आवरण कथा» बिचरा बाबुराम

  • वैकल्पिक शक्ति बन्ने अभियानका प्रमुख सहयोगीहरूले छाड्दै गएपछि एक्लिँदै नयाँशक्तिका नेता बाबुराम भट्टराई

- सीताराम बराल

… सीताराम बराल

प त्नी हिसिला यमीसँगै रुस भ्रमणमा जाने तम्तयारीमा थिए, तत्कालीन एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई । संविधानसभाबाट भर्खर संविधान जारी भएको थियो । मधेसको असन्तुष्टि साम्य नहुँदै संविधानको समर्थन गरेकामा रामचन्द्र झा, रामकुमार शर्मा, प्रभु साहलगायतका मधेसी नेताहरू पार्टी नेतृत्वसँग असन्तुष्ट थिए । त्यसै क्रममा ०७२ असोज पहिलो साता सानेपास्थित निवासमा झालगायत असन्तुष्ट मधेसी नेताहरूले भट्टराईलाई भेटे । उनीहरूले आफूहरू एमाओवादीबाट बाहिरिने र आन्दोलनमा जाने जानकारी मात्र दिएनन्,  भट्टराई पनि एमाओवादीबाट निस्कने आँट गर्छन् भने उनैलाई नेता मानेर नयाँ पार्टी गठन गर्न तयार रहेको जनाउ पनि दिए । प्रचण्ड निकटका रूपमा चिनिएका मधेसी नेताहरूको भनाइपछि भट्टराईले थप प्रतिबद्धता खोजे, ‘के तपाईंहरू साँच्चिकै मलाई साथ दिन तयार हुनुहुन्छ ? प्रचण्डलाई छाड्न तयार छौँ भनेर शपथ खान तयार हुनुहुन्छ ?’ 

शपथको कुरा गरेपछि झा भट्टराईसँग झोक्किए, ‘पार्टीबाट निस्कन्छु भन्ने शपथ त तपाईंले खानुपर्छ । किनभने, प्रचण्ड र तपाईंको नश्ल मिल्छ । कैयौँ गम्भीर असहमतिका बाबजुद तपाईंले प्रचण्डलाई अझै छाड्न सक्नुभएको छैन । अनि, हामीले तपाईंसँग शपथ खानुपर्ने किन ? बरू तपाईं एमाओवादीबाट बाहिरिन्छु, प्रचण्डलाई छाड्छु भनेर आजै शपथ खानूस्, हामी साथ दिन्छौँ ।’ 

प्रचण्ड निकट नेताहरूको यस्तो चुनौती सुनेपछि भट्टराईले एमाओवादीबाट बाहिरिन ढिलो गरेनन् । टुंगो लागिसकेको रुस भ्रमणको टिकट रद्द गराए, पत्नी हिसिलालाई एक्लै मस्को पठाए । जारी संविधानप्रति भारत असन्तुष्ट थियो । नयाँ पार्टी गठन गर्ने हो भने भारतको पनि साथ रहने विश्लेषणका साथ २५ वर्ष बिताएको पार्टीलाई ‘रातो स्टिकर पाएको घर’ करार गर्दै ९ असोज ०७२ मा भट्टराईले एमाओवादी परित्यागको घोषणा गरे । 

जो जसको साथ पाएर उनी एमाओवादीबाट बाहिरिएका थिए, तिनै झा र शर्मालगायतका नेताहरूले साउन तेस्रो साता नयाँशक्ति परित्याग गरिसकेका छन् भने पार्टीको सबैभन्दा शक्तिशाली मानिने संगठन विभागका प्रमुख देवेन्द्र पौडेललगायत १७ नेताले समेत भट्टराईको साथ छाडेका छन् । पौडेलसँगै नयाँशक्ति छाड्नेमा भट्टराईलाई ३० वर्षदेखि निरन्तर साथ दिँदै आएका नेता–कार्यकर्ता छन् । एमाओवादी परित्यागसँगै नयाँ पार्टी स्थापना गरेर भट्टराईले ठूलै तरक्की गर्नेछन् भन्ने आशामा जसले साथ दिएका थिए, एकपछि अर्काे गर्दै धमाधम पार्टी परित्यागले उनलाई निकै ठूलो राजनीतिक झट्का दिएको छ । 

