‘जनयुद्ध’का भारतीय लडाकू

  • स्वास्थ्यकर्मीका रूपमा नेपाल छिरेपछि सुब्रत चक्रवर्ती अन्तत: माओवादी सशस्त्र द्वन्द्वका बेला लडाकूका रूपमा नेपाली माओवादी बने ।

- काशीराम डाँगी

लिबाङ (रोल्पा) ।। खास नाम हो– डा सुब्रत चक्रवर्ती तर माओवादीले दिएको नामचाहिँ– डाक्टर विप्लव । भारतीय नागरिक यिनी माओवादीद्वारा १० वर्षसम्म चलाइएको ‘जनयुद्ध’का एक लडाकू अथवा माओवादी छापामार । त्यति मात्र होइन, माओवादी लडाकू दस्ता ‘पीएलए’का डिभिजन भाइस कमान्डर (भीसी) पनि । तत्कालीन सत्ताविरुद्ध नेपालका माओवादीले गरेका आक्रमणमा डा चक्रवर्तीको अनुभव छ । 

स्वास्थ्यकर्मीका रूपमा नेपाल छिरेपछि उनी अन्तत: माओवादी सशस्त्र द्वन्द्वका बेला लडाकूका रूपमा नेपाली माओवादी बने । उनको मुख्य काम त स्वास्थ्यकर्मीको थियो तर उनी माओवादीभित्र सक्रिय लडाकूसमेत बने । माओवादीले कैयौँ स्थानमा ‘रेड’ गर्दा प्रत्यक्ष रूपमा उनी संलग्न भएका थिए– आक्रमण गर्न र घाइतेको उपचार गर्न । त्यही क्रममा उनी माओवादी लडाकूका ‘ होल टाइमर’ बनेका थिए । माओवादीमा लाग्दा नेपालका अधिकांश स्थान घुमेका उनी शान्ति प्रक्रियापछि भने भौतारिँदै घुमुवाका रूपमा समय काट्दै छन् । बिरामी जाँचेर पाएको पैसाबाट पालिँदै आएका उनी पछिल्लो समयमा भने बेखर्चीसमेत बनेको गुनासो गर्छन् । 

पेसाले आयुर्वेदिक चिकित्सक हुन् उनी । उक्त विधामा उनले भारतमै स्नातक तहसम्मको अध्ययन गरे, बीएएमएस । पश्चिम बंगालमा जन्मी–हुर्केका ब्राह्मण परिवारका डा चक्रवर्ती जागिरकै खोजीमा वर्षौंअघि नेपाल छिरेका थिए । नेपालमा आयुर्वेदिक चिकित्साप्रति बढी विश्वास गर्ने थाहा पाएपछि अध्ययनपश्चात् यता आएका थिए, उनी । भन्छन्, “आयुर्वेद पढेपछि काम पाउने आशामा म नेपाल पसेको थिएँ ।” 

विसं ०४४ तिर सुर्खेतमा उनले औषधि पसल थाले । त्यही क्रममा पसल नजिकै बस्ने एक स्थानीय युवतीसँग प्रेम बसेपछि त्यो सम्बन्ध विवाहमा परिणत भयो । एउटी छोरी पनि जन्मिइन् । तर, पछि माओवादी विद्रोहमा गाँसिन पुगेपछि परिवारसँग पूरै सम्पर्क विच्छेद भयो उनको । सशस्त्र विद्रोहको शान्तिपूर्ण समापन भइसके पनि उनको मन शान्त भएको छैन । परिवारसँग विछोडिनु र पराइको देशमा एक्लो अनुभव हुनु उनका लागि पीडादायी छ । “माओवादीमा लाग्दा म परिवारबाट अलग्गिएँ, उनीहरू कहाँ छन्, कुन अवस्थामा छन् थाहा छैन,” उनी भन्छन्, “युद्ध लडेकाहरू सत्ता र शक्तिमा पुगे, म विदेशी भने बीचैमा अलपत्र छु ।”

