इसाईकरणको प्रवर्द्धन

  • क्रिस्चियनहरू बढ्नुपछाडि त्यसप्रतिको विशुद्ध आस्थाले भन्दा पनि स्वास्थ्य, विभेद र गरिबी कारक तत्त्व बनेको छ ।

- पीट प्याटिसन

मनहरी (मकवानपुर) ।। गर्भ तुहिनुको व्यथा राममाया सुनारले दुईपटक झेलिसकिन् । त्यसपछि उनले छोरी त जन्माइन् तर निमोनियाका कारण एक वर्षमै उनले समेत प्राण गुमाइन् । “मैले दोस्रो सन्तानसमेत क्षयरोगका कारण ६ महिनामै गुमाउनु पर्‍यो । सम्भिँmदा पनि अझै कहाली लागेर आउँछ,” मकवानपुरको थकालडाँडास्थित आफ्नो घरको आँगनमा भेटिएकी उनले सुनाइन् । 

जब उनी पुन: गर्भवती भइन्, उनले केही भिन्न समाधान खोजिन् । पहिलेजस्तो उनले झारफुकका लागि कसैलाई बोलाइनन्, बरू चर्चको शरणमा पुगिन् । हिन्दुबाट क्रिस्चियन भएकी यी ३५ वर्षेले अन्तत: एक स्वस्थ छोरी र पछि एक छोरा जन्माइन् । “ती परमेश्वरले मलाई दिएका उपहार हुन्,” उनी भन्छिन् । 

यो, झन्डै ५० घरधुरीको थकालडाँडामा दोहोरिरहने एउटा कथा हो । “एउटा चर्च यहाँ छ, अर्को त्यहाँ र अलिपर अर्को,” एक अज्ञात रोगबाट बचेपछि क्रिस्चियन बनेका काजीमान विश्वकर्मा भन्छन् । 

राममाया र कालिमानबीच जीवन बच्नु मात्र साझा कथा होइन । उनीहरू दलित समुदायका समेत हुन्, जसले अछूतका नाममा भेदभाव र शोषण झेल्नु पर्‍यो ।

नेपालमा क्रिस्चियनधर्मीको जनसंख्यामा परिवर्तित हुनेमध्ये धेरैजसो दलित र अन्य सीमान्तकृत समूहहरूबाट छन् । झन्डै १० लाखभन्दा बढी क्रिस्चियन धर्मावलम्बी भएको नेपाल अहिले विश्वमा द्रुत गतिमा क्रिस्चियनहरू बढिरहेको देशसमेत हो । राष्ट्रिय क्रिस्चियन महासंघ नेपालका अनुसार यहाँका ६५ प्रतिशत क्रिस्चियनहरू दलित छन् । 

यसअघि विश्वको एक मात्र हिन्दुराष्ट्रका रूपमा रहेको नेपाल १० वर्षे गृहयुद्ध र राजतन्त्रको अन्त्यसँगै नौ वर्षअघि धर्मनिरपेक्ष घोषित भएको थियो । अहिले हिन्दुत्व बहुसंख्यकहरूको धर्म मात्र हो । धर्ममा परिवर्तन गराउनु संवैधानिक रूपमा गैरकानुनी मानिए तापनि धर्म निरपेक्षताले अरू धर्मलाई आफ्नो ‘स्पेस’ खडा गर्ने अवसर दिएको छ । 

क्रिस्चियनहरू बढ्नुपछाडि त्यसप्रतिको विशुद्ध आस्थाले भन्दा पनि स्वास्थ्य, विभेद र गरिबी कारक तत्त्व बनेको छ । र, आलोचकहरूका भनाइमा यसका पछाडि राम्रो आर्थिक हैसियत भएका मिसनरीहरू छन् । 

मकवानपुरको मनहरीमा सडकका आसपास पछिल्लो समय दर्जनौँ चर्च बनेका छन् । स्थानीय क्रिस्चियन पादरीहरूका अनुमानमा यो बजारमा दुई मस्जिद, पाँच बौद्ध गुम्बा, १० वटा मन्दिर र ३५ चर्च छन् । यसमध्ये अधिकांश चर्च नेपालमा धेरै विभेदमा परेको जनजाति समूहमा पर्ने चेपाङहरूले नेतृत्व गरेका छन् । “भूकम्पपछि चेपाङ बस्तीमा क्रिस्चियन मिसनरीहरू एकदमै सक्रिय भए र चर्चका संख्यासमेत नाटकीय रूपमा बढ्न पुगे,” चेपाङको धार्मिक विश्वासमाथि मनहरी क्षेत्रमा अध्ययन गरिरहेकी इटालियन मानवशास्त्री डायना रिबोली भन्छिन्, “मिसनरीहरूले क्रिस्चियानिटीमा रोग निरोधक पक्षलाई महत्त्व दिन थाले, रैथानेका पुरोहितले गर्ने परम्परागत विश्वास र तन्त्रमन्त्रहरू लोपजस्तै हुन थाले ।”

