झन्डै पदकको पासो

- मनबहादुर बस्नेत

“हेलो ! फलानो सर बोल्नुभएको होइन ?” 

“हो,” निश्चित भएपछि आफ्नो परिचयसहित फोन गर्नुको उद्देश्य बताएँ ।

निकै ध्यान दिएर सुनेपछि उनले मैले खोजेको सूचना दिनुअगावै अचानक सोधे, “पत्रकारिता गर्नुभएको कति भो ?” 

“भयो पाँच–सात वर्ष,” सामान्य सोधपुछ होला भनेर टिपनटापन शैलीमा जवाफ फर्काइदिएँ । 

“ओहो ! त्यत्रो भइसकेको रहेछ !” उनले आश्चर्यबोधक शैलीमा भने, “अलि अस्ति नै हाम्रो सम्पर्क भएको भए हुन्थ्यो । अब त केही गर्न सकिँदैन ।” गर्नुपर्ने के थियो ? अनि, नसकिनेचाहिँ के हो ? म रनभुल्ल परेँ र सोधेँ, “किन र ?” 

“होइन, बेलैमा भएको भए पदक पाउने सूचीमा तपाईंको नाम चढाउन सकिन्थ्यो, यत्रो वर्ष काम गरिसक्नुभएको रहेछ,” उनको भनाइले म एकछिन त अलमलमा परेँ । 

प्रसंग हो, सरकारले बर्सेनि दिने विभिन्न मानपद्वी र विभूषणहरुको । गणतन्त्र दिवसका दिन यसपालि पनि थुप्रै विवादास्पद व्यक्तिहरुलाई पदक बाँड्ने सूची निस्कियो । अधिकांशले ‘ अपग्रेड’ भएर उपल्लो स्तरको पदक एवं विभूषण पाए भने केही विवादास्पद व्यक्ति पनि विभूषित भए । यही विषयमा रिपोर्टिङका सिलसिलामा गृह मन्त्रालयका उल्लेखित व्यक्तिसँग सम्पर्क गरेको थिएँ । उनी मन्त्रालयमा विभूषण शाखाका उपल्ला तहका कर्मचारी हुन्, जसले ‘आपसमा मिलाएर पदक पाउने सूचीमा चढाउन’ सम्भव हुने अलौकिक कुरा हाकाहाकी सुनाए । 

ताज्जुबको कुरा त यो हो कि यी व्यक्तिसँग मेरो सामान्य चिनजानसमेत थिएन । पहिलोपटकको सम्पर्क, त्यसमाथि देखादेख पनि होइन । तर, ठाडै ‘पदक दिइने’ प्रस्ताव पो राखे । “यसपालि यस्तै भयो, अब भेटघाट गर्नुपर्छ अनि अर्कोपालि मिलाऔँला नि !” उनले निर्धक्कै भने । आफूलाई केही सूचना हात लगाउनु थियो र अर्को साता भेट्ने वाचा गरेँ । भेटेँ र आफ्नो काम फत्ते गरेँ । विभूषण र पदक सम्मान यो हदसम्म गिरेकामा भने लाग्नु चिन्ता लागिरह्यो । तर, हामीले चिन्ता गरेर के हुन्छ र ? चिन्ता गर्ने जिम्मेवारी पाएकाले गरिदिए पो !

 

प्रकाशित: भाद्र १९, २०७४