बाँच्नेछु । 

मानिसको जीवन एउटा उपन्यास हो भने मृत्यु त्यो उपन्यासको अन्तिम च्याप्टर । यो च्याप्टरमा आएपछि किताब सकिनैपर्छ । यो नै नियम हो । जीवनको सन्तुलन भनेको सही अर्थमा मृत्यु नै हो । मृत्युको शाश्वत अस्तित्वलाई स्वीकार गरेर आफ्नो जीवनलाई त्यसभन्दा माथि पुर्‍याउने प्रयास गर्ने मानिसहरू महान् हुन्छन् । मृत्युभन्दा माथि भनेको कहिल्यै नमर्ने भनेको होइन । त्यो भनेको आफ्नो जीवन मात्र होइन, अरूका लागि पनि बाँच्नु हो । 

सजिलो भाषामा भन्दा आफू मरेपछि पनि आफूलाई अरूले राम्रो मान्छेका रूपमा सम्झिऊन् भन्ने लालसाले मानिसलाई केही गर्न प्रेरित गर्छ । हामीजस्ता साधारण मानिसका लागि दुई–चार जना मानिस, बालबालिका, विद्यार्थीलाई सहयोग गर्न पाउनु नै पनि ठूलो कुरा हुन्छ । म त झन् निकै थोरै कुरामा पनि सन्तुष्ट हुन्छु । जन्म र मृत्यु जीवनरूपी खोलाका दुई किनारा हुन् । जुन दिन जीवन–खोलो सुक्छ, त्यस दिन यी दुई किनाराको भेट हुन्छ । यो घडीमा म घुमीफिरी बन्दीपुर । धेरैपटक सुनेको र पढेको एउटा ‘अज्ञात’ भनाइलाई सम्झने गर्छु, जहाँ जीवन र मृत्युको संवाद भइरहेको हुन्छ । भेटमा जीवनले मृत्युलाई सोध्छ– मानिसहरू किन मलाई प्रेम गर्छन् र तिमीलाई घृणा गर्छन् ? 

मृत्युले जवाफ दिन्छ– किनभने, तिमी सुन्दर झूट हौ, म पीडामय सत्य हुँ ।

(शिक्षासेवी श्रेष्ठको कृति घुमीफिरी बन्दीपुरबाट)

 

प्रकाशित: भाद्र २५, २०७४