[स्मरण] हत्यालाई आत्महत्या

  • जब दरबारमा परेको एउटा बिन्तीपत्र दिँदै राजा महेन्द्रबाट निर्देशन भयो, ‘स्थलगत भ्रमण गरी सत्यतथ्य जाहेर गर ।’

- रेवतीरमण खनाल

राजदरबारको जनसम्पर्क कार्यालयमा रोभिङ अफिसरका रूपमा कार्यरत थिएँ । हाम्रो काम स्वदेशको वस्तुस्थितिबारे राजामा जाहेर गर्नु र उनले गरेका काम बाहिर प्रचार गर्नु हुन्थ्यो । विसं २०१९ को पुसतिर राजा महेन्द्रद्वारा आफ्नो कार्यकक्षमा बोलावट भयो । दरबारमा परेको एउटा बिन्तीपत्र दिँदै राजाबाट निर्देशन भयो, ‘स्थलगत भ्रमण गरी सत्यतथ्य जाहेर गर ।’ 

कैलाली जिल्ला सदरमुकाम धनगढीका उप्रेती थरका एक प्रतिष्ठित जमिनदारले आफ्नी जेठी श्रीमतीको हत्या गरेकामा आत्महत्या भनेर घटना गुपचुप पारिएको रहेछ । यति मात्र होइन, आत्महत्या होइन, हत्या हो भनेका आधारमा ती जमिनदारका भाइलाई थुनामा राखिएको रहेछ । थुनामा रहेका तिनै भाइले ‘ नियतवश गरेको हत्यालाई आत्महत्या भनेर दबाउँदा न्याय नै मर्ने भएकाले निसाफ पाउँm’ भनेर घटना विवरण उल्लेख गरी बिन्तीपत्र हालेका रहेछन् । 

त्यतिबेला तराईका आफ्नै भूभागमा जान पनि भारतीय बाटो भएर जानुपर्ने बाध्यता थियो । म पनि त्यही बाध्यता छिचोल्दै धनगढी पुगेँ । त्यहाँ तिनै जमिनदारको घरमा बास बसेँ । मलाई पाहुनाघरमा राखियो र भोलिपल्ट जमिनदारले मसँग भेटघाट गरे । तर, यत्ति मात्र भने, ‘दशा लाग्यो । के गर्ने ?’

कैलाली जिल्ला प्रहरी कार्यालयमा गएर सरजमिन मुचुल्काको मिसिल अध्ययन गरेँ ।

बिहान ७ बजेतिर जमिनदार आफैँ थानामा पुगेर प्रहरी निरीक्षकसहित पाँच जना प्रहरी लिएर गाउँ फर्किएपछि मात्रै गाउँमा जमिनदारकी श्रीमतीले आत्महत्या गरेको हल्ला फैलिएको रहेछ । लाससँगै चार मानाजति मट्टीतेल अटाउने पित्तलको भाँडो र कपडा केही मात्रामा जलेको अवस्थामा भएको मुचुल्कामा उल्लेख थियो । त्यसमा मृतकले मट्टीतेल जीउमा खन्याएर आत्महत्या गरेको र मृतकलाई मार्नेसम्मको रिसइबी कसैको थिएन भन्ने बेहोरा पनि लेखिएको थियो । एक जना गाउँलेको ‘जमिनदार साहेबमाथि हाम्रो शंका छैन’ भन्ने भनाइ पनि मुचुल्कामा समेटिएको थियो । तर, लासको पोस्टमार्टम भने गरिएको रहेनछ ।

जमिनदारको घरसँगै जोडिएका धान कुट्ने, गहुँ पिस्ने, तोरी पेल्ने र काठ चिर्ने मिलमा काम गर्ने झन्डै ३५/३६ जना कामदारलाई नबोलाईकन केही गाउँलेलाई भेला गरी सरजमिन गरिएको र आत्महत्या गरेको रिपोर्ट तयार पारिएको रहेछ । रोचक पक्ष के थियो भने राती बन्दुकको आवाज आएको र बन्दुकका दुई खोका फेला परेकामा ती खोका जमिनदारको लाइसेन्सवाला बन्दुकको भएको पनि मुचुल्कामा उल्लेख रहेछ । तर, त्यो बन्दुकले कुकुर मारेको उल्लेख गरिएको थियो । जमिनदारकी बहिनी र भजनी माल अड्डाका हाकिम नायब सुब्बाले यसबारेमा जमिनदारलाई प्रश्न गरेको र उनले बन्दुकले बहुलाहा कुकुर मारेको बताएका रहेछन् । तर, ती नासु र त्यहाँका बडाहाकिम पनि जमिनदारकै पक्षमा रहेछन् ।