पार्टी नेतृत्वमा नरहे पनि एमाओवादीमा छँदा अध्यक्ष प्रचण्डलाई टक्कर दिन सक्ने एक मात्र नेता मानिन्थे भट्टराई । तर, पुराना सहयोगीहरूले धमाधम पार्टी परित्याग गरेपछि उनी ओज र शक्तिका दृष्टिले कमजोर हुन पुगेका छन् । राजनीतिक विश्लेषक एवं माओवादी सांसद श्याम श्रेष्ठ भन्छन्, “केही समयपछि त नयाँशक्तिसँग सिर्फ टोपी अर्थात् संयोजक बाबुराम भट्टराई मात्र रहलान् जस्तो देखिन्छ । भट्टराईको सांगठनिक हैसियत साँच्चिकै टीठलाग्दो हुन पुगेको छ ।”

असफलताका एक वर्ष

एमाओवादीबाट बाहिरिँदा संविधान निर्माणको आंशिक जस भट्टराईले पनि पाएका थिए । किनभने, संविधानसभाको संवैधानिक, राजनीतिक तथा संवाद समितिको सभापतिको हैसियतमा संविधानको मस्यौदामा हस्ताक्षर गरेर भट्टराईले संविधान जारी गर्ने बाटो खुला गरिदिएका थिए । ०६८–०६९ मा प्रधानमन्त्री छँदा राजधानीका सडक विस्तार र ०६५–०६६ मा अर्थमन्त्री छँदा अत्यधिक राजस्व उठाएर राज्यको ढुकुटी मजबुत बनाएका कारण भट्टराई जनमानसमा लोकप्रिय पनि थिए । सामाजिक सञ्जालमा सक्रिय भएर होस् वा प्रत्यक्ष रूपमा जनताको घरदैलोमा पुगेर, सबै तह र तप्काका जनतासँग प्रत्यक्ष संवाद गर्ने स्वभावका कारण उनको राजनीतिक ग्राफ उचाइमा थियो । हो, त्यही परिस्थितिमा ९ असोज ०७२ मा एमाओवादी परित्याग गरेर भट्टराईले नयाँशक्ति निर्माणको पहल थालेका थिए । 

विकास र समृद्धिजस्तो मुलुकको आवश्यकता पुराना राजनीतिक शक्तिहरूबाट सम्भव नहुने बताउँदै उनले वैकल्पिक राजनीतिक शक्तिका रूपमा नयाँशक्ति नेपालको घोषणा गरे, ३० जेठ ०७३ मा । उनी नयाँ दल गठन गर्न हतारिनुको भित्री कारणचाहिँ लोकप्रियतालाई छिटोभन्दा छिटो ‘क्यास’ गर्नु र आफैँ ‘पार्टी सुप्रिमो’ बन्ने उनको चाहना नै थियो । एमाओवादीमा रहुन्जेल ‘सेकेन्डम्यान’ भन्दा माथिल्लो भूमिका नपाउने बुझेपछि नै भट्टराई पार्टी परित्याग गरेर नयाँ राजनीतिक दल खोल्ने निष्कर्षमा पुगेका थिए । एमाओवादीमा छँदै नयाँ राजनीतिक शक्तिको खाँचो भएको बहस प्रारम्भ गरेर उनले त्यसको माहोल बनाउन थालिसकेकै थिए । यस क्रममा उनले नेपालमै एक आलेख पनि लेखे (हेर्नूस्, नयाँशक्तिको खाँचो, नेपाल, २ चैत ०७०) । 

अर्थमन्त्री र प्रधानमन्त्री छँदा कमाएको चर्चा र विभिन्न माध्यममार्फत आमजनतासँग अन्तक्र्रिया गरिरहने स्वभावका कारण उनले जुन लोकप्रियता हासिल गरेका थिए, नयाँशक्तिको घोषणापछि त्यो ख्याति र लोकप्रियतालाई राजनीतिक पुँजीमा परिवर्तन गर्न सकेनन्, ठूला पार्टीको हाराहारीमा आफूलाई उभ्याउन सकेनन् । आफ्नै संयोजकत्वमा नयाँशक्ति नेपाल गठन गरेर भट्टराईले ‘फस्टम्यान’ बन्ने चाहना त पूरा गरे तर त्यसपछिका एक वर्ष उनको जीवनकै सबैभन्दा असफल वर्ष बन्न पुग्यो । दोस्रो जनआन्दोलनपछिका सबैभन्दा लोकप्रिय अर्थमन्त्री र पूर्वप्रधानमन्त्री भट्टराईको नेतृत्वमा रहेको नयाँशक्तिले स्थानीय तह निर्वाचनमा पूर्वपञ्च र राजावादीहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हाराहारीमा समेत आफूलाई उभ्याउन सकेन । निर्वाचन भएका ५ सय १७ तहमध्ये नयाँशक्तिले मात्र एक गाउँपालिकाको अध्यक्षमा विजय हासिल गर्‍यो । एउटा उपाध्यक्ष पनि जित्यो तर संघीय समाजवादी फोरमको सहयोगमा । 

