[संस्मरण] आफैँमाथि एक पटकथा

- टंक चौलागार्इ

स्मृतिमा छाएका दृश्यहरू फिल्मझैँ भित्र हृदयको कुनामा मीठो स्पर्श दिइरहन्छन् । यी दृश्य धुलाउने ल्याब आफ्नै हृदयको एक कुनामा हुनुपर्छ । विगतको स्मृति र निद्राको सपनाबीचमा धमिलो दृश्य खिचिएर छापिँदो रहेछ ! भोगाइको दृश्यजस्तो पनि लाग्ने, सपनाको दृश्यजस्तो पनि लाग्ने । हामीले यही दृश्य छपाइलाई नोस्टाल्जिया भनेका हौँ कि !

 

दृश्यमा काठमाडौँ अनौठो लाग्थ्यो । अनौठा लाग्थे यहाँका गाडीहरू, मानिसहरू, घरहरू अनि सबै सबै कुरा । स्वादिला लाग्थे, यहाँका हरेक पकवान । आनन्द दिन्थ्यो यहाँका हरेक स्पर्शले । कर्णप्रिय थिए, यहाँ गुन्जिने हरेक ध्वनिहरू । सुगन्धित थियो काठमाडौँको बास्ना । भर्खरै काठमाडौँको ‘फ्रेम’भित्र प्रवेश पाएको बालकले नरुचाउने कुरा केही हुँदो रहेनछ ! फिल्मजस्तै रोमाञ्चक रहस्यमयी लाग्थ्यो काठमाडौँ सहर ।

***

स्कुलको पाइन्ट लगाएँ । उठ्नेबित्तिकै सबैभन्दा सफा र नयाँ लुगा समाउँदा स्कुलको नीलो सर्ट–पाइन्टबाहेक अरू के हुनु ! बिदाको दिन थियो । ओछ्यानमै मन–मस्तिष्कको पर्दाभित्र चलचित्रका दृश्यहरू नाच्न थाले । 

 

स्कुलको लुगा लगाएकामा भात खाँदा भातसँगै एक चरण गाली पनि खाएँ आमाको । 

 

कोटेश्वरको डाँडोमा उक्लिएँ । काठमाडौँ देख्न त्यही डाँडो नै पर्याप्त थियो । त्यहीँबाट हामी पैदलै काँडाघारी पुग्थ्यौँ । पेप्सीकोलादेखिको नयाँ बाटो खेतैखेतको बीचबाट भर्खरै खनेको थियो । सबैतिर फाँट, कहिले सबैतिर धानैधान, कहिले सबैतिर गहुँ, कहिले सबैतिर मकै र कहिले सबैतिर तरकारी खेतीको दृश्य झुल्किन्थ्यो । सहरतिर छिट्टै रोपाइँ गर्दा रहेछन् ! कतैकतै खेतमा रोपाइँका दृश्य देख्न पाइन्थ्यो । फिल्ममा झैँ काँठको दृश्य मौसम अनुसार बदलिइरहन्थ्यो । 

 

अहिले सहरको दृश्य असाध्यै ‘मोनोटोनस’ छ । नजान्ने निर्देशकले बनाएको फिल्मजस्तै ।

काँडाघारीमा हाम्रो घर निर्माणाधीन अवस्थामा थियो । पेप्सीदेखि नै नयाँ बनेका घरहरू गन्ती गर्ने हो भने दुवै हातका औँलाहरूलाई भाग पुग्दैनथ्यो । 

 

बनिरहेको हाम्रो घरको छेउमा ठूलो कुलो थियो । बाटो भने पनि त्यही, कुलो भने पनि त्यही । बर्खामा त्यो कुलो बढेर खहरे खोला भइजान्थ्यो । कुलोको शिर ढँुगेधारा थियो, पाउ मनहरा खोला । घरछेउमा बाँकी रहेको जग्गामा सेफ्टी ट्यांकी खनिएको रहेछ † सेफ्टी ट्यांकीको दुईवटा भाग थिए । बीच भागमा पर्खाल लगाइएको थिएन । 

 

