[झटारो] बाढीपीडितको आँसु

  • यसपालिको भेल–बाढीमा पनि हामीले हाहाकार गर्ने, प्रेस–विज्ञप्ति जारी गर्ने, हवाई निरीक्षण गर्ने, सरकार र नेताहरूलाई गाली गर्ने, भारतलाई सराप्ने इत्यादि पहिलो चरणका काम सफलतापूर्वक सम्पन्न गरिसक्यौँ ।

- लक्ष्मण गाम्नागे

हाम्रो देशमा वर्षैपिच्छे बाढी–पहिरो आउँछ । मधेस डुबाउँछ, पहाड लडाउँछ, सडक भत्काउँछ, पुल बगाउँछ, बाँध फुटाउँछ । हजारौँ–लाखौँ मानिस घरबारविहीन भएर बिचल्लीमा पर्छन् । कतिको मृत्यु हुन्छ, कति अपांग हुन्छन् । हिउँदमा खडेरीको चपेटाले त्यस्तै आपत् पार्छ । हाम्रो देश भूकम्प प्रभावित क्षेत्र भनेर हामीले बच्चैदेखि सुनेको हो । त्यसको भयंकर रूप पनि हामीले भोगिसक्यौँ । कुनै पनि दिन त्यो फेरि आउन सक्छ र अकल्पनीय क्षति गर्न सक्छ भन्ने हामीलाई ज्ञान छ । 

उहिल्यैदेखि हामीले भोग्दै आएको आपत्विपत्को यो क्रम बर्सेनि झन्झन् बढ्दै छ र अझै कैयौँ दशकसम्म कायमै रहने पनि निश्चित छ । यस्ता अनेक ठूला प्रकोप नियमित रूपमा आइरहन्छन् र हामी नेपाली त्यस्ता विपत्ति आउनासाथ अचानक सक्रिय भएर त्यससँग भिडन्त गर्न थालिहाल्छौँ । आपत्कालमा हामी जनता, सरकार, विभिन्न संघ–संगठन, सञ्चारमाध्यम, सामाजिक अभियन्ता, लेखक, पत्रकार, नागरिक समाज कोही पनि चुपचाप बस्दैनौँ । राष्ट्रिय विपत्तिमा हामीले सधैँ आफ्नो कर्तव्य पालना गर्दै आएका छौँ र गरिरहने प्रण गर्छौं । 

यस्ता विपत्ति आउँदा हरेकपटक हामीले आत्तिँदै दौडधूप गर्ने गरेकै छौँ । विज्ञप्ति जारी गर्ने, समवेदना प्रकट गर्ने, राहत संकलनका लागि बैंकमा खाता खोल्ने, पैसा जम्मा गर्न आह्वान गर्ने काम गरेकै छौँ । बाढी–पहिरो गएका ठाउँमा प्रधानमन्त्री, मन्त्री, सांसदले सकेसम्म स्थलगत भ्रमण या हवाई निरीक्षण गर्ने, कडाकडा निर्देशन जारी गर्ने, मृतक वा पीडितहरूलाई केही हजार वा लाख रुपियाँ राहत घोषणा गर्ने, चिउरा–चाउचाउ बाँड्ने आदि कर्तव्य पूरा गरेकै छौँ । धनजनको क्षतिप्रति सहानुभूति र समवेदना दिन बिर्सिएका छैनौँ । मन्त्री/सांसदहरूले आधा वा एक महिनाको शुद्ध तलब (भत्ता, कमिसनलगायत अतिरिक्त आय नजोडिएको) पीडितहरूलाई दिने परम्परा कायमै छ । घटनासँग सम्बन्धित मौसमी गोष्ठी, सेमिनार, तालिम सञ्चालन गर्ने, कार्यपत्र प्रस्तुत गर्ने, टिप्पणी गर्ने र प्रकोपको प्रभाव न्यूनीकरण गर्ने रामवाण घोषणा जारी गर्ने पनि गरेकै छौँ ।

हामी लेखक, कलाकार, संगीतकार, नागरिक समाज वा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको सक्रियता सरकारभन्दा कडा हुँदै गएको छ । हामी यस्ता प्रकोपमाथि गीत, कविता, कथा, उपन्यास, नाटक आदि लेख्न सक्रिय छौँ । लडेका, मरेका, भत्केका, बगेका फोटा, भिडिओ, फेसबुक वा ट्वीटरमार्फत अपलोड गरेर सामाजिक समवेदना फिँजाउन अहोरात्र खटेका छौँ । सरकारको समर्थन वा विरोधमा फेसबुकमा बाझाबाझ गरेर पनि हामी राष्ट्रिय विपत्तिमा सहभागी छौँ ।

यसपालिको भेल–बाढीमा पनि हामीले हाहाकार गर्ने, प्रेस–विज्ञप्ति जारी गर्ने, हवाई निरीक्षण गर्ने, सरकार र नेताहरूलाई गाली गर्ने, भारतलाई सराप्ने इत्यादि पहिलो चरणका काम सफलतापूर्वक सम्पन्न गरिसक्यौँ । अब पानी पर्न छाडेकाले राहत संकलन गर्ने, वितरण गर्ने, आफ्नै खातामा जम्मा गर्ने, घरपछाडि लुकाउने, गोदाममा थुपार्ने, कुहाउने आदि काममा हामी लाग्ने नै छौँ । यी काम अबका एक–डेढ महिनामा सकिन्छन् । त्यसपछि हामी नियमित रूपमा जंगल फाँड्ने, पहाड लडाउने, ढुंगा खानी चलाउने, चुरे बेच्ने इत्यादि परम्परागत विकासका कार्यमा लाग्ने छौँ । 

अर्को विपत्ति आएपछि फेरि आफ्नो कर्तव्यमा लाग्नु नै छ । त्यसैले हाललाई आफू पनि लागियो, एउटा मार्मिक कथा लेख्न । शीर्षक छ– बाढीपीडितको आँसु ।

प्रकाशित: भाद्र ५, २०७४