थोत्ने सास्ती

  • चर्न जाँदा पाडाले आमाको दूध चुस्न नसकोस् भन्दै रुखको बलियो हाँगाको चोके काटेर थुतुनोमा तीखो बनाएर बाँधिन्छ ।

- सुरविन्द्रकुमार पुन

बाग्लुङको उत्तरपश्चिमी भेग ढोरपाटन लेकमा यस्तो दृश्य देखियो । लैनु उमेर कटेर बकेर्नुमा उक्लिएपछि पाडालाई चर्नका लागि अन्य भैँसीसँगै वनतिर पठाइन्छ । चर्न जाँदा पाडाले आमाको दूध चुस्न नसकोस् भन्दै रुखको बलियो हाँगाको चोके काटेर थुतुनोमा तीखो बनाएर बाँधिन्छ, जसलाई स्थानीय भाषामा थोत्ने भनिन्छ । यस्तो बेला पाडाको रुप अनौठो देखिन्छ ।

पाडाले दूध खान प्रयास गर्दा थोत्नेले घोच्ने भएकाले भैँसीले पाडालाई दूध चुस्न दिँदैन, परपरसम्म लखेट्छ । यसरी पाडाले खान नपाउँदा दूध जोगिन्छ । यस उपायबाट निमुखा पाडापाडीले खुब सास्ती बेहोर्छन् । ढोरपाटनका खर्कहरुमा यो बेला थोत्नेधारी पाडापाडी प्रशस्त देखिन्छन् । 

प्रकाशित: श्रावण ३०, २०७४