रात्रिजीवनको रौनक

  • थकान र भागदौडबाट मुक्त हुन खोज्ने जमात

- गोकर्ण गौतम

साउनको तेस्रो शुक्रबार । रातको १२ बजिसकेको छ । ठमेलको मण्डला चोकमा खुट्टा राख्ने ठाउँ छैन । टिनएजरदेखि अधवँैशेसम्म, टिपटप ड्रेसमा सजिएका । भावभंगिमा उस्तै स्वछन्द । प्राय: जोडी बाँधेर हिँडेका । कोही बार र पबमा रमाएर घरतर्फ लम्कँदै छन्, कोही अर्को क्लबतिर नजर डुलाउँदै । रेस्टुराँ र लाउन्जका रंगीविरंगी बत्तीहरूले पूरा सडकलाई नै झिलिमिली बनाएका छन् । त्यसमाथि लाइभ म्युजिकको आवाज । 

लाग्छ, रात छिप्पिदै गएपछि ठमेल ‘ओपन लाउन्ज’मा बदलिन्छ । रक र हेभी मेटल गीत मात्र होइन, लोक र गजलका सुमधुर स्वर पनि त्यही व्यस्त सडकमै आइपुग्छ । सबै आ–आफ्नै तालमा मग्न छन्, एकअर्काको मतलबै छैन । ट्राफिक प्रहरीलाई भने व्यवस्थापन गर्नै धौधौ परिरहेको छ । यस्तो चाप त मध्यदिनमा राजधानीका मुख्य चोकमा समेत विरलै देखिन्छ । 

ठमेल छिचोलेर दरबारमार्ग पुग्दा पनि माहोल त्यस्तै थियो । सडक उस्तै भरिभराउ । नहोस् पनि कसरी, अरू बेला त आई क्लब, क्लब उडल्यान्ड, भिक्ट्री लाउन्ज पुगेर मस्ती गर्ने तन्नेरीको भीड लाग्थ्यो भने त्यो रात त क्लब देजा भूमा नामुद डिजे पल ड्रेको प्रस्तुति थियो । कोही उनले प्ले गरेका गीतमा झुमेर निस्कँदै थिए त कोही भित्र छिर्न तम्तयार । अघिसम्म लाइभ म्युजिकको चुस्की लिएकाहरूसमेत पललाई सुन्न आतुर देखिन्थे । दरबारमार्गको ट्राफिक बिट छेउबाट सडकको एक छेउमा गरिएको पार्किङ जय नेपाल हल हुँदै कमलपोखरी चोकसम्मै पुगेको छ । यसैबाट अन्दाज लगाउन सकिन्थ्यो, देजा भूभित्र कम्मर मर्काउनेको संख्या कति होला ? हुन पनि चल्तीको यस क्लबमा एकसाथ दुई हजार जनालाई नचाउन सक्ने क्षमता छ । 

चाप थोरै होला तर लाजिम्पाट, नक्साल अनि भम्सिखेल पनि कहिल्यै निदाउँदैनन्, ठमेल र दरबारमार्ग जस्तै । यी यस्ता अखडा हुन्, जहाँ रात पर्दै गएपछि मोजमस्तीको मेला लाग्छ । अझ शुक्रबार त महामेला नै । पहिले यस्ता पार्टीहरू गर्न विशेष उत्सव आउनै पथ्र्यो तर अहिले सप्ताहन्त नै सर्वप्रिय भएको छ । युवकयुवती मात्र होइन, उमेर ढल्किएका, कर्पोरेट क्षेत्र तथा विभिन्न पेसामा सफलता चुमेकाहरू पनि रात्रिजीवनमा रमाउन थालेका छन् । लेट नाइट पार्टी त सहरिया जीवनशैलीको अंग बनिसकेको छ । १५ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्रको रात्रिजीवनलाई नियालिरहेका डिजे शिशिरलाई यस्तै लाग्छ । उनका अनुसार पहिले क्लब र डान्सबार विदेशीमा भर पर्नुपथ्र्यो । पर्यटक नआउने सिजनमा सुक्खा लाग्थ्यो तर अहिले नेपालीहरूकै उपस्थिति तीव्र रूपमा बढेको छ । मुख्य कुरा त रात्रिजीवनलाई हेर्ने दृष्टिकोणमा बदलाव आएको छ । डान्स पार्टीको रोजाइमा रहेका यी डिजे भन्छन्, “अचेल मान्छेहरू आफैँ रमाउन थालेका छन् । होइन भने कम्तीमा क्लब र पब जानेलाई नराम्रो भन्दैनन् ।” यसलाई उनी ढिला गरी भएको सकारात्मक परिवर्तन मान्छन् । 

