ग्याङस्टर ब्लुज: फराकिलो कथामा संकुचित निर्देशन

  • नयाँ विषयमा फड्को मार्ने साहसजस्तै निर्देशक हेमराजमा विषय र प्रस्तुतिको पिँधसम्म पुग्ने धैर्य हुँदो हो त ग्याङस्टर ब्लुज हेर्दा जो कोहीको आँत भरिन्थ्यो ।

- गोकर्ण गौतम

युवावयका कथा भन्न माहिर मानिएका निर्देशक हुन्, हेमराज बिसी ।  नेपाली फिल्म भन्नासाथ नाक खुम्चाउने पुस्तालाई हलसम्म होस्टेल, जेरी र गाजलुबाट ताने । सम्बोधनबाट गम्भीर विषय उठाउने प्रयास गरे । नयाँ फिल्म ग्याङस्टार ब्लुज पनि उनको छविभन्दा बाहिरको छ । अर्थात्, यसपटक ‘हार्डकोर लभस्टोरी’ रोजेनन् । बरू  नेपालगन्जमा मौलाइरहेको गुन्डागर्दी र त्यसको बहुआयामिक असरलाई उधिन्ने चेष्टा गरे । पटकथा पनि उनी आफैँले लेखेका हुन् ।  तर, विषयको संवेदनशीलतालाई आत्मसाथ गर्ने परिपक्वता हेमराजमा देखिएन । फराकिलो कथालाई चुस्त र रसिलो बनाउन नसक्दा अब्बल हुने संभावना भत्कियो ।  यस फिल्म औसतभन्दा तल ओर्लिएको छ । तापनि, उनले भिन्न सेटिङको कथा पस्कने प्रयास गरे, जुन आफैँमा सह्रानीय छ । यसो भन्दैमा फिल्म मायाप्रेमको रसबाट मुक्त छ भन्नेचाहिँ होइन । 

कलेजबाट निकालिएपछि आकाश (आशिरमान देशराज जोशी) काठमाडौँबाट गृहनगर नेपालगन्ज फर्किएको छ । आकाशको आगमनले त्यहाँ सानोतिनो गुन्डागर्दीमा संलग्न उसको स्कुले साथी कल्लु (संयम पुरी) लाई राहत मिल्छ । कल्लुकै प्रभाव र बाध्यात्मक परिस्थितिका कारण आकाश गुन्डागर्दीमा हेलिदै जान्छ तर उसको यो रवैया प्रेमिका आरजु (आना शर्मा)लाई पटक्कै मन मर्दैन । परिवारले रुचाउँदैनन् । आकाश आफैँ पनि कुटपिटको संसारबाट बाहिर निक्लन खोज्छ  । तर ,नेपालगन्जको नामुद गुन्डा अफजल (प्रमोद अग्रहरी) बाट भाइ मारिएपछि उसमा चरम बदलाभाव पैदा हुन्छ । राजनीतिक नेताको आर्शीवाद पाएको अफजलसँगको दुश्मनीले आकाशको जीवनमा आउने उत्तारचढावमै केन्द्रित छ, फिल्म ।

 ग्याङस्टरको कथा देखाउन खोजे पनि फिल्ममा भयंकर लाग्ने ग्याङस्टर छैन । न आकाशलाई ठूलो समूहको नाइकेको रूपमा प्रस्तुत गरिएको छ, न अफजल र उसको भाइ नूर (अनुपम शर्मा)लाई नै । 

मध्यान्तरको आधा घण्टापछि फिल्म सकियोझैं लाग्छ, तर,  केन्द्रीय द्वन्द्वसँग सरोकार नराख्ने घटनाहरू आइरहन्छन् । सोही कारण कथाप्रति दर्शकको मोहभंग हुँदै जान्छ । जबकि, यस्ता फाल्तु दृश्यहरू सम्पादनका गर्न सकिन्थ्यो । 

