नोटबुक

- रवीन्द्र मानन्धर

यसो गरे कसो होला ?

स्कुलबाट फर्कंदा मेरो फुच्चे भतिजोको हातमा प्राय: खेलौना, चकलेट आदिले भरिएको गिफ्टको प्याकेट हुन्छ । स्कुले साथीका जन्मदिनमा पाइने कोसेली रहेछन् ती । एउटा कक्षामा कति धेरै विद्यार्थी त, हरेक दिनजसो ‘ गिफ्ट’ पाउनलाई ? कौतूहल जाग्यो । तर, जन्मदिनवाला विद्यार्थीले आफ्नो कक्षा–साथीलाई मात्र होइन, स्कुलका सबै विद्यार्थीलाई गिफ्ट बाँड्नैपर्ने चलन रहेछ त्यहाँ । ३ सय ३० विद्यार्थी भएको उसको स्कुलमा पाइने त्यस्ता एउटै गिफ्टको मूल्य घटीमा ५० रुपियाँ त पर्छ नै । कहिलेकाहीँ त दुई सय रुपियाँभन्दा महँगा गिफ्ट पनि फुच्चेले पाएको छ । सरसर्ती हिसाब लगाउँदा जन्मदिनमा गिफ्ट बाँड्न मात्रै न्यूनतम खर्च करिब १६–१७ हजार रूपियाँ लाग्दो रहेछ । त्यसमाथि स्कुलमा केक काटेर साथीहरुसँग रमाइलो गर्ने चलन त सामान्य नै भयो ।

विद्यालयले अभिभावकलाई ‘तपाईंको नानीको जन्मदिन फलानो दिनमा पर्छ है’ भनेर ‘रिमाइन्डर’ पनि पठाउने गथ्र्यो, जसको उद्देश्य गिफ्टको जोरजाम गर्दै गर्नुहोला भन्ने हुन्थ्यो ।

राजधानीका अधिकांश शिशु विद्यालयमा यस्तो चलन व्याप्त छ भने त्यसको उल्टो भक्तपुरको व्यासी स्थित एभरेस्ट स्कुलमा भने विद्यार्थीको जन्मदिनमा चकलेट बाँड्न वा केक काट्न पूर्ण बन्देज रहेछ । त्यसको सट्टा गच्छे अनुसार विद्यालयमा केही रकम जम्मा गराउने चलन रहेछ । वर्षभरिमा यसरी संकलन भएको रकम विद्यालयले वार्षिक कार्यक्रममा दुर्गमको कुनै विद्यालयलाई सहयोग गर्दाे रहेछ । अनि, दाता विद्यार्थीहरुको नाम विद्यालयको वार्षिकोत्सवमा प्रकाशित हुने स्मारिकामा छापिँदो रहेछ । जन्मदिन मनाउने काइदा त यस्तो पो ! सबै स्कुलले यसो गरे कसो होला ?

रित्तो कुर्सीलाई प्रश्न

विसं ०६८ देखि थालिएको सडक विस्तारका क्रममा उपत्यका विकास प्राधिकरणले जनतालाई सुसूचित नगरेको, सांस्कृतिक सम्पदा र ऐतिहासिक संरचनासमेत जथाभावी मास्न थालेको, पहुँचवाला र सर्वसाधारणबीच विभेद गरेको र मुआब्जामा अन्याय गरेको भन्दै गुनासो गरिरहेका छन्, काठमाडौँका पीडितले । यसै सम्बन्धमा पीडितका प्रश्न र प्राधिकरणको उत्तर दिलाउन एक टेलिभिजन च्यानलले २६ साउनमा कालीमाटीस्थित १३ वडा कार्यालय परिसरमा ‘हामी जनता’ कार्यक्रमको आयोजना गरेको थियो । 

कार्यक्रम भनेकै समय अर्थात् साढे ११ बजे तोकिएको थियो तर प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीको अत्तोपत्तो भएन । अन्त्यमा पौने १ बजे आउन नसक्ने जानकारी गराए उनले । दर्शकदीर्घामा कौतूहल र आक्रोश व्याप्त भयो । अपराह्न १ बजेसम्म पनि कामपाकी उपमेयर हरिप्रभा खड्गी एवं १३ वडाका अध्यक्ष ध्रुवनारायण मानन्धरसँगै राखिएको तिवारीको कुर्सी रित्तै थियो । जनताको बाक्लो उपस्थिति र तामझामको त्यत्रो खर्चपछि कार्यक्रम स्थगित गर्ने कुरै भएन । 

अन्तत: उपाय निस्क्यो, रित्तो त्यो कुर्सीमा ‘भाइकाजी तिवारी अनुपस्थित’ लेखिएको कागज टाँसेर कार्यक्रम अघि बढ्यो । कुनै पीडितको प्रश्न तिवारीप्रति लक्षित भएमा रित्तो कुर्सीतिर फर्केर प्रश्न गर्न भनियो । ‘हामीले तिरेको करबाट तलब खाएर हाम्रै प्रश्न सुन्न र उत्तर दिन आवश्यक नठान्ने तिवारीको राजीनामा अब किन नमाग्ने त ?’ एक पीडितको प्रश्नपछि दर्शकदीर्घा तालीले गुन्जियो । प्रमुख आयुक्त तिवारीले यस्ता प्रश्न टीभीमा सुने होलान् कि ‘म्युट’ गरेर कार्यक्रम हेरे होलान् ? मलाईचाहिँ यही नै उत्सुकताको विषय छ ।

भो, आशा नगरौँ

टेकु पुलको जाममा खचाखच भरिएको बस थियो, त्यसको ढोकामा खुट्टा अड्याउने समेत ठाउँ थिएन । दुई युवती उक्त बसलाई लक्षित गर्दै आए । खलासीले भरिभराउ बसमा पनि ‘खाली छ’को इसाराले स्वागत गर्‍यो । युवतीहरुले मुस्किलले ढोकामा के टेकेका थिए, खलासीले सँगै रोकिएको अर्काे माइक्रोको खलासीतिर आँखा झिम्काउँदै युवतीहरुलाई पछाडिबाट धकेल्न थाल्यो । उसको उद्देश्य महिला यात्रुलाई भित्र पठाउनुभन्दा पनि परि स्थितिको ‘फाइदा’ उठाउनु थियो, यो प्रस्टै बुझिन्थ्यो । खलासीले यस्तो ठेलमठेल चार–पाँचपटक नै गर्‍यो । त्यसबीचमा जाम खुल्यो, माइक्रो हुत्तिँदै अगाडि बढ्यो । माइक्रोको खलासीले बसको खलासीलाई ‘ मोज गर् केटो, मोज गर्’ भन्दै हुइँकियो । अफिस टाइमको व्यस्ततामा मुस्किलले सवारी पाएका ती युवतीले कुनै प्रतिक्रिया जनाएनन् ।

महिलाको बाध्यता र मौनताको फाइदा उठाउँदै सार्वजनिक यातायातमा हुने यस्ता दुव्र्यवहारका घटना नौला होइनन् । हुन त यस्ता व्यवहारलाई निरुत्साहित गर्न हदैसम्मको सजाय हुने र एक समय त महिलाका लागि छुट्टै बसको व्यवस्था गरिने खबर पनि पढिएकै हो । तर, हर्न निषेध तथा जेब्रा क्रसिङबाट मात्र बाटो काट्नुपर्नेजस्ता नियम त ट्राफिक प्रहरीले पाउने कमिसन कटाएपछि प्रभावहीन भए भने ठूला परिवर्तन त्यति सजिलै होला र ? भो, आशा नगरौँ ! 

प्रकाशित: भाद्र १२, २०७४