पढ्दै, कमाउँदै, सिक्दै

  • स्वावलम्बी र आत्मविश्वासी युवा

- गोकर्ण गौतम

प्लस टूसम्म त परिवारकै खर्चमा जसोतसो पढे, युवराज गुरुङ, २३, ले । उनको जागिर थिएन, घरको आर्थिक अवस्था कमजोर थियो । त्यसैले स्नातक पढ्न न अभिभावकले प्रेरित गरे, न आफैँले पैसा माग्न सके । खान–लाउनै धौ–धौ थियो । पढाइ त्यत्तिकै रोकियो । दुई वर्षपछि चितवन कालिका नगरपालिकाबाट काठमाडौँ आए, काम गर्दै पढ्ने सपना बोकेर । तर, यो महानगरमा पनि सहजै कहाँ त्यस्तो मौका मिल्थ्यो र ? आफ्नो योग्यता अनुसारको जागिर खोज्दै वर्ष दिन भौतारिए, परिणाम शून्य ।

ती तीता पलहरू सम्भँmदै युवराज भन्छन्, “सुरुमा रेस्टुराँमा भाँडा माझ्नेबाहेक अरू काम पाइएन । त्यही गर्न थालँे । किनभने, मलाई जसरी पनि पढ्नु थियो ।” दरबारमार्गको रोयल ड्रयागन चाइनिज रेस्टुराँमा काम सुरु गरे । तलब थियो, तीन हजार रुपियाँ । र, तीन वर्षअगाडिको कुरा हो यो । यतिबेला युवराज प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छन् अनि वेटरका रूपमा लाजिम्पाटस्थित वेलनेस अग्र्यानिक क्लबमा कार्यरत छन् । पढाइलाई त पैसा पुगेकै छ, गाह्रोसाह्रो पर्दा घरतिर पनि खर्च पठाइदिन्छन् । राजनीति संकायका विद्यार्थी युवराज भन्छन्, “काम नगरेको भए न पढिन्थ्यो, न त वेटर बनिन्थ्यो ।”

 

मधु भण्डारी

युवराजझैँ बाध्यता भएर मात्र होइन, नयाँ सीप सिक्ने र स्वावलम्बी हुने चाह राखेर कलेजसँगै रोजगारी सुरु गर्ने विद्यार्थी जमात पनि उस्तै छ । सविना खनाल उदाहरण हुन् । काठमाडौँमै हुर्किएकी सविनालाई पढाइकै लागि पैसाको अभाव थिएन । तापनि, काम थालिन्– दरबारमार्गको कफी पसलमा । त्यहाँ उनको मुख्य काम हो, वेटर । समय मिल्दा आफैँ कफी बनाएर ग्राहकलाई ‘सर्भ’ गर्छिन् । जबकि, उनी कलिनरी आटर््स (सेफ)मा स्नातक गर्दै छिन्, सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टमा । अर्थात्, पढाइचाहिँ कुक, कामचाहिँ वेटर । धेरैले यही आशयका प्रश्न राख्छन् ।

उनको जवाफ छ, “ग्राहकले कस्ता परिकार रुचाउँछन् भन्ने कुरा सेफभन्दा वेटरलाई बढी थाहा हुन्छ । त्यसैले आजको मेरो अनुभव भोलि सेफ हुँदा र आफैँले व्यवसाय सुरु गर्दा उपयोगी हुन्छ ।” परिवारसँगको परनिर्भरताबाट उम्कन पनि कलेज जीवनमा आफैँले आयस्रोत जुटाउनु उत्तम लाग्छ उनलाई ।

सरिता माझी

एकातिर पढाइको चटारो, अर्कातिर ड्युटीको । यसलाई व्यवस्थापन गर्नु साँच्चै कठिन हुन्छ । तर, तन्नेरीहरू यही चुनौतीमा रमाउने र व्यावहारिक दक्षता हासिल गर्न अभ्यस्त हुन थालेका छन् । अझ विपन्नताको पीडा भोगिरहेकाका लागि पढाइको निम्ति काम गर्नुको विकल्प नै हुन्न । अनि, कफी सप र रेस्टुराँ उनीहरूको पहिलो रोजाइ हो । युवराज र सविना भइहाले । रेडमडकी मधु भण्डारी, ब्रिक्स क्याफेका मनोज श्रेष्ठ अनि कफी पसलकी सरिता माझी उदाहरण हुन्, जो अध्ययन र जागिरलाई समानान्तर रूपमा अगाडि बढाइरहेका छन् ।

