[संस्मरण] सम्झना एउटा रोमान्सको

  • देशान्तर साप्ताहिक नेपाली पत्रकारितामा प्रजातन्त्रप्रति समर्पण, त्याग, मूल्य र मान्यता तथा अमूर्त आदर्श अवलम्बनको कथा थियो ।

- किशोर नेपाल

देशान्तर साप्ताहिकको प्रधान सम्पादक भएका बेला मसँग काम गर्ने मेरा एक जना प्रिय भाइ केदार शर्माले आफ् नो फेसबुक वालमा देशान्तर साप्ताहिकले तलब नदिएको स्ट्याटस लेखेका छन् । त्यो स्ट्याटसमा सोझो–घुमाउरो हिसाबले उनले मलाई ‘ धम्क्याएपछि’ तीन महिनाको तलब एकमुष्ट पाएको उल्लेख गरेका छन् । दुर्भाग्यवश † त्यो घटना मेरो जेहेनबाट ‘डिलिट’ भएछ । यो घटनाको सम्झना मलाई भएन । कुनै तरकिबले केदारले तलब पाएछन् । यो नै यथेष्ट भो मेरा लागि ।

तर, मलाई यो भन्न अलिकति पनि हिचकिचाहट छैन, देशका सर्वाधिक संवाददाता र सञ्चारकर्मीहरूको प्रशिक्षणको थलो बनेको देशान्तरमा नियमित तलब नपाउने केदार मात्र होइनन्, अरू धेरै थिए । नामै लिने हो भने पनि लामै हुन्छ सूची । सुवास ढकालदेखि सुरेश आचार्यसम्म, राजेन्द्र दाहालदेखि विष्णु निष्ठुरीसम्म, धरानका हर्ष सुब्बादेखि नेपालगन्जका सिराज खानसम्म, लहानका रामानन्द गुप्तादेखि जनकपुरधामका वृजकुमार यादवसम्म । अरू पनि कतिपय नाम छन्, जसले काम गरेको तलब समयमा पाएनन् । कसैले श्रीमतीको गहना बन्धक राखेर काम चलाए, कतिले सर–सापट गरेर । अहिले म आफैँलाई अनौठो लाग्छ– त्यसबेला भाइहरूले कुन उत्साहले काम गरेका थिए ? 

सुवास, विष्णु, सुरेश, हर्ष, हरिबहादुर थापा, सिराज र रामानन्द पत्रकारितामा सक्रिय छन् । देशान्तरका कार्यकारी सम्पादक शिव अधिकारी निकै ज्ञानी थिए । उनको अल्पायुमा नै निधन भयो । स्वयं केदार शर्मा कविता कर्म र पत्रकारिताबाहेक नेपाली भाषाको लेखन र प्रयोजनको व्याख्यामा सक्रिय छन् ।

झापाका केशव आचार्यले गजलकारका रूपमा ख्याति कमाएका छन् । जनकपुरधामका वृजकुमार यादवको नेतृत्वमा जनकपुर टुडे प्रकाशन समूह सञ्चालन भइरहेको छ । जनकपुर टुडे प्रकाशन समूहमा रेडियो र टेलिभिजन पनि छन् । कति साथीहरू पत्रकारिता छाडेर सक्रिय राजनीतिमा लागेका छन् । महोत्तरीका महेन्द्र मधुकर सांसद भए । धनकुटाका सञ्जय सन्तोषी राजनीतिमा छन् । अहिले बिरामी छन् । सप्तरीका जयप्रकाश आनन्द राजनीतिमा लागे । पटक–पटक सांसद र मन्त्री भए । अहिले प्रतिकूल समय र परिस्थितिलाई चुनौती दिँदैछन् । पत्रकारिताप्रतिको मोह र श्रद्घा घटेको छैन । साथीहरू कति जागिरमा लागे, कति गृहस्थीमा नै रमाए । चितवनका केही भाइहरू अहिले अमेरिका धानिरहेका छन् । कोही कहाँ छन् । कोही यहाँ छन् । अहिले त धेरैका नाम पनि मेरो सम्झनाबाट हराउन थालिसकेका छन् ।

