[परदेशबाट] एनआरएनए : मन बहलाउने बाटो

- विश्वास हमाल

नेपालमा छँदा विदेशी जीवनको कल्पनामा डुबिरहेका बेला गैरआवासीय नेपाली संघ (एनआरएनए)का बारेमा धेरै सुनिन्थ्यो अनि पढिन्थ्यो । काठमाडौँका पाँचतारे होटलमा सम्मेलन गर्ने, देशकै व्यापारी–नेतादेखि प्रधानमन्त्रीसँग भेटिरहँदा उनीहरूको ‘पावर’को अन्दाज हुन्थ्यो । अनि, फेरि सुकिला–मुकिला कपडामा विदेशतिरको गफ र स्वदेशको चिन्ताका प्रसंग आमसञ्चारमाध्यममा नियमित रूपमा आइरहँदा देशका लागि केही ठूलै योगदान पुर्‍याउँछन् भन्ने लाग्थ्यो ।

समयसँगै बहकिँदा परदेशमा पढ्ने, काम गर्ने अनि बस्ने मौका मिल्यो । पूर्वी अफ्रिकाको केन्या होस् या तान्जानिया या युरोपको बेलायत अनि स्वीडेन या म विद्यार्थी भएर केही समय बसेको क्यानडा । संसारको जुन कुनामा पुगे पनि आफ्नो भविष्य खोज्दै हिँडेका मजस्ता धेरै नेपालीहरू भेटिन्थे, बिरानो देशमा । अनि, त्यही समुदायभित्र एउटा सानो समूह जहाँ पनि सक्रिय हुन्थ्यो, एनआरएनएमा आबद्ध भएर । नेपाली भएर विदेशमा बसिसकेपछि चाहेर होस् या नचाहेर यो पाँच दर्जनभन्दा बढी देशमा फैलिएको ठूलो संस्थासँग प्रत्यक्ष या अप्रत्यक्ष रूपमा ठोक्किन पुगिन्छ पनि ।

एउटा रमाइलो पक्ष के भने हामी नेपालीहरू जहाँ गए पनि संघसंस्था खोलिहाल्छौँ । जातजाति र जिल्लैपिच्छेका समाज अनि डाक्टर समूहदेखि वकिल, पत्रकार संघ । विदेशमा यति धेरै संघसंस्था हुँदा पनि सबैभन्दा ठूलो हो, एनआरएनए । अनुभव बटुल्न र विदेशमा नेपालसँग नजिकिने बहानमा म आफैँ पनि एनआरएनएका गतिविधि नजिकबाट नियाल्दै गएँ । पछि यसको वकालत पनि गर्दै हिँडेँ र अन्त्यमा फिनल्यान्ड शाखाको कार्यकारी सदस्य भएर काम पनि गरेँ । 

नेपालमा यो संस्थाको जति चमकधमक छ, विदेशतिर ठीक उल्टो रहेछ । उदाहरणका लागि लाखौँ नेपाली बस्ने बेलायतमा यो संस्थाका सदस्य १० प्रतिशत पनि छैनन् । अनि, त्यस्तै छ– विश्वका अरू शाखामा पनि । त्यो पनि सदस्यता लिनेहरू मुख्यत: समितिकै सदस्य, उनीहरूका नातागोता र साथीभाइ मात्र हुन्छन् । विदेशमा आफ्नै मिहिनेत र सुखदु:खमा जिन्दगी बिताउने अधिकांश नेपालीहरू यो संस्थाप्रति कि मतलब नै राख्दैनन् कि नकारात्मक मात्र सोच्दा रहेछन् । तर, यसको ठीक उल्टो एनआरएनएमा आबद्ध नेपालीहरूलाई लाग्दो रहेछ कि आफ्नो मातृभूमिका लागि उनीहरूले विदेशमा बसेर ठूलो योगदान दिइरहेका छन् । त्यो नसोचून् पनि कसरी ? जबकि, उनीहरूले विदेशको व्यस्त जीवनबाट समय निकाली, आफ्नै खल्तीबाट पैसा झिकेर स्वेच्छाले यो अभियानमा लागिपरेका छन् ।

