डायस्पोरा नेपालीको राष्ट्रप्रेम

  • यो उपन्यास अमेरिका भासिएका नेपालीको कथा मात्र होइन । विश्वभरका डायस्पोराहरूको व्यथा पनि हो ।

- समीरबाबुु कट्टेल

नेपालमा लामो समयदेखि राजनीतिक सङ्क्रमण चलिरहेको छ । नयाँ संविधान कार्यान्वयनकै चरणमा छ । सम्भावना र अवसरहरू ब्यूँतिन सकेका छैनन् । बेरोजगारी बढ्दो छ । लगभग १ हजार ५ सय युुवा दिनहँु बिनासीप खाडीको गर्मीमा पसिना बगाउन बाध्य छन् । उच्च शिक्षाको उत्कट अभिलाषा बोकेर विदेशिनेको संख्या पनि कम छैन । रोजगारीका लागि खाडी मुलुक जानेहरू येनकेन म्याद पुुगेपछि फर्किन्छन् । पढ्न जानेहरू पढाइ पूरा गरेपछि अवसरको खोजीमा त्यतै रुमल्लिन्छन् । कोही समय अन्तरालमा फर्किन्छन् त कोही त्यतै भासिन्छन् । अमेरिकास्थित कोलोराडो युुनिभर्सिटीका प्राध्यापक विजयराज शर्माद्वारा रचित उपन्यास भास यसै विषयमा केन्द्रित छ ।

यो उपन्यास अमेरिका भासिएका नेपालीको कथा मात्र होइन । विश्वभरका डायस्पोराहरूको व्यथा पनि हो । विदेशमा उच्च शिक्षा हासिल गरेर स्वदेशको सेवामा समर्पित रहने संकल्प बोकेर हिँडेका युुवा के कारणले उतै भुल्छन् भन्ने कुुरा खोतल्छ, उपन्यासले । विदेशमा दीक्षित युवा स्वदेशमा रमाउन नसक्नुका कारण उजागर गरिएको छ । स्वदेश फर्कन रोक्ने नेपाली समाजमा घटेका घटनाको बेलिबिस्तार लगाइएको छ । किताबले अमेरिका घुुमाउँछ/डुलाउँछ । फरक धर्म र संस्कृतिबीचको अन्तरघुलन देखाउँछ । उपन्यासकारको समय बोल्छ, किताबले । पाठकलाई कतै न कतैबाट छुुन्छ, जहाँ पाठकको पनि परिवेश बोलेकै हुुन्छ । 

उपन्यासको मुुख्य पात्र सरलले स्वदेश फर्कन गरेका वाचा, प्रतिबद्धता, संकल्प, तयारीहरू अनायासै भत्किन्छन् । एकपटक फर्किन पूूर्ण तयारी भइसके पनि सरकार र माओवादीबीचको शान्तिवार्ता भंग भएकाले सरलको यात्रा रोकिन्छ । यही समयमा आफ्नी आमाको स्वास्थ्य बिग्रिएर उपचारकै लागि नागरिकतासमेत त्याग्नु परेको प्रसंग हृदयविदारक छ । दरबार हत्याकाण्डपछि आमाको स्वदेशमै देहत्याग गर्ने इच्छा पूरा गर्न नसकेकामा सरलको मन कुँडिइरहन्छ । 

१४ भागमा विभक्त किताबको छैटौँ भागमा वर्णित ढुकुुरको कथा मर्मस्पर्शी छ । सरलको अमेरिकास्थित घरको दलानमा एक जोर ढुुकुुरले गँुड लगाउँछन् । अन्डा पार्छन् र बढो यत्नसँग बच्चा कोरल्छन् । बच्चाहरू हुर्कंदै जान्छन् । सरलको परिवार र ढुुकुरको परिवार आपसमा साथीजस्तै भएका हुुन्छन् । दिनहँुु हेर्ने, नजिकिने, रमाउने, टहलिने बानी नै परिसकेका हुन्छन् । बचेराहरू उड्न थालेपछि ढुुकुुरको त्यो परिवार टाढा कतै जान्छ, साँझ फर्किंदैन । सरललाई यस घटनाले फरक कोणबाट सोच्न बाध्य गराउँछ । आफूजस्तै आप्रवासीसँग तुलना गर्छन्, ढुुकुुरलाई । सायद अवसरको खोजीमा अन्त कतै गए होलान् । ती फर्किन्छन् कि फर्किंदैनन् भन्ने कुराले उसलाई सताइरहन्छ । 