सरजमिन मुचुल्का पढेपछि मेरो मनमा अनेक तर्कना उठे । जीउमा मट्टीतेल खन्याएर आगो लगाउँदा पोलेर चिच्याउनुपर्ने, पोलेर मानिसको मृत्यु हुँदा कपडा थोरै मात्रै जलेको अवस्थामा नरहनुपर्ने र दुई गोली हानेर बहुलाहा कुकुर मारेको हो भने मरेकै अवस्थामा भए पनि कुकुर फेला पर्नुपर्नेजस्ता आशंका जन्मियो । त्यसपछि मैले गाउँलेहरूलाई भेटेर त्यस घटनाका बारेमा सोधखोज गरेँ । घटनास्थल, जमिनदारका नोकर–चाकर र छिमेकीलाई भेटेर त्यस घटनासँग सम्बन्धित विभिन्न कुरा कोट्याउने प्रयास गरेँ । सोधपुछ, सरजमिन मुचुल्का र घटनास्थलको प्रकृति हेर्दा त्यो आत्महत्या नभएर हत्या नै भएको निष्कर्षमा पुगेँ ।

खासमा त्यो कान्छी श्रीमतीको उक्साहटमा लागेर जमिनदारले आफैँले गोली हानी हत्या गरेको घटना रहेछ । जेठी श्रीमती कुनै कामदारसँग लहसिएको र त्यसले जमिनदारको इज्जतमै दाग लाग्ने कान्छी श्रीमतीले कान फुकेपछि आवेशमा आएका जमिनदारले राती २ बजेको समयमा दुई गोली हानी श्रीमतीको हत्या गरेका रहेछन् । हत्यालाई आत्महत्यामा बदल्न श्रीमतीको लासमा मट्टीतेल छर्केर आगो लगाई निभाएको र आत्महत्या गरेको झूटो विवरण तयार गरिएको रहेछ । 

सबै कुराको सत्यतथ्य जानकारी र पोख्त प्रमाण आदि जुटाएपछि १८ बुँदामा त्यो आत्महत्या नभएर हत्या भएको विवरण तयार गरेको थिएँ । त्यहीबीचमा राजा महेन्द्र कैलालीका थारु–किसानको अनुरोधमा बाघको सिकार गर्न शुक्लाफाँट पुगेका थिए । बाघले त्यहाँका किसानलाई हैरान पारेको बिन्तीपत्र राजामा जाहेर भएपछि राजा बाघको सिकार गर्न त्यहाँ पुगेका थिए । राजाको त्यही सवारी क्याम्पमा पुगेर मैले उनलाई भेटेँ र आफूले तयार गरेको अनुसन्धान–प्रतिवेदन जाहेर गरेँ । केही समय मैले पनि त्यही क्याम्पमा बसेर काम गरेँ । राजाले ‘न्यायसम्बन्धी बिन्तीपत्र जाहेर गर्न’ आफूसँगै लिएर गएका सर्वोच्च अदालतका न्यायाधीश पशुपतिप्रसाद कोइरालालाई उक्त प्रतिवेदन दिए । न्यायाधीशले तत्काल बिन्तीपत्रका साथ मैले दिएको अनुसन्धान रिपोर्ट पढेर सोही सुझावबमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई लेखी पठाए, ‘ कानुनबमोजिम आवश्यक कारबाही गरी नतिजा जाहेर गर्नू ।’

तत्कालीन महान्यायाधिवक्ता शम्भुप्रसाद ज्ञवालीले उक्त मुद्दा दायर गर्न लगाएपछि घटनाले अर्कै मोड लियो । इलाका अदालतले आत्महत्या नभएर हत्या नै भएको निवेदन राजामा जाहेर गर्‍यो । उक्त जाहेरीपछि जमिनदार कारबाहीका भागी भए । असली कसूरदारलाई कारबाही भयो र निरपराध व्यक्ति थुनामुक्त भए । राजा महेन्द्र पनि यो घटनाबाट प्रभावित भएछन् । मलाई पुरस्कारस्वरूप विशेष जाहेरी विभागको जिम्मेवारी दिइयो ।

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: भाद्र २०, २०७४