खासमा एमाओवादी परित्यागका बेलादेखि नै भट्टराईले केही रणनीतिक गल्ती गर्दै आए, जसले उनको यस्तो हविगत हुन पुग्यो । जस्तो : ६ असोज ०७२ देखि भारतीय नाकाबन्दी सुरु भएको तेस्रो दिन नै भट्टराईले एमाओवादी परित्याग गरे । आपसी तिक्तता भुलेर नाकाबन्दीको प्रतिरोध गर्नुपर्ने बेला थियो त्यो । भट्टराई भने पार्टी र संविधानसभाबाट राजीनामा दिई सबै राजनीतिक दलहरू असफल भएको दोषारोपण गर्दै थिए । मुलुक सामान्य अवस्थामा रहेका बेला पार्टी र संसद् छाड्ने कदम चालेको भए उनको कदम स्वाभाविक मानिन्थ्यो होला । तर, उनले असामान्य अवस्था रोजे । श्रेष्ठ भन्छन्, “भारतीय नाकाबन्दीविरुद्ध जुझ्नुपर्ने बेला पार्टी र संविधानसभा छाड्ने भट्टराईको निर्णयका कारण जनमत उनीसँग बिच्कियो, जति जनमत आफ्नो पक्षमा आकर्षित गर्नुपर्ने हो, त्यसमा उनी सफल भएनन् । अहिलेको हविगत त्यसैको सजाय हो ।” 

यति हुँदाहुँदै पनि ३० जेठ ०७३ को घोषणा सभामा भट्टराईले उल्लेख्य जनसमूह उतारे । त्यसबाट उनी अत्यन्त उत्साहित पनि थिए । नवघोषित पार्टीमा ठूला राजनीतिक पार्टीले आकर्षित र संगठित गर्न नसकेका कर्मचारी, राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका व्यक्ति र सुरक्षा निकायको नेतृत्व सम्हालेर आएकाहरूलाई समेट्ने सफलता पनि प्राप्त गरेका थिए । तर, नयाँशक्तिलाई राष्ट्रिय जीवनका यस्ता अनुभवहरूको साझा चौतारी बनाउने सफलता नै भट्टराईलाई असफल बनाउने कारण बन्न पुग्यो । किनभने, नयाँशक्तिको मगजका रूपमा रहेको गैरमाओवादी पंक्ति र मेरुदण्डको रूपमा रहेको पूर्वमाओवादी पंक्तिको उचित संयोजन गर्न उनले सकेनन् । र, त्यही कारण नेता–कार्यकर्ताहरू पार्टीबाट बाहिरिन थाले । 

नयाँशक्ति गठनको तयारीका क्रममा  भट्टराईले ३५ सदस्यीय कार्यकारिणी समिति बनाएका थिए, जसमा झा र भट्टराईबाहेक अधिकांश गैरमाओवादी कित्ताबाट आएकाहरू थिए । भट्टराईको यस्तो कदमले गर्दा पूर्वमाओवादीहरू सुरुमै उनीप्रति आशंकित बन्न पुगे, पार्टी छाड्ने चेतावनी दिए । उनले दोस्रोपटक कार्यकारिणी समिति विस्तार गरे, जसमा पूर्वमाओवादीहरूको बाहुल्य थियो । तर, गैरमाओवादी पंक्तिले यसलाई भट्टराई अझै ‘माओवादी ह्याङओभर’बाट मुक्त हुन नसकेको भन्ने बुझ्यो । समय क्रममा पार्टीका भ्रातृसंगठन बनाउने/नबनाउने भन्ने विषयमा पूर्वमाओवादी र गैरमाओवादी समूहबीच द्वन्द्व देखिन थाल्यो । पूर्वमाओवादी समूहले पार्टीलाई बलियो बनाउन कर्मचारी–विद्यार्थी समुदायमा संगठन निर्माणको पक्षमा वकालत गर्‍यो भने गैरमाओवादी समूहले कर्मचारी र विद्यार्थीमा समेत संगठन बनाउँदा पुराना पार्टीभन्दा नयाँशक्ति फरक नहुने तर्क गर्‍यो । यो विवादमा जित संगठन निर्माणका पक्षधर पूर्वमाओवादीहरूको भयो ।