हामीसँग पैसा थिएन । बन्धु थापा देशान्तरको सञ्चालनका लागि रौसिएका थिए । उनको खानदानी ल्याकत एउटा साप्ताहिक चलाउन नसक्ने थिएन । तर, उनी यसलाई खानदानी होइन, स्वनिर्भर बनाउन चाहन्थे । त्यतिखेर बन्धु एउटा जापानी कम्पनीमा काम गर्थे । बन्धुले आफ्नो वचत मात्र होइन, तलब पनि लगानी गरे देशान्तरमा । त्यतिखेर देशमा स्वतन्त्रता थिएन । त्यसैले साहू–महाजनबाट लगानीको आशा गर्नु व्यर्थ हुन्थ्यो । आज स्वतन्त्रताको यो जमानामा त मिडियामा लगानी गर्न लगानीकर्ता डराउँछन् । त्यो समयको त कुरै के गर्नु र ? त्यतिबेला पत्रिकामा लगानी र बालुवामा पानी उस्तैउस्तै हुन्थ्यो । बन्धुको इच्छा देशको राजनीतिमा सक्रिय हुने थियो । उनले यसका लागि समयको जोड–घटाउ पनि गरेका थिए । समयले उनलाई माथ दियो । 

त्यो समय पनि त्यस्तै थियो । निर्दलीय पञ्चायतका नाममा चलेको राजाको लामो अधिनायकवादी शासन व्यवस्थाविरुद्ध हाम्रो दिमागमा एक प्रकारको जुनून थियो । हामी पत्रकार मात्रै थिएनौँ, पत्रकारिता परिवर्तनको माध्यम बन्नुपर्छ भन्ने विचारका प्रवक्ता र वाहक थियौँ । त्याग र उत्सर्गको भावना थियो हामीमा । साथीहरू जेल जान पाए दंग पर्थे । जुलुसमा जति पनि हिँड्न सक्थे । जति पनि तर्क गर्न सक्थे । देश–विदेशका मुक्ति योद्धाहरूको जीवनगाथा, घटनाचक्र र क्रान्तिको इतिहास पढेर कण्ठ पार्थे । आफ्ना भावनालाई पुलपुल्याउने समय थियो त्यो । कविता लेख्थे । सडकमा उभिएर सुनाउँथे कविता । अधिनायकवादी निर्दलीय पञ्चायतविरुद्ध संघर्षरत तत्कालीन नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाप्रति नतमस्तक थियौँ हामी । संघर्षका यी प्रतीक पुरुष थिए । 

त्यतिबेला हाम्रो दिमाग पनि थियो सिर्जनशील । पहिलो जन–आन्दोलनको समयमा हामीले छाप्ने सामग्रीहरू सेन्सर गराउनुपर्ने निर्णय गर्‍यो तत्कालीन सरकारले । प्रेस स्वतन्त्रताको घाँटी अँठ्याउने मनसाय स्पष्ट बुझिन्थ्यो । अहिलेका राप्रपा अध्यक्ष कमल थापा थिए राजाका सञ्चारमन्त्री । त्यसबेला सेन्सर नीतिविरुद्ध हामीले एउटा नौलो प्रयोग गर्‍यौँ । चरा, मुसा र पशुपतिका बाँदर हाम्रो प्रयोगका विषय अर्थात् शीर्ष समाचार बने । देशान्तरको एउटा प्रयोगशील अंक छापियो । त्यसलाई हामीले सञ्चारमन्त्री कमल थापाकहाँ सेन्सरका लागि पठायौँ । तर, थापाले त्यसलाई सेन्सर गरेनन् । सरकारप्रति यो हाम्रो मौन विरोध थियो ।