रिबोलीका भनाइमा धर्म परिवर्तनले चेपाङ समुदायमा संकटकै माहोल बनाएको छ, जहाँ तारन्तार आन्तरिक द्वन्द्व बढिरहेका छन् । चेपाङ समुदायका एक पुरोहित पूर्णबहादुर प्रजाका अनुसार धेरैजसो चेपाङ पैसाका लागि मात्र इसाई बनेका छन् । उनी भन्छन्, “भूकम्पपछि भोका भएका बेला उनीहरूले बाइबल, चामल, लुगाफाटा, ओढ्ने–ओछ्याउने र चर्च बनाउने पैसा पाए । पादरीहरूले त मोटरसाइकल नै पाए । उनीहरू अधिकांश समय विदेशीसँग पैसा माग्न इमेल गरेरै बिताउँछन् ।”

एक चेपाङ पादरी महिबल प्रजा भने पूर्णबहादुरको आरोपलाई ठाडै अस्वीकार गर्छन् । मुख्य सडकबाट भित्र केबल टिभीको पसल थापेर बसेका छन् उनी । धूलो लागेको टिभीको मोनिटर, नाङ्गा तार र तिनलाई जोड्ने फलामे रड पसलमा यत्रतत्र छरिएका थिए । “हेर्नूस् यी । यदि मैले त्यत्रो धेरै पैसा कमाइरहेको भए यहाँ काम गर्थें त ?,” उनी प्रतिप्रश्न गर्छन् । 

महिबलको चर्च क्रंक्रिट र इट्टाको गारो भएको र टिनले छाइएको एउटा सानो भवनमा छ । शनिबार बिहान, गुम्म परेको यस हलमा पसिनाले भिज्दै प्रार्थना गरिरहेका ५० जनाजति भेटिन्छन् । महिबलले उत्साही भावमा प्रवचन दिँदा पूर्णबहादुरले कसैले यहाँ कमाइरहेको भन्ने आरोप प्रमाणित भएजस्तो देखिन्थ्यो । “थुप्रैले क्रिस्चियानिटीबाट पैसा कमाइरहेका छन् तर उनीहरू खास क्रिस्चियन होइनन्,” उनी माइकमा चिच्याउँदै भनिरहेका थिए, “यो चर्चलाई नयाँ भवन चाहिन्छ । हे परमेश्वर, कृपया राम्रो भवन बनाइदिनूस् ।”

नजिकैको रमान्टार गाउँमा दलित क्रिस्चियनहरूको प्रार्थनाले उत्तर पायो र अमेरिकी मिसिनरीको सहयोगमा खुला दुईतले भवन बन्यो । त्यहाँका पादरी जीतबहादुर सुनारका भनाइमा यहाँ अरू तीनवटा चर्च पनि छन् । उनी सुनाउँछन्, “१० वर्षअघि यहाँ जम्मा चार–पाँच क्रिस्चियन परिवार थिए तर अहिले दिनदिनै त्यो संख्या बढिरहेको छ,” थप्छन्, “यहाँका लगभग सबै दलित क्रिस्चियन छन् ।” 

उनका अनुसार दलितहरू क्रिस्चियन बन्नुको मुख्य कारण जातीय भेदभाव हो । उनी भन्छन्, “गाउँका ठूला जातले हामीसँग भन्दा कुकुरसँग राम्ररी व्यवहार गर्थे र प्राय:ले अझै त्यसो गर्छन् । उपल्लो जातका पण्डितहरू दलितका लागि विवाह वा मृत्युका कर्मकाण्ड गर्न अस्वीकार गर्छन् तर क्रिस्चियनमा भने यस्तो भेदभाव छैन । हामी सबै बराबर छौँ ।” 

स्थानीय हिन्दु पण्डित हरिगोपाल रिमाल यो स्वीकार्छन् । “छुवाछूतका आधारमा हुने भेदभाव हिन्दु धर्मको कमजोरी हो, यस्ता कुरा परिवर्तन हुन आवश्यक छ,” उनी भन्छन् । आत्माको यो लडाइँमा हिन्दुधर्म निकै प्रभावशाली शक्तिसँग हारिरहेको ठान्छन्, रिमाल । “विभिन्न विदेशी संस्थाले क्रिस्चियनहरू बिरामी पर्दा पैसा दिन्छन् । र, भूकम्पपछि उनीहरूले क्रिस्चियनलाई मात्र सहयोग दिए । चामलका बोरामा बाइबल पनि भित्रिए । उनीहरू इसाईकरण प्रवद्र्धन गर्न पैसा खर्चिरहेका छन् र हामीले उनैसँग प्रतिस्पर्धा गर्नु परिरहेको छ ।” 

पूर्णबहादुर प्रजासमेत त्यसलाई स्वीकार्छन्, “मलाई दु:ख किन पनि लाग्छ भने उनीहरूले बाहिरबाट पाउने पैसाका नाममा आफ्ना संस्कृति र कर्मकाण्ड बिर्सिरहेका छन् ।” उनी थप्छन्, “यदि यो क्रम निरन्तर भइरह्यो भने यहाँ कुनै हिन्दु बाँकी रहने छैनन् ।” 

(बेलायतबाट प्रकाशित हुने द गार्डियनमा ३१ साउनमा प्रकाशित सामग्रीको नेपाली अनुवाद)

प्रकाशित: भाद्र ४, २०७४