आफ्नैमाथि आक्रोश

- नेपाल संवाददाता

शिल्पा पोखरेल अभिनीत फिल्म हामी शरणार्थी ८ भदौमा प्रदर्शन भयो । फिल्ममा चिनिएकी अनुहार उनीबाहेक कोही थिएन । दुर्भाग्य ! फिल्मले पैसा त कमाएन नै, आए/गएको सम्म पत्तो भएन । एक त हामी शरणार्थीसँगै अन्य तीन नेपाली फिल्म रिलिज भए, त्यसमाथि यस फिल्मको प्रचार–प्रसार करिब शून्य थियो । जसको प्रत्यक्ष असर पर्‍यो, बक्स अफिसमा । अनि, शिल्पाको छविमा । सायद यही कारण हुनुपर्छ, आफ्नै निर्माण युनिटसँग उनले आक्रोश पोखिन्, फेसबुकमा । उनले लेखेकी छन्, ‘फिल्म बनाउनु ठूलो कुरा होइन । फिल्म चलाउनु सबभन्दा गाह्रो कुरा हो भनेर सबै निर्माताले बुझ्नुपर्ने हो । फिल्म बनाउनूस् तर दर्शकको कानसम्म पनि पुर्‍याइदिनूस् कि फिल्म यति गते चल्दैछ भनेर ।’ तर, शिल्पालाई हेक्का होला त, राम्रो ब्यानरसँग काम नगर्दाको परिणाम हो यो भन्ने कुरा ।

 

प्रकाशित: भाद्र १९, २०७४