[अनुभूति] अरुणसँग एक दिन

  • अरुण थापाको जीवनमा सर्वाधिक चर्चाको विषय बनेको प्रेम नै थियो । मानिसहरू माया–प्रे मलाई विभिन्न तवरले व्याख्या गर्ने गर्छन् ।

- बीएन जोशी

भनिन्छ, राम्रो मान्छेलाई भगवान्ले पनि चाँडै लैजान्छन् । भनाइ त एउटा बहाना न हो ! मानवीय गुण भनौँ । बाँचुन्जेल पर्दापछाडि कुरा काट्नेहरू नै मृत्युपछि गुणगान गाउनमा तँछाडमछाड गर्छन् । 

गायक अरुण थापा यतिबेला मेरो अगाडिको टेप रेकर्डरबाट गुन्जिरहेका छन् । अरुण थापाको सम्झनाले ओतप्रोत छु । मलाई लाग्छ, नारायणगोपालपछि नेपाली श्रोतामाझ अरुण थापा अत्यधिक चर्चित बने । उनको प्रशंसक म । कतै यात्रामा निस्कँदा झोलामा अडियो क्यासेट बोक्छु ।

आममानिसको जीवनमा अविस्मरणीय क्षण त कमै आउँछन् । तर, उनको जीवनकै उत्तराद्र्धतिरको मेरो एकदिने भेटले थापाको अतीतमा डुब्न पुग्छु ।

गाडीको गति बिस्तारै कम भयो । 

त्यसबखत झन्डै ३ सय ५० किलोमिटर टाढा ओमनको सिमानादेखि यूएईको राजधानी अबुधाबी जाँदै थिएँ । प्रोजेक्टको पिकअप भ्यानलाई फिलिपिनो साथी मार्सलले हाँकिरहेका थिए भने मेरो साथमा कास्की मौजाका नरेन्द्र गुरुङ दाइ थिए । जून महिना चर्को घामले मध्याह्नको तापक्रमलाई लगभग ४५ डिग्रीभन्दा माथि पुर्‍याएको अनुमान थियो मेरो । लम्पसार मरूभूमि मौन थियो । हावाको बेगले ठाउँठाउँमा बालुवाको कणले पुरिएको कच्ची सडक देख्न पनि गाह्रो भयो । घामको रापले पग्लिएको बालुवामाथि गाडीको टायर दबेर चल्न छाड्यो । गीत बन्द हुँदा मेरो मग्न सोचाइमा तगारो तेर्सियो । 

ठाउँठाउँमा गाडी फस्नाले कालोपत्रेसम्म निस्कने त्यो भित्री मरुभूमिको ३५ किलोमिटरको यात्रा बडो सकसपूर्ण बन्दै थियो । ड्राइभर गाडीबाट ओर्लिएर टायरको हावा फुस्काउँदै थिए भने दाजु नरेन्द्र र म पालैपालो सावेलले टायर वरिपरिको मसिनो बालुवा हटाउँदै थियौँ । तातो राप र बग्दो पसिनाको कुरा गरी साध्य थिएन । बल्लबल्ल गाडी गुड्दा पसिनाले भिजेको टिसर्टलाई तातो हावाले भए पनि शीतल पारिदिन थाल्यो । मैले फेरि राहतको लामो श्वास फेर्दै क्यासेट अन गरिहालेँ । अनि, गुन्जिन थाल्यो, जति माया लाए पनि...।

गीत नबुझे पनि संगीतमा झुमेर होला मार्सलले टाउको हल्लाउँदै गाडीको स्टेरिङ घुमाइरहेको थियो । म उसको अनुहारको चमक देखेर अनायासै खुसी हुन्छु ।

केही पल नै सही, गायक थापासँग बिताएको त्यो समय मेरो स्मृतिमा ताजा भएको थियो । कसरी–कसरी त्यतिबेला सुन्धारास्थित होटल पुकारमा उनीसँग भेट भएको थियो । यति चर्चित गायकसँग भेट्न पाउँदा म दंग थिएँ । मलाई लाग्छ, त्यो ०५५ सालको फागु पूर्णिमाको दिन थियो । काठमाडाँैसँग मेरो भर्खरै हेलमेल हुँदै थियो । युवा जोश र उमंग मभित्र व्यापक थियो । त्यसबेला अरुण थापाजस्तो सेलिब्रिटीसँग समय ब्यतीत गर्न पाउँदा मेरो मन उडेर धरहराको टुप्पोमा पुगेसरी उमंगित थियो । 

