[स्मरण] कानुन पाठ्यक्रमको थालनी

- रेवतीरमण खनाल

भारतको पटना विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा कानुनमा स्नातक तहसम्म पढाइ हुने ल कलेज खुल्यो । त्यतिबेला दरबार हाई स्कुलको दक्षिणपट्टिको माथिल्लो तलामा त्यो पढाइ हुन्थ्यो । धेरैपछि प्रदर्शनी मार्गमा आफ्नै भवन बनाएर ल कलेज सर्‍यो । विसं ०२५ सम्म पटनाकै पाठ्यक्रममा पढाइ हुन्थ्यो । त्यसपछि त्रिविसँग सम्बन्धन प्राप्त गरी आफ्नै पाठ्यक्रम बनाउने क्रम सुरु गरिएको हो । 

आफ्नै पाठ्यक्रम बनाउन प्राचार्य रामराज पन्तको अध्यक्षतामा पाठ्यक्रम निर्धारण समिति बनेको थियो । त्यसमा म पनि सदस्य थिएँ । विभिन्न विषयका विद्वान्हरूले पाठ्यक्रम बनाएर समितिमा पेस गरे । मैले पनि नेपालको कानुन प्रणाली, कानुनी इतिहास, रिट निवेदन र सिद्धान्त, बहस पैरवी र नेपालको कानुनी लिखत विषय पढाउनुपर्ने सुझाव दिएँ । समितिका सबै सदस्यले सुझाएका विषयमा छलफल भयो । प्राचार्य पन्तले पटना विश्वविद्यालयको पाठ्यक्रममा रहेको हिन्दु विधिशास्त्र नेपाली पाठ्यक्रममा पनि राख्नुपर्ने बताए । 

पटना विश्वविद्यालयको पाठ्यक्रममा भए पनि हिन्दु विधिशास्त्रका पाठ्यपुस्तक पुन: प्रकाशित नभएकाले बजारमा अभाव थियो । उक्त विषय पढाउने शिक्षक पनि त्यस समयमा पाउन कठिन थियो । मैले सोही कुरा बताएँ । “तपाईंले प्रस्तुत गरेका विषयका पनि त पाठ्यपुस्तक छैनन् नि,” पन्तको भनाइ थियो । ‘म आफैँ ती विषयमा पुस्तक लेख्छु र पढाउँछु,’ भनेपछि मेरो कुरा स्वीकृत भयो । नेपाल हिन्दु राष्ट्र पनि भएकाले हिन्दु विधिशास्त्र हटाउन सुहाउँदैन कि भन्ने कुरा भएपछि कलेजमा पढाइ नहुने तर इच्छाधीनमा उक्त विषय राखियो ।

पाठ्यक्रम स्वीकृत भएपछि मैले सुझाव दिएका विषय पढाउने, अदालती अभ्यास गराउने र ती विषयमा पुस्तक पनि लेख्ने काम गरेँ । रिट निवेदन सिद्धान्त र विवेचना भन्ने पुस्तक नै लेखेँ । त्रिविले प्रकाशित गरेको उक्त पुस्तकको भूमिका शम्भुप्रसाद ज्ञवालीले लेखे । साझा प्रकाशनले दुइटा पुस्तक छाप्यो, बहस पैरवी र नेपालको कानुनी लिखत अनि विश्वका प्रमुख कानुन प्रणाली । यसरी नेपालकै पाठ्यक्रम सुरु भएको कानुनको पढाइ अझै त्यसै अनुरूप चल्दै आएको छ । 

नयाँ शिक्षा योजना लागू भएपछि दिउँसो पढाउनुपर्ने हुँदा सहप्राध्यापकको जागिरभन्दा दरबार नै ठीक लागेकाले मैले पढाउन छोडँे । त्यहीबीच एक दिन कार्यालय जाँदै थिएँ, दरबारको पश्चिम ढोकामा एक जनाले ‘सर, सर †’ भनेर कराएको सुनेँ । हेरेको त कानुनको डीन कार्यालयका परिचर रहेछन् । उनले ‘जरुरी चिट्ठी छ’ भनेर दिए । भर्पाई गरी पठाएँ । कार्यालयभित्र गएर पत्र खोलेँ । हिन्दु विधिशास्त्रको ऐच्छिक विषयमा केही विद्यार्थीले फाराम भरेकाले प्रश्नपत्र बनाइदिन अनुरोध गरिएको रहेछ ।

