लाजमार्ग

  • चीनको तिब्बतसँग जोडिएको अन्तर्राष्ट्रिय मार्गको बेहाल

- बसन्तप्रताप सिंह

चैनपुर (बझाङ) ।। पाठेघरको खराबीले अत्यधिक रक्तश्राव भएपछि मष्टा गाउँपालिकाकी चाखुडी बुढाको बझाङमा उपचार हुन सकेन । चिकित्सकले उनलाई सुविधासम्पन्न धनगढी वा नेपालगन्ज अस्पतालमा उपचारका लागि रिफर गरे । 

३१ साउन बिहानको बसमा चढेकी उनको बस एक घन्टा नगुड्दै नारुगौडामा आएर रोकियो । नारुगौडा खोलाले सडक बगाएका कारण गाडी अगाडि बढ्न सकेन । बिहान ८ बजेदेखि बन्द भएको सडक खोल्नका लागि दिउँसो २ बजेतिर मात्र डोजर आइपुग्यो । करिब ५ घन्टा लगाएर डोजरले बाटो खोलेपछि साँझ ७ बजे मात्र बस त्यहाँबाट अगाडि बढ्यो । 

त्यतिन्जेल चाखुडीको अवस्था निकै नाजुक भइसकेको थियो । उनलाई बाटोमा पर्ने देउरा स्वास्थ्य–चौकीमा स्लाइन चढाएर प्राथमिक उपचार गराइसकेपछि मात्र तेस्रो दिन बिहान धनगढी पुर्‍याइयो । संयोगवश उनलाई बाटोमा केही भएन । जीवन जोगियो । किनभने, सडक अवरुद्ध भएका कारण रिफर गरिएको अस्पताल समयमै पुर्‍याउन नसकेर यहाँ महिनैपिच्छे दुई–तीन जनाले बाटोमै ज्यान गुमाइरहेका हुन्छन् । 

बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र माध्यम जयपृथ्वी राजमार्ग असार महिनायता मात्र २७ पटक अवरुद्ध भइसकेको छ । सबैभन्दा लामो अवधि २५ असारदेखि ९ साउनसम्म अवरुद्ध भएको यो राजमार्ग दुई महिनाको अवधिमा ३३ दिन बन्द भएको प्रहरी रेकर्ड छ । 

जयपृथ्वीबहादुर सिंह मार्गको योजना कार्यालयले कालोपत्रे गर्ने काम सम्पन गरी गत जेठको अन्त्यतिर मात्र सडक विभागलाई हस्तान्तरण गर्‍यो । तर, काम नसकिँदै कालोपत्र उप्किन थालिसकेको थियो । 

त्यसैमाथि तमैलको माल्लापड, कचालीखोला, मटेलाको बगडगाउँ, तमैलको जालेबगर, भैरवनाथको सेकु, रायलको देउरा, नारुगाड र बाँझको बागथलालगायतका ठाउँमा सामान्य पानी पर्दा पनि पहिरो आउने र सडक भासिन थालेपछि यहाँका बासिन्दालाई यात्रा गर्न सकस हुने गरेको छ । 

लामो समयसम्म सडक अवरुद्ध हुँदा जिल्लामा औषधि, खाद्यान्न, तरकारी, फलफूललगायत दैनिक उपभोग्य सामानको अभाव हुने गरेको छ । बाटो बन्द भएको बहानामा व्यापारीहरूले सामानको भाउ अप्रत्यासित रूपमा वृद्धि गरेर उपभोक्ता लुट्ने काम यहाँका लागि सामान्यजस्तै भइसकेको छ । 

बझाङीले यस्तो अवस्थाको सामना गर्नुपरेको यो पहिलोपटक होइन । प्रत्येक वर्ष बर्खा र हिउँदमा पानी परेपछि बाटो अवरुद्ध हुनु, औषधि र उपभोग्य सामानको अभाव हुनु, उपचार गर्न जिल्लाबाहिर जान लागेका बिरामीको समयमै अस्पताल पुग्न नसकेर ज्यान गुमाउनु यहाँको नियमितताजस्तै भइसकेको छ । 