रोल्पाबाटै सुरु भएको माओवादी विद्रोहले चर्को रूप लिँदै गरेका बेला ०५५ तिर डा चक्रवर्ती रोल्पाको घर्तीगाउँमा औषधि पसल चलाउँथे । त्यो पसल माओवादीलाई नै जिम्मा लगाएर उनी भूमिगत भए । त्यसयता उनले आफ्ना लागि केही सम्पत्ति जोडेका छैनन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रोल्पाली नेता मानबहादुर बुढामगर पनि डा चक्रवर्तीले विद्रोहका बेला उल्लेख्य योगदान गरेको स्मरण गर्छन् । 

रोल्पाको लिस्ने, गाम, रुकुमको खारा, अछामको मंगलसेन, बेनी, बाँकेको रम्बापुर, कपुरकोटलगायतका स्थानमा माओवादीले ‘रेड’ गर्दा डा चक्रवर्ती साथै थिए । पहिलोपटक रुकुमको खारामा आक्रमण गर्दा घाइते भएका २ सय ५ जनालाई उपचार गरेको उनी सम्झन्छन्, “मसहित १२ जना स्वास्थ्यकर्मी थियौँ, दिन–रात भएको भिडन्तमा ज्यान जोखिममा पारेर काम गर्‍यौँ ।” 

माओवादी सशस्त्र द्वन्द्वमा प्रत्यक्ष संलग्न भएपछि उनी एक्ला भएनन् । पूरै जमात, लडाकू र सयौँको संख्याका कार्यकर्ता उनको परिवारजस्तै थिए । त्यसैले हौसिएर तिनले भारतीय नागरिकताको समेत पर्वाह गरेनन् । भन्छन्, “फेरि फर्केर जान मलाई लाज लाग्यो । बरू यतै वैधानिक ढंगले बस्न पाए हुन्थ्यो भन्ने लागेको छ ।” त्यसका लागि नागरिकता दिलाइदिन उनले माओवादीसँग कैयौँपटक आग्रह गरेका छन् । नागरिकता पाउने अपेक्षा र आशामा उनी माओवादी नेताका घर–कार्यालय धाउँदा धाउँदै गलिसकेको बताउँछन् । 

रोल्पाको तेबाङस्थित लिस्ने लेकमा संकटकालको अवधिमा माओवादी र नेपाली सेनाबीच भएको दोहोरो भिडन्तका क्रममा उनले आफ्नो पेसासम्बन्धी सम्पूर्ण कागज हराए । भारतीय नागरिकता र अरू कागजात राखेको झोला नै हराएपछि उनी एक हिसाबले परिचयविहीनजस्तै बनेका छन् । नेपाली सेना समायोजनमा जाने चाहना भए पनि आफू विदेशी नागरिक भएकाले त्यो सम्भव नभएको उनी सुनाउँछन् । “लडाइँ गर्न पठाउँदा ब्रिगेड भीसी भन्थे तर स्वैच्छिक अवकाशमा पठाउँदा मलाई वेवास्ता गरे । न पैसा दिए, न त अहिले सम्झन्छन्,” उनको दुखेसो छ ।

माओवादीमा लाग्नुअघि उनले कम्युनिस्टले कहिल्यै पनि ‘डिभाइड’ गर्दैनन् भन्ने बुझेका थिए । तर, अहिले नेपालको राजनीतिलाई देख्दा कम्युनिस्टकै कारण विग्रहको स्थिति आएको हो कि भन्ने लागेको छ उनलाई । “यसको मुख्य कारण माओवादीले विगतमा जातीय राज्य स्थापना गर्न गरेको प्रयास र गतिविधि नै हुन्,” उनी भन्छन्, “पहिचान र अधिकार खोज्ने नाममा मुलुकको एकता र सम्मानमाथि संकट ल्याउनु हुँदैन । तर, म विदेशी नागरिक भएर त्यसो भनेको होइन, करोडौँ नेपालीको चाहना पनि यही हो ।” 

प्रकाशित: भाद्र १२, २०७४