पश्चिम मधेसमा अर्को दल !

  • प्रदेश–५ मा निर्वाचन बहिष्कार तर प्रदेश–२ मा स्वीकारको राजपा रणनीतिका कारण असन्तुष्ट हृदयेश त्रिपाठी अर्को राजनीतिक कोर्स लिने तयारीमा

- सीताराम बराल

नवलपरासी सदरमुकाम परासीमा ३ असारमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)द्वारा आयोजित आमसभामा सम्बोधन गरेका अध्यक्ष मण्डलका नेताहरू राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झाले प्रदेश–५ को निर्वाचन फिर्ता नहुने हो भने प्रदेश–२ मा घोषित निर्वाचन पनि हुन नदिने उद्घोष गरे । 

घोषणा गरे अनुसार राजपाले प्रदेश–५ को निर्वाचन त बहिष्कार गर्‍यो । तर, नयाँ सीमांकनसहित संविधान संशोधन गर्नुपर्ने माग पूरा नहुँदै राजपा प्रदेश–२ को स्थानीय तह निर्वाचनमा सहभागी हुने निर्णयमा पुगेको छ । ६–७ भदौको राजपाको पदाधिकारी बैठकले प्रदेश–२ मा बाँकी स्थानीय तह निर्वाचन मात्र होइन, मंसिरका लागि घोषित प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) लगायत मधेसकेन्द्रित ६ राजनीतिक दल मिली बनेको राजपा पदाधिकारी बैठकको यो निर्णयसँगै राजपा प्रदेश–२ को स्थानीय तह निर्वाचनमा होमिएको छ । 

राजपाका नेताहरू

एकाएक प्रदेश–२ को निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णयले यो प्रदेशबाहेकका नेता–कार्यकर्तामा असन्तुष्टि चुलिएको छ । प्रदेश–२ को निर्वाचनमा विजय हासिल गर्न जति कठिन छ, राजपा नेतृत्वका लागि अन्य प्रदेशका नेता–कार्यकर्ताको असन्तुष्टिको व्यवस्थापन गर्न झन् कठिन बनेको छ । खास गरी प्रदेश–२ पछि मधेसवादी राजनीतिको अखडा मानिएको प्रदेश–५ अन्तर्गत नवलपरासी, रुपन्देही र कपिलवस्तुका नेता–कार्यकर्ता पार्टीसँग असन्तुष्ट देखिन्छन् । उनीहरूका भनाइमा, पार्टी नेतृत्वले प्रदेश–२ लाई मात्र मधेस मानेकाले त्यसबाहेकका प्रदेशका मधेसी नेता–कार्यकर्ताले विकल्प खोज्नुपर्ने बेला आएको छ । 

कारण : दोहोरो मापदण्ड 

दोस्रो संविधानसभा निर्वाचनमा राजपामा आबद्ध दलले प्रत्यक्षतर्फ जति सिट जितेका थिए, त्यसको आधा सिट तमलोपा एक्लैले प्रदेश–५ बाट जितेको थियो । प्रदेश–२ मा राजपाका पूर्वघटक दलहरू सद्भावना, तराई मधेस सद्भावना पार्टी र तमलोपाले एक–एक गरी जम्मा तीन सिट मात्र जितेका थिए भने प्रदेश–५ बाट तमलोपा एक्लै तीन सिट जित्न सफल भएको थियो । यसको एउटा कारण थियो, हृदयेश त्रिपाठी (नवलपरासी), सर्वेन्द्रनाथ शुक्ल (रुपन्देही) र बृजेशकुमार गुप्ता (कपिलवस्तु)जस्ता नेताहरू प्रदेश–५ का हुनु । यद्यपि, दोस्रो निर्वाचनमा त्रिपाठी आफैँ पराजित भए । ०४८ यताका हरेक निर्वाचनमा विजय हासिल गर्दै आएका त्रिपाठीका लागि यो पहिलो पराजय थियो । 

