[स्मरण] युवराज महेन्द्र–बीपी मनमुटाव

- रेवतीरमण खनाल

राणा, कांग्रेस र राजाका बीच भारतको दिल्लीमा मुलुकमा प्रजातान्त्रिक व्यवस्था घोषणा गर्ने सम्झौता भएपछि राजा त्रिभुवन ४ फागुन २००७ मा नेपाल फर्किए र ७ फागुनमा मुलुकमा प्रजातन्त्रको उदय भएको घोषणा गरे । तर, राजा त्रिभुवनले प्रजातन्त्र घोषणाको जुन शाही घोषणा पढे, युवराज महेन्द्र र बीपी कोइरालाका बीच मनमुटावको सुरुआत त्यहीँबाट भयो । 

राजा त्रिभुवन स्वदेश फर्किनुपूर्व दिल्लीमा त्रिपक्षीय सम्झौता गरी मुलुकमा चलेको राणाविरोधी प्रजातान्त्रिक आन्दोलनलाई टुंगोमा पुर्‍याइएको थियो, जुन दस्तावेज दिल्ली सम्झौताका नामले अद्यापि चर्चित छ । तर, त्यतिबेला प्रधानमन्त्री जवाहरलाल नेहरुको उपस्थितिमा राजा त्रिभुवनका प्रमुख सचिव गोविन्दनारायण सिंहलगायतले नेपालमा प्रजातन्त्र घोषणा गर्ने दिन राजाले वाचन गर्ने शाही घोषणाको मस्यौदा पनि अंग्रेजीमै तयार गरेका रहेछन् । त्यो घोषणा राजा त्रिभुवनले परिवारका सदस्यलाई देखाउने क्रममा युवराज महेन्द्र र वसुन्धरासँग विशेष छलफल गरेका थिए । राजा त्रिभुवनकी कान्छी पत्नी रानी ईश्वरी राज्यलक्ष्मी देवीले त्यसबारे जानकारी दिँदै हामीलाई भनेकी थिइन्, ‘अंग्रेजी भाषाको उक्त पत्र मौसुफले हैदरावाद हाउसमा छोराहरूसामु पढेर सुनाइबक्सेपछि दुवै छोराले सन्तोषपूर्वक टाउको हल्लाए । र, आ–आफ्नो लङतर्फ लागे । त्यसपछि मौसुफ पनि निश्चिन्त भएर सुकला भएको थियो ।’

वास्तवमा त्यतिबेला राणाहरू अंग्रेज शासकका विरुद्ध जान सक्ने अवस्थै थिएन । जसरी हुन्छ, उसलाई रिझाएर आफ्नो शासन–सत्ता लम्ब्याउने भन्ने एक मात्र उद्देश्य थियो उनीहरूको । दिल्ली सम्झौता पनि त्यसैको एक कडी थियो । त्रिपक्षीय सम्झौताको उपज ।

दिल्लीमा अंग्रेजीमा मस्यौदा भएको शाही घोषणा नेपालीमा अनुवाद गरेर ७ फागुनका दिन प्रजातन्त्र घोषणा गर्ने पूर्वनिर्धारित कार्यक्रम बन्यो । उक्त मस्यौदा नेपालीमा अनुवाद गर्ने जिम्मा नेपाली कांग्रेसका नेताहरूले लिए । र, समझदारी अनुरूप नेपालीमा अनुवाद गरेर तम्तयारी अवस्थामा राजालाई दिए । राजाले सोही बेहोरा पढेर प्रजातन्त्रको घोषणा गरे । राजा त्रिभुवनले नेपाली अनुवाद पढ्ने क्रममा भने, ‘हाम्रो प्रजाको शासन अब उप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होओस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय छ ।’ 

हैदरावाद हाउसमा अंग्रेजी मस्यौदा हेरेका युवराज महेन्द्र यस्तो घोषणा सुन्दा भने छक्क परे । ‘यस्तो कसरी भयो ? पहिले अंग्रेजी मस्यौदा देखाउँदा त त्यसमा डेमोक्रेसी भन्ने शब्द थियो, अहिले एकाएक यो गणतन्त्र भन्ने शब्द कहाँबाट आयो ?’ भनेर उनले पिता त्रिभुवनसँग पनि सोधे । राजाले ‘नेपाली कांग्रेस र बीपीहरूले जे अनुवाद गरेर दिएका थिए, मैले त त्यही पढेको हुँ’ भन्दै यस कुरालाई सामान्य ढंगले लिन भने । तर, महेन्द्रका मनमा भने बीपी र नेपाली कांग्रेसप्रति आशंका जन्मायो र सम्बन्धमा कटुताको बीजारोपण गर्‍यो । 