आकाशले काठमाडौंमा अनेक ‘काण्ड’ मच्चाएर फर्किएको कुरा कल्लुले बताउँछ  । तर, अढाई घण्टा लामो फिल्ममा ती काण्ड के थिए, निर्देशकले दर्शकलाई भन्न जरूरी ठानेका छैनन् । आकाश जेल रहुन्जेल उसको बाबुआमालाई नजरअन्दाज गरिएको छ । हत्या र ज्यान मुद्धा लागेको व्यक्तिलाई जेलबाट नेताले सजिलै छुटाएको प्रसंग अपत्यारिलो लाग्छ । आकाश ग्याङस्टर बन्नुपछाडिको दृष्टान्त होस् वा हिरोइनको बाबु गुण्डा हुने ‘ट्वीस्ट’, हिन्दी फिल्मी देखासिकी हो । तैपनि, नेपाली फिल्म मात्र हेर्नेलाई यो नयाँ मसला हुन सक्छ । कल्लुको फतर–फतर बोल्ने शैलीले पर्दाप्रति वितृष्णा जगाउन भूमिका खेलेको छ । डीएसपीको नाम विक्रम गुरुङ हुन्छ तर मध्यान्तरपछि आकाशले नै ‘राम सर’ भनेर बोलाउँछन् । निर्देशकको चरम लापरवाहीको परिणाम हो यो ।  

पात्रको चारित्रीकरण, समीकरण र व्यवस्थापनमा निर्देशकले अब्बलता देखाउन सकेका छैनन् । हरेक पात्रको हत्यापछाडि तर्क चाहिन्छ तर फिल्ममा बेतुकका हत्याहरू देखाइएको छ । जति धेरै हत्या, ग्याङस्टर त्यति नै बलियो हुन्छ भन्ने ह्याङ देखिन्छ निर्देशकमा । अफजल र नूरजस्ता पात्रमा स्थानीयताको आभाष हुन्छ । यस शैलीका गुण्डा नेपाली फिल्ममा यसअघि विरलै देख्न पाइएको थियो ।

जब कथा नेपालगन्जबाट अछाम पुग्छ, पर्दामा जो कोहीको ध्यान जान्छ । फिल्मको सबभन्दा सशक्त भाग भनेकै पछिल्लो २० मिनेट हो । अछामको फाइटको कोरियोग्राफी मौलिक लाग्छ । जे होस्, हलबाट बाहिरिन खोजेका दर्शकलाई क्लाइमेक्सले राहत दिन्छ । क्लाइमेक्स दर्शकको सोचाइभन्दा बिल्कुल भिन्न त छैन, तैपनि यसको खिचाइ र प्रस्तुतिले आँत भरिन्छ । अफजलको बालक–प्रेम, आकाशको आरजुप्रतिको झुकाव, आकाश र कल्लुको दोस्ती, रोजिषा शाहीको नियति प्रसंशनीय छ । कथाको माग अनुसार दृश्यलाई भौतिक रुपमा ‘रिच’ बनाउन निर्माता सरोज न्यौपानेले कन्जुस्याई गरेका छैनन् । ग्याङस्टर र राजनीतिको ‘नेक्सस’लाई पनि बेवास्ता गरेका छैनन् निर्देशकले । ‘आधा कुरा...’ र ‘अवम्बरी...’ गीत श्रुतिमधुर  हुनुका साथै कथानकलाई सबल बनाउन सघाउँछ पनि । तर , कोरियोग्राफी भने फितलो छ । 

लुक्स र उचाईअनुरुप डेब्यु अभिनेता आशिरमानको अभिनय आकर्षक छैन । अन्तिमका दृश्यमा भने तुलनात्मक रुपमा परिपक्वता झल्किएको छ । फिल्ममा टिकिरहन अभिनयमा निखारता ल्याउनु जरुरी छ ।  र, उनलाई आशलाग्दो अभिनेताको कोटीमा राख्न भने सकिन्छ । जेरीबाट मन जितेकी आनाले यसपटक खासै जादु देखाउन सकेकी छैनन् । उनको न भूिमका प्रभावकारी छ, न अभिनय नै । अनुपम यस फिल्मका ‘सरप्राइज’ हुन् । उनमा चरित्रको गहिराइसम्म पुग्ने प्रचुर क्षमता छ । प्रमोदको हुलिया, बोल्ने शैली र भावभंगिमाले भूमिकाको मर्मलाई आत्मसाथ गरेको छ । निडर प्रहरीे अधिकृत देखाउन खोजे पनि रामबाबु गुरुङको उपस्थिति ‘डल’ लाग्छ । शैलेन्द्र डी कार्कीको खिचाइले कथानकको बहाब अपेक्षाकृत वजनदार बनाएको छैन । 

नयाँ विषयमा फड्को मार्ने साहसजस्तै निर्देशक हेमराजमा विषय र प्रस्तुतिको पिँधसम्म पुग्ने धैर्य हुँदो हो त ग्याङस्टर ब्लुज हेर्दा जो कोहीको आँत भरिन्थ्यो । यत्तिकै पनि आशिरमान र आनाका फ्यानचाहिँ निराश हुनु नपर्ला । 

प्रकाशित: भाद्र ९, २०७४