पार्टी कल्चर विकसित मुलुकमा थेरापीकै रूपमा लिइन्छ । हप्ताभरि काम गरेकाहरू एक दिन रमाउनु गर्वको विषय त मानिन्छ नै, सँगै आवश्यकता पनि । तर, हामीकहाँ न समाजले रात्रिजीवनलाई सहज रूपमा लियो, न प्रशासनले नै । सशस्त्र द्वन्द्वका दौरान संकटकाल लागेपछि ठमेल ठप्पजस्तै भयो । रात्रिजीवनमाथि कहिले सीधै त कहिले घुमाउरो रूपमा अंकुश लगाइयो । देजा भूका कार्यकारी निर्देशक मयंक खड्का भन्छन्, “हामीले नाइट लाइफलाई आन्तरिक र बाह्य पयर्टन प्रवद्र्धनसँगै हाम्रो जीवनशैलीको रिफ्रेसिङ सेन्टरका रूपमा स्थापित गर्न लामो संर्घष गर्नुपर्‍यो । बल्ल आएर व्यवहारमा परिणत भएको छ ।” 

अहिले ठमेल र दरबारमार्गजस्ता क्षेत्र चौबीसै घन्टा खुल्न पाउँछन् । लोडसेडिङ हटेको छ । शान्तिसुरक्षा बढेको छ । अनि, मान्छेहरूमा क्लब/पार्टीमा रमाउने संस्कार बसेको छ । राजधानीका दुई चर्चित लाउन्ज एन्ड बार रिफ र कर्माका कार्यकारी निर्देशक रविन श्रेष्ठ भन्छन्, “अब रात्रिजीवन भाइब्रेन्ट हुनेमा शंकै छैन । किनभने, विदेश घुमेकाहरूले मात्र होइन, यहीँ बस्नेले पनि रात्रिजीवनको महत्त्व बुझिसकेका छन् ।” रोजाइका विकल्प र लाउन्ज, क्लबहरूको स्तरीयता वृद्धि हुनु यसको प्रमाण हो । 

जस्तो : देजा भूकै कुरा गरौँ । नियमित पार्टीमा रमाउनेहरूका अनुसार अघिल्लो वर्षको फागुनमा देजा भू खुलेसँगै राजधानीको रात्रिजीवन अझ चलायमान भएको छ । कहिल्यै क्लब नछिरेकादेखि सेलिब्रिटीहरू समेत यहाँ पुगेर झुम्न थालेका छन् । अँध्यारो थिममा बनाइएकाले अरूले देख्लान् भन्ने चिन्ता लिनु पर्दैन । पेय पदार्थ र खानामा विविधता त छ नै, म्युजिक सिस्टम पनि त्यत्तिकै अब्बल । तर, यसको क्रेज बढ्नुको कारण यत्तिमा सीमित छैन । अन्तर्राष्ट्रिय रूपमा चिनिएका गायक/गायिका र डिजेको नियमित उपस्थितिले देजा भूलाई आकर्षणको केन्द्र भएको हो । 