वास्तवमा ‘डेमोक्रेसी’को नेपाली अनुवाद गर्ने क्रममा ‘गणतन्त्र’ शब्द पारिएको रहेछ । त्यतिबेला बीपी नारायणहिटी राजदरबारको त्रिभुवन सदनको एक कोठामा बस्थे । र, राजा त्रिभुवनसँग उनको बाक्लै उठबस थियो । सोही कारण उक्त मस्यौदा नेपालीमा अनुवाद गर्ने जिम्मा पनि बीपीलाई नै दिइएको रहेछ । 

बीपीले अनुवाद गर्ने क्रममा मानवीय त्रुटिवश यस्तो हुन गएको कुरा स्वीकार पनि गरेका छन् । ‘महाराजधिराजको घोषणाको मस्यौदा अलिकति त दिल्लीबाट नै भएर आएको थियो । हामीले पनि हेरेका थियौँ । अब त्यसलाई नेपालीमा उल्था गर्नुपर्ने कुरा भयो,’ उनले आफ्नो आत्मवृत्तान्तमा लेखेका छन्, ‘हाम्रो क्याबिनेट सेक्रेटरी गुञ्जमान थिए । अनुवाद गर्दा कसैले के भन्यो, कसैले के भन्यो । मैले लोकतन्त्र भन्न खोजेको थिएँ । लोक मैले बिर्सें, गणतन्त्र भनेँ । सबैले ठीक छ, ठीक छ भने र त्यस घोषणामा डेमोक्रेसीको अनुवाद गणतन्त्र हुन गयो ।’

‘नेपाली कांग्रेस राजतन्त्र मासेर गणतन्त्र ल्याउन चाहन्छ, त्यसैले सोची–सम्झेर यो सब गरिएको हो’ भन्ने आशंका युवराज महेन्द्रको मनमा परेको रहेछ । तर, राजा त्रिभुवनलाई त्यो कुरामा विश्वास थिएन । नेपाली कांग्रेसले नै राणाविरुद्धको अभियानमा आफूलाई सघाएको र प्रजातन्त्र ल्याउन उसको पनि ठूलो भूमिका भएकाले यस्ता स–साना कुरामा ऊ फस्न सक्दैन भन्ने राजा त्रिभुवनको जिकिर रहेछ । तर, युवराज महेन्द्र यो कुरा मान्न तयार भएनन् । राजा त्रिभुवनपछि राजतन्त्रको ठाउँमा गणतन्त्र ल्याउने योजनाबमोजिम यो कदम चालिएको भनेर महेन्द्र बीपीप्रति क्रूद्ध बनेका रहेछन् । 

यतिका बाबजुद पनि युवराज महेन्द्र तत्काल त्यो घोषणा सच्याउनेपट्टि लागेनन् । शाही घोषणाका रूपमा उक्त कुरा संविधानमा लिपिबद्ध भएर रह्यो । आफू ठगिएको र अपमानित भएको कुरा बुद्धिमानहरूले प्रकाश गर्दैनन् भन्ने नीति अनुरूप युवराज महेन्द्रले यो कुरा बाहिर ल्याएनन् । राजा त्रिभुवनको निधनपछि राजगद्दीमा आसीन भएसँगै यो कदम चाल्न सक्थे । तर, राजनीतिक दलहरू यस कदमले थप बिच्केलान् भन्ठानेर राजा महेन्द्र उपयुक्त समयको पर्खाइमा बसे । राजनीतिक दलहरूलाई सहमतिमा ल्याएर ०१५ मा जब आमनिर्वाचनको घोषणा गरे, नेपाल अधिराज्यको संविधान–२०१५ जारी गर्दै राजा महेन्द्रले ‘गणतन्त्र’को ठाउँमा ‘ प्रजातन्त्र’ शब्द प्रयोग गरे ।

राजा महेन्द्रको विचारबारे उनकै आमा ईश्वरी राज्यलक्ष्मी देवीबाट यस्ता भनाइ सुनिरहँदा तिनै राजा महेन्द्रसँग राजदरबारमा बसेर काम गर्दाको अनुभव सम्झिएँ । राजा महेन्द्र कुनै पनि कदम ज्यादै सोची–सम्झी र विचार पुर्‍याएर मात्र चाल्थे । इतिहासको यस्तो घटना फेरि नदोहोरियोस् भन्ने कुरामा सायद उनी ज्यादै सचेत थिए ।

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: श्रावण ३२, २०७४