राजपाको निर्वाचनसम्बन्धी निर्णयले प्रदेश–५ को मधेसी समाज झनै विभेदमा परेको बताउने राजपाका नेता सर्वेन्द्रनाथ शुक्ल भन्छन्, “प्रदेश–५ अन्तर्गतका तराई–मधेसका जिल्लामा हामीले राम्रो परिणाम ल्याउन सक्ने स्थिति थियो, यदि नेतृत्वले निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरिदिएको भए ।” तर, बहिष्कारको निर्णयका कारण कतै साँच्चिकै बहिष्कार र कतै स्वतन्त्र उम्मेदवार उठाउनु परेकाले स्थानीय निकायको निर्वाचनमा राजपाले आधिकारिक प्रतिनिधि पठाउन सकेन, पार्टीको वास्तविक शक्तिको परीक्षण हुन नसकेको शुक्ल बताउँछन् ।

प्रदेश–२ को निर्वाचनमा भाग लिने निर्णय गरेका राजपाका नेताहरूले भने दुई चरणका निर्वाचनसम्म सीमांकनसहितको संशोधन विधेयक निर्णयार्थ व्यवस्थापिका–संसद्मा पेस नगरिएका कारण यसअघिका निर्वाचन बहिष्कार गरिएको तर्क दिने गरेका छन् । तर, प्रदेश–५ का नेताहरूचाहिँ यो कुरा मान्न तयार छैनन् । उनीहरूका भनाइमा, प्रदेश–१, ५ र ७ मा दुई चरणमा भएका निर्वाचन बहिष्कार तर तेस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णयको मुख्य कारणचाहिँ अध्यक्ष मण्डलका सबै नेता प्रदेश–२ का हुनु हो । राजपाका असन्तुष्ट नेता हृदयेश त्रिपाठी भन्छन्, “आफ्नो प्रदेशमा कांग्रेस, एमाले, माओवादीजस्ता ठूला दलले जिते भने आफ्नो दारीमा आगो लाग्छ भन्ने ठान्यो हाम्रो अध्यक्ष मण्डलले । मधेसका माग पूरा नभए पनि प्रदेश–२ मा निर्वाचन लड्ने निर्णय गर्नुको भित्री कारण यही हो ।”

त्रिपाठीले भनेजस्तै, मधेसकेन्द्रित ६ दल मिलेर बनेको राजपाको अध्यक्ष मण्डलका ६ नेतामध्ये तीन जना महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादव सर्लाहीका हुन् । बाँकी तीनमध्ये शरद्सिंह भण्डारी महोत्तरीका हुन् भने राजकिशोर यादव सिरहा र अनिल झा रौतहटका । स्थानीय निर्वाचन परिणामको असर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पर्ने भएकाले बाँकी दुई तह (प्रदेश र प्रतिनिधिसभा) निर्वाचनको परिणामको माहोल बनाउन पनि राजपा नेतृत्वले प्रदेश–२ को निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको बुझ्न कठिन छैन । 

स्थानीय तह निर्वाचनमा प्रदेश–२ मा मात्र प्रतिस्पर्धा गर्ने निर्णयले बाँकी प्रदेशका नेता–कार्यकर्तामा के सन्देश प्रवाहित हुन पुगेको छ भने, राजपाका लागि अब प्रदेश–२ बाहेक अन्य प्रदेशहरू कम महत्त्वका हुन् । नेतृत्वले कम महत्त्व दिएकाले पनि उनीहरूले अब प्रदेश–५ मा मधेसवादी राजनीतिको भविष्य कमजोर देख्न थालेका छन् । तराई–मधेसका मामिलाका जानकार तुलानारायण साह भन्छन्, “मधेसकेन्द्रित दलहरूको यस्तो निर्णय र गतिविधिले मधेसको राजनीति प्रदेश–२ मा मात्र केन्द्रित हुने देखिँदैछ । अब प्रदेश–५ को मधेसी राजनीतिले अर्कै कोर्स लिने सम्भावना छ ।”

"राजपाको नेतृत्वले हृदयेश त्रिपाठीको असन्तुष्टिको सम्बोधन गर्ने कोसिस थालेको छ । "