यहाँ प्रत्येक सप्ताहन्तमा पुग्ने सृष्टि कार्की, २३, भन्छिन्, “एउटै माहौल र उस्तै कलाकारहरूले वाक्क लागेको हुन्छ तर देजा भूमा सधैँ नयाँ कलाकार आउने भएकाले रमाइलो लाग्छ ।” जे सिन, डिजे डिप्लो, डिजे जेडिनले ‘पर्फम’ गरिसकेका छन् भने हिमेश रेशमिया आउने तयारी हुँदैछ । बेलायती गायक जे सिनको कन्सर्टमा पूर्वयुवराज पारस शाह उपस्थित भएपछि देजा भूले ‘हाइप’ पाएको थियो । कार्यकारी निर्देशक खड्काका अनुसार यहाँ सप्ताहन्तबाहेक पनि दैनिक तीन–चार सय पार्टी लभर्सको उपस्थिति हुन्छ । त्यस्तै, ठमेलको फेसस लाउन्ज, फायर क्लब, इबिजा, ओजी अनि लाजिम्पाटको टनेल क्लब, त्रिसरा लाउन्जमा पनि आगन्तुकको भीड लाग्छ । यी क्षेत्रमा नियमित पर्फम गर्ने ब्यान्ड रागमणिका सदस्य अभिजित सिंह भन्छन्, “ग्राहकको माग बढेरै हुनुपर्छ, रेस्टुराँमा समेत लाइभ म्युजिक अनिवार्यजस्तै हुन थालेको छ ।” कति रेस्टुराँले त राती ११ बजेपछि डिजेको व्यवस्था पनि गर्छन् ।

गन्तव्यमा विविधता भएसँगै स्वदेशी डिजे र लाइभ ब्यान्डलाई भ्याइनभ्याइ हुन थालेको छ । डिजेहरूमा शिशिर, र्‍याबिट, पुनित, सुरजलगायत हिट छन् भने फन्टास्टिक, फ्युजन मन्त्र, डाइनामिक्स, रागमणि, साइड बीजस्ता लाइभ ब्यान्डको माग चर्को छ । क्लबका अतिरिक्त जंगल पार्टी, पुल पार्टी, रेट्रो पार्टीहरूमा पनि डिजेहरूले म्युजिक प्ले गरिरहेका हुन्छन् । पहिले जस्तो डान्स क्लब र बारहरूमा आगन्तुकहरूबीच झगडा हुँदैन । जबकि, कुनै समय क्लबहरू गुन्डागर्दीको अखडा मानिन्थ्यो । देजा भूका खड्का भन्छन्, “लफडाभन्दा रमाइलो गर्ने नियतले क्लब आइपुग्नेको जमात बढ्दै गएको छ । त्यसैले झगडा नै हुँदैन, भइहाले पनि बाउन्सरहरूले रोक्छन् ।” क्लबभित्रको अनुशासित माहोलले हाम्रो समाज र मनोविज्ञानमा आएको परिवर्तनलाई प्रतिविम्बित गर्ने उनको भनाइ छ । 

शुक्रबार र शनिबार त क्लबप्रेमीहरूका लागि विशेष भइहाल्यो । हुँदाहुँदा बुधबार पनि विशेष रूपमा मनाउन थालिएको छ, ‘लेडिज लाइट’का रूपमा । उक्त दिन कलेज अध्ययनरतदेखि आफ्नो पेसा–व्यवसायमा स्थापित युवतीहरू क्लब पुगेर ‘सेलिब्रेट’ गर्छन् । 

हरेक क्लबले हरेक दिन वा हप्ता केही न केही फरक ‘थिम’को माहौल र म्युजिकको बन्दोबस्त गरेका छन् । होइन भने आफ्नो मुड अनुसारको गन्तव्य तय गरे भइहाल्यो । जस्तो : नशामा झुम्दै पसिना चुहिने गरी चर्को संगीतमा नाच्न मन छ भने डान्स क्लब छिरे भयो । विन्दास भएर गाउन मन छ भने लोकदोहोरी रेस्टुराँ हाजिर छ । मधुर संगीतमा रमाउनका लागि गजल रेस्टुराँ छँदैछ । रिफ र कर्मा लाउन्जका कार्यकारी निर्देशक श्रेष्ठ भन्छन्, “थकान र भागदौडबाट थोरै समयका लागि मुक्त हुन खोज्नेको जमात ठूलो छ यो सहरमा । त्यसैले रात्रिकालीन व्यवसाय र जीवनशैली फस्टाउँदै छ ।” 

प्रकाशित: भाद्र ६, २०७४