त्यही विवादका क्रममा १ चैत ०७३ मा पूर्वसचिव रामेश्वर खनालले नयाँशक्ति परित्याग गरे । पार्टी परित्यागको कारण संगठन निर्माणसम्बन्धी विवाद भए पनि उनले आर्थिक पारदर्शितालाई कारण देखाए । खनालको पार्टी परित्याग नयाँशक्तिका लागि किन गतिलो धक्का थियो भने उनको छवि र क्षमताप्रति भरोसा गरेर नयाँशक्तिप्रति आकर्षित हुने समूह ठूलो थियो । खनालको परित्यागपछि गैरमाओवादी पंक्तिमा नयाँशक्तिप्रतिको आकर्षण घट्न थाल्यो । नयाँशक्तिकै नेता केशव दाहाल भन्छन्, “४० वर्षदेखि जमेको विचार एक वर्षमा मेट्न नसकिने रहेछ । विभिन्न विचारधाराका व्यक्तिलाई नेतृत्वले मिलाउन नसकेकै हो । यो नै पार्टी घोषणापछिको सबैभन्दा ठूलो कमजोरी हो ।” 

राजनीतिक पार्टीका लागि हुनुपर्ने विचार र चुस्त संगठनको अभाव नै भट्टराईको सबैभन्दा ठूलो कमजोरी भइदियो । उनले समृद्धि र विकासलाई नयाँशक्तिको मूल विचार र उद्देश्य त बनाए । तर, यो कुनै सिद्धान्त र विचार थिएन । राजनीतिशास्त्री प्रा लोकराज बराल भन्छन्, “विकास र समृद्धिको नारा त कांग्रेस, एमाले र माओवादी केन्द्रले पनि दिएकै छन् । तर, जनताले नारा होइन, परिणाम खोज्छन् । भट्टराई नेतृत्वको दलबाट जनताले त्यो परिणाम पाउन सकेनन् ।” यसबाहेक भट्टराई पनि कांग्रेस–एमालेका नेताहरूझैँ मध्यम वर्गकै नेता बन्न खोज्दा चुकेको उनी बताउँछन् । 

भट्टराईप्रतिको आकर्षणका कारण आबद्ध जमात पार्टीलाई एउटा सबल राजनीतिक दलका रूपमा विकास गर्न पर्याप्त थिएन । नयाँशक्तिमा प्रशासन, सुरक्षा निकाय र गैरसरकारी संस्थाको अनुभव भएकाहरूको बाहुल्य थियो, राजनीतिक अनुभवमा पोख्तहरूको होइन । माओवादी केन्द्र प्रवेशको तयारीमा रहेका नयाँशक्तिका नेता रामकुमार शर्मा भन्छन्, “नयाँशक्तिमा रहेका गैरराजनीतिक पृष्ठभूमिका मान्छेहरूको दिन हामी संगठन गर्नेहरूको खोइरो खनेर बित्थ्यो अनि पार्टी संगठन कसरी बनोस् ?”

स्थानीय तह निर्वाचनमा पार्टीको लज्जास्पद पराजय उपर्युक्त गल्तीहरूको योग थियो । पहिलो निर्वाचन परिणाम आएलगत्तै जिल्ला तहमा रहेका पूर्वमाओवादी नेता–कार्यकर्ताहरू, जो संगठनको मेरुदण्डको रूपमा थिए, ले धमाधम पार्टी छाड्न थाले । त्यसलाई रोक्न माओवादी पृष्ठभूमिका नेताहरूले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकताको प्रयास थाले । उनीहरूको विश्लेषण थियो, प्रदेश–२ मा फोरमको प्रभाव रहेकाले एकता गर्दा २ असोजमा हुने तेस्रो चरणको स्थानीय तह चुनावमा त्यहाँ जितको नतिजा आउनेछ, त्यही नतिजाको उत्साहमा पार्टीलाई फेरि पुन:जीवन दिन सकिनेछ । शर्मा भन्छन्, “भट्टराईलाई प्रभावमा पार्न सफल गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिहरूले फोरमसँग एकता हुँदा आफ्नो अस्तित्व समाप्त हुने देखेकाले नै एकता भाँडेका हुन् । परिणाम, भट्टराईको राजनीतिक अस्तित्व नै समाप्तितर्फ अग्रसर हुन पुग्यो ।” 

चार विकल्प मात्र

अनौपचारिक अन्तक्र्रियामा नयाँशक्तिका नेताहरू के भन्छन् भने वैकल्पिक राजनीतिलाई साँच्चिकै स्थापित गर्ने हो भने कम्तीमा १० वर्ष साधना र प्रतीक्षा गर्नुको विकल्प छैन, हतास नभई त्यतिन्जेलसम्म संगठन निर्माण गर्न सक्ने हो भने त्यसपछि चाहिँ नयाँशक्तिले उल्लेख्य प्रगति गर्न सक्ने सम्भावना रहन्छ । पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टीको खराब प्रदर्शनपछि निराशा र पार्टी छाड्ने क्रमले देखाउँछ, प्रदेश–२ मा बाँकी स्थानीय तहको र त्यसपछि हुने प्रदेश–प्रतिनिधिसभाको निर्वाचनमा पनि नयाँशक्तिको उपस्थिति दुई चरणका स्थानीय तह निर्वाचनको भन्दा फरक हुनेछैन । त्यसो भए के भट्टराई १० वर्षसम्म शक्तिविहीन भए पनि नयाँशक्तिलाई स्थापित गराउने प्रतीक्षा र साधना गरेर बस्लान् ? तर, त्यतिन्जेलसम्म उनलाई धैर्य गर्ने समय नै छैन । 

