हिमाली गाडी

  • जनावरलाई प्रशिक्षणचाहिँ पशुपालन व्यवसायमा संलग्न व्यवसायीले नै दिने गरेका छन् । जसलाई स्थानीय भाषामा सदाउनु भनिन्छ ।

- लक्ष्मी गौतम

फिदिम ।। ड्राइभिङ, हाउस वायरिङ, कुकजस्ता प्राविधिक क्षेत्रमा प्रवेश गर्नुपहिले तालिम लिनु अनिवार्य हुन्छ । प्रशिक्षण लिएर मात्र पुग्दैन, औपचारिक रूपमा काम गर्न त लाइसेन्स र प्रमाणपत्र नै हुनुपर्छ । तर, मान्छेले मात्र होइन, हिमाली क्षेत्रमा काम गर्नुपूर्व जनावरले समेत तालिम लिनुपर्छ । सुन्दा अनौठो लाग्छ तर सत्य हो कि, उच्च हिमाली भेगमा याक र जोक्पेलाई तालिम दिएपछि मात्र भारी बोकाइन्छ । नत्र त याक जति नै बलियो होस्, भारी बोकाउन कसैले विश्वासै गर्दैनन् । मोटरबाटो नपुगेको ताप्लेजुङमा मात्र होइन, गाडी दौडने पाँचथर र इलामका उच्च पहाडी र हिमाली भेगमा सामग्री ढुवानी गर्ने माध्यम भनेको याक, जोक्पे र हिमाली शेर्पाहरू मात्रै हुन् । अझ स्थानीय जातका गाईसँग याकको क्रसबाट जन्मिएको जोक्पेको त सामान ओसारपसार गर्नुबाहेक अरू काम पनि छैन । 

ती जनावरलाई प्रशिक्षणचाहिँ पशुपालन व्यवसायमा संलग्न व्यवसायीले नै दिने गरेका छन् । जसलाई स्थानीय भाषामा सदाउनु भनिन्छ । दुई वर्ष पुगेपछि याक सदाउन योग्य मानिन्छ । पाँचथर–इलामका उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षौंदेखि जोक्पेमार्फत सामग्री ढुवानी गराउँदै आएका पेम्बाछिरिङ शेर्पाका अनुसार भारी अड्याउने याकको ढाडमा बाँधेर बगालमा छोडिएसँगै सदाउने कामको सुरुआत हुन्छ । जतिबेला याकले बिगारे/नबिगारेको मात्र हेरिन्छ । यो क्रम पार भएपछि उनीहरूको ताकत अनुसारको माटो वा बालुवाको भारी बोकाएर हिँडाउने अभ्यास गराइन्छ । तेस्रो चरणमा चाहिँ सिङमा डोरीले कसी डोर्‍याइन्छ, गोठबाट कम्तीमा १० किलोमिटर टाढासम्म लगिन्छ र फर्काउँदा एकोहोरो भारी बोकाएर फर्काइन्छ । शेर्पाका अनुसार यति गरेपछि मात्र याक र जोक्पे मानिसका विश्वास पात्र हुन्छन् । सामान बिगार्ने सम्भावना पनि कम हुन्छ । भन्छन्, “ एक–दुईपटक ट्रेकिङमा हिँडाइसकेपछि त अर्कोपटक आफ्नो गन्तव्यसम्म पुग्न मान्छे पछाडि लागिराख्नु पनि पर्दैन ।”

देख्दा जोक्पे र याक भद्दा हुन्छन् तर भारीचाहिँ सहजै बोक्छन् । त्यसो नहँुदो हो त हिमाली गाडीका रूपमा उनीहरू कसरी चिनिन्थे र ? यस क्षेत्रमा उत्पादित घिउछुर्पी, स्थानीयका लागि आवश्यक खाद्य सामग्री मात्र नभई भ्रमणका लागि आउने आन्तरिक र बाह्य पर्यटकका सामग्री पनि जोक्पे र याकलाई नै बोकाइन्छ । समुद्री सतहदेखि ३ हजार ५ सय मिटरभन्दा माथिल्लो उचाइमा जतिसुकै हिउँ पर्ने र जाडो हुने स्थानमा समेत यो प्रजातिका गोरु पाइन्छन् । पाँचथरका उच्च पहाडी क्षेत्रमा लामो समयदेखि याकबाट सामग्री ढुवानी गराउँदै आएका मेमेङ–३ का  प्रेमबहादुर राई (माइला राई)का अनुसार जोक्पेले ६० देखि ८० र याकले ८० देखि १ सय क्विन्टलसम्म भारी बोक्न सक्छन् । जोक्पे दैनिक ४० र याक ५० किलोमिटरसम्म हिँड्न सक्छन् । यिनीहरूलाई भारी बोकाउन लैजाँदा दूरी हेरेर प्रतिकिलो पाँचदेखि सात रुपियाँसम्म भाडा लिइने व्यवसायी शेर्पा बताउँछन् । 

जोक्पे र याकले हिमाली क्षेत्रको जनजीवन सहज बनाउन उल्लेखनीय भूमिका खेलेका छन् । भारतसँग सीमा जोडिएको सन्दकपुर, फालौट, चिवा–भञ्ज्याङ, उत्तरे र गैरीदेखि घुमाथाङ, याङसेप, पहाडेमेगु, तिम्बुङ पोखरीसम्म ढुवानीको पहिलो विकल्प याक र जोक्पे नै हुन् । त्यति मात्र होइन, ताप्लेजुङको विश्वको तेस्रो हिमाल कञ्चनजङ्घा आधार शिविर तथा नेपाल र तिब्बती नाका युरीसम्म सामान पुर्‍याउनसमेत यिनीहरूको प्रयोग गरिन्छ । तर, पछिल्लो समय हिमाली क्षेत्रमा रहेका चौँरी गोठको  संख्या कम हुँदै गएको चौँरी पालकहरू बताउँछन् । हिमाली क्षेत्रको पशुपालन र जडीबुटी संरक्षण तथा व्यवस्थापन क्षेत्रमा काम गर्दै आएको संस्था दीपज्योति युवा क्लब, पाँचथरको तथ्यांक अनुसार त्यस क्षेत्रका १६ जना व्यवसायीका गोठमा भारी बोक्ने ६४ वटा जोक्पे छन् । क्लबले चौँरी व्यवसायीलाई संगठित गर्नुका साथै आय आर्जन र चरन व्यवस्थापनलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्लबका कार्यक्रम संयोजक महेन्द्रवीर राई भन्छन्, “तर, भारत र सिक्किमले सीमावर्ती क्षेत्रको भू–भागलाई संरक्षण गरी वन्यजन्तु आरक्षण गर्न थालेपछि यिनीहरूको चरन क्षेत्र सीमित बन्दैछ ।” 

प्रकाशित: भाद्र १३, २०७४