सेफ्टी ट्यांकीमा आधाजति पानी जम्मा भएको रहेछ । त्यही पानीमा पौडिने विचार आयो । सेफ्टी ट्यांकीमा पसेपछि त्यस दिन दोस्रो चरणको गाली हजुरआमाको खाएँ । नजिकै मामाहरूको घर थियो । जिद्दीका अगाडि कसैको केही लाग्दैनथ्यो । निकैबेर सेफ्टी ट्यांकीभित्र ‘एकुरियम’मा कैद माछा भई पौडिएँ । कट्टु लगाउने चलन थिएन । पाइन्ट लगाएरै सेफ्टी ट्यांकीभित्र पसेको थिएँ । 

 

फेर्ने लुगा थिएन । चिसोले ढाडिने भो भन्दै हजुरआमाको तेस्रो चरणको गाली पनि खाएँ ।

खेलेर अघाएपछि बाहिर निस्किएँ । सर्ट कम्मरमा बाँधेर हिँडँे । 

 

चिसो पाइन्ट फुकाल्न हजुरआमाले बोलाउनुभयो । उहाँको हातमा पछ्यौरा थियो, मेरो कम्मरमा बेर्न ठिक्क पारेको । मैले हजुरआमाको मायाले बेर्नै सकिनँ ।

 

बाँसघारीको उकालैउकालो हिँडेपछि गोठाटार डाँडामा पुगेँ । जहाँबाट एयरपोर्टको मनोरम दृश्य देखिन्थ्यो । एयरपोर्टमा राखेका जहाजहरू देख्दा फिल्म हेरेभन्दा पनि आनन्द आउँथ्यो । हेर्दैहेर्दै केहीबेर तेर्साे हिँडेर ओरालो लागेँ । वाग्मती तरेपछि पुगिहालियो जोरपाटी । सर्ट लगाएँ । पाइन्टको पानीले भिजेछ !

 

जोरपाटी पुग्दासम्म पाइन्टबाट पानी चुहिँदै थियो । पाइन्टको मोतामा माटैमाटो लागिहाल्यो । तीनपटक हेरिसकेको भाउजू फिल्म चलेको थियो आराधना हलमा । ‘राजेश हमाल भगवान्भन्दा पनि शक्तिशाली छ ।’ मैले यो कुरा भन्दा एक दिन स्कुलमा केटाहरूसँग झगडा नै पर्‍यो ।

‘हिरो’ उडेको देखेँ । भगवान् उडेको कहाँ देख्नू ?

 

फिल्म हेर्न एक सुको थिएन । मागे पनि पैसा दिने कोही थिएनन् । एउटै आश थियो, बिनाटिकट भित्र पस्न पाइन्छ कि ! छक्याउन पाए कहिलेकाहीँ फिल्म सुरु भइसकेपछि त्यस्तो मौका पाउँथेँ ।

 

त्यो दिन म हान्निएर जोरपाटी आराधना हल पुगेँ । फिल्म सुरु भइसकेछ । दर्शकहरू निस्कने ढोकापट्टिको भित्तामा लाजै पचाएर माउसुलीजस्तै टासिरहेँ । चिया पसलबाट छड्के हानिरहेका हुन्थे हलका ‘गुन्डा’हरू । कोही ‘गुन्डा’ लखेट्न आए भने सुइँकुच्चा ठोकिहाल्थेँ । ‘ हिरो’जस्तो लड्न सक्दैनथेँ । लाग्थ्यो, त्यही फिल्मको ‘हिरो’ डाकेर भकुर्न पाए पनि हुन्थ्यो यी ‘गुन्डाहरू’लाई ! तर, त्यो कल्पनाको कुरा !

 

त्यही ढोकामै सुनिन्थे फिल्मका संवाद र गीत । फाइटको आवाज सुन्दा पनि मज्जा आउँथ्यो । हेरिसकेको फिल्मका दृश्य कन्ठै हुन्थ्यो । 

 

एक जना हलको ‘गुन्डा’ आयो । नडराई उभिएँ । भागिनँ । प्राय:ले मलाई चिन्थे, म पनि उनीहरूलाई चिन्थेँ । भित्र पस्नलाई हात जोडेँ । ऊ बोलेन । यसपटक आँखा मात्रै तरेर गयो ।

 

व्यर्थ भयो मेरो अभिनय ! खेर गयो मेरो अनुनय !