एक त, नयाँशक्तिको विधानका कारण पनि भट्टराई १० वर्षसम्म धैर्य गर्न सक्ने स्थितिमा छैनन्, जहाँ हरेक नेताले ७० वर्ष पार गरेपछि सक्रिय राजनीतिक भूमिका र जिम्मेवारीबाट अलग हुनुपर्ने व्यवस्था छ । उनीचाहिँ ६३ वर्ष पुगिसके । १० वर्षमा उनी ७३ का भइसक्छन् । पार्टीले नारा दिए अनुसार समृद्धि आफ्नै जीवनकालमा सार्थक बनाउने हो भने त्यसअगावै नयाँशक्तिले चुनाव जितेर भट्टराई प्रधानमन्त्री बन्नु जरुरी छ । तर, यस्तो सम्भावना तत्कालका लागि देखिन्न । 

अर्काे उत्तिकै सत्य के पनि हो भने अरू नेताझैँ उनी पनि पद र शक्तिबिना रहन नसक्नेकै पंक्तिमा पर्छन् । ०४६ को परिवर्तनपछि संयुक्त जनमोर्चाको संयोजक भए, जनमोर्चा विघटनपछि संयुक्त जनक्रान्तिकारी परिषद्को अध्यक्ष भए, परिषद्लाई माओवादीले विद्रोहकालीन ‘जनसरकार’को दर्जा दिएको थियो । पहिलो संविधानसभा निर्वाचनपछि प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री भए, त्यसपछि प्रधानमन्त्री । माओवादी नेताका रूपमा उनको अन्तिम चाहना पार्टी अध्यक्ष र फेरि त्यसै हैसियतमा प्रधानमन्त्री बन्ने थियो । तर, प्रचण्डले पार्टी नेतृत्व हस्तान्तरण नगर्ने बुझे, त्यसपछि मात्र एमाओवादी त्यागे, आफैँ प्रमुख भएर नयाँशक्ति बनाए । उनको राजनीतिक पृष्ठभूमिले नै भन्छ कि उनी पद र शक्तिबाट कहिल्यै टाढा हुन नचाहने नेता हुन् । 

नयाँशक्तिमा भट्टराईलाई चुनौती दिन सक्ने नेता छैनन् । त्यसैले अध्यक्ष पद उनका लागि सुरक्षित छ । तर, ओरालो लागेको पार्टीको सुप्रिमो हुँदैमा माओवादीकालीन शक्ति र प्रतिष्ठा पाउने हैसियतमा भट्टराई देखिन्नन् । यो स्थितिमा उनीसँग सीमित विकल्प मात्रै छन् । जस्तो : थप कमजोर हँुदै जाने देखिए आफ्ना सहयोगीहरूलाई राजनीतिक विकल्प खोज्न लगाई आफूचाहिँ बौद्धिक/प्राज्ञिक कार्यमा लाग्ने गरी राजनीतिबाट संन्यास लिन सक्छन् । अथवा, राजनीतिमा सक्रिय नै रहने दृढ निश्चय गरे भने नयाँ धु्रवीकरण वा एकताका नाममा नयाँ विकल्पको खोजीमा लाग्न सक्छन् ।

विकल्प–१

नयाँशक्तिकै पुन:गठन : भट्टराई खासमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकताका पक्षधर थिए । झा, शर्मा, पौडेललगायतका नेताहरूले यसका लागि प्रयास पनि गरे । तर, पार्टीमा गैरमाओवादी, गैरमधेसी नेताहरू भट्टराईमाथि यति हावी भए कि एकताले स्वरूप नै लिन पाएन । एकता प्रयासका पक्षधरहरू नयाँशक्तिबाट टाढिइसकेकाले अब फोरमसँग तत्काल एकता हुने सम्भावना छैन । फोरमका एक नेताका भनाइमा, फेरि फोरमसँग प्रयास थालियो भने पनि पहिले तय गरिएजस्तो भट्टराईले संयोजकको जिम्मेवारी पाउने स्थिति छैन । किनभने, अन्तिम समयमा पुगेको एकता प्रक्रिया भट्टराईकै निर्णयहीनताका कारण भाँडिएकाले फोरमभित्र उनीप्रति तीव्र आक्रोश छ । त्यो आक्रोश तेस्रो चरणको निर्वाचनका लागि फोरमले आफ्नो चुनावचिह्न नदिने निर्णय गरेबाटै बुझ्न सकिन्छ । 