र, सबैमा एक दिन आफँै व्यवसाय गर्ने र अरूलाई रोजगारी दिने इच्छाशक्ति छ । लाग्छ, वर्तमानमा स्वावलम्बी र भोलि उद्यमी बन्न उद्यत छन् उनीहरू । रेडमड कफी सपको बानेश्वर शाखामा कार्यरत मधु भण्डारी भन्छिन्, “पैसा त कमाएकै छौँ, त्यसभन्दा महत्त्वपूर्णचाहिँ सीप र अन्य व्यावसायिक कौशल सिक्न पाइएको छ । अहिले सबै भोगियो भने भोलि आफैँले कफी सप चलाउँदा हन्डर खानु पर्दैन ।” 

मनोज श्रेष्ठ

मधुकै कुरा गरौँ न ! पद्मकन्या क्याम्पसमा सोसल वर्कमा स्नातक तहको तेस्रो वर्ष अध्ययरत छिन् तर रेडमडमा उनको काम वारिस्टा अर्थात् कफी बनाउने हो । उनको पनि पढाइ र जागिर अलग छ । तैपनि, कफी बनाउने गहिरो मोह जागिसकेको छ । कतिसम्म भने आफैँ कफी सप खोल्ने सपनासमेत बुन्न थालेकी छन् । खाना पकाउन आए पनि कफीबारेमा उनलाई कत्ति पनि ज्ञान थिएन । तर, दुई वर्षअगाडि वारिस्टाको तालिम लिने मौका जुर्‍यो, लगत्तै रेडमडबाट अफर आयो । जबकि, त्यतिबेला उनी स्वास्थ्यसम्बन्धी एक संस्थामा काम गर्थिन् । त्यहाँ काम गर्दा सधैँ जागिरे मात्रै भइन्थ्यो तर कफीको काम गर्दा एक दिन आफ्नै व्यवसाय चलाउन सकिन्छ भन्ने आँट आयो ।

त्यसैले पढाइ नमिले पनि रेडमडसँग जोडिइन् । १३ भदौमा रेडमडमा नेपालीकानो बनाउँदै गर्दा मधुले भनिन्, “ग्राहकको चाह अनुरूप कफीमा नयाँ–नयाँ प्रयोग गर्न पाइन्छ । यसले आत्मविश्वास र उत्साह बढाउँदो रहेछ ।”

मधु बिजुलीबजार बस्छिन् । बिहान ६ बजे बागबजारस्थित कलेज पुगिसक्छिन् । १० बजे अफिस आइपुग्नु पर्छ । यसका लागि कलेजको अन्तिम पिरियड छोड्नुपर्छ । पाँच बजेसम्म अफिसमै हुन्छिन् । पढाइमा असर गर्दैन त ? भन्छिन्, “परीक्षा आउन थालेपछि दुई–तीन घन्टा कम ड्युटी गर्छु । त्यही बेला छुटेको विषय पढ्नुपर्छ । अरू बेला साथीहरूसँग नोट लिने गर्छु ।”

त्यसो त उनी रेडमडमा कफी मात्र बनाउँदिनन्, समय मिल्नासाथ कफी सर्भ पनि गर्छिन्, ग्राहकको अर्डर लिन्छिन्, काउन्टरमा बस्छिन्, अन्य परिकार पनि बनाउँछिन् । अर्थात्, रेडमड एकोहोरो जागिर खाने थलो मात्र होइन, बहुआयामिक सिकाइ पनि हो उनका लागि । आखिर भोलि आफ्नै कफी सप/रेस्टुराँ चलाउनु जो छ ।

मधुको भन्दा थोरै भिन्न छ, मनोज श्रेष्ठ, १९, को कथा । एसएलसी दिएपछि झापाको तोपगाछीबाट काठमाडौँ घुम्न आएका थिए । उनको पनि घरमा आम्दानीको बाटो थिएन, कहाँ पढ्ने, के पढ्ने ? पूरै अन्योल । त्यसैले काठमाडौँमै पढ्ने निधो गरेँ । काम नगरी पढ्नु त के, टिक्न पनि मुस्किल थियो यहाँ । त्यही सेरोफेरोमा बखुन्डोलको एक रेस्टुराँमा जागिर खाए । भर्खरै एसएलसी पास गरेका मनोजसँग के सीप हुनु र ? सोही कारण रेस्टुराँमा उनको जिम्मेवारी थियो, भाँडा र टेबल सफा गर्ने । अप्ठ्यारो त लाग्थ्यो तर विकल्प थिएन । जसोतसो सिक्दै गए । यो अढाइ वर्षको बीचमा उनले १२ कक्षाको पढाइ सके । वेटर बने, प्रशिक्षणको जरूरत नै परेन । कमाइ पनि राम्रै छ । कुपन्डोलको ब्रिक्स क्याफेमा कार्यरत लजालु स्वभावका मनोज भन्छन्, “तर, यसभन्दा खुसीचाहिँ घरको बोझ बन्नु परेन । बरू, बेलाबेला आफैँ खर्च र सामान पठाउने गर्छु ।” रेस्टुराँको तलब जम्मा गरेरै उनी पाटन क्याम्पसमा भर्ना भएका थिए, त्यो पनि होटल म्यानेजमेन्ट विषयमा । बिहान कलेज जान्थे, दिउँसो अफिस । पढाइमा कहिल्यै बाधक बनेन काम ।

