[स्मरण] ६० हजार रुपियाँको समाचार

- रेवतीरमण खनाल

राजा महेन्द्रसँग विसं ०१५ को चुनावको सेरोफेरोमा भेटघाट भएको थियो । त्यसबेला राजाको ‘यसपटकको निर्वाचनमा कसले बहुमत ल्याउँछ ?’ भन्ने प्रश्नमा ‘नेपाली कांग्रेसले’ भन्ने मेरो जवाफ सुनेर उनी छक्क परेका थिए । नभन्दै नेपाली कांग्रेसले ०१५ को चुनावमा स्पष्ट बहुमत प्राप्त गर्‍यो । तर, त्यो सरकार धेरै समय टिक्न सकेन । 

०१७ को घटनापछि राजाले विभिन्न मानिसलाई दरबारमा बोलाएर जागिर दिने क्रम सुरु गरे । मैले पनि राजदरबारको जनसम्पर्क अफिसमा अधिकृत पद पाएँ । लोकसेवा आयोगको लिखित परीक्षा उत्तीर्ण गरेर बसेको थिएँ । राजाबाट सीधै अधिकृत पाएपछि अन्तर्वार्तातिर लाग्ने कुरै भएन । लोकसेवातर्फको यात्रा नै छुट्यो । 

दरबारबाट नियुक्ति बुझ्नासाथ म पाल्पा खटिएँ । आठ महिना काम गरेको थिएँ, पद नै खारेजीमा पर्‍यो । दरबारमा बोलाएर ‘अर्को व्यवस्था नभएसम्म आधा तलबमा बस्नू’ भनियो । जनसम्पर्क अफिसका हाकिम पूर्णप्रसाद ढुंगेलमार्फत ‘आधा तलबमा खाली बस्नुभन्दा पत्रकार बन्छु’ भन्दै शंकरप्रसाद शर्माको सम्पादकत्वमा प्रकाशित नेपाल समाचार दैनिकमा आबद्ध भएँ । शर्मासँग पुरानो चिनजान र मित्रता थियो । सायद त्यसले पनि काम गर्‍यो । सम्पादकीय लेख्ने, समाचार छान्ने र सम्पादनको जिम्मेवारी लिएर काम सुरु गरेँ । 

पत्रकारको काम भनेकै समाचार लेख्ने हो । दिनभरि सहर डुल्ने र नयाँ सडकको पीपलबोटमा जम्मा भएका मानिसका कुरा सुनेर समाचार बनाउने चलन नै थियो । त्यहाँ सबै किसिमका मानिस जम्मा हुन्थे । सरकारी कर्मचारी पनि ५ बजे अफिस छुट्टी भएपछि त्यही बाटो भएर जान्थे । सक्नेले पत्रिका किनेर लैजान्थे, नभए उभिएरै पढेर बाटो लाग्थे ।

त्यतिबेला फ्रान्सको समाचार एजेन्सी एएफपीद्वारा सिंहदरबारस्थित सूचना विभाग, दरबारको संवाद सचिवालय र सगरमाथा समाचार समिति, जो पछि राष्ट्रिय समाचार समितिमा परिणत भयो, मा टेलिप्रिन्टर जडान गरिएका थिए । तिनै विश्व समाचार हेरेर आफ्नो पत्रिकालाई उपयुक्त हुने र सगरमाथा संवाद समितिले उपलब्ध गराएका समाचार छानेर छाप्ने चलन थियो । समाचारको खोजीमा कहिलेकाहीँ त दिनभरि हिँड्यो, केही हात लाग्दैनथ्यो । अनि, तिनै एजेन्सीका समाचारलाई मुख्य र अन्य समाचार बनाएर छाप्नु पथ्र्यो । 