यो स्थितिमा भट्टराईको तत्कालको विकल्प नयाँशक्तिलाई नै पुन:गठन गर्ने हो, जसबाट पार्टी पंक्तिमा देखिएको निराशा चिर्न सकियोस् । नेता दाहालका भनाइमा, पार्टी संगठनको पुन:गठनका लागि नयाँशक्तिले तीन योजना बनाएको छ । एक, वैकल्पिक राजनीतिक मञ्च निर्माण गर्ने । यस अन्तर्गत सम्भव भए वैकल्पिक राजनीतिको वकालत गरेका साझा विवेकशील पार्टीसँग एकता गर्ने, नभए साझा किसिमको मोर्चा बनाएर अघि बढ्ने योजना छ । दोस्रो, विचार मिल्नेहरूसँग सम्बन्ध–सहकार्य विस्तार गरेर संगठन निर्माणमा जोड दिने । र तेस्रो, प्रदेश–प्रतिनिधिसभाको निर्वाचन भएको तीन महिना (०७५ वैशाख)भित्र महाधिवेशन गर्ने ।

यस्तो कार्ययोजना बनाइए पनि पार्टी घोषणाताका जस्तो उत्साह र आकर्षण थियो, त्यो फेरि पुन:जागृत गर्न सक्ने स्थिति छैन । खासमा यतिबेला भट्टराईसँग संगठन निर्माणमा पोख्त नेताहरू छैनन् ।

 

विकल्प–२ 

साझा विवेकशील पार्टीसँग एकता : रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापा नेतृत्वको विवेकशील पार्टीबीच एकता भयो र साझा विवेकशील दल अस्तित्वमा आयो, ११ साउनमा । मिश्र र थापा सहसंयोजक चुनिए । तर, पार्टीको संयोजक को हुने भन्नेचाहिँ सार्वजनिक गरिएन । यसको कारण थियो, नयाँशक्तिसँग एकताको सम्भावना र एकता हुँदा भट्टराईलाई संयोजकको जिम्मेवारी दिने मिश्र–थापाको चाहना । दाहाल के दाबी गर्छन् भने दुई दलबीच एकता हुँदा भट्टराई सहज रूपमा त्यसको संयोजक बन्नेछन् ।

फोरमसँग एकता हुन नदिने नयाँशक्तिभित्रको समूहको जोड साझा विवेकशील पार्टीसँग एकता गर्नुपर्छ भन्ने छ । तर, सोचेजस्तो एकता सहजचाहिँ छैन । त्यसका लागि नयाँशक्तिले साझा विवेकशीलका अगुवाहरूमा रहेको मध्यमवर्गीय सहरी अहंकार त्याग्नुपर्ने सर्त राखेको छ भने साझा विवेकशीलका अगुवाहरूले पूर्वमाओवादीसहितको नयाँशक्तिसँग एकता हुन नसक्ने बताइरहेका छन् । उनीहरू पूर्वमाओवादीहरू बाहिरिएपछि मात्र भट्टराईसहितको नयाँशक्तिसँग एकता गर्न चाहन्छन् । 

गंगानारायण श्रेष्ठ, देवेन्द्र पराजुलीलगायतको पूर्वमाओवादीको एउटा पंक्ति अहिले पनि नयाँशक्तिमै छ । उनीहरूलाई छाडेर अन्य गैरमाओवादीका साथ साझा विवेकशीलसँग एकता गर्ने पक्षमा भट्टराई छैनन् । वैकल्पिक राजनीतिलाई बलियो बनाउने नाममा सशस्त्र विद्रोहकालदेखि आफूलाई साथ दिँदै आएका नेता–कार्यकर्ताबिना साझा विवेकशीलसँग एकता गर्दा आफू थप शक्तिहीन हुने उनले बुझेका छन् । त्यही भएर हुनुपर्छ, एकताका लागि औपचारिक कुराकानीसमेत दुई पक्षबीच भएको छैन । 