नेपालमा दोहोरो नागरिकता, विदेशमा बसेका नेपालीलाई मताधिकार अनि वैदेशिक लगानीका बारेमा एनआरएनएले उठाएका मुद्दा सराहनीय छन् । त्यसका साथै नेपालमा भूकम्प, बाढी या अन्य प्राकृतिक प्रकोप आउँदा ‘च्यारिटी’मार्फत आर्थिक सहयोग पनि गरेका छन् । तर, यो सबै गर्न एनआरएनएकै सदस्य हुनैपर्छ भन्ने छैन । प्रत्येक देशमा रहेका अन्य संस्थाले पनि यो सब गर्दै आएका छन् ।

विदेशमा बस्ने नेपाली समयसँगै मिहिनेत र भाग्यले सफल पनि भए । सफलताको एक विन्दुमा पुगेपछि अब के गर्ने भन्ने शून्यता हुँदो रहेछ । त्यसैले थोरै नाम, थोरै शक्ति, थोरै पदका लागि यो संस्थामा लागेका धेरै भेटिन्छन् । साँच्चै भन्नुपर्दा आफ्नो पेसा अथवा व्यवसायबाहेक न केही अनुभव छ, न त ज्ञान तर पनि एनआरएनएमा एक किसिमको ‘चार्म’ छ । किनभने, यसमा लागेपछि नेपाल होस् या विदेश, कलाकारदेखि दूतावास अनि नेपालका उच्च पदाधिकारीसम्मको पहुँच बनाउन सकिन्छ । आफ्नै पैसाले भए पनि देश–विदेशका नेपालीसँग भेट गर्न पाइने, नेपालसँग पनि नजिकिने मौका, समाजसेवाजस्तो पनि देखिने, अनि मन बहलाउने बाटो यसभन्दा राम्रो अरू हुन सक्दैन ।

विदेशमा मुख्य रूपमा नेपालीलाई समस्या पर्ने भनेको नै भिसा, काम अनि अरू व्यावहारिक नै हो, जुन एनआरएनए अधिकारभित्र पनि पर्दैन । अनि, एनआरएनएले लगानी गरेर देश विकास गर्ने कुरा पनि एउटा भ्रम मात्र हो । किनभने, विदेशमा भएका लाखौँ नेपाली आफ्नो परिवार पाल्न र सामान्य जीवनमै संघर्षरत छन् । नेपाल फर्केर उद्योगधन्दा खोल्न उनीहरूको आर्थिक सामथ्र्यले नै दिँदैन । 

त्यसैले एनआरएनएका भेला होस् या सम्मेलन, एक किसिमले रमाइलो गर्ने, केही छिनको औपचारिकतापछि नयाँ ठाउँ घुम्ने, देश–विदेशका गफ गर्ने, मान्छे चिन्ने र मन बहलाउने ठाउँजस्तै हो । नेपाली–नेपालीबीच नेटवर्किङका लागि सायद यसभन्दा राम्रो माध्यम अरू हुन सक्दैन । अनि, नेपालमा चाडपर्व परेका बेलामा सोल्टी होटल या अन्नपूर्ण जस्तोमा सम्मेलन गर्ने ताकी विदेशबाट घर फर्केको मौकामा एक काज दुई पन्त होस् । देशका नाम चलेका मान्छे बोलाइएको त्यो रमाइलो माहोलमा देश विदेशका गफ, मान्छे चिन्ने अनि केही दिन मिडियामा छाउने र फेरि कर्मथलोतिर लाग्ने । केही अपवादबाहेक यस्तै हुँदोरहेछ एक सामान्य एनआरएनएमा नेपालीको सहभागिता । 

यी सबैका बाबजुद एनआरएनएले नेपाली दूतावास नभएको ठाउँमा अनौपचारिक दूतजस्तो काम पनि गरेको छ । नेपालमा सरकारको पैसा खाएर जिम्मेवार हुनुपर्ने नेता–कर्मचारीले त केही गरेका छैनन् भने विदेशको व्यस्त जिन्दगीबाट समय निकालेर आफ्नै खल्ती रित्याएर केही गरौँ भनी लागेकालाई दोष लगाउनु सान्दर्भिक नहोला ।

विदेशमा एनआरएनएजस्तो संस्था नभएको भए मजस्तै लाखौँ सामान्य नेपालीको अवस्था के हुन्थ्यो होला ? साँच्चिकै भन्नुपर्दा कसैलाई केही पनि फरक पर्दैनथ्यो । जस्तो छ, त्यस्तै नै रहन्थ्यो । 

प्रकाशित: भाद्र २१, २०७४