राजकिशोर यादव, नेता, राजपा

विकल्प खोज्दै त्रिपाठी 

पहिलो संविधानसभाकालमै मधेसकेन्द्रित दलहरू जब ‘एक मधेस एक प्रदेश’को नाराबाट ‘कम्तीमा दुई प्रदेश’मा ओर्ले, मधेसी राजनीति मानसिक रूपमा पूर्वी मधेस र पश्चिमी मधेसमा विभाजित हुन पुग्यो । मधेसवादी राजनीतिमा पूर्वी मधेसका नेताहरू हाबी रहेको अवस्थामा मधेसवादी दलहरूले ‘एक मधेस’को साटो ‘दुई प्रदेश’लाई स्वीकारेपछि पश्चिमी मधेसका नेता हृदयेश त्रिपाठी त्यो भूगोलको मनोविज्ञान समेटिने गरी छुट्टै राजनीतिक दल निर्माण गर्नुपर्ने ठहरमा पुगिसकेका थिए । भलै, उनले यो विचारलाई सार्वजनिक रूपमा प्रकट गरेनन् । 

तर, वैशाख पहिलो साता मधेसकेन्द्रित ६ दलको एकतामार्फत राजपा निर्माण भएपछि नेतृत्वको संरचना जसरी तयार पारियो, त्यसले जसरी प्रदेश–२ को स्थानीय तह निर्वाचनमा मात्र भाग लिने निर्णय गर्‍यो, त्रिपाठी राजपासँग मानसिक रूपमा मात्र टाढिन पुगेनन्, आफ्नो योजनालाई कार्यरूप दिने तयारीमा समेत लागे । दोस्रो चरणको निर्वाचनपछि नेपालगन्ज र भैरहवामा पश्चिम क्षेत्रका नेता–कार्यकर्ताको भेला त्यसैको उपज हो । त्रिपाठी भन्छन्, “मधेसलाई हेर्ने सवालमा राजपा नेतृत्वमा दोहोरो मापदण्ड देखिँदैछ । यही कारण आगामी दिनमा प्रदेश–५ मात्र होइन, प्रदेश–१ का नेता–कार्यकर्ताले समेत राजपामा रहने–नरहने निष्कर्ष निकाल्ने समय नजिकिँदैछ ।” 

त्रिपाठीको भित्री असन्तुष्टिचाहिँ राजपा निर्माण गरिँदा अध्यक्ष मण्डलमा नराखिनु हो । हुन पनि, पूर्वघटक दलको नेतृत्व गरेकैले त्रिपाठी भन्दा कनिष्ठ अनिल झा अध्यक्ष मण्डलमा राखिए । ०६३ को मधेस आन्दोलनपछि मात्र मधेसी राजनीतिमा आएका महन्थ ठाकुर, शरद् सिंह भण्डारी, राजकिशोर यादव, महेन्द्र यादवहरू अध्यक्ष मण्डलमा परे । तर, सद्भावनाकालदेखि नै मधेसी राजनीति गर्दै आएका त्रिपाठी अटाएनन् । यसैलाई आधार बनाएर त्रिपाठीले असन्तुष्टि पोख्न थाले । तर, उनको असन्तुष्टिको सम्बोधन नेतृत्वले गर्न चाहेन । 

अध्यक्ष मण्डलका राजकिशोर यादवका भनाइमा, नेतृत्वले त्रिपाठीको असन्तुष्टिको सम्बोधन गर्ने कोसिस थालेको छ । ठाकुरले प्रदेश–२ को स्थानीय तह निर्वाचनअघि नै त्रिपाठीलाई अध्यक्ष मण्डलमा सामेल गर्ने वचन दिएका छन् । तर, त्यो वचन पालन गर्न ठाकुरलाई किन कठिन छ भने अध्यक्ष मण्डलमा प्रवेशलगत्तै राजपामा त्रिपाठी शक्तिशाली र ठाकुरमाथि पनि हाबी हुने भय अरू नेतालाई छ । त्यसैले आफूलाई समायोजन गरिने कुरामा त्रिपाठी त्यति आशावादी छैनन् । र, आफ्नो राजनीतिक विकल्पबारे सोच्न थालिसकेका छन् । 

स्रोतका भनाइमा, त्यसमध्ये पहिलो विकल्प पश्चिम मधेसको प्रतिनिधित्व गर्ने छुट्टै मधेसवादी दलको निर्माण हो । दोस्रो विकल्प, मधेसवादी वा तीन ठूला दलमध्ये एक राजनीतिक दलमा प्रवेश हो । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताका भनाइमा सबै मधेसकेन्द्रित दलको नेतृत्व पूर्वी मधेसका नेताहरूले गरेको अवस्थामा त्रिपाठीले पश्चिम मधेसको मनोविज्ञानको प्रतिनिधित्व हुने गरी नयाँ दल निर्माण गरे भने त्यस क्षेत्रका राजपाका अधिकांश नेता–कार्यकर्ता मात्र होइन, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमका नेता–कार्यकर्ता पनि त्रिपाठीतिरै आकर्षित हुन सक्छन् । नयाँ दल गठन गर्दा मधेसमा ठूलो संख्यामा रहेका मुस्लिम र थारू समुदायलाई समेत समेट्न सकिने विश्वास त्रिपाठीलाई छ । 