 

हलका ‘गुन्डा’हरू फिल्ममा जस्तै लामो कपाल पालेका, कानमा मुन्द्री अनि घाँटीमा मोटा सिक्री लगाएका, मोटामोटा पाखुरामा ‘ट्याटु’ बनाएका डरलाग्दा हुन्थे । उनीहरू ठूलठूलो जुत्ता र च्यातिएको पाइन्ट लगाउँथे ।

 

बाहिरै ढोकाछेउमा बसेर फिल्मको संवाद–गीत सुनिरहेको थिएँ । कताबाट हलको एउटा ‘गुन्डा’ आइपुगेछ ! नदेखेको हुनाले भाग्नै पाइनँ । उसले एक लात बजार्‍यो मेरो ढाडमा, ‘मा... खाते, भाग् यहाँबाट  !’ म भकुन्डोजस्तै गुल्टेर पर पुगेँ । तुरुक्क पिसाबै चुहियो । चर्पी गएँ । 

 

‘गुन्डा’को जति लात खाए पनि ‘हिरो’ले हार मान्दैन थियो । फिल्म आधा सकिएपछि ढोका खोलेर एक–दुई जना बाहिर निस्किए । ‘गुन्डा’हरूको आँखा छलेर माउसुलीजस्तै भित्तामा टाँसिँदै फेरि ढोकाछेउ पुगेँ । जे हुन्छ, होस्  ! हिम्मत गरेरै म भित्र पसेँ । छेलिएर भुइँमा बसेँ । आधा नै सही, फिल्म हेर्न पाए मन अघाउँथ्यो । 

 

फिल्म सुरु भयो । सबैतिरका ढोका बन्द भएपछि एउटा ‘गुन्डा’ चेक गर्न आयो । मेरो मुटुमा ढ्यांग्रो ठोक्यो । अर्काे लात खान तयार भएँ । हलको ‘गुन्डा’ले हातमा भएको टर्च एयरपोर्टको राडार घुमेजसरी फनफनी घुमायो । माउसुलीझैँ भुइँमै लम्पसार परेँ म । सबैभन्दा ठूलो कोसिस हलको ‘गुन्डा’को दृश्यमा नपर्नु थियो । उसको टर्च अर्कातिर फर्कियो । अनि, मन अलि शान्त भयो । 

 

सिट कतै पनि खाली थिएनन् । उभिँदाखेरि कसैले देख्ला भन्ने डरले भुइँमै टास्सिइरहेँ । राजेश हमालको फिल्म जतिपटक हेरे पनि रमाइलो लाग्थ्यो । त्यो दिन चिसोको जित भयो । एक त चिसो पाइन्ट, अर्काे चिसो भुइँको बसाइ !

 

ओहो † पिसाबले च्याप्यो । बल्लबल्ल भित्र पसेको थिएँ । बाहिर कसरी जाने ? भित्रै एउटा कुनामा सुइँक्याइदिउँ भन्ने नलागेको होइन तर घुमिरहेका ‘गुन्डा’हरूले च्याप्प समाते भने ? देख्नेबित्तिकै लात बजारिहाल्थे । टिकट नमागी गेटबाहिर हुत्याइदिन्थे । पिसाबलाई बिर्सिएर फिल्ममा हराउन कोसिस गरिरहेको थिएँ । जीउ जाँतोजस्तो भारी भयो चिसोले । उठेँ । भित्तामा टाँसिएर फिल्मतिरै आफ्नो ध्यान खिचेँ । 

 

फिल्म हेर्ने धुनमा कसैले टिकट फालेका छन् कि भनेर यताउता हेरेँ । देखिनँ । पिसाबले सहनै नसक्ने गरी च्याप्यो । पिसाबको थैलो भरियो । फुट्न बेर छैन । पेटसम्म दुख्न थाल्यो । जाडोले मेरो जीउभरि काँडा उम्रियो । पिसाब चुहिएला चुहिएलाजस्तो भयो । 

 

फिल्मको लोभले बाहिर निस्किन आँट आएन । ‘गुन्डा’ले ‘हिरो’लाई एक लात हान्यो फिल्ममा । पाइन्टमा पिसाब तुरुक्कै चुहिएछ † रोक्नै सकिनँ । अनि, बरू पाइन्टमै सुइँक्याउने कुबुद्धि पलायो । सँगसँगै अर्काे डर पनि छायो । एकैचोटि सुइँक्यायो भने बगेर अगाडिसम्म पुग्छ, कसैले देख्यो भने त्यसपछि के होला !