पहिलो राष्ट्रिय जन–आन्दोलनको अवधिमा देशान्तर नियमित हुन पाएन । जन–आन्दोलनको पूर्वसन्ध्यामा भएको नेपाली कांग्रेसको अधिवेशनको दुई दिन पहिले मैले एउटा समाचार टिप्पणी लेखेको थिएँ, ‘नामर्दहरूको अडान मुग्लिन सडकले देखाउँछ ।’ त्यतिबेला काठमाडौँ–पोखरा मार्गको नौबिसे–मुग्लिन सडक खण्डको दुर्दशा थियो । अहिलेको मुग्लिन–भरतपुर खण्डको जस्तै । त्यो टिप्पणीमा भारतीय नाकाबन्दीका खिलाफ सरकारको अडानको खिल्ली उडाइएको थियो । त्यही बेलादेखि हामी सरकारको कालोसूचीमा परेका थियौँ । आन्दोलन चर्किंदै जाँदा काम गर्ने साथीहरू सबै भूमिगत, म आफैँ दिल्ली निर्वासित । जम्माजम्मी जोगिएका राजेन्द्र दाहालले सरकारलाई चक्मा दिएर देशान्तरका केही अंक निकाले र जन–आन्दोलनमा हाम्रो सक्रिय उपस्थिति जनाए । हामी जन–आन्दोलनका सहभागी थियौँ । 

अहिले देशान्तरको सम्झना गर्दा बडो रमाइलो लाग्छ । हामीले लेखक साथीभाइ कसैलाई छाडेनौँ । कलाकार जीवन आचार्य देशान्तरमा कार्टुन मात्रै लेख्दैनथे, स्तम्भ नै चलाउँथे । स्तम्भ चलाउँदा–चलाउँदै र टिप्पणी लेख्दालेख्दै उनको निधन भयो । नाटक संसारका सर्वाधिक सम्मानित व्यक्तित्व सुनील पोखरेल लेखनमा त्यतिबेलादेखि नै अब्बल थिए । उनी पनि चलाउँथे देशान्तर साप्ताहिकमा स्तम्भ । स्वर्गीय कवि कृष्णभूषण वलको त कुरा नगरौँ । ‘विराटनगरबाट सुनाखरी लामा’ स्तम्भले देशै पिटेको थियो । विवरणहरू दिएर साध्यै छैन । देशान्तर एउटा युगको प्रतिनिधि साप्ताहिक पत्रिका थियो, जो अहिले पनि निरन्तर छ । सुरुदेखि नै प्रजातन्त्रको मामिलामा नेपाली कांग्रेसको निकट रहेको देशान्तर साप्ताहिक अहिले पनि कांग्रेसकै निकट छ । जुन हिसाबले यसको उपयोग लोकतन्त्र र पत्रकारिताको सम्बन्ध अनि आदर्शको मन्थनमा लगाउनुपर्ने थियो, त्यस्तो हुन सकेन । 

कुरा सुरु भएको थियो पारिश्रमिकबाट । पारिश्रमिक नलिई काम गर्न हुन्न भन्ने मान्यतालाई सक्रिय गराउने केही पत्रकारमध्ये म पनि एक हुँ । पत्रिका चलाउनु भनेको पत्रिकाको व्यवसाय गर्नु हो । त्यसैले पत्रकार साथीहरूको तलब र अन्य सुविधाप्रति मैले केही बढी नै चासो राख्ने गरेको पनि हुँ । तर, पत्रिका सञ्चालन गरेर तलब खुवाउनचाहिँ सधैँ हम्मेहम्मे पर्ने । ‘हामी संस्थागत’ भनेर बडो शानका साथ आफूलाई प्रस्तुत गर्दथ्यौँ । संस्थागतको अभिप्राय भने बुझेका थिएनाँै । प्रकाशनको बजेट बनाउँदा प्रेस र कागजको उल्लेख गर्ने तर सम्पादकीय सहकर्मीहरूको तलबको हिसाब–किताब गर्ने आँटै नगर्ने चलन थियो । अहिले समाचारपत्रका सञ्चालकहरू कागज बेचेर फाइदा नहुने बताउँछन् । यो सत्य हो । तर, त्यस जमानाका लागि यो असत्य थियो । त्यतिबेला पत्रिकाका आर्थिक आधार भनेका विक्रेता नै थिए । पत्रिका विक्रेताले कति पत्रिका उठाउँछ, त्यसैले सम्पादकहरूको भाग्य र भवितव्यको निधो गर्दथ्यो । पत्रिकाको बजार सीमित थियो । त्यो कहिले खुम्चिन्थ्यो, कहिले फक्रिन्थ्यो । त्यसलाई तान्न भने कसै गरे सकिँदैनथ्यो ।

