[झटारो] जय भ्रष्टाचार

- लक्ष्मण गाम्नागे

भ्रष्टाचार गर्नु चानचुने कुरा होइन । भ्रष्टाचार गर्न चलाखीपूर्वक कानुन उल्लंघन गर्नुपर्छ, छल्नुपर्छ । उल्लंघन गर्न वा छल्न नसकिने भयो भने कानुनै परिवर्तन गराउनुपर्छ । मन्त्रालय, विभागदेखि विधायकहरूसम्मलाई मिलाउनुपर्छ, फकाउनुपर्छ, किन्नुपर्छ । भ्रष्टाचार गर्न मन्त्री, प्रधानमन्त्रीलाई दाहिना बनाउनुपर्छ । भ्रष्टाचार रोक्न खुलेका कथित निकायका कानमा तेल भरिदिनुपर्छ, आँखामा कालो चस्मा भिराइदिनुपर्छ । कागजपत्र दुरुस्त राख्नुपर्छ, दिमाग तन्दुरुस्त बनाउनुपर्छ । माथि पिलाउनुपर्छ, तल मिलाउनुपर्छ, वरपर सबैका मुख सिलाउनुपर्छ ।

विरोधीहरूले सुइँको पाउलान् भनेर डराउनुपर्छ, बेलाबेलै सेटिङ भत्किएला भनेर तर्सिनुपर्छ, पक्राउ परिएला भनेर चनाखो हुनुपर्छ । डरैडरले न रातमा निद्रा न दिनमा भोक हुन्छ । प्रेसर जाग्छ, सुगर लाग्छ । त्यत्रो दु:ख गरेर संकलन भएको धन लुकाउन पनि महाभारतै हुन्छ । कदाचित् पक्राउ परियो भने भविष्यमा भ्रष्टाचार गर्न पाउने पदमा नियुक्त हुनै नपाउने गरी कारबाही हुने जोखिम हुन्छ । चौबीसै घन्टा तरबारको धारमा बसेर यात्रा गर्नुपर्छ, एक प्रबुद्ध भ्रष्टाचारीले । 

यस्तो कठिन, चुनौतीपूर्ण र जोखिमपूर्ण काम गरेर हामी भ्रष्टाचारीहरूले देशलाई कृषिप्रधानबाट भ्रष्टाचारप्रधान मुलुक घोषणाको सँघारमा ल्याइपुर्‍याएका छौँ । तैपनि, कतिपय मानिसहरू र पत्रपत्रिकाहरू हामीविरुद्ध अनेकथरी लेख्छन्, गाली गर्छन् । भाग नपाउनेहरूले डाह गर्छन्, सराप्छन् । बेलाबेलै सरकारी निकायहरू निहुँ खोजेजस्तो गर्छन् । घरमा छापा मारेर आतंक सिर्जना गर्न खोज्छन् । हामीलाई समात्न, थुन्न र मुद्दा हालौँलाझैँ गर्छन् । तापनि, हाम्रो यात्रा अघि बढिरहन्छ, बढिरहन्छ ।

देखाउनका लागि भएका त्यस्ता फाटफुटे अवरोधबाहेक अहिले भने सिंगै राज्य संयन्त्र हाम्रो पक्षमा छ । सरकार, अदालत, अख्तियार सबै हाम्रै संरक्षणमा खटेका छन् । भ्रष्टाचारको मेलो मिलाइदिने मन्त्रीहरू छन्, खेलो खेलाइदिने सांसदहरू छन् । हाम्रा विरोधीहरूले आँगनमै बम पड्काउँदा पनि नब्यूँझिदिने अख्तियारप्राप्त अधिकारीहरू हाम्रै हितमा छन् ।

केही माननीय सांसदज्यूहरूले संसद्मार्फत नै भ्रष्ट, बलात्कारी, पासपोर्ट बेचुवा, ज्यानमारा लगायतका हाम्रा मित्र शक्तिहरूलाई चुनावमा उठ्न पाउने विधेयक पास गराउन लड्डी गरेकै हुन् । हाम्रो दुुर्भाग्य ! यसपालि त्यो पारित भएन । तर, कुनै दिन त्यो संशोधन पुन: ब्यूँतिएर पारित भइछाड्नेछ भन्ने हामीलाई विश्वास छ । खस्पताललाई अस्पताल बनाउनेहरू, करोडको जग्गा किनेर अर्बको बिल बनाएर धोक्रो भर्नेहरू हाम्रा सहयात्री छन् । राष्ट्रिय ढुकुटीबाट अर्बौं ज्युनार गरेर भ्रष्टाचारको नयाँ कीर्तिमान बनाउने राष्ट्रसेवकहरू हाम्रा साथमा छन् । त्यसैले हाम्रो शिर ठडिएर अहिले सगरमाथा भएको छ ।  

हामी अझै अगाडि बढ्नु छ । यसका लागि भ्रष्टाचार जगत्को मर्यादालाई थप उचाइ दिँदै अझ व्यवस्थित, संगठित र जुझारू बनाउन सबै पार्टीका संरक्षित भ्रष्टहरू मिलेर एउटा समावेशी युनियन गठन गरौँ र आफ्नो हकहित र अधिकारका लागि लडौँ । भ्रष्टाचार प्रवद्र्धनका लागि गोष्ठीहरू गरौँ । भ्रष्टाचारका नयाँ–नयाँ रेकर्ड बनाऔँ । ‘अख्तियार दुरुपयोग संरक्षण आयोग’ बनाएर त्यसमार्फत भ्रष्टाचारको विरोध गर्नेहरूलाई कारबाही गरौँ । भ्रष्टाचार नगर्नेलाई सामाजिक बहिष्कार गरौँ । यसै वर्षदेखि सिंहदरबारभित्रै भ्रष्टाचार महोत्सवको सुरुआत पनि गरौँ । सबै राजनीतिक दलका नेताहरूलाई हामीसँगसँगै नांगै नाच्न लगाएर महोत्सवको उद्घाटन गराऔँ । जोसुकैले जतिसकै थुके पनि हामी रत्तिभर नघिनाऔँ । यो एकबारको जुनीलाई भ्रष्टाचार गर्नबाहेक अरू कुनै दुष्कर्ममा नलगाऔँ । जय भ्रष्टाचार !

प्रकाशित: भाद्र २५, २०७४