प्रदेश–५ अन्तर्गतका तराई–मधेसका जिल्लामा हामीले राम्रो परिणाम ल्याउन सक्ने स्थिति थियो, यदि नेतृत्वले निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरिदिएको भए । 

सर्वेन्द्रनाथ शुक्ल, नेता, राजपा

तर, त्रिपाठीको इतिहासले बताउँदैन कि आफैँ नेतृत्व गर्ने गरी उनले छुट्टै दल निर्माण गर्नेछन् । सद्भावना पार्टीमा हुँदा होस् वा ०५५/५६ ताका सद्भावना विभाजन गरी रामेश्वर राय यादवको नेतृत्वमा संसद्मा नयाँ दल निर्माण गर्दा उनले आफूलाई ‘सेकेन्डम्यान’मै सीमित गर्न चाहे । ०६४ मा तमलोपा गठन गरिँदा पनि उनी त्यही भूमिकामै सीमित रहे । शुक्लका भनाइमा, अहिले पनि त्रिपाठीको चाहना राजपाको मुख्य नेतृत्वका लागि होइन, अध्यक्ष मण्डलमा पर्ने मात्र हो । 

जानकारहरूका भनाइमा, पूर्वी मधेसमा जस्तै दलबदल गर्ने प्रवृत्ति तीव्र रहेको पश्चिम मधेसमा नयाँ दल गठन गर्न सहज त होला तर त्यो दललाई स्थापित गर्न साँच्चिकै कठिन छ भन्ने त्रिपाठीले राम्रैसँग बुझेका छन् । त्यसैले, नयाँ दल गठनको जोखिम लिनुभन्दा स्थापित कुनै दलमा प्रवेशको विकल्प रोज्न सक्ने अनुमान धेरैको छ । 

अहिले पनि मधेसवादी राजनीतिको केन्द्र पूर्वमा पर्सादेखि–सप्तरीसम्मको क्षेत्र हो भने पश्चिममा नवलपरासी, रुपन्देही, कपिलवस्तु र आंशिक रूपमा बाँके । उत्तिकै के पनि सत्य हो भने पूर्वी मधेसमा मधेसी राजनीतिको मियो उपेन्द्र यादव र महन्थ ठाकुर हुन् भने पश्चिममा त्रिपाठी नै हुन् । तर, त्रिपाठीको मन यतिबेला यति भाँचिएको छ कि, जुनबेला जस्तोसुकै अप्रत्याशित निर्णय गर्ने स्थितिमा पुगे का छन् । 

राजपामा नरहेको स्थितिमा त्रिपाठीको पहिलो रोजाइ सम्भवत: उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम हुने उनी निकटस्थहरू बताउँछन् । तर, त्रिपाठीबाट यादवले आफ्नो नेतृत्वलाई चुनौती देखेनन् भने मात्र फोरममा स्वागत गर्नेछन् । यादव शंकालु बनेको स्थितिमा त्रिपाठीको छनोट कांग्रेस वा माओवादी केन्द्र हुन सक्नेछ । निर्वाचन जित्ने विकल्प रोज्ने हो भने उनको छनोट कांग्रेस हुनेछ भने पार्टीभित्र सम्मानजनक स्थानका लागि माओवादी केन्द्र । यद्यपि, पार्टी नेतृत्वमा समायोजनलाई त्रिपाठीले त्यति ठूलो विषय बनाएका छैनन् । भन्छन्, “आफैँले बनाएको पार्टी (राजपा)को नेतृत्वमा एडजस्ट गर्न त साथीहरूले यति गाह्रो मानिरहेका छन् भने अर्काे पार्टीमा जाँदा नेतृत्वमा एडजस्टमेन्टको विषयलाई इस्यु बनाउने पक्षमा म छैन ।” 

प्रकाशित: भाद्र १९, २०७४