गीतसँगै उनका व्यक्तिगत जीवनका किस्साहरू पनि उत्तिकै चर्चित थिए । आममानिसले गर्ने टीका–टिप्पणीजस्तै दुरुस्तै रहेछन् उनी । उनको बोली व्यवहारमा देखिन्थ्यो । पुकार होटल र सँगै जोडिएको कर्कलो रेस्टुराँ एन्ड बार त्यो समय केही गायक–संगीतकारहरूको जमघटको जक्सन नै थियो । पुकार होटलको दोहोरी साँझ सायद काठमाडौँकै पहिलो दोहोरी साँझ थियो । यस कारण पनि गायक–संगीतकारको जमघट स्थल बनेको होला । 

त्यस दिन हामी तीन–चार घन्टा सँगै रहँदा खानपिन र गफगाफले माहोल निकै रंगीन बनाएको थियो । चल्तीका गायक यम बराल र राजेशपायल राईसँगको केही घन्टे बसाइमा नै मैले अरुण दाइको रसिकपनका साथै सरल बानीसँग परिचित भइसकेको थिएँ । खानपिनसँगै लामो गफ गरेपछि अरुण दाइ र म सुन्धाराको बसपार्क (वीरगन्जतिरबाट आउने रात्रि बस राख्ने ठाउँ) पोखरीअघिको (जहाँ अहिले सिभिल मल छ ।) पुकार गेस्ट हाउसबाट गफिँदै निस्कियौँ । उनको बोलीसँगै रक्सीको गन्ध आइरहेको थियो । लर्बराउँदो बोलीसँगै निस्किएको थुकको छिटाले मलाई थोरै असहज गराउँदै थियो । सानै उमेरदेखि रेडियो नेपालबाट बजेको उनका गीत सुनी परिचित बनेको अल्लारे केटो म आज उनैको यति समीपमा थिएँ । र, फुरूंग थिएँ । 

कतिपय कुराहरू हल्लाको भरमा सुनेको पनि साँचो हुने रहेछ कि भन्ने लाग्यो उनीसँगको भेटपछि । उनको जीवनमा सर्वाधिक चर्चाको विषय बनेको प्रेम नै थियो । मानिसहरू माया–प्रेमलाई विभिन्न तवरले व्याख्या गर्ने गर्छन् ।

भनिन्छ, प्रेम सूर्यजस्तै चम्किलो हुन्छ । त्यसले जुन चीजलाई छुन्छ, उसको जीवन चैतन्यपूर्ण हुन्छ । तर, अरुण थापाको जीवनलाई प्रेमले खर्लप्पै निलिदियो । धनी बाबुकी छोरीसँग उनले गरेको प्रेमपछिको विछोड नै प्रमुख कारक थियो त ? मेरो मनभित्र उत्सुकताले हुन्डरी मच्याउँदै थियो । त्यस विषयमा आममानिसको धारणाजस्तै । तर, ती सब उनका निजी मामला थिए । म प्रश्न गर्न सक्दिनथेँ । उनको जीवनमा गान्धीको भनाइ ‘प्रेम त्यो हतियार हो, जसको प्रयोगले शत्रु पनि मित्र बन्छ’ पनि चरितार्थ भएन । उल्टै प्रेमिकाकै परिवारले शत्रु बनेर फूललाई निमोठिदियो अपवाद बनेर । म अवाक बनिरहेँ त्यसक्षण ।

आखिर कस्तो प्रेम थियो ? सबल, सक्षम र सम्पन्न रहँदारहँदै पनि अर्कै युवकसँग धुमधाम बिहे गरेर जाने ? प्रश्न अझै अनुत्तरित छ । 

कटनको सामान्य पाइन्ट र सर्ट लगाउने उनी व्यवहारमा भने निकै सरल रहेछन् । पहिले कहिल्यै नभेटको–नचिनेको ठेट्नो मलाई उनी कति आत्मीयताका साथ व्यवहार गर्दै थिए । म खुसीले गद्गद् थिएँ । मेरो विचारमा उनीजस्ता सरल सेलिब्रिटीहरू नेपालमा बिरलै भेटिएलान् । 