 

जेजे हुन्छ होस् । औषधिको दुई बिर्काेजति तुक्र्याएँ । तिघ्रामा तातो भयो । त्यो तातोले आनन्द बनायो । अर्काे लटमा फेरि दुई बिर्काेजति छोडेँ । तातो घुँडासम्म पुग्यो । अडिन नसकेर थोपाथोपा झरिरहेकै थियो । 

 

जति पिसाब गर्‍यो, त्यति नै पिसाबले च्यापेझैँ भयो । यसो अनुमान लगाएँ, हलको ‘गुन्डा’ नआएको धेरै समय भइसकेको थियो । आधा भइसकेपछि चेक गर्न हलका ‘गुन्डा’ कहिले आउँथे, कहिले आउँदैनथे । 

 

आँट गरेर बिस्तारैबिस्तारै पिसाब गरेँ । यति धेरै पिसाब आयो कि सेफ्टी ट्यांकीको सबै पानी मेरै पेटभित्र रहेछजस्तो लाग्यो । पिसाबको तातो तिघ्रा, पिडुँला हुँदै पैतालासम्म पुग्यो । भुइँमा पुगेर सुलुलु अगाडितिर बग्यो । कसैले देख्ला भन्ने ठूलो डर भयो मनमा । फिल्ममा नाच आयो । नाचमै भुलेर पाइन्टमा तुक्र्यासक्दा आनन्द भयो ।

 

नाच सकियो । आफ्नो पिसाब आफैँलाई ठुसठुसी गन्हाउन थाल्यो । तिघ्रामा चिलायो । चिसो भयो । सिकसिक लाग्यो । 

 

फिल्म सकिन लाग्दा ढोका खोल्न हलको ‘गुन्डा’ आयो । नबोली बारीको मुला निमोठेजसरी मेरो कान बेस्सरी निमोठ्यो । मैले हत्तपत्त दुवै हातले आफ्नो कान छामेँ । धन्न † मेरो कान त्यहीँ थियो । सोचेको थिएँ, हलको ‘गुन्डा’ले आफूसँगै लिएर गयो होला ! कानको रन्को मुटुमै पुग्यो । एउटा आँखाबाट तुरुक्क आँसु झर्‍यो ।

 

उज्यालो भित्र छिर्नुअगाडि नै भाग्छु भन्ने योजना बनाइसकेको थिएँ । पर्दामा छलिएर हलको ‘गुन्डा’ले ढोका खोल्यो । र, बाहिरियो । ऊ बाहिर जाँदा पर्दाको छिद्रबाट अलिकति उज्यालो भित्र पस्यो । त्यो उज्यालोले मेरो पिसाबको दर्शन पाएन । ऊ बाहिर गएको एकछिनपछि म ढोकाको पर्दामा माउसुली बनेर टासिएँ । ढोकाको एउटा फग्लेटो खोलेर बाहिरतिर चिहाएँ । हलका ‘गुन्डा’हरू वरिपरि थिएनन् । 

फिल्म सकिनुअगावै फुत्त बाहिर निस्किएँ । धेरै मान्छेहरूको चहलपहल हुनुअगाडि नै गेटबाहिर आइपुगेँ । हात्तीछाप चप्पल पड्काउँदै कतै नरोकिई बानेश्वर कोठामा आएँ । कान रन्किरहेकै थियो । चिसो पाइन्टमा पिसाब गनाएकै थियो । पाइन्ट प्लास्टिकको झोलामा हाली फोहोरको थुप्रोमा फालिदिएँ ।

भोलि स्कुल जाने बेलामा स्कुल पाइन्ट खोजी हुँदा के भन्ने होला ? 

 

‘हिरो’ उडेर मेरो कोठामा आइदिए हुने, मलाई स्कुल जाने नयाँ नीलो पाइन्ट ल्याइदिए हुने ! धेरै बेरसम्म मेरो हृदयले यही आग्रह गरिरह्यो । तर, राजेश हमालजस्तो उडेर कुनै ‘हिरो’ आएन । 

प्रकाशित: भाद्र २३, २०७४