त्रिवि कानुन संकायका तत्कालीन डीन ध्रुववरसिंह थापाको हस्ताक्षर रहेको यस्तै अनुरोध प्रसिद्ध कानुनविद् रमानन्दप्रसाद सिंह र शम्भुप्रसाद ज्ञवालीलाई समेत गरिएको रहेछ । तर, त्यस विषयमा आफूहरू जानकार नरहेको बताएपछि ज्ञवालीकै सिफारिसमा उक्त प्रस्ताव मकहाँ पुगेको रहेछ । पत्र पढेपछि हाकिमसँग भैपरी बिदा मागेर निस्किएँ । त्यस राती प्रश्नपत्र बनाएर २ बजे सुतेँ । भोलिपल्ट बिहान अंग्रेजी र नेपाली दुवै भाषाका प्रश्नपत्र डीन थापालाई बुझाइदिएँ । खुसी हुँदै उनले भने, “तपाईंले त्रिविको लाज बचाइदिनुभयो ।”

यस घटनाको एक वर्ष मात्र बितेको थियो, वरिष्ठ अधिवक्ता कुञ्जविहारीप्रसाद सिंह मेरो घरमा आए । ‘मैले यसरी घरमा मान्छे भेट्ने गरेको छैन । अफिसियल कुनै काम छ भने अफिसमै भेट्नुहोला’ भनेँ । उनका ज्वाइँ हिन्दु विधिशास्त्र विषयमा अघिल्लो वर्ष फेल भएका रहेछन्, उनैका बारेमा कुरा गर्न आएका रहेछन् । यस वर्ष उत्तरपुस्तिका मकहाँ आउने थाहा पाएर उक्त विषयमा पास गराइदिन भनी अनुरोध गरे । मैले ‘हुन्छ, हेरौँला’ भनेर फर्काइदिएँ । र, अफिसतर्फ लागेँ ।

बेलुका अफिसबाट घर फर्किन्छु त त्रिविका तर्फबाट त्यही विषयका उत्तरपुस्तिका घरमा छोडेको पाएँ । अघिल्लो वर्ष मैले नै तयार गरेको प्रश्नपत्र यस वर्ष पनि दोहोर्‍याइएको रहेछ । गत वर्ष नेपाली भाषामा सोधिएको थियो, यस वर्षचाहिँ त्यसैको अंग्रेजी ‘भर्सन’ । अघिल्लो वर्ष मलाई नै एउटै प्रश्नपत्र अंग्रेजी र नेपाली भाषामा तयार गर्न लगाइएको थियो । दुई वर्ष एउटै प्रश्नपत्रले काम चलाएको देख्दा आश्चर्य पनि लाग्यो । 

सरासर परीक्षा नियन्त्रण कार्यालय, जमल पुगेर तत्कालीन नियन्त्रक सुदर्शन रिसाललाई ती उत्तरपुस्तिका फिर्ता गरिदिएँ । उनले नजाँचीकनै फिर्ता ल्याउनुको कारण सोधे । उत्तरपुस्तिका मकहाँ आउँदै छन् भन्ने कुरा पहिले नै परीक्षार्थीका आफन्तले थाहा पाएकाले फिर्ता गरेको बताएँ । ‘हिजो बिहान मात्रै भन्न आइपुगेको र बेलुका उत्तरपुस्तिका पुगेकाले यस्ता कपी जाँच गर्नु उपयुक्त नलागेकाले फिर्ता गरेको’ बताएर कडै स्पष्टीकरण लेखेर छोडेँ, ‘त्रिविले परीक्षासम्बन्धी यस्ता त्रुटि नसच्याएसम्म प्रश्नपत्र तयार गर्ने र जाँच्ने काम मबाट हुनेछैन ।’

प्रस्तुति: ईश्वरी ज्ञवाली

प्रकाशित: भाद्र १४, २०७४