‘गिद्ध देखेर अनुहार खुम्च्याउने होइन, आनन्दित हुनुपर्छ’

- मनोज पौडेल

कृष्ण भूसाल, ३२, लोपोन्मुख पन्छी गिद्धका अध्येता एवं संरक्षणकर्मी हुन् । गिद्धको अनुसन्धान गर्न मुलुकका ५६ जिल्ला पुगेका भूसालले प्राणीशास्त्रमा स्नातकोत्तर गरेका छन् । गिद्धप्रति सचेतना जगाउन नौ वर्षअघिदेखि बर्सेनि सेप्टेम्बर महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । यसै सन्दर्भमा भूसालसँग गरिएको कुराकानी : 

किन यतिपछि आएर मात्र गिद्ध सचेतना दिवस मनाउन थालिएको हो ?

गिद्धको महत्त्वबारे सीमित व्यक्तिबाहेक धेरैलाई थाहा थिएन । गिद्ध हराउँदै गएपछि बिस्तारै पर्यावरणीय चक्र र सनातन खाद्यशृंखला असन्तुलित हुँदै जान थाल्यो । दुर्गन्ध बढ्यो । रोग–व्याधिको त्रास भयो । यसरी पारिस्थितिकीय प्रणाली असन्तुलित बनेपछि सरोकारवाला सचेत भए र ढिलै भए पनि यो दिवस मनाउन थालियो । 

दिवस मनाएपछि गिद्ध संरक्षणमा के फरक आएको छ ? 

यस्ता कार्यक्रमले समाजको तल्लो तहसम्म गिद्धको महत्त्वबारे सन्देश प्रवाह हुन्छ । आफूलाई फाइदा गर्ने भएपछि सामाजिक एकाइहरू स्वत: संरक्षणमा जुट्ने वातावरण बन्न सक्छ । 

तपाईंचाहिँ गिद्ध संरक्षणमा कसरी लाग्नुभयो ?

मेरो घरनजिकै गिद्धको बासस्थान थियो । गिद्धले सिनोमा लुछाचुँडी गरेको देख्थेँ । सायद त्यतिबेलैदेखि गिद्धबारे उत्सुकता जाग्यो, मेरो अवचेतनमा । त्यसपछि मैले प्राणीशास्त्र पढेँ । त्यही भएकाले गिद्धबारे अध्ययन गर्नु मेरा लागि सहज र कौतूहल दुवै थियो । 

गिद्धको नाम सुन्दै धेरैले राम्रो मान्दैनन्, तपाईंचाहिँ यसकै पछाडि लाग्नुभएको छ, किन  ? 

सिकारी चरा समूह अन्तर्गत पर्ने गिद्ध ठूलो मांसाहारी पन्छी हो । यसले सिनो खाएर वातावरण प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउँछ । त्यसैले गिद्ध देखेर अनुहार खुम्च्याउने होइन, आनन्दित हुनुपर्छ भनेर म गिद्ध संरक्षणमा लागेको हुँ ।  गिद्धको धार्मिक र सांस्कृति महत्त्व पनि छ । 

धार्मिक र सांस्कृतिक महत्त्व भन्नाले ? 

हिन्दु धर्ममा गिद्धलाई शनि देवताको वाहनका रूपमा पुजिन्छ । रामायणमा रावणले सीतालाई हरण गरी लंका लैजाँदा सीतालाई बचाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ । नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्बती मूलका लामा समुदायले गिद्धलाई मृत आत्मा स्वर्ग पुर्‍याउने दूतका रूपमा पुज्ने गर्छन् । उनीहरूले शव गिद्धलाई खुवाउने कारण यही हो । 

गिद्ध लोप हुनुको मुख्य कारण के हो ?

सन् १९९० को मध्यदेखि दक्षिण एसियाका नेपाल, भारत र पाकिस्तानमा गिद्धको संख्यामा ह्रास आएको हो । यसको कारक घरपालुवा जनावरको उपचारमा प्रयोग गरिने औषधि ‘डाइक्लोफेनेक’ हो । 

कसरी ? 

सुन्निएको र दुखेको निको पार्न पशुलाई डाइक्लोफेनेक नामक औषधि दिइन्छ । यो औषधि खुवाएको पशुको सिनो गिद्धले खायो भने औषधिको विषाक्तपनले गिद्धको रगतमा युरिक एसिडको मात्रा बढाउँछ । र, ‘भिसरल गाउट’ गराउँछ । त्यसपछि मिर्गौलाले ‘युरिक एसिड’ छान्न सक्दैन र गिद्ध मर्छ । गिद्धले समूहमा खाने हुँदा डाइक्लोफेनेक प्रभावित एउटै सिनोबाट ठूलो संख्यामा मर्छन् । 

तर, यो औषधि त प्रतिबन्धित छ नि ? 

हो, सरकारले विसं ०६३ देखि यो औषधिमा प्रतिबन्ध लगाएको छ । तर, बासस्थान विनाश, आहारा अभाव, विषादीको बढ्दो प्रयोग, बासस्थान वरपर विद्युतीय तार लैजानुले सानो संख्यामा रहेका गिद्धलाई अझै संकटमा पारिरहेको छ । 

नेपालमा गिद्धको अवस्था कस्तो छ ?

डेढ दशकअघिसम्म हाम्रो हिमालदेखि तराईसम्म गिद्धका थुप्रै समूह देखिन्थे । तर, आज त्यो दृश्य दुर्लभ बनेको छ । सन् २००२ देखि २०१० सम्मको राजमार्ग ट्रान्सेक्ट सर्भेबाट डङ्गर प्रजातिको गिद्ध ९१ प्रतिशतले घटेको छ । तर, सन् २०१३ देखि २०१७ को सर्भेमा भने गिद्धको संख्या घट्ने दरमा स्थिरता देखिएको छ । नेपालमा पाइने सानो खैरो, डङ्गर, लामो ठुडे र सुन गिद्धलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले अति सङ्कटापन्न र सेतो गिद्धलाई सङ्कटापन्न सूचीमा राखेको छ । 

यस्तो सूचीको अर्थ के हो ? 

अतिसङ्कटापन्न सूचीमा परेका प्रजाति अब १० वर्षभित्र लोप हुने सम्भावना ५० प्रतिशत हुन्छ ।  तर, सचेतनाकै कारण हालका वर्षमा भने गिद्धको विनाशदरमा कमी आएको छ । 

गिद्धको पखेटामा स्याटेलाइट लगाएर अध्ययन भइरहेको छ । यसबाट कुन कुरा अध्ययन गर्न खोजिएको हो ? 

गिद्धबारे यसरी काम भएको विश्वमै पहिलो हो । चितवन राष्ट्रिय निकुञ्जको ‘भल्चर ब्रिडिङ सेन्टर’मा हुर्काइएका ६ वटा गिद्धका पखेटामा ‘स्याटेलाइट ट्याग’ लगाइएको छ । यसबाट गिद्धको चाल, उसको खानपिनलगायतका गतिविधिको सूचना लिइन्छ । यसले गिद्धको संरक्षण र अनुसन्धानमा थप सहयोग पुग्ने आशा छ । 

प्रकाशित: भाद्र १९, २०७४