[फिल्म] पुरानै क्यानभासमा नयाँ रङ

  • प्रेमिल फिल्मका पारखी र सलिन–साम्राज्ञी–सलोनका प्रशंसक दंग पर्ने अनि कलात्मकता र नवीनता खोज्नेचाहिँ खिस्रिक्क हुने फिल्म हो, ए मेरो हजुर २ ।

- गोकर्ण गौतम

कुनै समयको हिट फिल्म हो, ए मेरो हजुर । निर्देशक थिए, शिव रेग्मी । हिरो श्रीकृष्ण श्रेष्ठ अनि हिरोइन झरना थापा । शिव र श्रीकृष्ण दिवगंत भए । झरना निर्देशक बनेकी छन्, ए मेरो हजुर २ बाट । तर, नामका पछाडि २ झुन्ड् याए पनि यो फिल्म ए मेरो हजुरको सिक्वेल होइन । झरनाले नयाँ पुस्ताको प्रेम कथा भन्ने प्रयास गरेकी छन्, साम्राज्ञीराज्यलक्ष्मी शाह र सलिनमान बानियाँको साथ लिएर । हिजो उनले खेल्नेभन्दा निर्देशन गरेको फिल्म बेग्लै छ, प्रस्तुति र माहोलमा । तर, कथा भने आफैँमा ताजा या तिलस्मी होइन । पुरानै कथामा नयाँ चरित्र र तिनका केही प्रवृत्ति घुसाएर ‘कलरफुल’ बनाइएको छ । कलात्मक कथ्य संरचनामा होइन, मनोरञ्जनका विद्यमान मसला राखेर ‘टायमपास’ फिल्म बनाउनेमा जोड छ निर्देशकको । 

पोखरामा स्कुल पढ्दा सानैमा प्रेम (सलिनमान)को माया (साम्राज्ञी)सँग माया बसेको हुन्छ । माया पनि उनलाई औधी माया गर्थिन् । बाबुको जागिरका कारण प्रेमले पोखरा छोड् नुपर्छ । तर, मायाको सम्झनाले कहिल्यै छोड्दैन । त्यसैले त लक्काजवान भइसकेपछि पनि माया खोज्दै पोखरा पुग्छ । 

संयोगवश भेट हुन्छ । तर, मायाले चिन्दै–चिन्दिनन् । अस्ट्रेलियाबाट फर्केको केटासँग मायाको बिहे पक्कापक्की भइसकेको हुन्छ । तैपनि, मायाको मन जित्न प्रेमले अनेक यत्न गर्छ । के उसले मायालाई पाउला त ? क्लाइमेक्सले दर्शकलाई झस्काउँछ । 

बाल्यकालकी प्रेमिका खोज्न निस्कने प्रेमीको कथा पर्दामा पटक–पटक हेरिएको छ । यो दृष्टिले फिल्मको मूल कथा एकदम बासी हो भन्न कत्ति पनि अनकनाउनु पर्दैन । रसिलो प्रस्तुतिको आडमा ताजगी दिलाउनचाहिँ सकिन्थ्यो । तर, निर्देशकले गुदीभन्दा आवरणलाई बढी प्राथमिकता दिँदा फिल्म अब्बल हुन सकेको छैन । कथा अघि बढाउने सन्दर्भमा पुरानै सूत्रलाई आत्मसात् गरिएको छ । तैपनि, सहायक पात्र र केही ‘ट्रिटमेन्ट’ले फिल्मको साख बचाएको छ । फिल्ममा त्यस्तो कुनै दृश्य छैन, जुन कथानकको कोणबाट ‘वाह’ भन्न सकियोस् । र, त्यस्तो दृश्य पनि छैन, जसले दर्शकको कन्पारो तताओस् । यसको पटकथा सामीप्यराज तिमल्सिना र हरिहर अधिकारीले लेखेका हुन् । उनीहरूको पटकथामा जसोतसो ‘इन्गेज’ त भइन्छ तर कथामा चुस्तता महसुस हुन्न । लामा दृश्य त छँदैछन् । झिनामसिना लाग्ने पुराना दृश्य पनि पटक–पटक दोहोर्‍याइएको छ, जसले कथाको बहाब बिथोलेको छ ।

