पञ्चायती भुक्तमान भोगेका प्रशासकको बयान

  • रोचक संस्मरण र घटनाहरूले भरिएको छ, तेजबहादुर प्रसाईंको आत्मकथा ।

- सीताराम बराल

जलेश्वरमा केही समयअघि मात्र बडाहाकिम बनाएर पठाइएका थिए, पूर्वकांग्रेस कार्यकर्ता तेजबहादुर प्रसाईं । प्रसाईं जिम्मेवारी सम्हाल्न गएको केही समयपछि पञ्चायतविरुद्ध प्रतिरोधका क्रममा जनकपुर पुगेका राजा महेन्द्रमाथि नेपाली कांग्रेसले ९ माघ ०१८ मा बम प्रहार गर्‍यो । जलेश्वर प्रशासन अन्तर्गतको जनकपुर क्षेत्रमा विकास अधिकृतका रूपमा दिलबहादुर श्रेष्ठ कार्यरत थिए । तिनै श्रेष्ठ, जसले ०१५ को चुनावमा मोरङबाट बीपी कोइरालासँग प्रतिस्पर्धा गरेका थिए र उनी कठोर दरबारियाका रूपमा चर्चित थिए । 

पूर्वकांग्रेसी कार्यकर्ता बडाहाकिम भएको ठाउँमा राजा महेन्द्रमाथि बम प्रहार ! अब के चाहियो ? राजामाथि बम प्रहार गरेको आरोपमा कांग्रेस कार्यकर्ता दुर्गानन्द झा समातिए । झासँग सर्त राखिएछ, ‘यदि सरोजप्रसाद कोइरालाको हत्या गर्न सहयोग गर्ने हो भने तिमीलाई रिहा मात्र गरिने छैन, तिमीले आकर्षक बक्सिस पनि पाउनेछौ ।’ झालाई प्रयोग गरेर सरोज कोइरालाको हत्या गराउन सम्भव नभए झाकै हत्या गर्ने योजना बनाइएको थाहा पाएपछि प्रसाईंले झालाई काठमाडौँ पठाइदिए । पछि झालाई फाँसी दिइयो । 

झाले आफूसँग त्यस्तो सर्त राखिएको तर कोइरालाको हत्या गर्ने सर्तमा बक्सिससहित रिहा हुन तयार नभएको बडाहाकिम प्रसाईंसँगको कुराकानीमा बताएका रहेछन् । 

यिनै कुराहरूको खुलासासहित पूर्वप्रशासक दिवंगत तेजबहादुर प्रसाईंको आत्मकथा फर्केर हेर्दा प्रकाशित भएको छ । प्रसार्इंले आत्मकथामा निष्ठावान् भएर काम गरे पनि पूर्वकांग्रेसी भएकै नाताले प्रशासनमा छँदा कति मानसिक यातना भोग्नुपर्‍यो, त्यसको दारुण तस्बिर उतारेका छन् । 

महेन्द्रमाथि बम प्रहार र झा पक्राउ प्रसंगकै कुरा गरौँ । झालाई काठमाडौँ पठाइएपछि प्रसाईंलाई पनि बडाहाकिमबाट फिर्ता गरियो, सैनिक हेलिकप्टरमा । उनीमाथि पनि छानबिन सुरु भयो । झासँगै आफूलाई पनि फाँसी दिने हल्ला चलाइएको र आफू मुलुक छाडेर मुगलान भासिने मनस्थितिमा पुगेको दारुण घटनासमेत प्रसाईंको आत्मकथामा छ । जागिरे जीवनको सुरुदेखि अन्त्यसम्म उनले यस्तै भुक्तमान भोगिरहे तर कर्तव्यबाट कहिल्यै च्यूत भएनन् । 

००७ को राजनीतिक परिवर्तनपछि नेपालमा अक्सर भारतका कारण सत्ता परिवर्तन हुने गरेका छन् । तर, प्रसाईंको आत्मकथाले भने उत्तरी छिमेकीको दवाबमा पनि नेपालमा सत्ता परिवर्तनका घटना भएको देखाएको छ । 

जस्तो : ’२० को दशकको मध्यताका उपप्रधान तथा परराष्ट्रमन्त्री कीर्तिनिधि विष्ट प्रधानमन्त्री बनाइए, सूर्यबहादुर थापालाई हटाइएपछि । नेपाल–चीनबीच एउटा घटनाका कारण गम्भीर फाटो सुरु भएपछि राजा महेन्द्रले प्रधानमन्त्री थापालाई हटाएर विष्टलाई प्रधानमन्त्री बनाएका रहेछन् । त्यो घटना हो, भृकुटी मण्डपको लकेट काण्ड । 