भ्यार् भ्यार्...भ्यार्... । गाडी पुन: रोकियो । हल्का स्लोप उकालो बाटो आउनासाथ तातेको रेतभित्र टायर छिरेपछि गाडी बढ्नै सकेन र इन्जिन बन्द भयो । अनि, सँगै बजिरहेको गीत पनि बन्द हुन पुग्यो । गीत बन्द भएसँगै मेरो सम्झनामा आइरहेका ती अतीतका घटनाक्रम पनि भंग भए । 

यो तालले त भरेसम्म पनि सहर पुगिँदैन कि क्या हो जोशी भाइ ? गाडीबाट ओर्लंदै बोले नरेन्द्र दाजु ।

आज बासै मात्रै त पुग्ने हो नि दाजु अबुधाबी । जसोतसो पुगिएला । 

मार्सल पिकअपलाई घ्यारघ्यार पार्दै थियो भने हामीचाहिँ पछाडिबाट बेस्कन ठेल्दै थियौँ । बल्लतल्ल समतल सारोसारो सप्का भेटियो । रापबाट राहत दिन मार्सलले गाडी रोकेर आइस कुलरबाट तीनवटा जुसको प्याकेट निकाले । जुस पिउँदै अगाडि बढ्दा अरुण स्मृतिमा उर्लिए । टेपमा गीत फेरि गुन्जियो , ऋतुहरूमा तिमी हरियाली वसन्त हौ...।

सडकमा खासै चहलपहल थिएन । रंग दल्नेभन्दा पनि फोहोर पानी छ्याप्नेहरू धेरै देखिए । अनुहार नचिनिने गरी रंग दलेका केही युवाहरू मोटरसाइकलमा हल्ला गर्दै हुँइकिरहेका थिए । अरुण दाइको अनुहार पनि रातो रंगले पोतिएको थियो । तर, मेरो अनुहार भने चोखै थियो । चेक सर्टमा ठाँटिएर हातमा एउटा फाइल बोकी हिँडेको मलाई कसैले केही नगर्ला भन्ने लागेको थियो ।

धरहरालाई पछि सार्दै तुरतुरे सुन्धारालाई दायाँ पारेर टक्सार विभाग हँुदै नयाँ सडक गेट निस्कने छोटो बाटोतर्फ हामी लम्कँदै थियौँ । अचानक माथिबाट बर्सेको मुस्ले पानीले हामीलाई निथु्रक्क पार्‍यो । हामी दुवैलाई नराम्ररी झस्कायो । अरुण दाइको अनुहारको रंग स्वाट्टै पखालियो । उनी मलाई हेर्दै ङिच्च हाँसे । दुवैले टाउको छड्के पारेर मास्तिर हेर्‍यौँ । अग्लो घरको बार्दलीबाट एउटी युवती हामीतिरै हेरेर मरीमरी हाँस्दै रहिछिन् । युवतीको हाँसोअगाडि हाम्रो उम्लिरहेको रिस उसै सेलाइगयो । 

मनमनै आफँैसँग रिस उठ्यो । होलीको दिन पनि सर्ट–पाइन्टमा ठाँटिएर हातमा फाइल हल्लाउँदै हिँड्ने आफ्नै सुद्धिसँग टीठ लाग्यो । रुमालले मुख पुछपाछ पारेर दुई भाइ आफ्नै तालमा महाबौद्ध–असनको गल्ली हुँदै अघि बढ्यौँ । कति सरल अरुण दाइ ! म त चकित भएँ । भन्दै थिए, आज बेलुका नमस्ते ब्यान्डको कन्सर्टमा गीत गाउन जानु छ । त्यसैको रिहर्सलका लागि गायक ईश्वर गुरुङलाई भेट्न ठमेल जानु छ । ठहिटी चोकको स्तूपावरिपरि रंगीन लुङ्दर के विधि फर्फराएको । हामी दुवैको मौन नजर एकसाथ ठोक्कियो । मन र विचार भन्ने चीज पनि अचम्मको हँुदोरहेछ । मन मिलेपछि सजीव मात्र होइन, निर्जीव वातावरण पनि प्रेमिल भैजाने । खैर, यिनै सुन्दर रंगीचंगी लुङ्दरजस्तै यिनको वास्तविक जीवन रंगीन भैदिए !

