‘नेपालीहरु फ्युजन स्वाद खोज्छन्’

- मनबहादुर बस्नेत

बाजेको सेकुवा रेस्टुराँ सञ्चालनमा आएको चार दशक पुगिसकेको छ । र, देशभर यसका एक दर्जन आउटलेट छन् । नेपाली स्वाद र शैलीको परिकारमा स्थापित ब्रान्ड बन्न सफल यसले आउँदो ७ असोजमा राजधानीको भृकुटीमण्डपमा पहिलोपटक सेकुवा महोत्सव गर्दैछ । यही सन्दर्भमा बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारी, ४०, सँग गरिएको कुराकानी :

सेकुवा महोत्सव गर्ने सोच कसरी जन्मियो ? 

विभिन्न फुड फेस्टिभलहरू गर्ने विश्वव्यापी प्रचलन हो । हामी सन् २०१३ मा रुसको मस्को र गत अप्रिलमा अस्ट्रेलियाको सिड्नीमा भएको फुड फेस्टिभलमा सहभागी भएका थियौँ । यी दुवैमा हाम्रा आउटलेट सबैभन्दा बढी बिक्री हुनेमा दरिए । त्यसपछि मलाई यति लोकप्रिय स्वादको महोत्सव किन नगर्ने भन्ने लाग्यो र सुरु गरेको हो । बर्सेनि गरौँ भन्ने योजना बनाएका छौँ । 

यसको खास उद्देश्य ? 

यस्ता फुड फेस्टिभलको मूल लक्ष्य आफ्ना खानेकुराको प्रवद्र्धन गर्नु नै हो । नेपाली सेकुवाको स्वाद कति धनी रहेछ भनेर हामीले देखाउने प्रयत्न गरेका हौँ । 

यो महोत्सवको मुख्य आकर्षण केही छ ? 

एकै ठाउँमा आएर सेकुवाका सबै स्वाद चाख्न पाइन्छ । साथमा कुटुम्ब लगायतका सांगीतिक ब्यान्डले मनोरञ्जन प्रदान गर्नेछन् । 

नेपालीहरूको खाने शैली र स्वादमा केही परिवर्तन देखिन्छ ? 

आजभन्दा २० वर्षअघिको समयसँग तुलना गर्ने हो भने निकै परिवर्तन देखिन्छ । 

कस्तो परिवर्तन ? 

परिवारसहित रेस्टुराँमा गएर खानुपर्छ भन्ने चलन बढ्दै गएको छ । कम्तीमा पनि महिनाको एकपल्ट बाहिर गएर खाने ट्रेन्ड बढिरहेको छ । 

नेपालीहरूको स्वादमा चाहिँ केही परिवर्तन देखिँदैन ? 

देखिन्छ नि ! नयाँनयाँ स्वादका परिकारहरू चाखौँ भन्नेहरू छन्, खासगरी युवाहरू । 

नेपालीहरू कस्तो स्वाद बढी खोज्छन् ? 

सबै परिकारको स्वाद लिए पनि नेपालीहरू पश्चिमा शैलीका खानामा नेपालीपन मिसाएको फ्युजन स्वाद बढी मन पराउँछन् । जस्तो : पोलेको र ग्रिल गरेका खानेकुरामा पनि नेपाली परम्परागत स्वाद मिसिएको होस् भन्ने उनीहरूको चाहना हुन्छ । यसका साथै जिरा, धनियाँ, लसुनका स्वाद नेपालीहरू अनिवार्य खोज्छन् । 

‘फुड कल्चर’को कुरा गर्दा विश्वमा नेपाल कहाँनेर पर्छ ? 

देशभित्रकै ट्रेन्डमा रेस्टुराँमा गएर खाने संस्कार बढिरहे पनि बाहिरी दुनियाँसँग तुलना गर्दा हाम्रो केही पनि होइन । हामी पुछारमै छौँ । 

खाने शैलीमा विकसित मुलुक र हामीमा के फरक रहेछ ? 

पश्चिमा मुलुकमा बाहिर खान जाने भनेपछि उनीहरू रेस्टुराँपिच्छे फरक–फरक स्वाद लिएर चहार्छन् । एउटा रेस्टुराँमा एउटा स्वाद मात्रै लिने हो, उनीहरूले । हामी एउटै रेस्टुराँमा अघाएर निस्कन्छौँ । अर्को कुरा, उनीहरूलाई घरमा पकाएर खानुभन्दा रेस्टुराँमा खानु सस्तो पर्छ । खाना तयार गर्दा खपत हुने समय, कमाएको रकम र रेस्टुराँ छिर्दा हुने खर्चको हिसाब गर्दा रेस्टुराँमै खाँदा फाइदा हुन्छ । 

तर, नेपालमा त रेस्टुराँको खानेकुरा स्वस्थ हुने ग्यारेन्टी पनि त हुँदैन ? 

सबै रेस्टुराँ त्यस्ता छैनन् । स्वस्थ खानेकुरा सर्भ गरिएन भने घाटा व्यवसायीलाई नै हुने हो नि ! 

चल्तीका होटल तथा रेस्टुराँ पनि यस मामिलामा चुकेका थुप्रै उदाहरण छन् नि ? 

उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्नेलाई ठेगान लगाउने दायित्व राज्यको हो । 

नेपालमा बाहिर गएर खाने बानी अन्य मुलुकको तुलनामा पछि पर्नुको कारण के होला ? 

समाज कसरी विकास भयो र मुलुकको अर्थतन्त्रको अवस्था कस्तो छ भन्ने कुराले मानिसको जीवनशैलीलाई प्रत्यक्ष प्रभाव पारेको हुन्छ । आयस्रोत बढेपछि खर्च गर्ने प्रवृत्ति स्वत: बढ्छ । मुख्य कारण यही हो । 

नेपाली स्वाद विश्वमा स्थापित हुन नसक्नुको कारणचाहिँ के देख्नुहुन्छ ? 

हामीले त खानेकुराको महत्त्व बुझेकै छैनौँ । हाम्रा विशिष्ट स्वादका खाना यी हुन् भनेर विश्व बजारमा आफ्नो उपस्थिति देखाउन नसकेर हो । यसका लागि लगानी चाहियो । गरिब मुलुक हुनुको परिणाम होला, सायद । खाना देशको पहिचान हो भन्ने बुझेर त्यसमा लगानी नगरेसम्म चिनियाँ स्वाद, जापानी स्वाद भनेजस्तै नेपाली स्वादको ब्रान्ड बन्दैन ।

मौलिक परिकारमा हामी कमजोर छौँ ? 

कहाँ हुनू ! हाम्रा हरेक जातजातिका मौलिक स्वादका परिकार छन् । नेवारी, थारू, थकाली खानेकुरा हेर्नूस् त कति ‘रिच’ छन् । 

प्रकाशित: भाद्र २५, २०७४