विकल्प–३ 

माओवादी केन्द्रमा फिर्ता : साझा विवेकशील पार्टीसँग एकता पनि हुन नसक्ने, राष्ट्रिय राजनीतिमा हैसियत स्थापित हुने गरी नयाँशक्तिलाई पुन:जागृत गर्न पनि नसक्ने तर राजनीतिमा चाहिँ सक्रिय रहिरहने हो भने भट्टराईको तेस्रो र अन्तिम विकल्प माओवादी केन्द्रमा फर्कने हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत भट्टराईलाई फिर्ता गराउने कसरत थालेका छन् । जस्तो : प्रोस्टेटको शल्यक्रिया गराएका भट्टराईलाई भक्तपुरस्थित नागरिक अस्पतालमा पुगेर प्रचण्डले २४ साउनमा भेटे । अस्पतालबाट फिर्ता भएपछि टोखास्थित छोरी मानुषीको घरमा स्वास्थ्यलाभ गरिरहेका भट्टराईलाई २८ साउनमा पनि भेटे र माओवादीमा फर्कन आग्रह गरे । 

व्यक्तिगत भेटमार्फत मात्र होइन, प्रचण्डले पार्टीको बैठकबाट समेत एकताको नीति पारित गराइसकेका छन् । पूर्वमाओवादीहरूबीच एकताका लागि पूर्वमाओवादी समूहबीच एकताको पहल गर्ने नीति साउन पहिलो साता भएको माओवादी केन्द्रको सचिवालयको विस्तारित बैठकले पारित गरिसकेको छ । शर्माका भनाइमा पार्टी बैठकले पारित गरेको नीति जानकारी गराउँदै प्रचण्डले भट्टराईलाई सँगै मिलेर जान आग्रहसमेत गरेका छन् । नयाँशक्तिका नेता दाहाल पनि दुवै भेटमा प्रचण्डले माओवादीमा विभाजन हुँदा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताजस्ता ‘जनयुद्ध’का एजेन्डा धरापमा परेको बताउँदै उपलब्धि जोगाउन मिलेर जाने प्रस्ताव गरेको बताउँछन् । 

नयाँशक्ति छाडेका झा, पौडेललगायतको समूहले पनि माओवादी केन्द्रसँग एकतामार्फत नयाँ बाटो तय गर्न भट्टराईलाई आग्रह गरिरहेको छ । माओवादी केन्द्रको निर्णय, प्रचण्डको तारन्तारको भेट आदिका कारण भट्टराई आफैँ पनि निकै ठूलो दबाबमा छन् । प्रचण्डको पटक–पटकको भेट र एकता प्रयासका कारण नयाँशक्तिको नेतृत्व पंक्तिभित्र ‘कतै भट्टराई माओवादी केन्द्रमा नै फर्कंदै त छैनन् ?’ भन्ने संशय पैदा हुन थालिसकेको छ । यसबाट कति हैरान छन् भने नेतृत्व पंक्तिमा सीमित भाइबर ग्रुपमार्फत उनले भारतीय योजना अनुसार माओवादी केन्द्रबाट नयाँशक्तिलाई कमजोर बनाउने नीति अन्तर्गत एकताको प्रस्ताव आएको भन्दै नयाँशक्तिलाई पुन:जागृत गरेर आफ्नै पालामा भरपर्दाे र प्रतिस्पर्धी वैकल्पिक शक्ति बनाएरै छाड्ने बताइरहेका छन् ।

दाहालका भनाइमा बरू भट्टराई एक्लै नयाँशक्ति चलाएर बस्ने मुडमा छन्, माओवादी केन्द्रमा फर्कने सम्भावना एक प्रतिशत पनि छैन । माओवादी केन्द्र विघटन गरेमा चाहिँ नयाँ ढंगले एकता प्रक्रिया सुरु हुन सक्ने दाहाल बताउँछन् । तर, भट्टराईलाई भित्र्याउनकै लागि न प्रचण्डले पार्टी विघटन गर्नेछन्, न त्यस्तो प्रस्ताव ल्याए भने पार्टी पंक्तिले स्वीकार गर्ने सम्भावना नै छ । 

वास्तवमा भट्टराईका लागि माओवादी केन्द्रमा फर्कने माहोल अनुकूल छँदै छैन । एमाओवादी छोडेपछि प्रचण्डले मोहन वैद्य समूहका रामबहादुर थापालगायतलाई पार्टीमा भित्र्याएका छन् । ०६५ मा एमाओवादी परित्याग गरेका मातृका यादव पनि फर्केका छन् । थापा र यादव दुवै भट्टराईका उग्र आलोचक मानिन्छन् । थापा–यादवको फिर्तीपछि पार्टीभित्र प्रचण्ड थप शक्तिशाली भएका छन् । यस्तो स्थितिमा भट्टराई फर्कने सम्भावना क्षीण छ । 