भन्छन्, “बरू, पढाइ र कामको क्षेत्र मिल्ने भएकाले व्यावहारिक र सैद्धान्तिक ज्ञान एकैपटक पाइयो । अर्कातिर, जागिरले परिपक्व पनि बनाउँदो रहेछ ।” गतिलो अवसर पाए होटल लाइनमा काम गर्न विदेश जाने वा यहीँ अलि पछि आफ्नै रेस्टुराँ खोल्ने योजना छ उनको ।

दुई वर्षअघि दरबारमार्गको कफी पसलमा जागिर खाँदा सरिता माझीको एउटै अभिलाषा थियो, पढाइ र पकेट खर्च जुटाउने तर अहिले कफीप्रतिको लगाव यति बढेको छ कि, सिर्जनात्मक शैलीको कफी सप आफैँले खोल्ने आत्मविश्वास जागेको छ । जबकि, अखबारमा विज्ञापन देखेर कफी पसलमा जागिरका लागि आवेदन दिँदा उनलाई कफी र यसको मेनुबारेमा छिपछिपे जानकारी पनि थिएन । भलै, त्यतिबेला होटल म्यानेजमेन्टमा प्लस टू सकाइसकेकी थिइन् । पब्लिक युथ क्याम्पसमा वाणिज्य संकायमा स्नातक अध्ययनरत सरिता अनुभव सुनाउँछिन्, “पढेर भन्दा गरेर धेरै सिकियो । अनि, स्वावलम्बी भएपछि आत्मविश्वास र इच्छाशक्ति बढ्दो रहेछ ।” यसको कारण छ, नयाँ मान्छेसँगै बोल्न संकोच लागेर ‘नर्भस’ हुन्थिन् । तर, कफी पसलमा आबद्ध भएपछि प्रत्येक पल ग्राहकसँग प्रत्यक्ष संवाद गर्नुपथ्र्यो, त्यो पनि सामान्य भलाकुसारी होइन, कफी र खानेकुराका लागि उनीहरूलाई उच्च आदरका साथ ‘कन्भिन्स’ गराउनुपथ्र्यो । त्यसैले सुरु–सुरुमा ग्राहकको अगाडि पर्नासाथ हातगोडा काँप्थे । तर, निरन्तर अभ्यासले अहिले नयाँ परिकारबारे ग्राहकलाई ढुक्कले मनाउन सक्ने भएकी छन् । नवीन ‘फ्लेभर’का कफी बनाउन पनि माहिर भएकी छन् । हाँस्दै भन्छिन्, “मुख्य कुरा त आफैँ अनुशासित भइँदो रहेछ । अर्कातिर, सीपसँगै मेरो व्यक्तित्व विकास भएको महसुस गरेकी छु ।” अनि, २० वर्ष नपुग्दै परिवारलाई आर्थिक सहायता गर्न पाउँदा दंग पर्नु त स्वाभाविक भइहाल्यो । 

सविना खनाल । तस्बिर : भास्वर ओझा

वेटर भनेको खाना ‘सर्भ’ गर्ने मात्र होइन, ग्राहक र किचेनबीचको सेतु पनि हो । वारिस्टा भनेको कफी बनाउने मात्र होइन, कफी सपको नेतृत्वकर्ता पनि हो । रेस्टुराँ/कफी व्यवसायमा रमाइरहेका सरिताहरूको पुस्ताले यो तथ्यलाई व्यवहारमा उतारिरहेको छ, जसले पढाइ र जागिरलाई एकसाथ अगाडि लगेका छन् । न पढाइमा जागिर अवरोध भएको छ, न जागिरमा पढाइ । फेरि उनीहरू कुनै एक निश्चित काममा मात्र सीमित छैनन् । किनभने, आजको सिकाइ भोलि उद्यमी बन्ने आधार हो । अनि, उद्यम त उनीहरूको साझा सपना । 

वेलनेस अग्र्यानिक क्लबमा दैनिक करिब तीन सय ग्राहकलाई प्रत्यक्ष सेवा दिने युवराज भन्छन्, “धेरैले ख्याल नगरेको पक्षचाहिँ पढाइ र जागिर सँगसँगै गर्दा व्यस्त भइन्छ । त्यसैले गलत बाटोमा हिँड्ने सम्भावना नै हुँदैन । कसरी अगाडि बढ्ने भन्ने ध्याउन्न मात्र हुन्छ ।”  

तस्बिरहरु : रवि मानन्धर

प्रकाशित: भाद्र २०, २०७४