 

गहकिलो हात मिलाइयो उनीसँग । त्यसपछि हामी दुई फरक गन्तव्यका लागि छुट्टियौँ । सोचेथेँ, यस्तै भेटघाट लामो समय चलिरहनेछ । तर, अनायासै कत्ति चाँडो उनी सम्झनामा सीमित भए । 

५ साउन ०५६ मा एकाएक रेडियो र टेलिभिजनले प्रसारण गरेको गायक अरुण थापाको मृत्युको समाचारले म स्तब्ध भएँ । उनीसँग बिताएको होलीको त्यो अविस्मरणीय समय पाँच महिनाअघिको मात्र थियो । सायद त्यो समय चाँडै नै आउँछ भन्ने अनुमान उनले गरेका हुँदा हुन् । त्यसैले अनेक रोगले गाँजिसक्दा पनि निकै फुक्काफाल जिन्दगी बाँच्दै थिए । असमञ्जसका बाबजुद उनको प्रेम युवतीसँग मात्र होइन, लागूपदार्थ र मदिरासँगसमेत थियो । 

४७ वर्षीय छोटो जीवनको अन्तिम समयतिरको उनीसँगको मेरो भेट आज पनि एक सुन्दर सम्झना बनी मभित्र बसेको छ । 

टेप रेकर्डर अघि नै बन्द भइसकेछ । गाडी पनि कालोपत्रे सडकमा चढिसकेछ । म भने अरुण थापाको गीतसँगै उनीसँग बिताएको मीठो समयमा हराइरहेको थिएँ । अहिले भने गाडी आरामसँग रोकियो । गाडीबाट ओर्लंदै गर्दा मार्सल भन्दै थिए, अब लन्च गरेर जानुपर्छ । अलकुवाको त्यो हाइवेमा ठूला लरीहरू तातो हावा हामीतिर मिल्काउँदै दौडिरहेका थिए । गर्मी बिछट्टै थियो । कोही लरीवाला भने राजमार्ग छेउको पसलमा लामालामा मेचमा बसेर खबुज पकुसपकुस भकुर्दै थिए । हामी पनि त्यसैमा सामेल भयौँ । महिनौँपछि यसरी बाटोमा खाना खान बस्दा एकखाले फरक महसुस हँुदै थियो । चिकेन करीको साथमा आधाजति मात्र खबुज मैले निल्न सकेँ । एक्कासि नरेन्द्र दाइले मेरो खुट्टातिर औल्याउँदै भने, ‘भाइ तिम्रो जुत्ताको सोल खसेछ कि क्या हो ? मुनि हेर त !’ 

यसो हेर्छु , जुत्ता त खुट्टैमा देखिन्छ । होइन होला दाइ, भन्छु । 

एकचोटि उठिहेर त भन्छन्, उनी । 

उठ्दा खुट्टाको ब्यालेन्स मिलेन । हो रहेछ । भाषा नबुझे पनि मार्सल त्यो दृश्य देखेर मुख छोपी हाँस्न थाले । लाजले भुतुक्कै भएँ म । त्यत्रा मान्छेका अघि कसरी भुइँको सोल टिप्नू ? बाक्लो क्याटरपिलर जुत्ताको सोल झरेको थियो । नझरोस् पनि कसरी ! तातो रेतमा टेकेर बारम्बार गाडी ठेल्दा र साबेल हान्दा बिजोग भइसकेछ जुत्ताको । लाजलाई पन्छाएर सोल सुटुक्क टिपेँ । मार्सलले सुपर ग्लु किनेर ल्याइदिए । तर, राम्ररी टाँसिएन । मेरो व्यर्थको प्रयास देखेर नरेन्द्र दाइले सान्त्वना स्वरूप भन्दै थिए, तनाव नलेऊ भाइ, सहर पसेपछि उपाय खोजौँला । 

हामी हाइवेमा सरर हँुइकिँदै गर्दा एकपटक फेरि टेपमा गुन्जिदै थिए उनै कर्णप्रिय गायक अरुण थापा । 

प्रकाशित: भाद्र १५, २०७४