भट्टराई माओवादी केन्द्रमा फर्कने सम्भावना त्यतिबेला मात्र रहन्छ, जब पार्टीमा प्रचण्डको पकड कमजोर बन्दै जान्छ । त्यो स्थिति अहिले छैन । बरू, प्रचण्ड थप शक्तिशाली बनेका छन् । माओवादी केन्द्रमा फर्कंदा भट्टराईको स्थिति हिजोभन्दा झन् कमजोर हुने अवस्था छ । किनभने, पहिलेका पुराना सहयोगीहरूको साथ उनले पाउने छैनन् । संकटका बेला पार्टी छाडेर गएको र चुनावमा लज्जास्पद हार भएपछि फर्केको आरोप सुन्नुपर्नेछ । एकताका लागि प्रचण्डले आफूपछिको वरीयतामा राखे पनि पार्टी पंक्तिबाट पहिलेजस्तो प्रतिष्ठा, आदर र इज्जत नपाउन सक्छन् । यिनै व्यावहारिक कारण पनि भट्टराई आफैँ माओवादी केन्द्रमा फर्कने मुडमा देखिँदैनन् । 

सैद्धान्तिक दृष्टिले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र भट्टराई नेतृत्वको नयाँशक्तिमा त्यति ठूलो अन्तर भेटिन्न । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, संविधानलाई हेर्ने आलोचनात्मक दृष्टिकोण, संघीय स्वरूपलगायतका विषयमा दुवै पार्टीबीच समान मत छ (हेर्नूस्, वामपन्थी बाटोमै बाबुराम, नेपाल, १२ असार ०७३) । तर, असजिलो लागे पनि परिस्थितिले भट्टराईलाई माओवादी केन्द्रमा फर्कन बाध्य पार्ने दाबी गर्छन् माओवादी केन्द्रका एक नेता । भन्छन्, “शेरबहादुर देउवा र वामदेव गौतम इच्छावश कांग्रेस र एमालेमा फर्केका होइनन् । झन् कमजोर हुने भएपछि उनीहरू मूलपार्टीमा फर्केका थिए । भट्टराई त झन् कमजोर बन्दै छन्, त्यसैले माओवादी केन्द्रमा फर्कनुबाहेक अर्काे विकल्प छैन ।”

 

विकल्प ४ 

बौद्धिक/प्राज्ञिक भूमिका : ०७१ असोजमा गृहजिल्ला गोरखाको खोप्लाङ–४, बेलवास पुगेका भट्टराईले सक्रिय राजनीति छाडेपछि आफू बाख्रा पालनमा लाग्ने बताएका थिए । छोरी मानुषी अध्यक्ष रहेको दीपेश राजु स्मृति सहकारीको उद्घाटन गर्दै उनले यस्तो खुलासा गरेका थिए । कृषिकर्ममा धेरथोर रुचि राखे पनि उनको अत्यधिक रुचि भने बौद्धिक/प्राज्ञिक कर्ममै छ । राजनीतिक रूपमा सफल हुने देखेनन् भने त्यसरी नै राजनीतिक जीवन त्यागेको घोषणा उनले गरिदिन पनि सक्छन्, जसरी उनले अकस्मात् एमाओवादी परित्यागको घोषणा गरेका थिए । 

फेरि, त्यसका लागि उनीसँग थुपै्र सन्दर्भ सामग्री पनि छन् । यस्तो कर्ममा सक्रिय हुन आर्थिक संकट पनि उनलाई छैन । राजनीतिक जीवन त्यागेको स्थितिमा उनका लागि सबैभन्दा उपयुक्त र प्रतिष्ठित विकल्प यही हो । 

वास्तवमा यतिबेला भट्टराई पुस्तक लेख्न चाहन्छन् । उनले लेख्न चाहेको पहिलो विषय हो, वाद–विचारको इतिहास र दोस्रोचाहिँ नेपालको इतिहास । नेपालको इतिहासमा भने उनी पहिलो मानव रामापिथेकस उत्पत्ति हुँदा नेपालको स्थिति कस्तो थियो र मानव बसोवास कसरी सुरु भयो भन्ने विन्दुसम्म पुग्न चाहन्छन् । यसका लागि सन्दर्भसामग्री जुटाइरहेका छन् उनी । 

सत्ता राजनीतिमा सक्रिय हुँदा पनि स्थापित मात्रै होइन, चर्चा नै कमाएका पात्र हुन् भट्टराई । त्यस्तै चर्चा बौद्धिक/प्राज्ञिक भूमिकामा समेत कमाउन सक्छन् । तर, यो भूमिका उनका लागि राजनीतिमा जस्तो भने हुने छैन । किनभने, यहाँ त्यो चमक–दमक, शक्ति र भीडभाड खोजेर पनि पाइँदैन । उनले कुन विकल्प रोज्छन्, त्यसले नै उनको राजनीतिक भविष्य तय गर्नेछ । 

प्रकाशित: भाद्र ६, २०७४