८ तस्विरमा हेर्नुस् तराईको बाढी–पहिरो प्रकोप

  • सुगम मानिने तराईका जिल्लाहरू अहिले विकट भएका छन् । न औषधि छ , न त अस्पतालसम्म पुग्ने बाटो नै । सडकहरू पनि छियाछिया छन् ।

- शब्द/तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना

अविरल वर्षाका कारण मुख्यत: दक्षिणी भूभागसहित मुलुकभर बाढी–पहिरोको प्रकोपले जनजीवन पीडित बनेको छ । प्रकोपपछिको अवस्थामा जनजीवन अझै सामान्य हुन सकेको छैन । बाढीका कारण अति प्रभावित तराईका जिल्लाहरूको अवस्था अझ पीडादायक छ । धनुषा, सप्तरी, मोरङ, सुनसरी र रौतहटसम्मको यात्रामा कतै खुला आकाशमुनि बस्न बाध्य बाढीपीडित त कतै अभिभावक गुमाएका बालबालिका भेट्दा मनै कुँडिन्छ । अहिले पनि हजारौँ बाढीपीडित दिनहुँ चिउरा र भुजामुरहीकै आशमा छन् । घरमा चामल–दाल केही पनि छैन । अन्नपातसँगै चुल्हो पनि बाढीले बगाएको छ । रातभर पानीमा बगेर बाँच्न सफल इटहरीकी सानुमाया राईले भने जस्तोसुकै अवस्थामा पनि हिम्मत नहार्न सिकाएकी छन् ।

सुगम मानिने तराईका जिल्लाहरू अहिले विकट भएका छन् । न औषधि छ , न त अस्पतालसम्म पुग्ने बाटो नै  ।  सडकहरू पनि छियाछिया  छन् । ती जिल्लाका विशेषत: ग्रामीण क्षेत्रको स्थिति दयनीय छ । सरसफाइ र खानेपानीको उचित व्यवस्था नभएकाले पनि महामारी फैलिने भय उत्तिकै छ । विद्यालयहरू बन्द छन् । बालबालिकादेखि वृद्धवृद्धासम्मले पर्खेको एउटै कुरा हो,  सरकारी सहयोग । एक सातासम्म कष्टकर दैनिकी झेलेका बाढीपीडितको हिलाम्मे आँगनमा पुग्दा सरकारी संयन्त्रको विपत् व्यवस्थापन असफल  देखिन्छ । सरकारबाट कहिले राहत पाउने, ठेगान छैन । तर पनि, आकाशमा हेलिकप्टर देख्दा बालबालिका अझै त्यसको पछि लाग्छन् । 

नेपाल रेडक्रस सोसाइटीका अनुसार १ भदौसम्म बाढी–पहिरोका कारण मुलुकभर १ सय १९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता छन् । ६० जना घाइते छन् । ४४ हजार ६ सय ८३ जना आफ्नो घरवासबाट विस्थापित भएका छन् । तीन लाखभन्दा बढी घर–परिवार बाढी–पहिरोबाट प्रभावित छन् । ९ हजार ८ सय ५३ घर पूर्णत: नष्ट भएका छन् भने ३० हजार ७ सय ४५ घरमा आंशिक क्षति पुगेको रेडक्रसले जनाएको छ । हरेक वर्ष दोहोरिने नियमित आकस्मिकताको कहिले अन्त्य हुन्छ भन्ने प्रश्न सबैले गर्छन् तर उत्तर कसैसँग छैन । 

प्रकाशित: भाद्र ४, २०७४