फिल्मको मुख्य कमजोरी नै सम्पादन चुस्त नहुनु हो । सुरुआतदेखि क्लाइमेक्ससम्मै यो समस्याले आक्रान्त बनेको छ, फिल्म । करिब २५ मिनेटको बोझिलो दृश्य काटेको भए फिल्म अर्कै तहमा पुग्थ्यो । फुच्चे प्रेम र मायाको सम्बन्ध स्थापित गर्ने, काठमाडौँदेखि पोखरासम्मको यात्रा, अन्तिमतिरको बिहेको प्रसंगदेखि क्लाइमेक्सको दृश्यसमेत जबर्जस्ती तन्काइएको छ । अझ अटोमै फोटो हुँदाहुँदै केही नभएझैँ मायाको स्केच कोर्न लगाउनु त हास्यास्पद छ । यस्ता दृश्यले निर्देशकको अपरिपक्वता झल्काउँछ । न त प्रेमले ‘माया’ भनेर चिच्याएको र गीत गाएको दृश्यले नै दर्शकको मन जित्छ । बरू, पुरानो स्कुले गाडी प्रतीकात्मक छ । 

रमाइलो त पटकथाभन्दा संवाद अनि मूल पात्रभन्दा सहायक पात्र बढी सम्झनालायक छन् । सलिनमानको ‘सिग्नेचनर’ संवाद मात्र होइन, मायाका अधिक संवाद प्रेमिल छन् । साम्राज्ञी र बुद्धि तामाङका कतिपय संवाद उत्तिकै चोटिला छन् । फिल्मको मेरुदण्ड हुन्, सहायक भूमिकामा देखापरेका सलोन बस्नेत र उनको अभिनय । सलोनको चरित्रले मूल कथालाई मूर्त बनाउन उल्लेखनीय योगदान गरेको छ । यसको पहिलो जस पटकथाकारद्वयलाई जान्छ । बरू, झरनाले यतिविघ्न भद्दा चुट्किला र द्विअर्थी संवादलाई किन महत्त्व दिइन्, अचम्म लाग्छ । भलै तिनले दर्शकलाई सतही मनोरञ्जन प्रदान गर्छ । फिल्ममा समलिङ्गी पुरुषभित्रको भावलाई मर्मस्पर्शी शैलीमा पोखिएको छ ।

पृष्ठभूमि संगीत फिल्मको वजन घटाउने अर्को कारक हो । तर, लोकेसन र सिनेमाटोग्राफी साँच्चै तारिफयोग्य छ । सञ्जय लामाले तिलिचो ताललाई जादुई शैलीमा कैद गरेका छन् । मनाङका दृश्य देख्दा जो कोहीको आँखा शीतल हुन्छ । कलाकारको वेशभूषा, सेट पनि त्यस्तै चमकदार छ । गीत–संगीत श्रुतिमधुर त छ नै, कथानकलाई थप जीवन दिएका छन् । 

कोरियोग्राफी पनि ‘रिच’ छ । शङ्कै छैन, निर्माता सुनिलकुमार थापाले दिल खोलेर खर्च गरेका छन् । सुन्दर मुहारको धनी सलिनमानको अभिनय औसत छ । उनका सुरुआती संवाद कृत्रिम लाग्छन् । निखारता ल्याए अभिनयमा उनको भविष्य उज्ज्वल छ । साम्राज्ञीमा भने अपेक्षाकृत ‘ग्रोथ’ छैन । 

अन्तिममा चर्को नारीवादी भाषण चरित्रको ग्राफभन्दा बाहिरको लाग्छ । बरू, सलोनको चरित्र उनकै लागि लेखिएझैँ लाग्छ । उनी दर्शकलाई ‘होल्ड’ गर्न सफल छन् । श्रीकृष्ण श्रेष्ठको ‘ट्रिब्युट क्यारेक्टर’ हुन्, बुद्धि तामाङ । यही फिल्मबाट मन खोलेर तारिफ गर्ने मौका नमिले पनि निर्देशकको रूपमा झरनाको प्रवेश स्वागतयोग्य नै छ । 

प्रेमिल फिल्मका पारखी र सलिन–साम्राज्ञी–सलोनका प्रशंसक दंग पर्ने अनि कलात्मकता र नवीनता खोज्नेचाहिँ खिस्रिक्क हुने फिल्म हो, ए मेरो हजुर २ । हेरुन्जेल पट्यारैचाहिँ लाग्दैन । 

प्रकाशित: भाद्र १७, २०७४