बझाङदेखि आठघन्टे गाडीको यात्रामा सजिलै धनगढीसम्म पुग्न सकिन्छ । अहिले विभिन्न ठाउँमा बाटो बिग्रेका कारण चैनपुरबाट छुटेका गाडी धनगढीसम्म पुग्न तीन दिन लाग्ने गरेको यातायात व्यवसायीहरू बताउँछन् । यसबीचमा यात्रुले भोग्नुपर्ने कष्ट र हैरानीको बयान गरी साध्य छैन । 

ठाउँठाउँमा भएको सडक अवरोधलाई पैदल छिचोल्दै र गाडी परिवर्तन गर्दै तीन दिनपछि धनगढी पुगेका स्थानीय सम्राट सिंह भन्छन्, “चारवटा गाडी परिवर्तन गरेर बल्ल धनगढी पुगियो । धेरै ठाउँमा हिँड्नुपर्छ । सामान धेरै भएका, बिरामी र वृद्ध यात्रुको बिजोग छ ।” बाटोमा खानपिनको पनि समस्या हुने बताउँदै विभिन्न ठाउँमा भएको अवरोध पन्छाएपछि आफू चढेको पहिलो गाडी तीन दिन लगाएर पनि धनगढी नपुगेको अनुभव उनले सुनाए । 

चीनको तिब्बतसँग जोडिँदै गरेको यो सडक अन्तर्राष्ट्रिय राजमार्ग पनि हो । सडकको हालत र यात्रुले पाउने दु:ख हेर्दा यसलाई राजमार्ग भन्न पनि लाज लाग्ने धेरै यात्रुको प्रतिक्रिया छ । स्थानीय शिक्षक हरि जोशी भन्छन्, “बर्खाका बेलामा पहिलोपटक यस बाटोमा यात्रा गर्नेहरू अर्काेपटक बझाङ आउन डराउँछन् । राजमार्ग भने पनि बझाङका लागि त यो लाजमार्ग भइसक्यो ।”

पानी परेका बेला मात्र होइन, सुक्खा मौसममा पनि यहाँको यात्रा सहज छैन । कालोपत्रे सकेर डिभिजन सडक कार्यालयलाई हस्तान्तरण नगर्दै धेरै ठाउँमा कालोपत्रे उप्केर कच्चीजस्तै भइसकेको छ । 

जिप चालक मकरराज धामीका अनुसार हिउँदमा पनि सडकमा खाल्टा परेर यात्रा गर्नै नसकिने भएको छ । भन्छन्, “बाटो राम्रो छैन । यो बाटोमा त नयाँ गाडी पनि छिट्टै बिग्रन्छन् ।” खाल्टाखुल्टीका कारण गाडीको पट्टा भाँच्चिने, पानी पसेर हर्न नबज्ने र इन्जिन चाँडै बिग्रने गरेको उनको अनुभव छ । 

गाडी बिग्रँदा निर्धारित समयमा गन्तव्यमा पुग्न ढिलाइ हुने गरेको, कच्ची बाटोमा गाडी हल्लिएर बिरामीलाई निकै दु:ख हुने गरेको छ । धामी भन्छन्, “बागथलादेखि चैनपुर पुग्दा गाडी हल्लिएर सद्धे मान्छे पनि बिरामीजस्तै भइसक्छ । पिच सकिएको एक वर्ष नपुग्दै पूरै बाटो कच्चीभन्दा पनि खत्तम भइसकेको छ ।”

पाँच वर्ष पहिले पिच गरिएको खोड्पेदेखि बागथलासम्मको सडक खण्डमा खासै समस्या नभए पनि तीन वर्षअघिदेखि सुरु गरिएको बागथलादेखि चैनपुरसम्मको ४० किलोमिटर सडकको पिच प्राय: उप्किसकेको छ । ओटासील प्रविधिमा आधारित यस सडकको कालोपत्रेको काम गुणस्तरहीन भएका कारण छिटो बिग्रिएको स्थानीयको आरोप छ । स्थानीय कलक खत्री भन्छन्, “राख्नुपर्ने ठाउँमा नाला राखिएको छैन । सडकको गुणस्तर वृद्धिभन्दा पनि छिटो सकेर मुनाफा र कमिसन कुम्ल्याउनमा ठेकेदार र आयोजना कार्यालय लागेका कारण यस्तो भएको हो ।”