सन् २०१२ मा सरल र शान्ताको बल्लतल्ल नेपाल फर्किने साइत जुर्छ । त्रिभुवन विमानस्थलमा जहाज ओर्लिएसँगै हरेक कुरामा उनीहरू असहजता महसुस गर्छन् । काठमाडौँको प्रदूषण, लोडसेडिङ, चक्काजाम, अव्यवस्थित ट्राफिक, खानेपानीको समस्या, पेट्रोलियम पदार्थको हाहाकारजस्ता समस्याले उनीहरूलाई कायल बनाउँछ । राजनीतिक कारणले सिर्जित अव्यवस्थाप्रति रोष प्रकट गर्छन्, उनीहरू ।

उपन्यासमा विदेश पलायनको कथा मात्र छैन । सशस्त्र द्वन्द्वको मारमा परेर गाउँबाट लखेटिएका अनि सहर पसेका नेपालीको व्यथा पनि छ । गाउँ छाड्न नसकेका बालसखाहरूसँगको भेट रोचक छ । नेपालमै बस्ने कि अमेरिका फर्कने भन्ने विषयमा बालसखा सीमाले दिएको सल्लाहले पाठकसमेतको ध्यान खिच्छ । उनी भन्छिन्, ‘मेरो सल्लाह, तिमी कुुन माटोमा बस्ने महत्त्वपूर्ण होइन । जहाँ बस, नेपालीको मुुटुुमा बस्ने काम गर । भूूमि होइन, उपयुुक्त भूूमिकाको खोजी गर ।’ यसले उपन्यासको महत्त्वपूूर्ण सन्देश उजागर गर्छ । 

काठमाडौँ बसाइकै क्रममा सरलले आमाले किनिदिएको काठमाडौँको जग्गा कुुनै दलालद्वारा बिक्री भएको थाहा पाउँछन् । सरल भन्ने मान्छेबाटै जग्गा बिक्री भएको भन्ने थाहा पाएपछि उनी झन् आश्चर्यचकित हुुन्छन् । अन्तत: मुुद्दा चल्छ, अदालतले सरलको विपक्षमा फैसला सुनाउँछ । यहाँ सरलले नेपाली नागरिकता त्यागेको कुरा बाधक बनिदिन्छ । यो घटनापछि सरल अमेरिका फर्कने निर्णयमा पुुग्छन् । साथी सीमाले दिएको सल्लाहलाई मार्गदर्शन ठान्छन् । उपन्यासले सरलको कथा मात्र भन्दैन, थुुप्रै आप्रवासीको पीडा बोल्छ, वास्तविकता ओकल्छ । 

 उपन्यासकारको लेखोटबाट केही हरफ राख्नु यहाँ वाञ्छनीय छ । उनी लेख्छन्, ‘जब राज्यले नागरिकका चाहनाको उपेक्षा गर्छ, विरोधका आवाज र घटना सुनिन, देखिन थाल्छन्, विदेशिनु पनि राज्यप्रतिको विरोध हो । कसलाई रहर लाग्छ र आफू हुर्केको माटो छोड्न ? आफ्ना प्रियजनको सानिध्य त्याग्न ? आफ्नो भाषा र संस्कृतिबाट टाढा बस्न ?’ यसले पाठकलाई सोच्न बाध्य बनाउँछ । यो भावना उपन्यासकारको मात्र निजी होइन । आमआप्रवासीहरूको प्रतिनिधि भावना भएको प्रस्ट हुन्छ । 

किताबको भाषा सरल छ । उपन्यास केही बसाइमा नै पढिसकिन्छ । किताबमा प्रयोग भएका अंग्रेजी शब्दको अर्थ कोष्ठमा सँगै राखिदिएकाले पाठकलाई अझ सजिलो भएको छ । उपन्यासकी मुख्य पात्र शान्ताको अमेरिका मोह र नेपालप्रतिको वितृष्णा भावले पाठकलाई चिसो लाग्न सक्छ । पढ्दै जाँदा सहज पनि हुुन्छ । कतै न कतै पाठकलाई छुुन्छन्, उपन्यासभित्रका कुुथुुङ्ग्रीहरूले । अमेरिकामा अनेकन सुखभोग गर्न सक्षम, सामाजिक एवं शैक्षिक वृत्तमा प्रतिष्ठित सरलको देशप्रेमले जस्तोसुकै पाठकलाई छुुन्छ । उपन्यासको जीवन्त पक्ष हो यो । लामो समयदेखि अमेरिकामै रहेर काम गरिरहेका उपन्यासकारको अनुभवसमेत भएकाले उपन्यास पठनीय छ । 

प्रकाशित: भाद्र ८, २०७४