नियमित पारिश्रमिक दिन नसकिए पनि हामी प्रत्येक वर्ष देशान्तर साप्ताहिकमा कार्यरत देशभरका संवाददाताहरूको आवासीय भेला गथ्र्यौं काठमाडौँमा । एक दिनको कार्य मूल्यांकन र प्रशिक्षणपछि काठमाडौँ वरपरका रमणीय भूमिमा वनभोजको आयोजना हुन्थ्यो । एक वर्ष हामी ककनी गयौँ । अर्को वर्ष पुग्यौँ बाह्रबिसे । बाह्रबिसेमा अहिलेका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले देशान्तर टोलीको सम्मानमा दिवाभोजको आयोजना गरेका थिए । रमाइलोका लागि काठमाडौँबाट बाहिर निस्केका पत्रकारहरूको विशेष निगरानी राख्थ्यो सरकारले । राजनीतिक र सामाजिक सुरक्षा अत्यन्त कडा थियो । वनभोजका नाममा कतै व्यवस्था विरोधी भेला त हुने होइन भनेर सुरक्षाकर्मीहरू तैनाथ गरिएको हुन्थ्यो । हामीले गोदावरीमा तेस्रो भेला गरेका थियौँ । राजनीतिक कारणले चौथो भेला काठमाडौँबाहिर गर्न पाइएन । वसन्तपुरमा टुंग्याउन बाध्य भयौँ हामी । 

देशान्तरले आफ्नो प्रयोगधर्मी अवतार कहिल्यै बदलेन । हामी अनुदारवादी थिएनौँ । तर, पञ्चायतको उदारवादी बाटो पञ्चायतको विकल्प हुन सक्दैन भन्ने मान्यता राख्थ्यौँ । हाम्रा लागि सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दमा कुनै फरक थिएन । एउटा पञ्चायती उदारवादको गीत गाउँथे र अर्का राजाको नेतृत्वको दुहाइ दिन्थे ।

देशान्तर साप्ताहिकमार्फत हामीले नेपाली पत्रकारितामा जे गर्‍यौँ, त्यो अब्बल गर्‍यौँ । त्यो समय अहिले छैन । ती पाठक अहिले छैनन् । देशान्तर साप्ताहिकमा समाचार लेख्न नेपाली भाषा र व्याकरणको ज्ञान हुनै पथ्र्यो । शब्दको अर्थ नबुझी कसैले त्यसको प्रयोग गर्दैनथ्यो । देशान्तर साप्ताहिक नेपाली पत्रकारितामा प्रजातन्त्रप्रति समर्पण, त्याग, मूल्य र मान्यता तथा अमूर्त आदर्श अवलम्बनको कथा थियो । स्वतन्त्रतालाई स्वच्छन्दताको हदैसम्म उपभोग गर्न पाउनुपर्छ : यही थियो हाम्रो सूत्र वाक्य । 

देशान्तर साप्ताहिकको सम्पादक बन्नु आफैँमा चुनौतीपूर्ण काम थियो । रोमाञ्चक अनुभव थियो । अहिले पनि त्यतिबेलाका आङ सिरिंग पार्ने घटनाहरूको सम्झना भइरहन्छ । त्यो रोमान्सको अन्त्य अझै भएको छैन । संघर्ष जारी छ । 

प्रकाशित: भाद्र ६, २०७४