विश्व बैंकको आर्थिक सहयोगमा करिब ३० करोड रुपियाँको लागतमा कालोपत्रे गरिएको यस सडकको बागथलादेखि झोतासम्म लुम्बिनी र लोहनी निर्माण सेवा, झोतादेखि तमैलसम्म कालिका र याक्थुहाङ निर्माण कम्पनी र तमैलदेखि भोपुरसम्म लामा र गोल्डेन गुड निर्माण कम्पनीले कामको जिम्मा लिएका थिए । 

सडकको समानान्तर निर्माण भएका सिँचाइ कुलोहरूबाट चुहिएको पानी तथा शाखा सडक निर्माणका बेला ढुंगा र माटोले पिच बिग्रेको र नियमित मर्मत–सम्भारका लागि कर्मचारीहरूको व्यवस्था नभएका कारण छिट्टै सडक बिग्रिएको डिभिजन सडक कार्यालयका प्रमुख ललिजन खनालको भनाइ छ । 

बझाङको सडक अवरुद्ध हुने तीनवटा कारण छन् । कमजोर भौगर्भिक अवस्था र भिरालो जमिनका कारण जाने पहिरो, राजमार्गसँगै समानान्तर ढंगले निर्माण गरिएका विभिन्न शाखा सडकबाट बगेर आउने ढुंगा, माटो र कम गुणस्तरको निर्माण कार्य । 

बगडगाउँ, देउरा, बागथला, सेकु, मौरीबगरलगायतका ठाउँमा शाखा सडकबाट बगेको माटो थुप्रिएर प्रत्येक वर्ष बर्खामा पटकपटक सडक अवरुद्ध हुने गरेको डिभिजन सडक कार्यालयका प्रमुख खनाल बताउँछन् । भन्छन्, “राजमार्गसँग जोडेर शाखा सडक निर्माण गर्दा यसले पार्ने असरका बारेमा सडक डिभिजनसँग सल्लाह गरेपछि मात्र निर्माण गर्नुपर्ने हो । तर, यहाँ त्यसो हँुदैन । यतिसम्म कि शाखा सडक निर्माण गर्दा राजमार्गमा थुप्रिएको माटो पन्छाउन पनि सम्बन्धित पक्षले ध्यान दिएको छैन ।” शाखा सडकले राजमार्गलाई पारेको असरबारे गम्भीर हुन र समस्या समाधानका लागि आफूले जिल्ला समन्वय समितिलाई पत्राचार गरेको भए पनि यस विषयलाई हल्का रूपमा लिने गरेको उनको अनुभव छ । 

प्रत्येक वर्ष सडकका कारण समस्या हुने भए पनि सुधारका लागि कसैले ध्यान नदिएको बझाङीहरूको गुनासो छ । स्थानीय सुनीता धामी भन्छिन्, “सांसद, नेतादेखि यहाँका जिम्मेवार कर्मचारीहरू यही बाटो ओहोरदोहोर गर्छन् । बाटोकै कारण मानिसहरू मरेको देख्दादेख्दै पनि सुधारमा कुनै पहल गर्दैनन् ।” 

डेढ वर्षअघि स्थानीय विकास मन्त्री हँुदा राप्रपा नेता कमल थापा पनि सडक अवरुद्ध भएका कारण यस बाटोमा ६ घन्टासम्म थुनिएका थिए । आफू काठमाडाँै गएपछि सडक फराकिलो बनाउने र पुन: कालोपत्रे गर्नका लागि पहल गर्ने बताएका उनले पनि जिल्ला पुग्ने अरू ठूला नेता र मन्त्रीजस्तै बझाङीलाई आश्वासन त दिए तर काम भने गरेनन् । बझाङीका दु:ख उस्तै रहे । 

प्रकाशित: भाद्र १२, २०७४