खासमा भृकुटी मण्डपमा नेपाल औद्योगिक प्रदर्शनीको आयोजना गरिएको थियो । प्रदर्शनीमा चिनियाँ स्टल पनि राखिएका थिए । स्टलमार्फत चिनियाँहरूले माओको तस्बिर अंकित लकेट र रेडबुकहरू वितरण गरे । चीनको विशाल झन्डासमेत त्यहाँ फहराइयो । तर, कांग्रेस समर्थित विद्यार्थीहरूले चिनियाँ झन्डा च्याते, चिनियाँ स्टलमा तोडफोडसमेत गरे । त्यसप्रति चीनले कडा आपत्ति जनायो । प्रसाईंका अनुसार चीनको यस्तो प्रतिक्रियापछि राजा महेन्द्रले प्रधानमन्त्री सूर्यबहादुर थापा मात्र हटाएनन्, परराष्ट्र सचिव झरेन्द्रनारायण सिंह र वाग्मती अञ्चलाधीश रहेका प्रसाईं पनि अकस्मात् हटाइए । 

००७ को क्रान्तिबाट विस्थापित मोहनशमशेर र उनका भाइ बबरशमशेरले जीवनको अन्तिम अवस्था भारतमा बिताए । कांग्रेस राजनीति छाडेर भारतमा पढ्न जाँदा प्रसाईंले मोहनशमशेर र बबरशमशेरलाई बैङ्लोरस्थित उनीहरूकै निवासमा पुगेर भेटेका रहेछन् । त्यसक्रममा बबरशमशेरसँग प्रसाईंको लामो कुराकानी भएको रहेछ । गृहमन्त्री छँदा बीपीमाथि बबरशमशेरका नाति भरतशमशेरले गोर्खा दल गठन गरी आक्रमण गरेका थिए । प्रसाईंसँगको कुराकानीमा बबरशमशेरले बताए अनुसार त्यो घटना हुनुमा बीपी स्वयं दोषी थिए । किनभने, सार्वजनिक कार्यक्रमहरूमा राणा परिवारका छोरी–चेलीप्रति अशिष्ट व्यवहार गर्थे बीपी । त्यसैको रिस फेर्न भरतशमशेरले बीपीमाथि आक्रमण गरेका थिए । 

राणाविरुद्ध कांग्रेस नेतृत्वमा भएको सशस्त्र संघर्षका कारण र त्यसको परिणामको विश्लेषण पनि बबरशमशेरले प्रसाईंसँग गरेका रहेछन् । त्यसक्रममा बबरशमशेरले के बताएका रहेछन् भने, चन्द्रशमशेर खलकप्रति बदला लिन मात्र राजा त्रिभुवनले कांग्रेसको साथ लिए, प्रजातन्त्रका लागि होइन । तर, खुकुरी दल काण्डपछि चाहिँ नेपालको राजनीतिमा कांग्रेसको साटो दरबार निर्णायक रूपले हावी हुन पुग्यो । बबरशमशेरको निष्कर्ष रहेछ, प्रधानमन्त्रीको सुरक्षामा रहने बिजुली गारत प्रधानमन्त्रीको अधिनबाट राजाको अधिनमा गयो र त्यसपछि राजा निर्णायक रूपमा शक्तिशाली बने । त्यही काण्डका कारण मोहनशमशेरले राजीनामा दिनुपरेपछि राणाहरू पनि कमजोर बनेका थिए । 

रोचक संस्मरण र घटनाहरूले भरिएको छ, प्रसाईंको आत्मकथा । यति हुँदाहुँदै पुस्तकमा घटनाहरूको व्यवस्थापन र संयोजन कुशलतापूर्वक गरिएको छैन । सम्पादन निकै कमजोर छ । पढ्दै जाँदा दाँतमा ढुंगा लागेजस्तो हुन्छ । 

 

फर्केर हेर्दा 

(तेजबहादुर प्रसाईंको आत्मकथा) 

सम्पादन : महामुनिश्वर आचार्य

प्रकाशक : मोहनबहादुर प्रसाईं

पृष्ठ : ८+२६४

मूल्य : ३४० रुपियाँ

प्रकाशित: श्रावण ३२, २०७४