एक दिन सिंहदरबारस्थित लोकसेवा आयोगको कार्यालय जाँदै थिएँ, बाटोमै रहेको त्रिभुवन ग्राम विकास विभागभित्र चर्को होहल्ला सुनियो । कार्यालय हाकिमले मातहतका कर्मचारीलाई हप्काइ–दप्काइ गरिरहेका थिए । कुरा के रहेछ, बुझ्नुपर्‍यो भनेर कान लगाएँ । अमेरिकी सरकारले त्रिभुवन ग्राम विकास विभागका लागि दुईवटा मोटर गाडी सहयोग स्वरूप उपलब्ध गराएको रहेछ । कलकत्ता बन्दरगाहले ती गाडी छुटाएर लैजानेबारे गरेको दुईवटा आवा (आकाशवाणी) अफिसबाटै गायब भएकामा हाकिम र मातहतका कर्मचारीबीच चर्काचर्की परेको रहेछ । बन्दरगाहले तेस्रोपटक ‘समयमै आफ्नो सामान क्लियरेन्स नगरेकाले नेपाली ६० हजार रुपियाँ विलम्ब शुल्क लाग्ने’ निर्णयसहितको आवा पठाएको रहेछ । यसअघिका दुईवटा आवा कहाँ गए, किन समयमै मलाई जानकारी गराइएन भनेर हाकिमले मातहतका कर्मचारीको सातो लिएका रहेछन् ।

अफिस फर्किएपछि सोचेँ, यसैलाई समाचार किन नबनाउने ? ‘कर्मचारीको लापरबाहीले ६० हजार रुपियाँ हर्जाना’ शीर्षक दिएर आँखोदेखा हाललाई मुख्य समाचार बनाएँ । अर्को दिन पत्रिका त हातोहात बिक्यो । पत्रिका बेच्नेहरू अफिसमा आएर थप पत्रिका माग्न थालेपछि त्यस समाचारले वास्तवमै सनसनी मच्चाएको रहेछ भन्ने थाहा भयो । 

मेरो सरोकार कसैको जागिर खानेभन्दा पनि कर्मचारीको लापरबाहीले अनाहकमा मुलुकले ६० हजार रुपियाँ तिर्नुपरेकामाथि थियो । 

समाचार प्रकाशित भएको दोस्रो दिन अफिसमा बसेर सम्पादकीय लेखिरहेको थिएँ, राजेश्वर देवकोटा ‘ शंकर दाइ खोइ ?’ भन्दै कार्यकक्षमा टुप्लुक्क आइपुगे । ‘उहाँ आउँदै हुनुहुन्छ’ भन्न मात्र के पाएको थिएँ, पड्की हाले, ‘ हिजो तपाईंको पत्रिकामा छापिएको मुख्य समाचार भ्रामक र असत्य हो ।’ शंकरजी पनि आइपुग्नुभयो । देवकोटाले त्यही कुरा दोहोर्‍याए । ‘त्यो समाचार त रेवतीजीले लेख्नुभएको हो, त्यसबारेमा उहाँलाई थाहा होला’ भनेर शंकरजीले मलाई देखाइदिनुभयो । त्यसपछि देवकोटाले समाचार स्रोतका बारेमा मलाई निधिखोजी गर्न थाले । ‘पत्रकारले समाचार स्रोत उल्लेख गर्दैन, बरू तपाईंलाई उक्त समाचार असत्य र भ्रामक लाग्छ भने खण्डन लेखेर ल्याउनूस्, छापौँला’ भनेपछि देवकोटा निस्किए । त्रिभुवन ग्राम विकास विभागका तत्कालीन निर्देशक आफन्त पर्दा रहेछन् देवकोटाका ।

निर्देशकलाई त्यस समाचारले अप्ठ्यारो पारेपछि देवकोटा हाम्रो अफिससम्म आइपुगेका रहेछन् ।

समाचार प्रकाशित भएपछि सरकारले भारतीय दूतावासलाई पत्र लेखी शुल्क मिनाहाका लागि अनुरोध गर्‍यो । भारतले शुल्क मिनाहा पनि गरिदियो । यसरी आफ्नो समाचारको प्रभाव स्वरूप त्यतिबेलाको ६० हजार रुपियाँ मुलुकलाई नोक्सान हुनबाट जोगाउन सकेकामा आफैँलाई धन्य सम्झन्छु । र, पत्रकारिता जीवनको उपलब्धि पनि ठान्छु । 

प्रस्तुति: ईश्वरी ज्ञवाली

प्रकाशित: भाद्र ६, २०७४